Skip to content

साला ! दाल, भात, डुकु


भाषाको चिरहरण भैरहेका बेला म भनेँ परिभाषाको खोजीमा छु ।

परिभाषाको निख्खर मौलिक परिभाषा कस्तो हुन्छ ? अहिले तलासमा छु ।

जीवनका कैंयौं परिभाषाहरू मैले अँझै थाहा पाएको छैन । हिजोआज सर्वाधिक चल्तीको विषय नै परिभाषा हो । नयाँले पुरानालाई विस्थापन गर्छ । पुरानाले नयाँका लागि स्थान छोड्दैन । पुरानाहरू आफ्ना परिचय फालेर नयाँ हुन नसक्ने । नयाँले पुरानाको पथालम्बन गर्न नचाहने । यस्तो किन हुन्छ ? केका लागि हुन्छ ? प्राप्त्याशालाई उद्देश्य बनाएर अगाडि बढिएका चिरनूतन विचार सबैका लागि ग्राह्य हुनु पर्ने हो तर भएको छैन ।

जीवनमा व्यतिरेकी र संश्लेषित अनेकौं विम्बहरू छन् । पउल चित्रहरू छन् । अमौलिक चित्र र दूरूह विम्बाकृतिले जीवनलाई नै बिब्ल्याँटो बनाएको हो । धेरै खुकुला परिभाषाहरू पनि भोगाइका क्रममा कोक्याउने रैछन् । सधैँ आफू अनुकूल हुँदा ठिक र आफू प्रतिकूल हुँदा बेठिक । किन यस्तो हुन्छ ? खोजीमा अनवरत क्रियाशील छु । क्रियाशीलताकै साथमा क्रियाशील भएर लागिरहेको छु । बेधडक लाग्या छु । अलजेब्राका थ्योरमझैँ बटारिएका सूत्रहरूले जीवनलाई हल गर्न पनिसकेनन् । सूत्र र विधिले जीवनलाई सकसहीन बनाउने भए आज सबै साबालक मनहरू रहरका पिरामिड हेर्दै हृदयग्राही खुसीका आलम्बन भावहरूमा र जीवन सानन्द भोगाइका उपवनमा विचरण गर्दै कल्पनाको व्योममा उडेर कावा खाइरहेका हुन्थे ।

छैन न हो छैन । मामपा…..यो जीवन सोचेजस्तो छैन । भोगेजस्तो पनि छैन । जे हुन्छ भन्यो, त्यो हुँदैन । अनि जे हुँदैन भन्यो, त्यही हुन्छ । आखेटोपहारले कतै धूँवाधार लघारेको छ । उपहारले कतै स्याँस्याँ हुनेगरी पछ्याएको छ । पूर्णता भित्रको अपूर्णता अनि अपूर्णता भित्रको पूर्णताको नाद र निनादमै चकितचकित र थकितथकित भएर यात्रारत भएको छ –आजको मानिस ।

सबै पेपर मनिका पछि आफ्नो पाइन देखाएर बेतोडसँग दौडेका छन् । बेलाकुबेला नूनको हाहाकार पर्ने मुलुकमा कानूनको बद्नाम भएको छ । तीनसय पैंसठ्ठी दिनमा दस दिन कटाएर बाँकी तीनसय पचपन्न दिन असत्यले सत्यलाई जितेको दृष्टांश हामी चल्ती हिरोको फ्लप फिल्म टिकट काटेर हेरेझैँ वाचाल मुद्रामा हेरिरहेछौं । नहेर्नुको विकल्प पनि छैन् जसरी राजधानीको सार्वजनिक सवारी साधन चढ्ने यात्रुको जतिसुकै कन्तविजोग भए पनि उसले विकल्प खोज्नै सक्दैन । विजया पर्वको बाँकी दसदिन दुर्गा सप्तसती वाचन गर्दै पण्डितहरू धर्मको महिमा मण्डित भएको अभिनय गरिरहेछन् । मुक पशुपंक्षीको दोहन भएको छ –अनाहकमा । अलिखित र अपरिमेय संख्यामा रगतका कोसी र कर्णाली बगेका बेला अधिकारी दम्पत्ति भने न्यायका लागि अस्पतालमा अनसन बसेका छन् ।

यहाँ सेलफोनमा मात्रै होइन मनका नेटवर्कहरूमा समेत कल बाइपास गरिन थालिएको छ । एकथरि एलोपेथिक चिकित्सकहरू संविधानको गर्भधारण गरेको यो देशलाई नसा सम्बन्धी रोग लागेको भन्दैछन् । अर्काथरि आयुर्वेदिक चिकित्सकहरू दसा सम्बन्धी रोगको दलिल पेश गर्दैछन् । रोगी एउटै तर दुईथरि रोगको प्रेस्किप्सनमा जनता जनाद्र्धन कुहिराका काग बनाइएका छन् । तीनतीन पुस्तासम्म पनि एउटै शैलीको आन्दोलन गर्दै विधि र विधानकै खिल्ली उडाएर कस्तो संविधानको खोजी गरेका हुन् –बुज्रुकहरूले । कहिरनको गुत्थी अँझै ज्ञाताज्ञात भा छैन ।

सगुनका साइपाटाहरू पनि भनेनन् यी हाइटेक मानिसहरूले, साइतका घडाहरू पनि भनेनन् यी विजित मनोकांक्षालेहरूले । वर्तमानको बजारमा हाहाकार मात्र सस्तिएको छ । मँहगीमा हजार थोकहरू कुलिन ट्याग भिराएर थाक लागेका छन् । अनुशासन र कर्तव्यमा क्रमशः चिलासा र घुन लाग्न थालेका छन् । सुशासनको घाम एकादेशको कथा बेनको सदियौं भयो । विचार र आस्थाका कन्टेनरहरू यतिखेर सुनकोसीमा आएको पहिरोले जाममा परेका छन् । सहमतिको पथमा पहिरो खसेको छ । सिँहदरबारका बाटाहरू विकट भएरै होला नेताहरू सहकार्यार्थ रिसोर्टहरूमा जान थालेको धेरै भयो । उपजीव्य गन्थ्र मानिएको गीताको गोदाममा लाहाछाप लगाइएको छ । बाइबलको अपव्याख्या गरेर मनोलोकको धज्जी उडाएका छन् –बठ्याइँजीवीहरूले । कुटिल मनहरूले कुरानको पवित्रतामाथि नै धावा बोलेका छन् । सबैभन्दा बबुरो त बुद्धको इथिक्स भएको छ । संसारमा युद्ध असनको साँढेझैँ सुण्डी झोल्याउँदै, कोरलीका पछिपछि उत्तेजनाको फरमान जारी गर्दै र्याल चुहाएर अनवरत लम्किरहेछ –दशै दिक्पाल ।

इमान जमानको यद्यपि बोलकबोल प्रथाद्वारा लीलाम जारी छ । बुगेको प्याकसँगै औपचारिकतामा सीमित बनाइएका संवेदनाहरू पन्याला बनेर पातलिएका छन् । वेदनामा विज्ञापन गरेर नाफामुखी बेपारको सेयर बजारमा प्रतिकित्ता सेयरको भाउ उकालो लागिरहेछ । मानिस मेसिन भएकाले रियल लाइफमाभन्दा रिल लाइफमा रमाउन थालेको छ । फेक आइडीको सदुपयोग गर्दै जँवामर्द लोग्ने र पतिव्रता स्वास्नीनै वल्लोकोठा पल्लोकोठा बसेर च्याटमा खसमभार्याको समर्पणलाई सहिद बनाउँदै इत्तरिएका छन् । फेसबुकमा हरेक मानिसका तालहरू बेतालसँग रम्रिएका छन् । जगत् उल्टो नदीझैँ कर्मनाशा नाममा गन्धे पानीको फोहरा मिसाएर भोरजूवाको खेलबाडमा बाँकटे हान्न उद्दिग्न छ । तर बिन बादल बर्सिने मेघले शस्यशालिनी धराका खलियानहरू बेमौसमको बाजा बजाउँदै पोखरीमा परिणत भएका छन् । रोप्ने बेलामा बर्सिदैँन । भित्र्याउने बेलामा नचाहिँदो तबरले ओइरिन्छ –आरीले घोप्ट्याएझैँ । सुकृतिको नादमा लास्सो बीचमा प्रकृति पनि ताण्डव मच्चाइरहेको छ । एनजीओहरू जलवायु परिवर्तनका असिना टिपेर आइसको रिपोर्टिङ गर्दै ‘हरियो नोट’ छाप्नमै व्यस्त छन् ।

