Skip to content


मनको मैदानबाट
मुल फुटेको भए
शायद,
त्यो कविता हुन्थ्यो
यहाँ त,
मस्तिष्क खर्चेर
ओठबाट जबर्जस्ती
कविताको निर्माण गर्न खोजियो
र त महासय !
कविताको हत्या यही भयो ।

उकाली उक्लेका र शीखर चढेका
कविता लेख्ने मसी
बेहिसाब तप्प तप्प रगत भै
सडकमा चुहिन्छ,
रगतको लत्पत्याइ पछ्याऔ
बाटो पैल्याऔ
अलिपर
सगरमाथाको आँगन भरी
मेचीकालीको मान्द्रोमा
पोखिएकाछन् समस्याको विस्कुन
छरिएकाछन् इन्धनको गन्ध
झरेकाछन् विधुतीय स्वीच
अन्धाकार घर, गाउ बस्ती
अँध्यारो कोठा
अभावै अभावमा बाँचेका छन
करोडौ जीवन
विगत देखी वर्तमानसम्म
कसैको प्रत्यक्ष दासी भएर
कसैको हस्तक्षेप खपेर
र त
कवि कविता लेख्छन
ग्यास नभएको, डिजेल, पेट्रोल नभएको
औषधी नभएर छटपटीएको
सड्क बन्द, नगर बन्द नाका बन्दका
कविता निर्मितले खोला बगाउँछन्
माफ पाउ महाशय !
अभावै अभाव ओकलेर
पीरै पीरको भारीले
सजिलै कविताको हत्या गर्नु मिल्छ र …?

कुनै दिन,
सम्झौता सम्पन्नतामा
खुशीयालीको कविता कोरिएला
खबरदार !
एकछाक मिष्ठानको लागि
पराई सामु दस्तखत गर्नुभन्दा
सिस्नुको जरासँग गरिने संम्झौता
स्वाभिमानी र दीर्घ हुन्छ
लोक्ताको रेसासँग गरिने संम्झौताले
नाङ्गै हुइन्दैन
कदमको तेलसग गरिने सम्झौताले
गाडी गुडाइ
गन्धे तेलको लागि कसैसँग भिख माग्नु पर्दैन
अत:
खेर गइरहेको जैविक र प्राकृति
ग्यासको सदुपयोगले चुल्हो बलेको कविता
बगेको पानीबाट झिलिमिली बत्ती बलेको कविता
मातृभूमि एक इन्च खुम्चिएको होइन
सयौ माइल फैलावटको कविता
सुन्न आतुर छन श्रोता
पढन हतारमा छन पाठक
नहोस सम्झौता …
कविताको हत्या हुने …..

बुद्धि मोक्तान
चागे ३ ताप्लेजुंग
म्यारील्याण्ड,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *