नेपाल बहुजातिय, बहुसाँस्कृतिक, बहुभाषिक एवं बहुधार्मिक मुलुक हो, यहाँ यी सबै वर्गका आ–आफ्नै धर्म, भाषा, सांस्कृतिक प्रचलन छन् । त्यसमध्ये आधा आकाश ढाकेका महिला अर्थात् पुरुषभन्दा बढी संख्यामा रहेका महिलाहरको समाजमा छुट्टै पहिचान मूल्य, मान्यता विद्यमान छन् र । यसै सन्दर्भमा नेपालका महत्वपूर्ण चाडपर्वहरूमध्ये नारी दिवस, हरितालिका तीजका अवसरमा सरकारी बिदा दिने प्रचलन छ ।
भाद्र शुक्ल तृतीया तिथिका दिन मनाइने तीज पर्वले नेपाली नारीहरूको आफ्नो धर्म र संस्कृतिप्रतिको अटुट आस्था, धार्मिक विश्वास एवं व्रतपरायणप्रतिको समर्पणभावलाई राम्ररी परिभाषित गर्दै आएको छ । दरखाने, तीज र ऋषिपञ्चमी गरी तीन दिन मनाइने नारीहरूको यो विशिष्ट पर्वभित्र अनेकौं किसिमका सामाजिक, मूल्यमान्यताका साथै धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई एकैसाथ समेटेको छ ।
पौराणिक कथाअनुसार देवर्षि नारदको आग्रहमा हिमालय पर्वतले आफ्नी छोरी पार्वतीको विवाह विष्णुसित गरिदिने निर्णय गरेपछि पार्वती खिन्न हुन्छिन् । उनको इच्छा आफ्ना पति महादेव होउन् भन्ने थियो । उनको चिन्ताग्रस्त र मलिन अनुहार देखेर उनका संगिनीहरूले उनीसँग यसको कारण सोधे । उनीहरूले पार्वती चिन्ताग्रस्त हुनुको कारण पनि बुझे । पार्वतीका संगिनीहरूले लुकीछिपी पर्वतराज हिमालको दरबारबाट पार्वतीलाई हिन्द महासागरको कन्याकुमारी भन्ने स्थानमा लगरे लुकाइदिन्छिन् । पार्वतीले उक्त स्थानमा बालुवाको शिवलिङ्ग स्थापना गरेर पार्वती निराहार रही देवाधिदेव महादेवलाई पति पाउने उद्देश्यले व्रत बसी उनको आराधना गर्दै अत्यन्त कष्टकर तपस्यामा लीन भइन् । पार्वतीको तपस्या देखेर महादेव बालकको भेषमा उनको परीक्षा लिन आउँछन् र नजिकैको तलाउमा डुबेको अभिनय गरी बचाउ बचाउ भन्न लाग्छन् । सहयोगको लागि पार्वतीले बायाँ हात दिंदा बालकले दायाँ हात मागेकाले उनी दायाँ हात महादेवलाई अर्पण गरिसकेको बताउँछिन् । त्यसपछि महादेव आफ्नोरुपमा प्रकट हुन्छन् र तथास्तु भन्छन् र उनीहरूबीच विवाह हुन्छ । यही व्रत र तपस्याका कारण उनले भाद्र शुक्ल तृतीयाका दिन त्यहीँ भगवान् शिवको दर्शन पाइन् । भने संगिनीहरूले लुकाउन लगिएकी पार्वतीबाट भएको व्रत हुनाले तीज पर्वलाई आलिभिः हरितःको अर्थमा हरितालिका भन्ने गरिएको पाइन्छ ।
दरखाने दिन
भाद्र शुल्क द्वितीया तिथिका दिन पर्ने दरखाने प्रचलनलाई नेपाली नारीहरूले एउटा पर्वकै रुपमा आत्मसात् गर्दै आएका छन् । आफ्नै किसिमको मौलिक सामाजिक संस्कार र संस्कृति अन्तर्निहित दरखाने र दर खुवाउने दिन आफ्नी विवाहिता छोरीलाई माइतमा ल्याएर व्रत बस्ने अघिल्लो दिन राति १२ बजेभित्र ख्वाइने खानेकुरालाई दर भनिन्छ । साँझ खाना खाएर सुतेपछि आधारातमा उठेर दर खाने चलन छ नेपाली समाजमा । यो परम्पराले आजको एक्काइसौं शताब्दीको समय–सन्दर्भमा पनि आफ्नो प्रभावलाई समाजमा कायम राख्दै आएको छ । यसरी नेपाली समाजमा दरखाने र खुवाउने प्रथा नेपाली नारीहरूको एउटा अत्यन्त महत्वपूर्ण र ठूलो चाडपर्वकै रुपमा विकसित हुन पुगेको स्पष्ट हुन्छ ।
हरितालिका (तीज)
पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पति पाऊँ भनी व्रत बसेको कथासँग जोडिएको छ– हरितालिका (तीज) । भाद्र शुक्ल तृतीया तिथिका दिन नारीहरूले पानीसम्म नखाई निराहार बसेर मनाइने हरितालिका (तीज) नारीहरूको एउटा अद्वितीय धार्मिक विशिष्ट पर्व हो । सो दिन बिहान नुहाइधुवाई गरेपछि शिव पार्वतीको मन्दिरमा गई पूजा गर्छन् । अविवाहति नारीहरूले रुप, गुण, शील, प्रतिभा र ऐश्वर्य आदि विशिष्ट गुणलेयुक्त पति पाउने उद्देश्यले व्रत लिने गर्दछन् । विवाहित नारीहरूले आफ्नो पति र परिवार एवं आफ्नो सौभाग्यको रक्षाका साथै आफूले चिताएको सम्पूर्ण इच्छा पूरा होउन् भन्ने मनोकामनासहित यो व्रत लिने गरेको पाइन्छ । आ–आफ्ना अन्तर्मनभित्रका अत्यन्त पवित्र किसिमको प्रेमभावना साकार पार्न र विवाहित महिलाहरूले दाम्पत्य–जीवनलाई आदर्थ र रचनात्मक बनाउने उद्देश्यले भाद्र शुक्ल तृतीयाको दिन हरितालिका (तीज) को व्रत लिने परम्परागत संस्कार हाम्रो समाजमा विकसित हुँदै आएको पाइन्छ । यसरी हाम्रो आर्य–सभ्यतामा नारीहरूको विशिष्ट पर्वका रुपमा हरितालिका (तीज)ले आफ्नो छुट्टै महत्व राख्दै आएको छ ।
ऋषिपञ्चमी
तीजपछि लगत्तैको पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ । सो दिन वर्षदिनको समायावधिमा आफूबाट जानेर वा नजानेर पनि कुनै पनि किसिमको पापकर्म हुन गएको छ भने त्यसबाट मुक्ति पाउने उद्देश्यले नारीहरूले शिव मन्दिरहरूमा गएर कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ नाम गरेका सप्त ऋषिहरूको विधिपूर्वक पूजाआजा गर्ने प्रचलन रहेको छ, यस पूजालाई नै ऋषिमञ्चमी भनिन्छ । सप्त ऋषिहरूको पूजा–आराधना गर्नुअघि आफ्नो शरीरलाई पवित्र तुल्याउनुपर्ने प्रचलन पनि छ । यस क्रममा पूजा गर्नु अघि वर्षको एक दिनको दरले अपामार्गको दतिवनले ३६५ पटकनै दाँत सफा गर्ने गर्छन् र ३६५ पटकनै स्नान गर्ने गर्छन्, त्यसपछि सप्त ऋषिको पूजा गर्छन् ।
यसरी नेपाली आर्य समाजमा दरखाने, हरितालिका (तीज) र ऋषिपञ्चमी पर्व स्वयंमा आर्यनारीहरूको अद्वितीय, महान् र विशिष्ट किसिमको धार्मिक र सांस्कृतिक परम्परा बोकेको एउटा अभिन्न सामाजिक संस्कारका रुपमा जीवन्त रहिआएको पाइन्छ ।
भड्किलो तीज
आजभोलि तीज मनाउने शैली भड्किलो बन्दै गएको छ । दर खाने बहानामा तीज आउन महिनादिन अघिदेखि चन्दा उठाएर घर, होटल र रेस्टुराँमा रमझम गर्छन् चेलीहरू । क्याटरिङ बोलाएर भोज गर्नेहरू पनि छन् । कतिसम्म भने ज्वाइँलाई समेत बोलाएर दर खुवाउने चलन भित्रिसकेको छ । अरु काम छाडेर महिनादिन अघिदेखि तीजकै रमझममा फस्नु राम्रो हो ? देखासिकीले सहरी भेकमा तामझाम र प्रतिस्पर्धा बढेको छ । लाग्छ, नाच्ने र खाने पर्व मात्रै हो तीज । यस राष्ट्रिय पर्व तीजका बारेमा समाजकल्याण परिषद्का सदस्यसचिव डा. प्रभा बस्नेतको विचारमा तीजपर्वलाई बढी खर्चिलो र अस्वाभाविक रुपले नमनाएर धर्म संस्कृतिसमेत जोगाइ, परिवार समाज सुहाउँदो तरिकाले मनाउनु नै उचित हुन्छ, किनकि कैयौं चाडपर्व मनाउने तरिकामा भिन्नता देखिएका छन् । त्यसैले सबै महिलाले धनी र गरिबबीच समान हैसियतले यो चाड मनाउँदा समाजलाई राम्रो सन्देश पुग्छ । अन्यथा विकृति भित्रिन्छ । यस्तै महिला अधिकारकर्मी शारदा पोखरेल भन्छिन्– आडम्बर र विकृतिले महिलालाई सशक्त बनाउँदैन । तीजले महिलाको व्यक्तित्व विकासमा सहयोग नपुर्याउने तर्क गर्छिन् उहाँ अगाडि भन्नुहुन्छ– ‘राम्रा लुगा र गहना लगाएर नाच्दा महिला उपभोग्य वस्तुका रुपमा मात्रै चिनिन्छन् । यसबाट व्यक्तित्व विकास हुँदैन ।’
तीज गीत
तीजको अर्को पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीत हो । मूलतः यस पर्वमा गरिने कार्यहरूले धार्मिक पक्षलाई उजागर गरे पनि यति बेला गाइने गीतहरूले महिलाहरूको पीडा तथा सामाजिक र आर्थिक पक्षलाई पनि त्यति नै प्रतिविम्बित गरेका पाइन्छ । बाजा नबजाई गाइने ‘लोकलहरी’ हो तीजे गीत । पहिले पहिले थपडीका भरमा गाइन्थ्यो । हिजोआज मादल, डम्फु र झ्यालीको तालमा गाइन्छ ।
आजभोलि नारी र पुरुष स्वरमा तीजे गीतका अनेकौं थरिथरिका गीतका क्यासेट बजारमा निक्लिएका छन् । कतिपय गीत त उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि छन् । तिनले तीजप्रति विकर्षण गराउन सक्छन् । तीजे गीत गाउनुभन्दा आफ्ना कमजोरी र अभावलाई ज्ञानले छोप्नतिर महिला लाग्नुपर्ने देखेकी छन्, अधिकारकर्मी शारदा पोखरेल । अचेल सामाजिक विकृति र विसंगतिका शृंखला गाइन्छ तीजे भाकामा । समयको परिवर्तनसँगै समाज बदलिएको छ । तर, घरपरिवार र समाजमा महिलामाथि हुने विभेद मेटिएको छैन । विभेदको मात्रा धेरथोर भए पनि सबै वर्गका महिलाले पीडा सहनु परिरहेकै छ । ‘तीजको दिन त्यही विभेदलाई गीतका रुपमा गाउँछन् चेलीहरू,’ त्रिभुवन विश्वविद्यालय, संस्कृति विभाग प्रमुख डा. वीणा पौडेल भन्छिन्, ‘महिला स्वतन्त्रताको पर्व हो तीज तसर्थ मनको बहलाई गीतको रुपमा पोख्नूनै तीजे गीतको सार्थकता हो ।’
परिवर्तित समाजमा पुराना तीजे गीतहरूभन्दा आधुनिक शहरिया नारीहरू र दुर्गम गाउँका नारीहरूलाई लक्षित गरेर छुट्टाछुट्टै परिवेशका घटनाक्रमलाई तीजका गीतमा गाएर एल्बम बजारमा ल्याउने गरेको प्रसिद्ध गायिका सिन्धु मल्लको भनाई छ भने अर्का प्रसिद्ध लोकगायिका कोमल वलीले पनि आजभोलि समाजमा घट्ने घट्नाक्रमलाई तीजे गीतको रुपमा गाएर पस्किने गरेको कुरा प्रष्ट्याउनुहुन्छ ।
सबै जातिको तीज
तीन दशकअघिसम्म बाहुन–क्षेत्री समुदायका महिलाले मात्रै तीज मनाउँथे । अचेल थरिथरिका जातजाति र धर्मका महिला तीजको रमझममा देखिन्छन् । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार महिलाद्वारा पुरुषप्रति गरिने प्रेम, सद्भाव र समर्पणको पर्व हो तीज । त्यतिमात्रै होइन, विनासंकोच स्वतन्त्र भएर मनभरिका दुःख र हाँसो साट्छन् चेलीहरू । एक्काइसौं शताब्दीमा तीज पर्वलाई शालिन ढङ्गले मनाएर सामाजिक सुधारका पक्षमा नवीन सोच बनाउँदै जनचेतना जगाउने तर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसरी आजको आधुनिक युगमा पनि नेपाली नारीले तीजलाई महत्वलाई बढाइरहेको पाउँदा यो पर्व एकताको नमूना पर्व हो भन्नेमा दुईमत छैन । अन्तमा जाति विशेषको तीज भन्नुभन्दा पनि आम नारी जातिको तीजको रुपमा तीज मनाउनु नारीको सौभाग्यमा नभै देशकै धर्म संस्कृतिलाई जगेर्ना गर्नमा टेवा पुग्ने कुरामा कुनै द्वैमत नहोला । तीजको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनीहरूमा समृद्धिको शुभकामना ।
–महिला समूह, पोबनं. १३६३०, काठमाडौं ।
ईमेलः kamala.shrestha01@gmail.com
गोरखापत्र दैनिक (शनिबार) भदौ२६, २०७२