आदर्श राघव मानिएका अयोध्याका रामहरूलाई विना हिच्किचाहट् फोटोमा पारेर भित्तामा सजाइएको छ । यहाँ आइफोन बोक्ने आधुनिक रामहरू हराम भएका छन् । लक्ष्मणको इतिहासमा धमिरा लागेको छ । सीताहरू जीवन धान्नै अरब र मलेसियाका ताता फाँटमा गलितथकित मुद्रामा क्लान्त परिचय बोकेर लज्जाको मैलो परिधानभित्र लुकेर बाँच्न विवश छन् । यता देशमा आँखामा चिप्रा लागेका र ओठमा कलेँटी परेका तिनका नानीहरू पशुपति शर्माले गाएका ‘मलाई चिन्ता छैन केई’ गीत जानीनजानी गाइरहेछन् ।

पिउँदा त कताकति मजा लाग्छ पनि यो मनलाई । तर भोलिपल्टको दिक्दारीले फेरि पिउने कामलाई अघोषित रूपमै घृणा गर्छ । जस्तो तबल थापेर आएको दिन भार्याको आँखामा खुसीको एक प्रकारको मिसाइल पाउँछु अनि उधारो खाँदा र साहूजीका जाँदा उनै पत्नीको आँखाका तलाउमा फेवामा झैँ जलकुम्भी झार (दलगच्चा) उम्रिएर हैरानिएको भेद खुल्छ । पैसामा कस्तो पामर छ ? आफ्नै स्वास्नीलाई पनि निमेषभर मै बदलिदिन सक्छ ।

सामूहिक यात्राको यायावर यात्री भएको छु । मन त एकान्तको उपवनमा सयर गर्न चाहन्छ । शरीर सधँै चेतना छलेर आनन्दको खोजी गर्छ । आत्मा कहिलेकाहीँ मात्र नत्र शरीरको यस्तो आनन्दपरक यात्रालाई बेफ्वाँकमा गाली गरिरहन्छ । यात्रामा पार्थहरू छन् । परिवारका सदस्यहरू पनि छन् । आदर्शमा कौन्तेय गाण्डिवधारी अर्जुन साथै छन् । उनी हरपल सचेत बनाउछन् । जीवनमा चिट नचोर, भ्रमको पिङमा नमच्ची । धोकाघडीद्वय सापेक्ष पाश्ववर्ती भएर कर्ण र सकुनी इच्छाहरू पनि सल्बलाउन थालेका छन् । बगरलाई म्वाइ खाएर भागेका खोलाका लहरजस्ता तर्पिनतर्पिन सिद्धान्तले डिमार्केसनको सीमाना नदेखाएको पनि होइन । र पनि गुणवत्ताका खोलहरू झिरिप्प भएर मक्किनै सकेका छन् । अब त्यहाँ कुनै सान्त्वनाको सियोले रोदनको भ्वाँङ टाल्ने काम गर्न सक्दैन । किमार्थ सक्दैन ।

अभिभावकहरूलाई इन्भर्टरको उज्यालोमा सीमित बनाइएको स्काइपमा यहाँ छाडेर अनुज पुस्ता अब सात समुद्रपारि बत्तीइनैसके । कहाँकहाँ पुगे ? न धागालाई पत्तोफाँट, न चङ्गालाई ज्ञाताज्ञात । सबै कल्पिनुको श्यामश्वेत अलिना साझेदारीमा अनुमानका गुगलहरू सर्च गर्छन् । अर्धानो इमान ह्याङ् भएका बेलामा मायाको नेटवर्कले काम नगरेपछि कस्तो के लाग्छ र ?

चाक्षुस मार्गमा अवरोधार्थ तथागतहरू आएका छन् । भान्ते र अनुजलाई कुनै अध्यात्मको ट्राफिकले मार्गदर्शन गर्न सकेको छैन । उत्तरपुस्तिका समाएर उत्तरकै लागि टोलाइरहेका परीक्षार्थीहरू, आफू अनुकूल ‘कि’ बनाउनै उत्तरका खोजीमा ध्यानमग्न रहेका प्राश्निकहरू, ऊध्र्वमार्गको गमनार्थ ध्यान गरेकै जोगीहरू, भोगीहरू, भट्टीमाराहरू, साहूहरू, विधान निर्मितिका लागि भनेर सफेद लुगामा ठाँटिएकाहरू सबैसबै अल्पविराम मुद्रामा छन् । हताशा र मनोवादात्मक शैलीमा एकान्तमा एकालाप गरिरहेका छन् । वार्ता र सहकार्यको नाटक रचेर किँबा कोही शाष्टाङ्ग दण्डवत् शैलीमा इशान दिशातर्फ पृष्ठभूमि बनाउँदै लम्पसार दर्शनको रिहर्षल गरिरहेका छन् । लाग्छ, यी सबैसबैलाई व्यक्तिगत लाभहानिको चिन्ता छ । यसो गर्नु मै आनन्दको बहार छ । केवल वसन्तवहार । अपरिमित चाहनाको दाइँमा जब कसैले तगाराको अखनीले रोक्न खोज्छ अनि अभियन्तालाई असिम चिन्ता लाग्छ ।

