आधुनिकतावादले मान्छेलाई प्रकृतिको उतकृष्ट रचना मान्यो, तर कवि नेउपाने यसको विपक्षमा देखिएर उत्तरआधुनिकता (विषम चिन्तनको स्वीकारोक्ति)तिर ढल्केका हुन् कि भन्ने देखिन्छ, जसले विसंगतवादलाई स्वीकार्छ
दमक सर्जकहरूको उर्वर भूमि बन्दै गएको छ हिजोआज । थुप्रै सर्जकहरू रतुवाको वगरबाट उक्लिदै छन् । कोही माथि वेलडाँगीबाट फुत्तै निस्किदैछन् । निस्किरहेका छन् यत्रतत्र । खुशीको कुरा हो । विष्णु नेउपाने पनि यो पंक्तिमा उभिएका एउटा परिवर्तनको उदघोष गर्ने सर्जक हुन् । उनको यो कृति ‘जन्मभूमि’ कविता सङ्ग्रहका रुपमा आएको छ ।
हुन त यो कृतिको टीकाटिप्पणी, समालोचना, समिक्षा पहिले नि भइसकेको होला । पत्रपत्रीकामा पाठकका विचारहरू प्रेशित पनि भए होलान । यसका बारेमा कार्यक्रमहरू पनि भए होलान । अनि पत्रीकालाई पनि यसको टिप्पणी त पहिल्यै भइसकेको हो भने किन फेरि दोहोर्याएर प्रकाशित गर्नु भन्ने मनमा प्रश्न पनि उठन सक्ला । तर यो जति पटक भएको भए पनि यसमा भिन्न विचार छ । भिन्न नजर छ । भिन्न रंग र राग छ । भिन्न चिन्तन र दर्शन छ जुन कुरा आजसंम यस कृतिको बारेमा एक शब्द पनि भनिएको छैन । यही नयाँ विषयले यसलाई सिगार्ने छ भन्ने ठानिएको छ यहाँ । अर्को कुरा, आजको परिप्रेक्षमा यस क्षेत्रमा छन्दमा, त्यो पनि युवा कविले, कविता लेखेको नौलो कुरा हुने पनि भयो । यसमा अठतिसवटा कविताहरू छन्दोबद्ध छन् र बाँकी पन्ध्रवटा छन्दबिहीन अर्थात गद्य कविता छन । यी दुईवटा कारणले आज मलाई यो कविताकृतिको फेरि एकपटक समिक्षा लेख्न बाध्य बनायो । यो साहित्यलाई हेर्ने एउट नयाँ चक्षु हो, चियाउने भिन्न झ्याल हो ।
दोस्रो विश्वयुद्धको त्राशदी पछि फ्रान्सबाट एउटा विचारको उदय भएको थियो जसले युद्धका बिभिषीकाहरूलाई आत्मा देखिनै घृणा गर्दा गर्दै विसंगतवाद (‘अ्यावसर्डिजम्’) को जन्म भयो । यो वादले परंपरागत विचार र संस्कृतिका मूल्य र मान्यताहरूका बिरुद्धमा विद्रोह गर्दथ्यो । त्यतिञ्जेल के मानिन्थ्यो भने मान्छे भनेको विचार र चेतनाले भरिएको प्राणी हो र ऊ यो ब्रम्हाण्डमा कम्तीमा बौद्धिक प्राणी भएर बस्छ । ऊ यो ब्यवस्थित समाजको अभिन्न पाटो हो । अर्थात मान्छेले यो समाजलाई अनुशासित र मर्यादित बनाएर राखेको छ । र मान्छे बहादुरीता, सहासिकता र नायकत्वमा रंगिन बन्छ यदि ऊ पराजीत नै किन नहोस । तर यी सव बकवास हुन भन्यो विसंगतवादले र खरो उत्रिए जाँ पाद सार्त, अलबर्ट क्यामुहरू । उनीहरूले मान्छेको नायकत्वलाई चुनौती दिए र भने —मान्छे त यो ब्रमाण्डबाट पृथकिएको बस्तु हो, उसले समुहको नौटंकी गरेपनि ऊ नितान्त एक्लो छ । मानव संसारको कुनै सत्य कुरा, मूल्य र अर्थ छैन । मानव जीवन त अर्थ र अस्थित्वको निरर्थक खोजी गर्छ, तयसको खोजमिा भौंतारिन्छ निरर्थकतातिरबाट निरर्थकतातिर र निरर्थकतामा पुगेर उसको यात्रा अन्त्य हुन्छ । यही अर्थहीन खोजीमा मान्छेको इहलीला समाप्त हुन्छ । फ्रान्सका युजिन आयनेस्कोले भने— मान्छेले जतिसुकै मरिहत्ते गरे पनि उसले पाउने भनेको ब्यर्थ हो । उसका समग्र कामहरू निरर्थक, चेतनाहिन र प्रयोजहिन हुन्छन् । यही दुखान्तमा मान्छे रुमल्लिन्छन् र सकिन्छन् ।
विसंगतवाद यसरी प्रकट हुन्छ :
निरर्थक संघर्ष नैराश्य= विसंगतवाद
विसौं शताब्दीका अस्थित्ववादीहरूले यसलाई व्यक्तिको निरर्थक संघर्ष हो भनी ब्याख्या गरे । अलबर्ट क्यामुले त के भन्न पनि भ्याए भने यो ब्रम्हाण्डमा जब मान्छेले प्रकाश नपाएको महसुस गर्छ, उसलाई अनौठो लाग्छ र ऊ निर्वासित महसुस गर्छ । उनको ‘मिथ अफ सिसिफस’ यसैको नमूना हो जसमा विद्रोह गर्दा त्यो निरर्थक काम रहेछ भन्ने महसुस गराउन सिसिफसलाई एउटै ढुंगो सधैं गुडक्याउने सजाय दिइन्छ र उसले यो विसंगत महसुस गर्छ ।
आयरिस लेखक सेमुएल बेकेटले घोषणै गरेकि मान्छे अस्थित्वबिहीनताको खोजिमै सकिन्छ । उनले भने, ‘नथिङ्ग ह्यापन्स, नोबोडी कम्स, नोबोडी गोज, इट इज अफूल ।’ (केही हुँदैन, कोही आँउदै, कोही जाँदैन, यो पीडादायी कुरा हो ।) उनको ‘वेटिङ्ग फर गोदो’ यसैको प्रमुख उदाहरण हो जसमा दुइबटा पात्र गोदो आउँछ भनेर सधैं पर्खिन्छन् तर गोदो आउँदैन । अर्का फ्रेन्च नाटककार जिन जेनेटले त जीवनको भोगाइबाट प्राप्त भएको ‘दु:खदाइ हाँसो’ नै विसंगतवाद हो भने । रुञ्चे हाँसो नै विसंगत हो । हुनै नसक्ने कुरा संभव देख्नु विसंगत हो । देखिरहिएको कुरा पनि देख्न नसकिरहनु विसंगत हो । थहा भएर पनि छोडन नसक्नु विसंगत हो ।
विष्णु नेउपानेको यो कविता सङ्ग्रहले यस्तै विसंगतहरू यत्रतत्र बोकेको छ । मान्छेको नायकत्वलाई खारेजी गर्दै निरर्थक जीवनको यात्रामा लिप्त हुन्छ जीवन । उनका भावहरू त्यसै गर्छन् यहाँ । उनको समाज यस्तै छ । उनका भावको समाजशास्त्र तिनै दमित आवाजहरूको प्रक्षेपणमा फैलिएको छ । रंगविहीन जीवनका अवयवहरूलाई रंगीन बनाएर उतार्नुमा छ । यो संसारलाई देख्ने मान्छेको क्षमता हुदैन र उसले बुझेको कुरा यही बिसंगत चस्मा हो । निरर्थकताको लागि मान्छेले संघर्ष गर्छ किनभने यो दुनियाँ रित्तो र निरर्थक छ । मान्छे आफ्नै समस्यामा रमलिन्छन् किनभने तिनका इच्छाहरू, सपनाहरू कुनै पनि पुरा हुँदैनन् । तिनले अतित र वर्तमानलाई जोडेर जिन्दगी नाप्छन् र अतितलाई सम्झेर पछुतो गर्छन् । समग्रमा मानवीय अवस्था अर्थविहीन चक्रमा घुमिरहेको छ । जे बुझे पनि, सोचे पनि त्यो यथार्थ छैन । चुरो अर्कै हुन्छ । यी कविताहरू यिनै बिसङ्गतवादले रंगिएका छन ।
बिस्थापित र एक्लिएको मन: आजको विज्ञान र प्रविधिले, भौतिक विकासले मान्छेको बैयक्तिकतालाई ध्वस्त गरेर यान्त्रिकरण गरिदियो । यसैले होला, डब्लु. एच. अडेनको ‘अननन् सिटिजन’ कविता सर्वाधिक लोकप्रिय बन्यो । त्यसमा मान्छे एक्लिएको, हराएको र यान्त्रिकरणले मान्छेका भावहरूको तिरस्कार भइरहेको तीतो सत्य छ त्यहाँ । यसरी नै आज हामी आफैंबाट एक्लिदैछौं । आफन्तबाट एक्लिदैछौ । समाज र आफ्नै मनबाट एक्लिदैछौं । विगतले वर्तमान र आगतलाई स्वास फेर्न नसक्ने गरी थिचेको छ । कविले पनि यी भावलाई जीवन्त पस्केका छन् ।
म संझन्छु अहिले
र बल्झन्छु अहिले ।
थिचेका जुराले
कथाकै कुराले । । (कुरा कथाका)
समाज अर्काको पीडामा रमाउने गरेको छ । अर्काको पीडा नदेख्ने कुरा जीवन्त कुरा हो । आफैंलाई मात्र हेर्ने तर मानवताको भाषणगर्ने विसंगतता हामीकहाँ जीवन्त छ । एउटी सुत्केरी महिलाको छटपटीलाई यसरी उजागर गर्छन कवि :
उनीचैं कष्टले रुन्छिन् लाजले अरु हाँस्तछन्
उनीचैं दु:खमा डुब्छिन् आसले अरु नाच्दछन् । (सुत्केरी —जैविक बाध्यता र रहर)
‘बुढ्यौली’ कवितामा बुढ्यौलीपनले ल्याएको परिणती पनि यस्तै मन र शरीरलाई विस्थापन गर्ने चरित्रको छ । देशको ब्यथिति र हिंसाले उब्जाएको ‘जलन’ पनि छ । यही बेथितिलाई उजागर गर्ने र पालन पोषण गर्ने चलन पनि छ ।
अर्थहिनता, रित्तोपना र निरुद्देश्यता : मान्छेले जति संघर्ष गरे पनि उसले प्राप्त गर्ने भनेको निरर्थकता हो, रित्तोपन हो । जसलाई हामी उपलब्धी भन्छौं, त्यो उलब्धी नभएर आत्मरति र निरर्थकताको पोको नै हो । के के न पायौं भन्नेहरू पनि रित्तै हुन्छन् यहाँ । केही पायौंन भन्नेहरू पनि रित्तै हुन्छन् यहाँ । यही निरर्थकताको पोको काँधमा बोकेर जीवनभरी मान्छे सडक र गल्ली चाहर्छ । अनि रमाउँछ । तर जब उसलाई चेतना आउँछ, उसले यो निरर्थकताको बोध गर्न पुग्छ र निराश हुन थाल्छ । यो असंगतिपनले ल्याएको परिणति हो ।
अनि लाग्छ —
पखेटामा जन्मेर छिचिमिरे जीवन भागिरहेको—
उत्तरआधुनिक मान्छे
सौन्दर्यपूर्ण होइन
अत्यास लाग्दो देखिन्छ । (समयका पानाहरू)
सिर्जनाको माली बन्ने विसंगतता पनि छ यहाँ । जति मार्ग खोजे पनि दुखी हुने अवस्था पनि छ कविताका गराहरूमा । देश चिरेर राष्ट्रियता खोज्नेहरू विसंगत पाटाका प्रबक्ताहरू हुन । आज यिनै प्रवक्ताहरूले यो देशमा शासन गरे । मानछेको सवभावले आज मान्छेलाई मान्छे हुनबाट बञ्चित गरिरहेको छ । मान्छे चुपचाप हिंडिरहेको छ कतै नहेरी ।
मृत्युलाई बिर्षन बाध्य हुनु, बाँच्न बाध्य हुनु : जीवन निरर्थक छ भनेर मात्र पुग्दैन । त्यतिपश्चात पनि मान्छे बाचिरहनु पर्छ । उसलाई मर्ने छुट हुँदैन । आत्मसमर्पण गर्ने छुट हुँदैन । निरर्थक छ भन्ने जान्दाजान्दै पनि बाँचिरहनु पर्छ । सकिनसकि ताम्सिरहनु पर्छ । गतिविधीहरू अघि बढाइरहनु पर्छ । आराम लिन सख्त मनाही छ । उसले केही न केही काम गरिरहनु पर्छ ।
…तर पर्खिरहेछु अनन्त आँशु भोग्दै
चेत जगाउन अस्तित्वको
चट्टानका पहरामा घुँडा टेकेर एक्लै । (आत्मकथामा स्वर्गीय हिमाल)
आस्था र भरोसा सबै पहिरोजानु, नैरास्यता पैदा हुनु : जीवनमा जे जति आस्था र भरोसाहरू पालेका हुन्छन्, ती सबैको समूल नष्ट गरिएको हुन्छ । आफूले बनाएका योजना पनि उल्टिन्छन् । उपलब्धी भन्ने कुरा पनि उपलब्धीबिहीनतामा गएर टुङो लाग्छ । जेलाई हामी उपलब्धी भन्छौं, त्यो रित्तोपना मात्र हो । आधुनिकतावादले मान्छेको भूमिकालाई प्रमुख ठान्यो । मान्छेलाई सर्वोपरी मान्यो । मान्छेको चेतना र भावलाई मानवतावादसँग लगेर जोड्यो । कवि मान्छेलाई अहं भन्ने आधुनिकतावादको विरुद्धमा उभिएर उत्तरआधुनिकतालाई पनि राम्ररी सकार्न नसकि दिग्भ्रमित भएका छन् । किनभने आधुनिकतावादले मान्छेलाई प्रकृतिको उतकृष्ट रचना मान्यो, तर कवि नेउपाने यसको विपक्षमा देखिएर उत्तरआधुनिकता (विषम चिन्तनको स्वीकारोक्ति)तिर ढल्केका हुन् कि भन्ने देखिन्छ जसले विसंगतवादलाई स्वीकार्छ ।
मासिन्न जलको कुम्भी डढेलो सिद्धिदा पनि
नासिन्न स्वार्थको घैंटो स्वास नै रित्तिँदा पनि । (मानवीय स्वभाव)
कस्तो दिनमा यो घर किनेंछु
आफ्नो जवानी, पसिना छिनेंछु ।
जुन् आँसु मेरा परिवार झार्छन्
आगो उकेली अँझ राप ताप्छन् । । (छिमेकी)
जनाधिकारका कर्मी —संस्था बिके बराबर
