आओस् यौटा नवयुग यहाँ घाम नौलो उदाओस्
नेपालीका मन मन नयाँ मन्द मुस्कान छाओस्
यो बाटामा नवयुवकले प्रेमको गीत गाऊन्
यो माटामा मगमग बुकी, लालुपाते फुलाऊन् ।१।
हाम्रो बोली अनलमय होस् युद्धको भर्त्सनामा
हाम्रो आत्मा अमृतमय होस् बुद्धको साधनामा
हाम्रो झन्डा फरफर गरोस् रौरवी टाकुरामा
हाम्रो बेग्लै परिचय बनोस् पौरखी पाखुरामा ।२।
झापा हाँस्दा जनकपुरकी जानकी मुस्कुराऊन्
डोल्पा दुख्दा ललितपुरले अश्रुधारा बहाऊन्
हामी हाम्रो हिमशिखरमा शान्तिको दीप बालौँ
हामी हाम्रै अतुल बलमा राष्ट्र निर्माण थालौँ ।३।
भागून् टाढा विपुल गरिबी, भोक, बेरोजगारी
हाम्रो प्यारो मुलुक बनियोस् सभ्यताको छहारी
लाखौँ लाखौँ सहिद सपना पूर्ण हुन् यै धरामा
डाकी नौलो युग मखमली सिर्जना मृत्तिकामा ।४।
मुट्ठी कस्दै असल हृदयी बौरिऊन् पारिजात
मोती, लक्ष्मी, सम अनि भुपी जन्मिऊन् लेखनाथ
हाम्रा राम्रा अनुपम कला धर्तीमा जग्मगाऊन्
वैरी काँप्दै परपर सरून् पाइला डग्मगाऊन् ।५।
(मन्दाक्रान्ता छन्द)
2015-10-03 06:04:53 +0100