समस्याको पूर्णविरामलाई नमन गर्ने मन छ । तर मन यतिखेर हतासको तिजोरीमा कैद छ । सबै उपायहरू निरुपाय भएका छन् । भर्खरै मात्र यादहरूले संकल्पको याद दिलाएर गए । तर त्यो पनि पानीको फोका सावित भयो । अतः असल मनलाई नमन छ । प्राप्त्यासालाई आदर छ । प्रबल प्रत्याभूतिलाई गौरव गरेको छु । अहर्निष शब्दका चरू होमेर जीवनको स्निग्ध यज्ञोपवित धारणार्थ मन्द गतिकै सही केही हतारमा छु । सवारी जाम छन् तर सवारीचालकहरू हतारिएका मानसिकतामा रहेका छन् । जेब्राक्रसमा उभिएको छु । अहिले मनोलोकको निरव शान्ति प्रत्याभूत गर्ने गुम्बाका गुरुहरू लामो घर बिदामा गएका छन् । चौरस्ताका ट्राफिकहरू अचेल स्वार्थका कित्ता मिलेकाले सवारी चालकसँग नजिक र पैदल यात्रीसँग क्रमशः टाढिएका छन् । अपनत्व र दूरत्वको यो संघटन द्रव्यको हुरीमा नुहिएका मकैका बोटझैँ भएकाछन् । भलिभाँती थाहा छ, नाहकमा पैदल यात्री भएर दुःख बेसाएको रहेछु । अहिले बेसाउने सबै चिजमा पेष्टिसाइट हालिएको छ । आफू आर्गेनिकको खोजीमा निस्किएको नाटक गरेर मेरा छिमेकीहरू पङ्ग्रामा बेधडकसँग गुडिरहेछन् । तर म भने गोडामा पाङ्ग्रा लगाउने कविता कल्पिरहेछु । चोरी औंलामा बल्ब बाल्ने आत्मपरक निबन्धको सूत्र खोजिरहेछु ।

चारैतिरका ‘एट लेन’ सडकहरू ‘ओभर फ्लाइ’ विद्यामान भए पनि पथजामले मन झरीमा रुझेको चरीझैँ अकिञ्चन भएको छ –यतिबेला ।

प्रीतिभोजमा आएका पाहुनाझैँ भएका छन् – मँहगा सन्तानहरू । मिठोमा प्रशंसा र नमिठोमा दन्त बझान । नियति खेचरको भएको छ । मानिस चरावृत्तिमा वाचाल । रित्ता गुँडहरू । उडेका बचेराहरू । उष्णताहरू । भावातिरेक अश्रुविन्दुका उद्भिजहरू । तीहरू । तिनीहरू । अरूहरू । यसरी नै कुटुम्बहरूको निम्ताको चाङ चाक्लो भैरेहेछ । अब फेरि आम्दानीले खर्चका सामु समर्पण गरेर रूने त होला नि ? यतिखेर मँहगीबाहेक सबै चिजको भाउ बढेको छ । किन त्यो मँहगीको भाउचाहिँ स्थिर भएको होला ?

