मुलुक यो सबको कपना भयो
विगतको नमिठो सपना भयो
जनक गौतम बुद्ध सबै मरे
अजिब मानिस पो अगुवा भए ।
किन अभाव छ औषधि खोपको
किन प्रभाव छ रोग प्रकोपको
दिनदिनै लफडा छ मधेसमा
हुन रह्यो अब के भन देशमा ।
किन उदास बिहान सँघारमा
अझ छ त्रास नदी र जँघारमा
मुलुक यो महिनौँ किन बन्द छ
पुलहकै किन स्वर बुलन्द छ ?
न त रह्यो बलिदान र पौरख
धमिलियो इतिहास र गौरव
मुलुकले जब जाँगर पाउँछ
तब न नूतन घाम उदाउँछ ।
सकल कल्मष ती धुनुपर्दथ्यो
मखमली कविता हुनुपर्दथ्यो
जब भयो धमिलो कविता धन
तब भयो अमिलो कविको मन ।
(द्रुतबिलम्बित छन्द)