संचारका कयौं संस्था बिक्रीभए सरासर । (पराधीनताको अनन्त शृङ्खला)
बिरोधाभाष अर्थात असङ्गत हुनु :आज रुपमा जे देखिएको छ, त्यो सारमा अर्कै हुने गरेको छ । खण्डित हुनेगरेको छ । असंगतिपूर्ण हुनेगरेको छ । खोजिकार्य पनि अर्थहिन हुने गरेको छ । आदर्शको स्खलन भइरहेकोछ । नीति र नैतिकताको धज्जी उडाइरहेको छ । हेर्दा एउटो छ, ब्यावहारमा अर्को छ । यही विरोधाभाषमा हामी र हाम्रो समाज बाँचिरहेको छ । हाम्रो देश बाँचिरहेको छ ।
पार्टी, आदर्श, सिद्धान्त, ब्यावस्था नीति घातले ।
भयो आक्रान्त नेपाल आज यो जात पातले (हरे बुद्धि)
शिक्षाको नीति हो मात्रै उछिन्नु साथ सङ्गति
सिकेकै सीपले बाँच्ने बन्दैन किन पद्धति ? (नेपाली युवाको पीडा)
फैलाइकन हात शून्य निशिमा के सिर्जना गर्नु हो
खाएरै अरुको कमाइ कसरी कुन स्वर्गमा तर्नु हो ? (धर्मकर्म)
स्वच्छन्दता : कविले मातृभूमिको, प्रकृतिको थुप्रै उत्सवहरू मनाएका छन् । उनको त्यो हर्कबडाईँमा पाठकहरू पनि समाहित हुनपुग्छन् । किनभने स्वच्छन्दवादले ईश्वर र प्रकृतिलाई एकै ठानेको छ । यी दुवैको भूमिका सिर्जना गर्ने, रक्षा गर्ने र नाश गर्ने हो ।
झर्ना जस्तै बईँस लतिका ताल छोइ तरेली
खेल्दा नाच्छन् तरलमनमा भाव भित्रै परेली ।
रातोलाली निरव बनमा छर्दछन् ती गुराँस
मेरा आँखा पथिक जनमा पर्दछन् मासमास ।। (जन्मभूमि)
नोष्टाल्जीया : कविले आफ्ना थुप्रै संम्समरण र विगतको संझना प्रेशित गरेका छन् । यस संग्रहको शिर्षकले नै यसलाई पुष्टि गर्छ । उनले आफ्नो जन्मभूमिको प्रेम र संझनालाई महान आकार दिएका छन् । आफ्नो जन्मभूमिलाई उनी श्रद्धा गर्छन् । संझन्छन् । मनभरी राखेको आफ्नो माटोको महिमा छ यहाँ । आफ्नो जन्मभूमि छाडन पाउँदा, आफ्नोसँगै आफ्नो देशको डिभी पर्दा उत्सव मनाउनेहरूलाई कवि झापड लाउँछन् । देशको डिभी पर्दा रमाउनेहरूको भीडमा कवि नेउपाने त्यो च्यात्दैछन् यो संग्रहमा । उनी यसरी विगतलाई संझन्छन् :
त्यो माटोमा धवल तन यो अङ्कुराएर आयो
लाली छायो जगत सुखको ज्ञान माधुर्य पायो
पङ्खा लागे पनि पयरमा आँतमा खुल्छ धर्ती
आर्जेका ती अनुभव सबै माथ स्वीकार्छ अर्ती ।। (जन्मभूमि)
उनी ‘संझनाका पानाहरूमा’ आफ्नो मायाँको संझना यसरी गर्न पुग्छन् :
कहानी बनेका तिनै मात संझी
बिहानी बनिन्छन् संधैं रात ब्यूँझी ।
अहो भाग्य भन्दै म बैराग्य हुन्छु
उनै सम्झनाले गला फेरि धुन्छु ।। (संझनाका पानाहरू)
बाँस्कोटा धनञ्जय