निद्रा लाग्दैन । निद्रा लागे पनि त मँहगीको राप त्यो निद्राभरि केही कम हुन्थ्यो होला । अहिले त मलाई दिनहूँ जाँड खाएर मस्त सुत्नेहरूदेखि पनि आरिस लाग्न थालेको छ । आरिस अरू थोकमा होइन उनीहरूले कसरी मस्तीसँग मँहगीको मार सुतुन्जेलसम्म छल्न सक्या भन्या ? अनि ब्यूँझोमा किनिएका वस्तु, भावना र आश्वासनहरूलाई होलसेलमा किन्दा केही डिस्काउन्ट त मिल्थ्यो । अनिदो शरीर लिएर युरो स्टेण्डर नाघेको सवारीझैँ समय अगावै सर्भिसिङ् गरिरहनु पर्ने भएको छु । बढी नै धूँवा फाल्ने ।

सोच्छु । देश पनि त संविधानको अनिदोले छ दसकदेखि सुतेको छैन । अहिले नबनेको अनिदोले पिरोलेको छ भने बनेपछि बनेको पिरोलोले पिरोल्ने छ । कठै ! कतै पनि सुख छैन । न उठी सुख न बसी सुख भन्याजस्तो भैरहेछ –देशको नियति ।

जीवनको परिभाषा खोजेँ ? भेटिनँ । मृत्युको परिभाषा तलास गरे पाइनँ । कारण र परिणामको परिभाषा पनि भेटिनँ । अनि कहिल्यै भेटिन प्रेम र मित्रताको अकण्टक परिभाषा । प्रेम र मित्रतामा दुई पक्ष समावेश हुनै पर्छ । जब दुई पक्ष समावेश हुने दरकार पर्छ अनि त्यहाँ स्वार्थको गन्ध आइहाल्छ ।

देवकोटाले पनि धेरै परिभाषाको खोजी गरे । शंकरले गरे । भूपिले गरे । पारिजातले गरिन् । हरिभक्तले गरे । हृदयचन्द्र सिँहले गरे । मनुजबाबुले गरे । ब्राजाकीले गरे । महेशले गरे । श्यामलले, श्रवणले, नारायणले सबैले गरे । कसैले पनि सुखमा परिभाषाको खोजी गरेको पाइनँ । खोजे सबैले खोजे । दुःखमा खोजे । दुःखमा खोजेकाहरूले नै पाएका छन् । सुखमा खोजेकाहरूले त कमै पाएका छन् । यसो किन हुन्छ । त्यो मलाई थाहा छैन । यहाँ कारयित्री र भावयित्रीले खोजी गराउने हो । निमित्य मात्र हौं हामी । गराउने त अर्कै छ । फगत् हामी गर्ने मात्र हौं । कारयित्रीले जेजे गराउँछ हामी त्यही गर्छौं ।

नादानहरू मैले गरेँ । हामीले गर्यौं भन्छन् । तर यहाँ गराउने अरू कोही नै छ । ऊ खुरूखुरू आदेश दिन्छ हामी लुरूलुरू कार्य सम्पन्न गर्छौं । आदेश तामेल गर्नैका लागि आएका हामीहरू यहाँ जे गरिरहेका छौं । कसैका तोकादेशमा काम गरिरहेका छौं ।

संसारको पूर्ण के हो ? कायममुकायम के हो ? निमित्य के हो ? त्यसको खोजी अँझै म गरिरहेछु । मैले नपाएको जवाफ अहिलेसम्म कै यही हो । प्रश्न गर्न सजिलो छ तर उत्तर पाउन गाह्रो । हुन त प्राश्निक आफैंमा उत्तरदाता पनि हुन सक्छन् । यदि उनीहरू म्याचोर छन् भने । नत्र प्रश्नका भारीले प्राश्निक थिचिएर मर्छन् । उत्तरको अत्तरले सन्धान गर्ने कसैलाई पनि लोभ्याएको छैन आजसम्म ? जो पवनमा सजिलै उडेर मिसियोस् ।

पिकासो हुन् कि पुस्किन । देवकोटा हुन् कि दाँते । गेटे हुन् कि डा.गोविन्द । महर्षि रमण हुन् कि भगवान् रजनीश । रामकृष्ण हुन् कि सन्त युजी । सबैले खोजे मात्र । पाए नपाएको जवाफ कसैले पनि दिएनन् । चुपचापको मजा गुपचुपमै छ । सर्जकहरू एकान्तमै क्रिएटिभ हुन्छन् । ‘युरेका युरेका’ भनेर सडकमा एक्लै नाच्ने थोमस कहिले कुखुराका फुलमा ओथारो बस्थे त कहिले नाम समेत बिर्सिएर प्रयोगशालामा प्रयोगहरू गर्दै सुत्थे । हल्ला र विज्ञापितहरू त ‘सन पापडी मिठाइ’ हुन् । भुक्ने कुकुरले टोक्दैन भन्याजस्तो । मुखमा हाल्यो बिलायो ।

जो आनन्द खोज्नुमा छ । त्यो पाउनुको प्राप्तिमा र लघु सुखको सुखानुभूतिमा हुँदैन । पाएपछि त खल्लोखल्लो । नपाउँदाको रनाहाले नै रन्थनिने हो यो जगत् र चेतन जगातीहरू । प्राप्तिपछि त उदासिनताले घर गर्न थालिहाल्दो रहेछ । कविता तलास्यो । पाएपछि केही छैन । कथा खोज्यो । लेखेपछि लेख्न नसकेको दृष्टिकोणको मात्र बोध हुने । उपन्यास कल्पियो पूरा भएपछि निराशाबोधले सताउने । नाटक, निबन्ध, अनुभूति र अन्य थोकले पनि मानिसलाई केवल बेचैन मात्रै दिने । बेचैनी मात्र दिन किन आउँछन् यी सोचहरू आफैँमा लाम लागेर ? असन्तुष्टि मात्र प्रदान गर्नका लागि किन आउँछन् यी उत्ताल तरङ्गका भोगाइहरू –ताँतीताँती भएर ।

उज्यालो अन्धकारले स्रष्टालाई त्यस्तो गहिरो खाडलमा हाल्छ जहाँबाट ऊ कहिल्यै निस्कन सक्दैन । समुद्र हो कलाको यात्रा । न वारि न पारि । रहरका तिजोरीमा सफलताका सूत्रहरू हालेर मानिस इच्छाको पर्वत आरोहणार्थ निस्केको छ । गुफाबाट निस्केर कम्प्युटरमा बस्दासम्म उसले केके न पाएजस्तो गरे पनि आखिर केही पाएको छैन । पाउने पनि छैन । साला ! दाल, भात, डुकु तैँले गर्नु गरिस् । अख्तियार जन्माउने तैँ होस् । होइनस् ? अदालत गठन गर्ने पनि तैँ होस् । होइनस् ? पुलिस । जेलनेल । हत्कडी । साक्षी । बकपत्र । पेसी । फैसला र दण्ड जरिवाना अनि बिगो सबैका माउ तैँ होस् । तँ कसैको जीवनमा इत्तररिन्छस् । कसैको जीवनमा रङ्गीन ठट्टा गर्छस् । तैँले गर्ने नाना नौरङलाई मैले भलिभाँती पढ्या छु । जान्या छु । बुझ्या छु ।

मौलिक लेखेँ भनेर नफुर्क ए लेखकहरू । भर्जिन बनाएँ भनेर गमक्क नपर ए कलाकारहरू । यहाँ तिमीभन्दा अघि नै कसैले त्यस्तो कथिसकेको छ । चित्र बनाइसकेको छ । सबैसबै सिर्जनाहरू पुनरावृत्ति मात्र हुन् । केवल नयाँ नाममा आएका नयाँ रहरका पुनरावृत्ति । अक्षरका पुनरावृत्ति । नयाँ रङ्रोगनका अनुकरणहरू । कोही नयाँ रचना गर्न सक्दैनन् । अनि भ्याउँदैन पनि तिम्राहाम्रा सितिमिति दिमागले कथ्न, लेख्न र बनाउन । अनि किन यस्तो अपव्याख्या र आत्म प्रवञ्चना ? डाक्टर भनाएर टाइ कस्नुको के मतलब जब उत्तेजनाको नाथ्री फुटेकाबेला संयमको रुवा नाकमा कोच्न नकस्नेले ।

वाह ! सप्रसङ्ग व्याख्याले जीवनलाई सम्पूर्णतः व्याख्या गर्न सक्ने भए । अघिअघिका पूराण र उपनिषद्ले किन व्याख्या गर्न सकेनन् त ? किन गीताले अर्थ्याएको मोक्षको सम्पूर्णता मानिसले जान्न सकेन ? किन रामायण र महाभारतले दिएको उपजीव्यता मानिसले पूरा गर्न सकेन ? किन बाइबलको शितलतालाई निखन्न सकिएन ? किन कुरानको गूढ तत्वलाई भलिभाँती सार्वजनीकीकरण गर्न सकिएन ?

