Skip to content

मुना र गहना

OmShrestha


त्यति धेरै पहिलेको कुरो पनि होइन । नेपालको पूर्वी पहाडी भेगमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा विपन्न परिवारहरूको बस्ती बाक्लो थियो । विपन्न परिवारहरूमध्ये एउटा चाहिँ निकै सम्पन्न परिवार थियो ।

त्यस परिवारमा तीन जना सदस्य थिए । बाबु विदेश गएका थिए । विदेशमा उनको राम्रै कमाइ थियो भनेको सुनिन्थ्यो । उनकै कमाइले गर्दा परिवारको आर्थिक अवस्था सुदृढ हुँदै गएको थियो ।

घरमा आमा छोरी थिए । आमा घर भित्रकै काममा व्यस्त हुनुहुन्थ्यो । छोरी पढाइमा निकै अब्बल थिई । कक्षा ५बाट ६मा जाँदा उनी प्रथम भएकी थिइन् । यसैकारण मुना साथीहरूको समूहमा मात्र होइन शिक्षकहरूको आँखामा पनि आँखाको नानी जस्तै थिई ।

बुबाले विदेशबाट पठाउनुभएको पैसाले घर चिटिक्क पार्ने अनि आफू र आफ्नी छोरी मुनालाई पनि चिटिक्क पार्ने काम आमाचाहिँको थियो । बिस्तारै बिस्तारै मुनाकी आमाले आफ्ना लागि गहनाहरू जोड्दै जानुभयो । गहनाले गर्दा उनको अधबैँसे रुप निकै खुल्न थाल्यो । छिमेकी महिलाहरू कोहीले प्रशंसा गर्न थाले भने कोहीले ईष्र्या गर्न थाले । ईष्र्या र डाहाको प्रवाह नगरी अँझ गहनाको मोहमा उनी भुल्न थालिन् । उनले आफ्नो रहर पूरा हुन्जेलसम्म सबै थरी गहना बनाएर लगाइन् ।

आमाको गहना मोह र चम्कदो रुप देखेर छोरी मुनालाई पनि गहनाको मोह जाग्न थाल्यो । उनले आमासँग गहनाको लागि किचलो गर्न थाली । छोरी तिमी सानै छौ, अहिले गहना लगाउने तिम्रो बेला भएको छैन । तिमी त फेरि विद्यार्थी हौ भनी आमाले छोरीलाई सम्झाउनुभयो । तर आमाको सम्झाइबुझाइले छोरीको मन बुझेन । मुना गहनाका लागि रात दिन गनगन गर्न थाली ।

आमाको मन न हो छोरीका लागि पनि भनेर पहिला कानमा सुनको गहना हालिदिइन् । मुना फुरुङ्ग भई गहना लगाएर विद्यालय गई । विपन्न परिवारका साथीहरू मुनाको गहना देखेर चकित परे । सबै जना पहिलाभन्दा बढी उनको वरिपरि भुम्मिन थाले । सबैले उनको गहनाको गुणगान गाउन थाले । त्यसबाट मख्ख परेकी मुनाको गहना मोह त्यतिमा सीमित हुन सकेन । उनले आमासँग थप गहनाका लागि किचलो गर्न थाली । उनले भनेको गहनाको माग पूरा नहुन्जेलसम्म विद्यालय नै नजाने अठोट गर्न थाली । उनको आमालाई भन्नासाथ गहना जुटाउन पनि त सम्भव थिएन । कति त आफैँले लगाएको गहना उनले मुनालाई दिइन् । कति चाहिँ केही समयपछि उनले नयाँ गहना बनाएर उनलाई स्कुल जाने बानीबाट भने उनले छुटाइनन् ।

मुना अब पूरै गहना पारखी भई । उनी गहनाले झकिझकाउ भएर विद्यालय जान थाली । मुनाको यस्तो किसिमको गहनाको मोहले गर्दा पढाइतिरको मोह भने बिस्तारै घट्दै गयो । साथीहरूसँगको अनावश्यक हेलमेल बढ्दै गयो । उनमा गहनाको अनौठो घमण्ड पनि बढ्दै गयो । यसले गर्दा उनले राम्रा साथीहरू गुमाउने र गुरूगुरूमाको विश्वास समेत गुमाउने दिन आउन थाल्यो । राम्रा साथीहरूले नराम्ररी कुरा काट्न थाले । कतिले त उम्रिदैकी तीन पाते भन्न पनि पनि पछि परेनन् ।

शिक्षकहरूले पनि मुनालाई यसरी गहना लगाएर विद्यालय नआऊ । यो तिम्रो भविष्य बनाउने बेला हो, गहनामा रमाउने उमेर होइन भनी सम्झाउँदा पनि उनले मानिन् । उनको यस्तो जिद्दी स्वभावले गर्दा विद्यालयको वातावरण नै खलबलिन थाल्यो । त्यसपछि शिक्षकहरूले मुनाको घरमै गएर यसरी सानै उमेरमा गहनाले झरिझुट्ट बनाएर विद्यालउ पठाउनु राम्रो होइन भनी उनको आमालाई सिकायत पनि गरे । तरपनि मुनाको जिद्दी स्वभाव हटेन । बरु उनले विद्यालय छाड्ने नराम्रो सङ्कल्प गर्न थाली । विद्यालय आउने एक असल विद्यार्थीलाई त्यस्तो कार्यबाट रोक्न शिक्षकहरूले उनलाई गहना लगाएरै विद्यालय आउन पनि अनुमतिदियो ।

यसरी विद्यालयले अनुमति दिएपछि त झन मुनाको घमण्ड सगरमाथाझै चुलिन थाल्यो । सबै साथीहरूले उनलाई अहङ्कारी भन्न थाले । परिणामस्वरुप उनको पढाइको नतिजा पनि बिग्रँदै गयो । कक्षा ६ आउँदा प्रथम भएकी मुना कक्षा ७मा जाने वार्षिक परीक्षामा त फेलै भई । उनी रुँदैरुँदै आफ्नो रिजल्ट लिएर घर आई । पहिला त रिजल्ट हेरेर आमा पनि छाँगाबाट खसेजस्तै हुनुभयो । पछि आमाले गाली नगरी उनलाई उनको गल्तीहरू देखाउँदै सम्झाउनुभयो ।

मुनाले पनि आफ्नो घमण्डकै कारण साथीहरूको तिरस्कार सहनु परेको र आज यस्तो नतिजा आएको कुरा स्वीकार गरी । सानो गल्तीले गर्दा जीवनमा साथीहरूभन्दा एक वर्ष पछि परेकोमा पश्चत्ताप मान्दै अबदेखि यस्तो गल्ती कहिल्यै नगर्ने वाचा आमासँग गरी । त्यसपछि आफूले लगाएको सबै गहना आमाको हातमा राखिदिई र पढ्न बसी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *