संसार नै द्वन्द्वको उपज हो । द्वन्द्वबिना यस संसारमा केही कुरा संभव छैन । आफ्नो पक्षमा एउटा मानिसले जसरी अर्को पक्षलाई ल्याउन जोरजुलुम गरिरहेको हुन्छ अर्को पक्षको मानिसले पनि उसलाई उसको पक्षमा तान्न त्यसरी नै जोरजुलुम गरिरहेको पाइन्छ । सबैका आआफ्ना मूल्य र मान्यताहरू छन् । सबैलाई आफ्ना विचार र मूल्यमान्यताको हिसाबकिताब गर्ने स्वतन्त्रता छ । प्रत्येकले आफूलाई आफ्नो तवरले चित्त बुझाउन पाउनुपर्छ । आज व्यक्तिगत स्वतन्त्रताको पक्षमा ठूल्ठूलो स्वरमा सहरबजारमा नाराजुलुसको सेरगुल भैरहेको हुन्छ ।
अँझ पश्चिममा त मानिसहरू मानवअधिकारको कुरालाई सँगसँगै लिएर जीवजन्तु अधिकारका कुरा पनिसँगै लिएर गैरहेका छन् । पश्चिम पूर्वको दाँजोमा बढी स्वतन्त्र देखिएको छ । हुन त पूर्वीय सभ्यतामा पनि धेरै विद्वानहरूले न्याय र समानताका पक्षमा आफ्ना अभिमतहरू प्रकट गर्दै यो धर्तीलाई नै एउटा घरको संज्ञा दिएका छन् –‘वसुधैव कुटुम्बकम्’ भन्ने आवाज उठाएका छन् तर आजको विश्व अंग्रेजीमय र कम्प्युटरमय भएकाले होला हामी सबै पश्चिमाभिमुख भएका छौं । प्रशंसा होस् कि गाली अंग्रेजी भाषा नजानीकन हाम्रो दैनन्दिन व्यवहार नै चल्दैनँ ।
यसो सोचील्याउँदा लाग्छ, संसारमा सभ्यताको श्रीगणेश पनि द्वन्द्वबाटै भएको हो । अनन्त प्रशववेदनालाई पार पाउन नपाउँदै एउटी पुत्रवतीको काखमा आउँने नवजात शिशुले चिँहाचिँहा गरी आमासँग दूध मागिरहेको हुन्छ । घनघोर पीडामा रहेकी आमासँग अब एउटा नयाँ जीवको द्वन्द्व चल्न थाल्छ । हुन त त्यो नवजात शिशुको पनि आमासँग द्वन्द्व गर्नु रहर होइन बाध्यता नै हो किनकि त्यहाँ बाँच्नका लागि उसले प्रकृतिपदत्त हक खोज्दै आमासँग खानाको खोजी गरेको हुन्छ । आमा पनि उसलाई दूध चुसाउन पाउँदा एक परमानन्दको अनुभूति गर्छिन् । भनिन्छ, संसारमा प्रत्येक स्त्रीहरूको प्रथम चाहना आमा बन्ने हुन्छ । आमा बन्न नसकेका स्त्रीहरू आफ्नो मानवजीवन सफल भएको ठान्दैनन् पनि । कस्तो विचित्रको छ यो संसार । एकातिर मातृत्वको प्रबल चाहना, अर्कोतिर द्वन्द्व गर्नुपर्ने बाध्यता ।
मैले संसारमा केवल दुई पक्षमा द्वन्द्वको मात्रात्मक स्वरूप देखेको छु । जहाँ तेस्रो पक्षको कुनै गुञ्जाइस नै छैन । सृष्टि विकासको चरणमा आएका पुरुष र स्त्रीका बीचमा पनि मांशल द्वन्द्व नभएको भए सायद् जीवको सृष्टि हुने थिएन । स्त्री योनि र पुरुष लिङ्गबीच जब न्यूटनको तेस्रो नियमबमोजिम ‘विपरित ध्रुवका बीच आकर्षण र समान ध्रुवका बीच विकर्षण हुन्छ’ भनिएझैँ चरम आकर्षण भई घर्षणसंघर्षणका अनेकानेक कार्यारम्भहरू हुन्छन् त्यसपछि अर्को जीवको सृष्टि हुन्छ । चराचर जगत् यसै प्रकृयाले यात्रारत छ । वेदपूराण, बाइबल, त्रिपिटक, जेन्दाअवेस्थामा जताततै द्वन्द्वकै कोहराम मच्चिएको छ ।
सामाजिक गतिले क्रमशः फड्को मार्दै जाँदा समाजमा शोषक र शोषित, गरिखाने र बसिखाने, समाजवादी र पूँजीवादी, हुँदा खाने र हुने खाने, शरीरजीवी र मानसजीवी, नवोदित र स्थापित, नेतृत्व र कार्यकर्ता, वाचक र श्रोता, लेखक र पाठक, शासक र शासित, सेवाप्रदायक र सेवाग्राहीका बीच द्वन्द्व भएको पाइन्छ । जहाँजहाँ हामी विचार बेमेलको स्थिति पाउँछौं त्यहाँ अवश्य पनि द्वन्द्व भएकै हुन्छ । चस्माका दुवै सिसाले एउटै भिजन देखे पनि ती दुईको आवश्यकता आआफ्नो स्थानमा आफ्नै किसिमको रहेको हुन्छ । राम होस् कि रावण, कृष्ण होस् कि कंश, वामन होस् कि बलि, महेश होस् कि वृत्तासूर, अर्जुन होस् कि दुर्योधन, बुस होस् कि सद्दाम, मुसरफ होस् कि मनमोहन, आफ्नोआफ्नो सातुसामल बेच्ने हतारो सबैलाई भएको छ । सबै आफूमात्र ठिक अरू बेठिक भन्ने मनोविज्ञानले चलेका छन् । भनिन्छ, संसारमा डेढ अक्कल कहिल्यै मर्दैन । मानिस आफूमा चाहिँ त्यो डेढ अक्कलमध्ये आफूलाई चाहिँ एक या पूर्ण मानेर हेर्दछ र बाँकी दुनियाँलाई चाहिँ सबै मिलाएर आधा मात्र देख्दछ । यो संसारका सबै मानिसमा लागू भएको पाइन्छ । यति भएपछि अनि किन मानिसको मन एकै स्थानमा एकीकरण हुन सक्थ्यो ?
सबै मानिसहरू खुसी र सत्यको खोजीमा हिँडेका छन् तर आजसम्म कसैले पनि सार्थक खुसी र परम्सत्यको आभास पाउँन सकिरहेका छैनन् । सबै आफूखुसी हिँडेका छन् । मनु हिँडे तर उनले पनि आफूखुसीभन्दा बढी केही पाएनन् । माक्र्स हिँडे उनले पनि आफूखुसीभन्दा धेरै केही पाएनन् । उनलाई त मर्नेबेलामा पनि कात्रो किन्न कसैले सहयोग नगरेर चन्दा उठाएर कब्रसम्म लगेको थियो । विवेकानन्दको पनि त्यही हविगत भएथ्यो । जीवनभर ईश्वरको खोजी गर्दागर्दा निराशासिवाय केही नपाएपछि उनन्चालीस वर्षकै छोटो उमेरमा उनी क्यान्सरबाट मरेका थिए । उनका गुरु रामकृष्ण परम्हंश स्वामीको हर्टएट्याक भएथ्यो । दार्जिलिङ्का नामी कथाकार रूपनारायण सिँह पुस्तकालयमा कुर्सीमै मरेका थिए । उनलाई पनि उनको सद्गत गर्न उनैका पुस्तक बेची काम चलाइएको थियो । यहाँ देवकोटा दबाइ नपाएर मरे । शंकर लामिछाने र भूपीलाई सरकारले एक रत्ति पनि सहयोग गरेन । हरिभक्त कटुवाल जीवनको अन्त्यमा लगभग बौलाए, विष्णु नवीनलाई इलाममा स्त्रीभेषमा सहर परिक्रमा गराइयो । यही संसार हो जहाँ सत्य बोल्दा सुकरातलाई हेम्लक विषको कचौरा पिउँन दिएर मारियो । पाइथागोरसलाई जीउँदै डडाइयो र ग्यालिलियोलाई मृत्युदण्ड दिइयो तैपनि संसारमा सत्यबोल्ने मानिसहरू आउँनेजाने क्रम अन्त्य भएको छैन । मानिस अँझै पनि सर्वकालीन सत्य बोल्न सक्दैनन् केवल अनुकूल सत्य र आफ्नोतर्फबाट मात्र हुने सत्य बोल्छन् । त्यो सत्य क्षणिक र सीमित घेराभित्रको हुन्छ । सत्यै बोलेँ भन्नेहरूले बोलेको सत्यले पनि समयको अन्तरमा आफूलाई परिमार्जन गरेनन् भने त्यो कुरा असत्यमा परिणत भएको छ । सत्य सार्वकालिक हुँदैन त्यसमा परिमार्जन भैरहन्छ अर्थात् सत्य समयसापेक्ष हुन्छ ।
वाद, विवाद, प्रतिवाद र संवादमा पनि कहिलेकाहीं द्वन्द्व भैरहेको हुन्छ । आफ्नो तर्कलाई माथि चढाउँन मानिस अनेक सिद्धान्त र उक्तिको सहारा लिन्छ । कोटेसनको प्रयोग गर्न थाल्छ । फलाना ठाउँमा फलाना विद्वान्ले यसो भनेका छन् भन्दै प्रमाण प्रस्तुत गर्न थाल्छ । आखिर आफूलाई विश्वास भएको तर्क र भनाइको सहारा लिएर मानिसले आफूलाई माथि पारेको विश्वाससम्म गर्ने न हो । को तल को माथि भन्ने अन्तिम निष्कर्ष त कसैले भेट्टाउनै सकेको छैन । सबै आआफ्ना डम्फू बजाउनमात्र माहिर देखिएका छन् । संसारमा कतिकति दुःखिया छन् ? कतिकति अदना र निम्छरा छन् ? कतिकति पिछडिएका छन् ? खै ! त आजसम्म तिनीहरूको दुःख निवारण हुन सकेको ? आज विश्वमा जति रकम हतियारमा खर्च गरिन्छ त्यसको आधामात्र गाँसबास र कपासमा खर्च गर्ने हो भने विश्वको यो दुःख त्यसै निवारण भएर जान्छ ।
द्वन्द्व संसारका सबै कुराको जननी हो । यसले संसारमा पदार्पण गरेपछि एक हिसाबले संसार यति छिटो दुगुर्न थालेको हो । भनिन्छ, जहाँजहाँ द्वन्द्व हुन्छ त्यहाँ छिछिटो विकासले फड्किने मौका पाउँछ । द्वन्द्वग्रस्त समाज जति छिटो सुस्त समाज चेतना र विकासको बाटोमा फड्किन सक्दैन । नेपाली समाजलाई एकैछिन गमेर हेरौं न ! सातसाल र सत्रसालको बीचमा नेपाली समाज त्यति चाँडो हिँड्न सकेन जति सत्रपछि छयालीस सालसम्म हिँड्यो । यो गतिको रफ्तार पचासदेखि बैसठ्ठीका बीचमा झन् छिटो भएको पाइयो । एसियाका प्रायः सबै मुलुकमा द्वन्द्व हावी भएकाले होला यहाँको चेतना स्तर बीसौं शताब्दीमा हलक्कै बढेको पाइएको छ । अहिले संसारमा एसिया र अफ्रिकाका मानिसहरूले बढी तरक्की गरेको पाइएको छ ।
दुई भएका ठाउँमा द्वन्द्व हुनु स्वभाविकै मानिन्छ । जहाँ दुई तत्वको उपस्थिति हुन्छ त्यहाँ द्वन्द्व अँझ चर्केर जान्छ । संस्कृतमा भनाइ नै छ –‘वादे वादे जायते तत्व बोध ।’
कलामा द्वन्द्व भयो भने त्यो चित्ताकर्षक र गुणग्राही हुन्छ । नाटकमा त अँझ यो अनिवार्य तत्व नै मानिएको छ । कथा, उपन्यास र कथावस्तु भएका सबै किसिमका काव्यमा समेत यो अहिले अत्यावश्यक नै मानिन्छ । समाजमा पनि जहाँजहाँ द्वन्द्व छ त्यहाँ विकासले चरम रूप धारण गरिसकेको छ । हामी द्वन्द्वलाई सकारात्मक रूपले लिने संस्कारको जबसम्म चेतना आफूमा राख्न सक्दैनौ तबसम्म हामी मानसिक रूपले उठ्न सक्दैनौं । माक्र्स महोदयले पनि समाज विकासको त्यो चरणमा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन नगरेका भए सायद् आज विश्व निकै सुस्त गतिमा गोलचक्करमा फसिरहेको हुन्थ्यो । पश्चिममा निकै द्वन्द्वपरक दर्शन र सिद्धान्तहरूको आविष्कार भएकाले त्यो समाज हामीभन्दा दुईतीन सय वर्ष अगाडि जान सकेको हो । आज त्यो सोसाइटी जुन रूपमा ‘फ्रि’ सोसाइटीको रूपमा विकास गर्दै अगाडि जान सकेको छ त्यसमा कारकका रूपमा अनेकौं दार्शनिकहरूका दर्शनका दाउनले काम गरेको छ ।
नयाँ नेपाल भनेर आज पुराना नेता र कार्यकर्ताका मुखाराविन्दमा जो झुण्डिएको शब्द छ त्यसलाई नेपाली राजनीतिमा सफलिभूत रूपले सेफ ल्याण्डिङ् गर्ने सौभाग्य नेपालमा अग्रगामी सोच लिएका माओवादी मित्रहरूले निकालेका हुन् । पुरातन सोच भएका राजावादी या पञ्चायतका धङ्धङी भएका राजनीतिक पार्टीहरू पनि आज नयाँ नेपाल भनेर जानी या नजानी जुन किसिमले कराइरहेका छन् त्यसमा हामी सबैले निर्धक्क माओवादी पार्टीलाई धन्यवाद दिनै पर्छ । दस वर्षे जनयुद्धले जति नोक्सानी गरे पनि चेतना र बुद्धिका सरहद चौडा पार्न भने माओवादी शक्तिले अविजितको काम गरेको छ । गाउँगाउँमा जति चेतना बढेको छ त्यसमा परिवर्तनकारी शक्तिको भूमिकालाई कम आँक्न मिल्दैन । त्यो केवल द्वन्द्वको कमालले गर्दा नै भएको हो ।
पेशल आचार्य
espeshal2023@gmail.com