मलाई माफ गर्नुस् मेरा प्रिय पाठकहरू मैले कुनै नयाँ शीर्षकमा अहिले यहाँहरूलाई निबन्ध पस्कन सकिनँ । जाबो शीर्षक त आफूले सोच्न नसक्नेले निबन्ध के पस्केला भन्नु होला ? हो, म यतिखेर निबन्ध पस्कन सक्ने स्थितिमा छैन । मलाई यो शीर्षक देवकोटाले दिएका हुन् । उनसँग मेरो लेखनीको मायावी कल्पनामा साक्षात्कार भैरहन्छ । बाचचित र भलाकुसारी हुन्छ । मैले उनीसँग गरेको गुनासो एउटै रहन्छ । त्यो के भने उनले दाल भात डुकुलाईभन्दा किन त्यति महत्व साहित्यलाई दिए ? किन उनी जीवनको पचास वर्ष उमेरमै परमधाम जाने बाटो अख्तियार गर्न विवश भए ? उनका समकालीनहरू अँझै लेखनको ब्याजेस्याजे ओलन आएर जंकु गरिसकेको तनलाई पुरस्कारे लिउनले चिल्लो पार्दै अलोप समासको विभक्ति झैँ दीर्घजीवी भैरहेका छन् ।

खैर ! एकपटक कुरैकुरामा देवकोटाले भनेथे –प्राप्तिका लागि जब मानिस कुनै कुरामा पागल हुँदैन । तबसम्म उसले केही पाउँदैन । नपाएपछि ऊ दुखित हुन्छ । रून्छ । कराउँछ । तर कुनै तहमा उत्तीर्ण भएपछि भने फिस्स हाँस्छ । हाँसोको ऊर्जाले मानिसलाई सिर्जनात्मक क्षेत्रको दिग्दिगन्तसम्म लैजान सक्दैन । दुःखका सिर्कनाहरूले उसलाई ताडित नबनाउँदासम्म ब्रह्म ज्ञान नै पेचिलो हुँदैन । भवको माता नै दुःख हो । दुःखका पोखरीमा नहेलिकन मानव अभिव्यक्तिको पूर्णाहूति नै गर्न सकिँदैन । अनुभूतिका जुलुसले उसलाई जबसम्म ढुङ्गा हान्दैनन् । मूर्दावाद भनेर पुत्ला जलाउँदैनन् तबसम्म उसले लेखनको आरोहणलाई बेलगाम अथक आरोही भएर पक्रनै सक्दैनँ ।

खोज्नका लागि त मानिस पागल हुनुपर्छ । फिदा भएर लागे मात्र कुनै चिज पाइने रहेछ । रानारूनि जीवनातिरेक नादहरू । खुसीहरू । सन्तुष्टिहरू । खोजेका वस्तुहरू । सन्धानको अनुज भनेको नै खुसीरहेछ । छापामा लेखेका सबैका नाम छोपेर हेर्ने हो भने कसैको आफ्नो मौलिक सृष्टि छुट्याउन सकिँदैन । समवयीझैँ देखिने जल तरङ्गका उत्ताल लहरहरू । गिँड उछिट्टिएका धडजस्ता लाग्न थाल्छन् –मुर्कुटा सिर्जनाहरू । पहेलीहरू । स्तम्भहरू । गुत्थीहरू । ज्यामितिहरू । हँसिया र हतौडाहरू ।

अक्षरको आराधना नै जीवनको उद्देश्य बनाएर हिँड्दा चोकचोक र कुइनेटा कुइनेटामा तगारा हालेर छेक्ने यी दाल, भात र डुकुहरूले आखिर किन कहिल्यै छोड्न नसकेका होलान ? हातखुट्टा फ्याँकेर पोखरीमा चुर्लुम्म डुब्न मन लागेका बेला किन हामीले गोताखोरझैँ भलिभाँती पानी चाल्न नपाउने ? लेखन र सुत्केरो अनुभूति एउटै हो भन्ने कुरा किन लोकले नबुझेको होला ? के लेख्नेका लागि मात्रै यी गोरखधन्दीय समस्याहरू पहाड बनेर उभिने नै हुन् त एउटा कल्पनालोकको विचरणार्थ हिँडेको मानव आत्मामा ?

वाग्देवीले किन आफ्ना सन्तानलाई यति धेरै हेलाहाँसो गरेकी ? लेखक भोको नभए कस्तो लेख्दो हो ? चित्रकार नाङ्गो नभए कस्तो बनाउँदो हो ? संगीतकार, मीमांशाकार, गायक र दार्शनिक भोको नभए कस्ताकस्ता उम्दा सिर्जनामा रत हुँदा हून् । परिश्रम हुँदा प्राप्ति नहुने तर नहुँदाचाहिँ प्राप्तिका लागि प्रयास गर्ने ? किन यस्तो अनर्गल चाहना । केका लागि ?

