Skip to content

सम्बन्ध–९ (मदन आयो – मदन गयो)


महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन नपढ्ने नेपाली कमै होलान् । मुना मदनको कथा धेरै पुरानो नेपालको कथा हो – अर्थात् लगभग सय वर्ष अर्थात एक शताब्दी अगाडिको हो । जुन कालखण्डमा नेपालीहरू धनसम्पत्ति कमाउन ल्हासा (तिब्बत) जाने गर्थे । मदनको आमालाई बुढ्यौलीमा पाटी–पौवा बनाएर धर्म कमाउने इच्छा हुन्छ । आमाको सपना पूरा गर्न मदन आमाको आर्शिवाद र टीका ग्रहण गरेर साथीका साथ बाटो लाग्छन् । तर श्रीमती मुनाको छाती चर्कन्छ र उनी रोएर बस्छिन् । मदन विदेश अर्थात ल्हासासम्म हिंडेर पुग्छन र काममा अल्मलिन्छन् । मुनाको साथी नैनीले अर्को केटा खोजेर नयाँ घरजम गर्ने सल्लाह दिन्छे । तर मुना अस्वीकार गर्छिन् । उनको खराव सपनाहरूले अनिष्टको शङ्का आइरहन्छ । नभन्दै केही धनसम्पत्ति जोडेर फर्कदा बाटोमा नै हैजा लाग्छ । बाटोमा अलपत्र परेका बेला स्थानीय भोटेले मदनलाई लिएर आफ्नो घर लान्छ र औषधोपचार गराउँछ । आफ्नो जिन्दगी बचाइदिएकोमा खुसी हुँदै मदनले ल्याएको सुनको थैली भोटेलाई दिए पनि उनले लिन मानेनन् । भोटे भावुक भएर रुन्छन् । यता जसोतसो गरी मदन आफ्नो घर फर्कन्छन् ।

अब दृश्य बदलिन्छ । मदन घरमा आइपुग्नासाथ आमा अचेत हुन्छिन् र मुना भने हराएकी हुन्छिन् । बूढी आमाको हेर विचार मदनको दिदीले गरिरहेकी हुन्छन् । बेहोस् भएकी आमाले मदनको टाउकोसम्म सुम्सुम्याउँछिन् र मुत्युग्रहण गर्छिन् । आमा र मुना दुवैको मृत्यु वियोगले मदनको मानसिकता बिग्रन्छ र उनी पनि मृत्यु ग्रहण गर्छन् । मदनले ल्याएको सुनको थैली दिदीले लिन्छिन् ।

मुनामदनको संक्षिप्त कथा यही हो – पाठकहरूलाई मैले स्मरण गराएको हुँ । तर मेरो कथा भने आजको मदनको कथा हो । समकालीन नेपाली युवकको कथा हो । मेरो पात्र पनि मदन नै हो, बरु श्रीमतीको नाम भने मुना नभएर ठूल्नानी हो ।

ठूल्नानी गाउँ जस्तो शहर, शहर जस्तो गाउँमा बस्छे । ऊ यहीं जन्मी, सानातिना झोले पाठशालामा पढ्दै थिई । आमा बालाई बिहे गरेर धर्म लुट्ने लोभ लाग्यो । दाजु भाइ कोही थिएनन् । बिहे गर्ने मदने वा मदन पनि जुर्यो । गुह्वेश्वरीको मन्दिरमा टीका–टालो भई बिहेको रीति सिद्धियो । मदनेका आमा बाले पनि अब आफ्नो पाखुरा चलाई खाओ भनेर छाडीदिए । ती दुई कुनै अज्ञात बाटोमा भेटिएका यात्री जस्ता भए । बल्लतल्ल सानु होटेल खोलेर जीविकोपार्जन गर्न थाले । त्यो होटलमा नपाइने के थियो र ! आजका युवा –युवतीलाई मन पर्ने ममचा देखि लिएर ऐला, छोएला, चाउचाउ बेचेर तिनले जीवन निर्वाह गर्न थाले । केही वर्षको फरकमा एक छोरा र छोरी पनि भए । आफूले भोगिरहेको जिन्दगीबाट दुवै सन्तुष्ट भए । तर पैसा कमाउने भोक जागि नै रह्यो । त्यो होटेल भट्टी मात्र रहेन, आवश्यक यौन तृप्तिको अखडा पनि बन्यो । यस्ता सर्वभोगी, सर्वयोगी टोल–टोलमा बढिनै रहेका थिए । छोरा–छोरी सानुतिनो प्ले–स्कुल नर्सरीमा भर्ना भई शिक्षाको प्रारम्भ पनि गर्न थाले ।

अब शुरु भयो – मदनेको कथा । एक राति, पिशाब फेर्न बाहिर निस्केको मदने रातभरि फर्केन । भोलिपल्ट पनि दिनभरि आमा र नानीहरूले आफ्नो बालाई खोजिरहे । अँह–कुनै केही अत्तो पत्तो छैन । मोवाइलमा फोन गर्यो – अफ छ । केही नलागि मदन हराएको रिपोर्ट पनि नजिकको प्रहरी सेलमा दिइयो । अब भट्टी–होटेल चलाउने पूरा जिम्मेवारी ठूल्नानीमा आयो । ३/४ वर्षका साना भल्ट्याङ्ग भुल्टुङ्गको पालन पोषणदेखि लिएर होटेल संचालनको पूर्ण जिम्मेवारी पनि उसमा आयो । आफ्ना भन्नेहरूले मुख फर्काए, नचिने जस्तो गर्न लागे । न आमा–बाले चासो लिए, न सासू–ससुराले । दुवैतर्फका परिवारको आर्थिक स्थिति मात्र कमजोर होइन, समयभन्दा अगाडि आइपरेको रोगसँग पनि संघर्षरतः थिए । दुवै परिवार बूढ्याइसँगै बाँच्नुको दवाई–पानी गर्नुको लडाइँ भोगिरहेका थिए । समयको गतिसँगै मदनेलाई सबैले बिर्सन थाले अर्थात ऊ एकादेशको कथाको पात्र मात्र बन्यो । तर ठूल्नानीको आँखामा, मुटुमा मदनेको छायाँले छाडेन । ऊ कहाँ गयो, किन गयो ? उसलाई उसले के पीडा दिएकी थिई र घरबाट भाग्नुपर्ने बाध्यता आयो ।

केही वर्ष यस्तै शङ्का उपशङ्का र अड्कलवाजीहरूले बिते । कोही अपहरणमा पर्यो भन्थे, कोही मन परेको केटी लिएर भाग्यो भन्थे । कोही मलेसिया गए भन्थे, कोही कतार । प्रहरीमा रिपोर्ट गर्नु नगर्नुको कुनै अर्थ रहेन ।

समयसँगै शङ्का/उपशङ्का, हल्लाको लहर आइरहे । जिन्दगीलाई जसरी पनि भोग्नै पर्छ भन्ने शाश्वत सत्यलाई ठूल्नानीले बुझी–भोगी । तर संत्रासको अन्त्य भएन, लोग्नेको टुङ्गो लगाउने आकांक्षाको खोला सुकेन । छोरा–छोरी ठूला हुँदै गए । तिनले आफूले सकेको सहयोग गर्न लागे । ठूल्नानीले आफ्नो भाग्य वा कर्म यस्तै रहेछ भनी चित्त बुझाउन वाध्य भई ।

तर कुनै बेवारिसे लास बाहिरवाट आएको समाचार, वा कहीं कत्तै सानो ठूलो दूर्घटनाको समाचार सुनेपछि उसको मुटु नराम्ररी हल्लिन थाल्थ्यो । ऊ यताउता छर–छिमेकमा बुझ्न दौडन्थी । ती प्रत्येक दिन विदेशवाट नेपाल आउने लासको वास्तविक नाम बु्झ्न खोज्थी । अथवा कहिले कहीं पशुपति आर्यघाटसम्म पुग्थी–लासको अनुहार हेर्न । कहीं कतै अर्कै नाम राखेको होला भन्ने शङ्का गर्थी र अनुहार नै हेर्न दौडन्थी ।

यो पनि आजको मदनको कथा हो । यो पनि आजका नेपाली नारीले भोग्नु परेको कथा–ब्यथा हो । ठूल्नानी कुनै सपना जस्तो विगतलाई, मदनलाई भूल्न चाहन्थी । तर छोरा–छोरी दुवैको अनुहारमा आउने मदनको विम्ब, प्रतिविम्बले ऊ झस्कन्थी र कहीं कत्तै लुकेर आँसु झार्थी । यही क्रममा १२/१४ वर्ष वित्यो । यौटा शङ्कामा, विश्वास र अविश्वासमा, यथार्थ र भ्रममा ठूल्नानीले यौवनकाल बिताई । समयले कसलाई छाड्ने र ! ऊ बूढ्याईतिर मात्र लम्कने होइन, बाथ र दमको रोगको शिकार पनि भई । उसले यस लामो कालखण्डमा एक किसिमले मदनलाई बिर्सिई, विगतलाई बिर्सिई । अब खालि ऊसँग वर्तमान रह्यो । जेनतेन होटेल चलिरह्यो र छोराले एस.एल.सी. पास गरेर क्याम्पस भर्ना भयो ।

एक रात अचानक क्रम भङ्ग भयो । घरको मूलढोकामा ढकढकाएको र जोर लात्तीको आवाजसँगै परिचित–अपरिचित स्वर आयो – ए ढोका छिटो खोल ! ए खोल ढोका । परिवारका सबै जराकजुरुक उठे । आमाले छोरा–छोरीको अनुहार हेरिन्, युवा छोरा छोरीले आमाको । ती सबैको मनमा विविध मनस्थिति आयो – पक्कै डाँका आयो, नत्र यस्तो मध्यराति को आउँछ ? ……. पक्कै कुनै जँड्यहा आयो ……… अब के हुने हो ? सबै भयले कक्रिए ….. कहाँ जाउँ, के गरुँ भयो । त्यो आवाजले झनै टोल थर्कायो । छेउ छाउका छिमेकीहरू आए र आवाज दिए– ठूल्नानी ढोका खोल । बाहिर यौटा रोगी बूढा आएको छ । म ठूल्नानीको लोग्ने हुँ भन्छ ! धेरै आवाजहरूपछि म ढोका खोल्न वाध्य भएँ ।

बाहिर हेर्छ – यौटा बूढा जस्तो मान्छे लम्पसार परेको छ । वेला वेलामा लरबराएर बोल्छ – ‘म यी केटाकेटीको बाउ हूँ । धेरै वर्ष बाहिर थिएँ । अहिले बिरामी भएर आएको ।’

“के भो । के रोग लाग्यो ? ………… “ कसैले सोध्छ ।

“क्यान्सर भन्छन् । त्यही उपचार गर्न आएको !” ऊ सकी नसकी बोल्छ । उसको हाड–छाला मात्र छ ।

“ठूल्नानी ! जे होस् – तिम्रो वेपत्ता भएको बूढो आएछ । पहिले अस्पताल लग !”

छोरा–छोरीले विस्मयपूर्वक हेरे–टोलाइरहे । ठूल्नानीलाई लाग्यो –अरुलाई त सहयोग गर्नु पर्छ, यी त आफ्नै बूढा हुन् । छोरा छोरी लिएर उनी नजिकैको अस्पतालको इमरजेन्सीमा लगिन् । सुख दुःख उपचार शुरु भयो । बिस्तारै ठिक हुन लाग्यो । अब ठूल्नानीको थप दुःख शुरु भयो । होटेल पनि चलाउनै पर्यो –बुढाको हेरविचार पनि गर्न वाध्य भइन् । छोरा–छोरीको सहयोगले उनी समर्थ भइन् । अब बिस्तारै बूढाले आफ्नो सत्य–असत्य खोल्न लाग्यो ।

म मलेसिया गएको थिएँ । उत्तै २/४ वर्ष बिते । यौटा कारखानामा काम गर्दा एक्सिडेन्टमा परें । त्यहाँको जागिर छाडेर बेकार भएँ ।“ कुनै दिन ठूल्नानीले सुन्न वाध्य भई ।

उनलाई लाग्छ–जे भए पनि आफ्नो बूढो हो । भगवानलाई साक्षी राखेर बिहे भयो । कुनै सरसल्लाह नगरी चोर जस्तो भाग्ने यस बूढोको बेइमानी र पापको के कुरा गरौं ? तैपनि ……. जे भए पनि आफ्नै बूढो हो ।
अर्को दिन उसको मनगढन्त कथा सुनिन्छ ।

“म कतार गएको थिएँ । बल्लतल्ल उँट चराउने काम गरियो । त्यहाँको गर्मी र रापको के कुरा गर्नु ! जहाँ हेर्यो –बालुवाको थुप्रो । रुख –लहरा कहाँ देख्नु । हाम्रो जस्तो देश हो र । ”

“तर रातभरि ए.सी.को चिसोमा बस्दा शरीर त मुर्दा जस्तो हुन लाग्यो । दिनभरिको ४०/४५ डिग्रीको तापक्रम अनि रातभरिको माइनस डिग्रीको ठण्डीमा । त्यहाँ पनि टिक्न सकिएन …..” मदने रुने जस्तो गर्छ ।
ठूल्नानी यस्ता धेरै सत्य–असत्य घटनाहरू सुन्छे । तर उसलाई केही हो जस्तो लाग्छ, केही होइन जस्तो । फेरि मदनेले आफ्नो कथा छाड्दैन ।

“म केही वर्ष धनगढी र बिर्तामोड पनि बसें । त्यहाँका होटेलहरूमा काम गरें । पूर्व पूर्वै हो –पश्चिम भने पश्चिम नै । जत्ति मेहनतका साथ काम गरे पनि एक पैसा जोगाउन सकिएन ठूल्नानी ! सबै आफ्नै कर्मको कुरा रहेछ ।” ठूल्नानीको मनमा लाग्छ –यो बूढो कुरा बनाउँछ । सधैंँ कुराकै खेलाडी हो ।

एक दिन उसले घुमाउरो प्रश्न गर्छे – तिमीलाई कसैले बुटवलमा देखेका थिए रे नि ! किन गयौ हँ बुटवल ?

यसको ऊ कुनै जवाफ दिंदैन । खालि टोल्हाइरहन्छ । गजबको लोग्ने भेटिएछ………. गजबको आफ्नो कर्म रहेछ । भाग्यसँग कसको के लाग्ने !

नेपालका अस्पताल न हुन् । न रोगको पहिचान राम्रो हुन्छ, न औषधी – उपचार । खालि बिलमात्र बढ्ने हो । उसका निरीह छोरा छोरी केही बोल्दैनन् । ती जहाँ भए पनि, जे भए पनि बालाई देख्न र भेट्न पाइयो भनेर यसै दङ्ग छन् । किनभने तेरो बा उहिलै मरे भनेर साथी– भाइले गरेको व्यङ्ग्यले दिक्क थिए । आमालाई बरोबर सोध्थे । तर आमाको जवाफ खालि आँसु हुन्थ्यो । अनि ती आमाको मूडअफ नगराउन पिताजीको बारेमा सोध्ने कष्ट गर्दैनथिए । जेनतेन जिन्दगीको गोरेटोमा ती हिंडिरहेका थिए र भोलिको बारेमा, क्यारियरको विकासमा सोचिरहन्थे । किनभने दुवैले आफ्नो र राष्ट्रको पीडादायक स्थिति बुझिसकेका थिए । तिनको सपना–विपना कहाँ जाने, कुन देशमा जानु राम्रो होला भन्ने मात्र सोच्थे । नेपालबाट बर्सेनी लाखौं नेपाली युवाहरू विदेशिन वाध्य भएको सत्य तिनका आँखा अगाडि सिनेमाका दृश्यहरू आउँथे निद्रामा समेत ।

केही आराम भएपछि मदनलाई घर ल्याइयो । उसका कङ्कालतुल्य शरीरमा केही थपथाप भई बन्दै गरेको देखियो । तर होटेलको आम्दानी भने क्रमशः सुक्दै जान थाल्यो । टोलका घरैपिच्छे छन् –होटेल र खुद्रा पसलहरू । ठूल्नानी न रुन सक्थी –न मुस्काउन । न केही बोल्न, न केही सोच्न । ऊ मात्र टोल्हाइरहन्थी ………. विश्वास र अविश्वासहरूले उसको अविश्वासको आकाश नै अँध्यारो हुँदै गए ।

एक राति उसले अनुकूल समयमा मदनलाई सोधी – तपाई त केटी लिएर भाग्नुभएको हल्ला थियो नि !

मदन होइन भनी टाउको हल्लाउँछ । अनि केही नबोली आकाश हेरेर, दलिन गनेर टोल्हाइरहन्छ ।

–तपाईले पल्लो गाउँको कमलालाई लिएर जानुभयो भन्छन् । यत्रो ब्यवहार भएको मान्छे तपाई बौलाउनु भएको थियो कि कसो ? ……..

बरु ढुङ्गा बोल्ला, ऊ बोल्दैन । वास्तवमा उसले सुनेको हल्ला नै सत्य हो । यो कुरौटे फटाहा कुनै देश गएको होइन । १२/१४ वर्ष बुटवलतिर केही काम गरेर खायो अनि बिरामी भएर औषधोपचार गर्न परेपछि फर्क्यो –ठूल्नानी यही सत्यमा अड्छे “लोग्नेलाई देवता मान्नु पर्छ स्वास्नीले, नत्र नर्कमा परिन्छ” भन्ने सत्य पनि ऊसँग छ । यस्तो असत्य र झुठको खेती पनि ठूल्नानीभित्र छ । जिन्दगी संझौता पनि हो । ती दुई र परिवारको सम्बन्धलाई के कसरी परिभाषित गर्न सकिन्छ ? समाज स्वय म प्रश्न चिन्हमा थियो र छ । फेरि कुनै सामान्य निम्न स्थितिको परिवारिक विखण्डनबारे कसले किन सोच्ने …………….।

अनि एक अर्को रात आयो अर्थात त्यो कालरात्रि जसरी आयो –त्यसरी नै समाप्त भयो । मदनको स्वास्थ्यमा केही सुधार भएपछि अब के कसरी अगाडि बढ्ने सोचाइ आउन आवश्यक भएन ।

एक राति मदन फेरि घरबाट हरायो । कहाँ र किन गयो ? घर–परिवार र छिमेकी कसैलाई केही न थाहा भयो, न कसैलाई केही मतलव भयो । अर्थात मदन आयो – मदन गयो ।

‘मुनामदन’मा मदनको मृत्युपछि कथा टुङ्गिएको थियो । तर आज र आजका मदनहरूको कथा कहिले टुङ्गिएला अनि आजका मुना अर्थात ठूल्नानीहरूको जिन्दगीको जवाफ कहिले आउला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *