राजधानीमा आयोजित एक कार्यक्रममा सत्यमोहन जोशी कार्यपत्र प्रस्तोता थिए । जोशीलाई दर्शकदीर्घाबाट दह्रै प्रश्न आएछ- ‘तपाई भन्न सक्नुहुन्छ, बुद्धको सबैभन्दा पुरानो मूर्ति कहाँ छ ?’ हाम्रालागि सामान्य लाग्न सक्छ तर जोशीका लागि निकै गम्भीर प्रश्न थियो त्यो । उनी संकटमा परे । आखिर उनले चलाखपूर्ण उत्तर दिए । भने- ‘उत्तर नदिउँ भने संस्कृतिविद् भइखाको यति पनि थाहा रहेनछ भन्नुहोला । यहाँ छ भनेर उत्तर दिउँ भने भोलि मूर्ति हराउँछ ।’ आजसम्म उनले यसको उत्तर कसैलाई दिएका छैनन् । यही कुरा उनको जीवनमा ठूलो शिक्षा बनेको छ । थाहा छ वा जान्दछु भनेर जहाँ पायो त्यहीँ प्वाक्क बोल्नु घातक पनि हुन सक्छ ।
अठासी वर्ष नाघेका यी महापुरुषको जीवन सधैं एउटा रोचक रहस्य बनेर चलायमान छ । महिनौं संगत गर्नुहोस् उनी कसैको बारेमा कुरा काट्दैनन् । उनलाई अनावश्यक रूपमा कसैलाई अर्ति दिनु छैन र सोधेको कुरामा कसैलाई तिरस्कार पनि गर्नु छैन । उनी सधैं कर्ममा व्यस्त छन् । करिब ५ दशक लामो पदीय भार बोकेर जोशीले सधैं भाषा, साहित्य, संस्कृति र रंगमञ्चमा काम गरिरहे । सरकारी निकायबाट निवृत्त भएको दसौं वर्ष भइसक्यो अझै उनलाई जागिर र अवकाश के हो वास्ता छैन । जीवन एउटा धर्सोजस्तो, जीवन एउटा नदीजस्तो, जीवन एउटा बाटोजस्तो अन्त्यहीन कर्ममा उनी छन् । उनले जीवनमा अनेकौं उपमा पाएका छन् । संस्कृतिविद््, पुरातत्त्वविद्, नाटककार, प्राज्ञ आदि तर यिनका अगाडि ती उपमा फिक्का लाग्छन् । त्यसका पछाडि उनका जीवनमा अनेकौं रहस्य छन् भन्ने लाग्छ ।
उनी कुनै अलौकिक मानिस भने होइनन् । जीवन भोग्दाभोग्दै, जीवन पढ्दापढ्दै ज्ञान र चेतनाले बनेका व्यावहारिक मानिस हुन् जोशी । उनको दिनचर्या सामान्य मानिसको जस्तै स्वाभाविक छ । यस उमेरमा पनि पिउँछन् उनी तर ठिक्क । उनी संस्कृति र धर्म मान्छन् । उनका आफ्नै विश्वास र आधार छन् । भन्छन्, ‘म संस्कृति वा धर्मलाई कर्मकाण्डीय रूपमा मान्दिनँ । मलाई जसरी सजिलो हुन्छ त्यसरी नै गर्छु । म ईश्वर पूजा गर्छु तर शरीर स्वस्थ राख्न खानको परेज गर्छु, व्यायाम गर्छु । शिक्षाका लागि अध्ययन गर्छु वा भनौं फलका लागि मेहनत गर्छु । मैले ईश्वर पुज्नुको अर्थ यो होइन मलाई सबै थोक ईश्वरले पुर्याइदिउन् वा पुर्याइदिएका छन् । म ठान्छु मसँग जे छ वा जे छैन त्यो ईश्वरको कारणले हैन मेरै कारणले हो ।’ जोशी यस्ता धेरै गहन कुरामा पनि स्पष्ट छन् ।