बजारले लेखकलाई किनिरहेछ । समस्याले लेखकलाई मिलापत्रमा साक्षी बनाइरहेछ । परिस्थितिले अभियन्तालाई जीवनको तहखानामा थुनेर मृत्युको भर्पाई लेखाइरहेछ । समय वाचाल छ । घटनाहरू अट्टहास गरिरहेछन् । पात्र निःशब्द शब्द खेलाएर असन्तुष्टि बमन गरिरहेछ । भीमकाय बनेको भर्चुअल वल्र्डले समाजलाई सुपर्णखाका रूपमा निलिरहेछ । संसार भौतिक सम्पन्नतामा पिङ् खेलिरहेछ । आखिर केका लागि ? किन ?

उत्तरापेक्षी स्वय म म यतिखेर जवाफको खोजीमा छु ।

अहर्निष उत्तरको मुखापेक्षीभएर लागिरहेछु । फूलको कालीन टेकेर हिँड्दा हुने शान्ति र सुखको झिनो अनुभूतिझैँ सूक्ष्ममा केही पाएपाए जस्तो लाग्छ । काँणाले कोतर्दा पीडाबीच अमूर्ततामा रूपल्लिएर नपाएनपाए जस्तो पनि लाग्छ । भेटेका सबै दुखीया मानवहरू पहिल्यै कतै भेटिएभेटिए जस्ता । चिनेका सबै जात्रामासँगै खाइपिई गरेर पहिल्यै कतै चिनिएचिनिए जस्ता । सन्तुष्टि लिँदा पनि कल्पनु पर्ने । असन्तुष्टि बाँड्न पनि कल्पनै पर्ने अनि मात्र बास्तविक सन्तुष्टि मिल्ने । यो कस्तो परिणति हो ? निदानात्मक कारणको खोजीमा छु । थाहा छ, जीवनमा कुनै पनि कुराको निदान असम्भव छ ।

नदी हेर्छु । जीवन लाग्छ । फूलका बोट हेर्छु । जीवन लाग्छ । पहाड हेर्छु जीवन लाग्छ । अबोध जिज्ञासा गर्ने बालक झनै जीवन लाग्छ । बेबी बर्थिङ् सेन्टर र विविध आयामका घाटमा गएर हेर्छु । जलिरहेको लाश अ‍ैयाआत्था नगरिकन चुप लागेर लोटिरहेको छ । आगो आफ्नो काम गरिरहेछ । न प्रतिक्रिया न रोदन केही छैन –दुवैमा । जीवनको अतीव माया लाग्छ । रेखा सुरू हुनु अगावै अन्त्यको घोषणा भएको यो कस्तो जीवनानुभूति हो ? बग्नु नियति थियो । बगेँ । फुल्नु पनि नियति नै थियो । फुलेँ । अस्पताल र घाटमा जानु थियो गएँ । जहाँजहाँ जेजे गरेँ । केही मिलेन । मिल्ने प्रयत्न पनि भएन ।

लखेटे । बरू दाल, भात र डुकुहरूले लखेटे । त्यसैले त भागिरहेछु । अहिले पनि भागिरहेछु । रिले दौड हो जीवन । जिजु भागे । त्यसपछि हजुरबा भागे । अनि बाउ भागे । अहिले म भागिरहेछु । भोलि छोरो भाग्ला । अनि त्यसपछि कनिष्ट अनुजहरू लश्कर लागेर भाग्लान् । भागेको भाग्यै गर्लान् । भाग्ने क्रम पनि पछि गएर मिथक बन्ला । कथा बन्ला । जनश्रुति बन्ला अनि एकदिन क्याराभानको जस्तै कुनै प्रतिभाशाली निर्देशकले फिल्म बनाएर बजारमा लैजाला । साँच्ची कस्तो देखिँदो हो ? दाल, भात र डुकु रिल लाइफमा ? रियल लाइफमाभन्दा ब्लाकेन ह्वाइट कि कलर लाग्दो हो ?? साला, दाल, भात, डुकु !!!

पेशल आचार्य
espeshal2023@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *