आफ्नै छायाँ पराई भयो,
चोखो मायाँ मरेपछि।
सबैबाट एक्लो भएँ,
मैलाई दु:ख परेपछि।।1।।
फुलिरन्जेल् सब्को प्यारो,
भुँई झरेसी किल्चिहिन्छन्।
सुख हुँदा सबै आफ्नो,
दु:ख पर्दा कहाँ चिन्छन्?
आफ्नोले नै रेट्यो मुटु,
मन अन्तै सरेपछि।
सबैबाट एक्लो भएँ,
मैलाई दु:ख परेपछि।।2।।
जस्ले भन्थे भाग्यमानी,
उसैले नै भाग्य खोस्यो।
जस्लाई पुज्थेँ आफैँ टिपी,
उसैले नै पिडा ठोस्यो।
जँघारैमा छाडिएँ म,
उनी किनार तरेपछि।
सबैबाट एक्लो भएँ,
मैलाई दु:ख परेपछि।।3।।