०६२, ०६३ को आन्दोलनमा गणतन्त्रको पक्षमा स्रष्टाहरूले गरेको आन्दोलनमा उनी सामेल थिए । उनकै अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । धेरै शासकले धर्म र संस्कृतिको आड लिएर शासन गरे । राजाहरू सांस्कृतिक धरोहरका नाइके हुन खोजे । इतिहासलाई मूल्यांकन गर्दै जोशी भन्छन्, ‘संस्कृति त परिवर्तनशील हुन्छ । जनतालाई दुःख दिने कुनै पनि शासकलाई संस्कृति वा धर्मले चाहिं संरक्षित गरिरहन सक्दैन । हामीले जुन परिवर्तन ल्यायौं यही नै हाम्रो नयाँ संस्कृति हो ।’ धर्म र संस्कृति जहिल्यै चेतनासँग जोडिनुपर्छ भन्छन् उनी ।
जोशीको जीवनमा अनेकौं मोड आएका छन् । उनले सिंजाखोलामा नेपाली भाषाको खोजी गर्न जानु, त्यसबाट मदन पुरस्कार पाउनु, पुरातत्त्व विभागको निर्देशक हुनु, तीनपटकसम्म मदन पुरस्कार पाउनु, यी सबै कुरालाई आफू संयोग मान्छन् । तर त्यसका पछाडि उनको मेहनत र साधना गहन छ । प्रज्ञा प्रतिष्ठानमा हुँदा जोशीले गाईजात्रा महोत्सवको सुरुवात गरे, नाटक महोत्सवको थालनी गरे । उनका दर्जनभन्दा बढी स्तरीय कृति पनि छन् । उनले जीवन र मृत्यु, सांसारिक सुखदुःख, शासनसत्ता र राजनीति, जीवनजस्ता विषयलाई समेटेर गहन नाटक लेखेका छन् । उनका नाटक र कृतिहरूकै बारेमा लामो व्याख्या हुन सक्छ तर फेरि पनि उनकै व्यक्तित्व वरिपरि घुमिरहन मन लाग्छ ।
जोशी पूर्वीय र पश्चिमी दर्शनको व्याख्या गर्छन् । बौद्ध दर्शनको उनको अध्ययनको ठूलो पाटो हो । हरेक सोमबार साँझ उनको घरमा बौद्ध गान हुन्छ । वरिपरिका छिमेकी र आफन्त महिलापुरुष भेला हुन्छन् र जोशीको अध्यक्षतामा चेतन खुल्ने गरेर मीठो भाकामा बौद्ध गान गाउँछन् । त्यस क्षणले मान्छेको चैतन्यशक्ति खोल्छ । त्यहाँ पाएको अनुभूतिलाई म व्याख्या गर्न सक्दिनँ । कुरा गरिरहँदा उनको चेतनबाट अनेकौं महत्त्वपूर्ण कुरा धाराप्रवाह निस्कन्छन् । उनले एक दिन अचानक भने, ‘मलाई बुद्धभन्दा बोधिसत्व मन पर्छ ।’ बुद्ध निर्माण युक्त त्यो स्थिति हो जसले सम्पूर्ण ज्ञान प्राप्त गरेको हुन्छ । जन्म र मृत्युबाट पनि मुक्त हुन्छ । निर्माण साधनाको त्यो अन्तिम बिन्दु हो जसले सांसारिक सबै दुःखसुखबाट मुक्ति पाउँछ । तर बोधिसत्व निर्वाणलाई अस्वीकार गरेको स्थिति हो । सम्पूर्ण ज्ञान र चैतन्य प्राप्त गरेपछि निर्वाण पाउने स्थितिमा बोधिसत्व भन्छन्- ‘यो संसारमा अनगिन्ती दुःख छन् । मानिस त्यसलाई खेप्दै छन् । त्यसैले म मात्रै यो संसारको दुःखबाट मुक्त हुन चाहन्न । म पटकपटक यही धर्तीमा जन्मिएर मानिसको सेवा गर्नु छ ।’ जोशीलाई यही बोधिसत्वले तानेको छ यतिखेर । भनिन्छ, सेतो मछिन्द्रनाथ, रातोमछिन्द्रनाथ, दलाई लामा बोधिसत्व हुन् । बोधिसत्व एउटा सम्प्रदायको रूपमा परिभाषित छ ।
जीवनको एउटा लामो कालखण्ड पार गरेका सत्यमोहन जोशीको उमेर सांस्कृतिक रूपमा एउटा रोचक घटना लिएर उपस्थित छ । उनी यही माघ १३ गते आइतबार ८८ वर्ष ८ महिना ८ दिन पुग्दै छन् । उनको तेस्रो जंकु अर्थात् बूढो पास्नी हुादैछ । प्रसिद्ध नाटककार सेक्सपियरले आफ्नो नाटक ‘टु वी और नट दु वी’ मा कहीँ भनेका छन्- बूढेसकालले छुनु भनेको दोस्रो बालापन हो । मान्छे वृद्ध भए पनि अर्को बालापनमा प्रवेश गर्छ । यता हाम्रा मानव धरोहर जोशी तेस्रो बूढो पास्नी गर्न जुटेका छन् । आउँदो आइतबार जोशीको पास्नी नेवारी परम्पराअनुसार भव्यताका साथ हुँदै छ । उनलाई रथमा राखेर नगर परिक्रमा गराइँदै छ । जोशीको काम र व्यक्तित्व बुझ्नेहरूका लागि त्यो क्षण कति उत्साहजनक होला कल्पना गरिरहेछु । जोशी नयाँ पोसाकमा सजिएर रथमा बसेका होलान् । उनका छोराछोरीले रथ तानिरहेका होलान् । अगाडि-पछाडि खुसीको हल्लिखल्लीसहित मानिसको भीड होला । एउटा महत्त्वपूर्ण जात्रा हुनेछ त्यसदिन ।
यतिखेर उनको घरमा खुबै चहलपहल छ । विदेशमा भएका छोराछोरी धमाधम नेपाल अवतरण गर्दै छन् । दाजुभाइ, दिदीबहिनी, नातिनातिनी, पनातिपनातिनी, आफन्त छिमेकी सबैको घुइँचो छ घरमा । ‘बर्थ कन्ट्रोल गरे नत्र अरूको जस्तो दर्जनौं हुन्थे नि मेरा पनि सन्तति ।’ जोशीले रमाइलो गर्दै भने । हो पनि उनका ३ छोरा ३ छोरीका जम्मा १२ नातिनातिना र ६ जना पनातिपनातिना रहेछन् । त्यही पनि आधाउधी विदेशमा । पाटनको च्याँसलस्थित घरमा जोशी दम्पतीको बास धुम्धुम्ती थियो । यतिखेर भने सबै सन्तानलाई वरिपरि राखेर दंग छन् जोशी बाआमा । जोशी आमा ८४ वर्ष पुगे पनि चस्मा नलगाई भटमास केलाउँदै छिन् । जोशी बाचाहिं आफ्नो पास्नीको निम्तो पत्रमा निम्तारुको नाम लेख्दै छन् । उनले निम्तोपत्रमा पहिलो नाम लेखे र भने, ‘योचाहिँ मेरा गुरुलाई ।’ आफूलाई देखी नसहनेहरूको नाम पनि उनले लेख्न छुटाएनन् । ‘मलाई कोहीसँग गुनासो छैन,’ उसरी नै नामको फेहरिस्त पल्टाउँदै जोशी निम्तोपत्रमा लेख्दै छन् ‘स्वकःगु जंको तेस्रोपटकको वृद्ध पास्नी -महारथारोहण महोत्सव) को सुखद उपलक्ष्यमा तपाईको समुपस्थितिका लागि विनम्र अनुरोध गर्छौं ।’ तपाईलाई पनि आउने इच्छा भए १३ गते बिहान १० बजे पाटनमा भेटौं ।
