अंग्रेजीमा एउटा उक्ति छ, We all are normally abnormal. अर्थात् हामी सबै सामान्यतया असामान्य छौं । बाहिरी शरीरको बनावट एकै किसिमको भए पनि मानिसको भित्री क्षमता र प्रतिभा फरकफरक भएको देखिन्छ । कोही कलाकार, कोही संगीतकार, कोही विद्वान, कोही डक्टर, कोही वैज्ञानिक, कोही राजनेता आदि इत्यादि बनेर आफ्नो देशलाई योगदान दिइरहेका हुन्छन् । यसरी देशलाई योगदान दिने विभिन्न विद्वानहरूमध्ये एउटा विद्वान् हुन् महावीर पुन । जसलाई देशले चिनेन विश्वले चिन्यो । यो कुराको पुष्टि तब भयो जब उनलाई वि.सं. २००७ सालमा रामोन म्यागासेसे पुरस्कार (Ramon Magsaysay Award) प्राप्त भयो । महावीर पुनको जन्म पिता कृष्ण पुन र माता पूर्वी पुनको कोखबाट जेठो पुत्रको रुपमा वि.सं. २०११ साल माघ ५ गतेका दिन राम्चे गा.वि.स.को नाङ्गी भन्ने ठाउँमा भएको हो ।
रामोन म्यागासेसे पुरस्कार पाउनु अघिसम्म महावीर पुनलाई राष्ट्रले चिनेको थिएन, किनभने थोरै बोल्ने धेरै कर्म गरी देखाउने अन्तरमुखी स्वभावका पुनले केवल कर्ममा विश्वास गर्थे । हल्ला र प्रचारबाजी रुचाउँदैनथे । हुन न यस संसारमा महान लक्ष्य लिई अगाडि बढ्ने कर्मयोगीहरूलाई न त नामको मोहले ग्रसित बनाउन सक्छ न त कुनै पनि बहानाहरूले रोक्न सक्छ । न त परिस्थितिहरूसँग सम्झौता गरेर अल्मलिन्छन्, न त समस्याहरूसँग हार मान्छन्, न त गालीमा हिस्स परेर निराश हुन्छन्, न त तालीमा मख्ख भएर मात्तिन्छन् । वास्तवमा यी सबै कुराहरूले महान व्यक्तिहरूलाई रत्तिभर असर गर्दैन ।
यस्तै अनौठो गुण र स्वभावका भएका महावीर पुनले अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । इन्टरनेट सोसाइटीले वि.सं. २०७१ सालमा ‘जोनाथन बी पोष्टल अवार्ड’ प्रदान गरेको हो । नेपाल वायरलेस नेटवर्क परियोजना स्थापना गरी ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्टरनेट सोसाइटीले हालै टोरोन्टोमा सम्पन्न इन्टरनेट इन्जिनीयरिङ्ग टास्कफोर्सको ९०औं सम्मेलनमा पुनलाई २० हजार अमेरिकी डलर र अवार्ड प्रदान गरिएको थियो ।
यसरी कर्मयोगी बनी निरन्तर रुपमा परिवर्तनको रेखामा दौडिरहेका पुनले कक्षा १ देखि ७सम्म आफ्नो गाउँकै विद्यालयमा अध्ययन गरी कक्षा ८ को पढाई मल्लाजको विद्यालयबाट गर्नुभएको थियो । त्यसपछि छोरालाई पढाउने उद्देश्यले उनका बुबा, आमा म्याग्दीको राम्चे गा.वि.स.को नाङ्गीबाट बसाई सरी चितवन पुगे र चितवनको खैरेनी माविबाटै एसएलसी उत्तीर्ण गरेका महावीर पुनले अमृत साइन्स क्याम्पस लैनचौर काठमाडौंबाट आइएस्सी उत्तीर्ण भएका थिए । यसको लगत्तै आफ्नो उच्च शिक्षाको अध्ययनलाई बीचैमा रोकी शिक्षण पेशामा संलग्न भएका महावीर पुनले चितवनका विभिन्न विद्यालयहरूमा १२ वर्षसम्म सक्षम अध्यापन गरेका थिए ।
तर उनको आफ्नो पढ्ने धोको भने पुरा भएको थिएन । उनी पढ्ने अवसरको खोजीमा थिए । त्यस्तैमा सन् १९८९तिर उनले छात्रवृत्तिमा अमेरिका गएर पढ्ने अवसर पाएका थिए । संयुक्त अधिराज्य अमेरिकाको Kearneyस्थित नेब्रास्का विश्वविद्यालय (Nebraska University)बाट Bachelor र Master Degreeसम्मको अध्ययन सकेर सन १९९३ को जुलाईमा पुनः नेपाल फर्के ।
आफ्नो जन्मभूमि नाङ्गी र त्यहाँको जीवनलाई सरलीकरण र परिवर्तन गराउने महान उद्देश्य बोकेर गाउँमा पुग्दा त्यहाँका गाउँबासीहरू विद्यालय निर्माणमा कम्मर कसेर लागिपरेका थिए । सोही विद्यालय निर्माण कार्यमा महावीर पुन सामेल भई सम्पन्न गरेका थिए । त्यसपश्चात् उहाँ अमेरिका बसेर आएका हुनाले अमेरिकामा उहाँका केही राम्रा साथीहरू पनि थिए । नेपालमा कम्प्युटरका माध्यमबाट इमेल गर्ने प्रचलनको शुरुवात भए पछि उहाँका ती साथीहरूले पठाएको इमेल हेर्न महिनाको एकपल्ट पोखरासम्म पुग्नु पर्दथ्यो । यो बाध्यताले उहाँ हैरान हुनुभएको थियो । पोखरामा दुई चार दिन बसेर साथीहरूसँग इमेलमार्फत् कुराकानी गरेपछि पुनः नाङ्गी फर्कन्थे । अब नाङ्गीबाटै यी इन्टरनेटको सुविधाको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयतिर गहिरो चिन्तन गर्न थाले ।
उनले आफ्नो इमेल सम्पर्कको माध्यमबाट सन् १९९७मा अष्ट्रेलियाबाट पहिलो पटक चारवटा कम्प्युटर सहयोग स्वरुप प्राप्त गरे । त्यसलाई महावीर पुनले नाङ्गीस्थित हिमाञ्चल माध्यमिक विद्यालयमा राखी नजिकको खोलाबाट उत्पादित जलविद्युतबाट जेनेरेटर चलाएर त्यहाँका विद्यार्थीहरूलाई कम्प्युटरको शिक्षा दिन थाले । गाउँलेहरू कहिलेकाहीं कम्प्युटर हेर्न आउने गर्थे । तर टेलिफोनको लाइन नभएकोले इन्टरनेट जोड्ने काम सम्भव भएको थिएन । यो समस्या बिबिसीलाई लेखिपठाए र समाधानका लागि विचार मागे र उहाँको यो समस्यालाई बिबिसीले सन् २००१मा प्रसारण गरिदियो । बिबिसीबाट त्यो समाचार र समस्या थाहा पाएपछि युरोप र अमेरिकाका स्वयंसेवकहरूले एकवर्षभित्रै नाङ्गी र राम्चेलाई वायरलेस जोड्न टिभी डिस एन्टेना उपलब्ध गराइदिए ।
सन् २००३मा त नाङ्गी गाउँ अनलाइनका माध्यमबाट विश्वसँग जोडिएको थियो । उनले आफ्नो वायरलेस सञ्जाललाई पहिले १२ गाउँमा बिस्तार गरे र विभिन्न विद्यालय र सञ्चार केन्द्रलाई गरी ९० वटा कम्प्युटर उपलब्ध गराइदिएका थिए । यसरी वायरलेस जोड्ने काम सन् २००१बाट २००२ सम्ममा नाङ्गी र राम्चे गाउँमा भएको थियो भने अहिले १५ जिल्लाको १७५ वटा गाउँहरूलाई इन्टरनेट नेटवर्कमा जोडेका छन् । अहिले हिमाञ्चल उच्च मा.वि. नाङ्गी र नेपाल कनेक्सन ठमेल काठमाडौं मार्फत् नेपाल वायरलेस नेटवर्किङ्ग प्रोजेक्ट सञ्चालन गरी नेपालका ग्रामीण भेगलाई विश्व सञ्जालमा जोड्ने क्रममा हुनुहुन्छ र हालसालै धौलागिरी हिमशृङ्खला र ढोरपाटन सिकार आरक्ष सहितको राष्ट्रिय निकुञ्ज बनाउन पहल शुरु भएको छ ।
म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले एक वर्ष अघि त्यस सम्बन्धी प्रारम्भिक योजना बनाएका थिए । धौलागिरी हिमालका नाममा राष्ट्रिय निकुञ्ज र नयाँ पदयात्रा बनाउन सके वर्षेनी करोडौं राजश्व उठाउन सकिने योजनामा उल्लेख छ । उक्त योजनालाई महावीर पुनले मुख्य तीन दलका शीर्ष नेता, राष्ट्रपति र पर्यटन बोर्डमा प्रस्ताव राखेका छन् र पर्यटन बोर्डमा यस प्रस्ताव बारे छलफल अगाडि बढेकाले सरकारी दृष्टिमा पर्न सक्ने महावीर पुनको विश्वास छ ।
यसैगरी म्याग्दी, बागलुङ्ग, रुकुम र डोल्पाको क्षेत्र समेटेर निकुञ्ज बनाउन सकिने योजना बनाउनुभएको पुनले अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’बाट नक्सा मागेर भूगोल, हिउँको मात्र र पदमार्गका सम्भावना खोजी गर्दै हुनुहुन्छ । अब म्याग्दी जिल्लालाई पनि छिट्टै वाइफाई फ्रि बनाउने तरखरमा लाग्नुभएको छ ।
मलाई यतिखेर एरिका जोङको उक्ति याद आएको छ– “प्रतिभा सबैसित हुन्छ तर त्यो प्रतिभाले डोर्याएर लैजाने डरलाग्दा ठाउँहरूमासँगै जाने साहस विरलै मानिसमा हुन्छ ।” महावीर पुन बिरलै मान्छेमध्येका एक साहसी व्यक्तित्व हुन् । जसले सरकारको सहयोग विना विदेशी मित्रहरूको सहयोगको बलमा यत्रो गर्नुभएको छ । अब विश्वले नेपालको हिरा भनी चिनेको महावीर पुनलाई यो देशले पत्थर सम्झेर बेवास्ता गरेको छ । यदि यो सरकार देश र जनताको कल्याणको धरातलमा हुन्थ्यो भने सायद पुनको विवेक र प्रतिभालाई देशमा सदुपयोग गरी उन्नतिशील बनाउने चिन्तनमा लाग्ने थियो ।
यदि राज्यले यस्तो किसिमको प्रतिभालाई प्रोत्साहन गर्न जानेको हुन्थ्यो भने महावीर पुनले आजसम्म जति गरिदिएका छन्, सायद योभन्दा कैयौं गुणा बढी गरिदिन सक्थे । जे भए पनि भ्रष्ट एव म धूर्तहरूले आशा निभाएको देशमा आशाको तारा बनेर महावीर पुन उदाउनु भएको छ । निश्चय नै यी तारा नेपाल भूमिमा सदा चम्किरहनेछन् ।

