हरेक राष्ट्रको आ-आफ्नो मौलिक पहिचान हुन्छ । आफ्नो कला, संस्कृति तथा परम्परामा राष्ट्रको पहिचान भर पर्छ । धेरै समयअघिदेखि नै कालसापेक्ष भई वैचारिक, आन्तरिक तथा परम्परागत रूपमा विकसित हुँदै आएको रीतिथिती, रहनसहन, चिन्तन मनन, राष्ट्र, समाज तथा जातिको मान्यता, भौतिक आवश्यकता आदिको स्वरूप हो- संस्कृति । व्यक्ति, पारिवारिक, सामाजिक, धार्मिक, राजनीतिक तथा जातीय जीवनलाई सुचारुरूपले परिचालन गर्न युगौंदेखि परिमार्जन गर्दै भोग्दै यहाँसम्म पुर्याएको संस्कार हो- हाम्रो संस्कृति । दौरा, सुरुवाल, टोपी, फरिया तथा चौबन्दी हाम्रो सांस्कृतिक जातीय जीवनको अभिन्न अंग हो ।
आहा … कति मीठो सिन्की गुन्द्रुक,
आहा … कति मीठो किनेमा,
दाज्यू राम्रो छौरा सुरुवालमा
दिदी राम्री चौबन्दीमा ।
प्रशान्त तामाङ इन्डियन आइडल घोषित भएपछि उनकी आमाले छोरालाई नेपाली टोपी पहिराई सारा नेपाली जातिको उच्च कदर गरेकी थिइन् । विश्वभरि छरिएर बसेका नेपाली आनन्दले गद्गद् आत्मविभोर भई भावनात्मक एकतामा बाँधिएका थिए । एउटा नेपाली टोपीले विश्वभरिका नेपालीलाई प्रभावित गर्न सक्दोरहेछ भने आफ्नो जातीय पोसाकको महत्त्व झन् कति ठूलो हुन्छ होला ! एक नेपाली सिनेमा निर्देशकले भनेका थिए- ‘नेपाली त नेपालबाहिर बस्छन् । नेपालभित्र केवल नेताहरू, पोलिटिसिएनहरू, व्यवसायीहरू मात्र बस्छन् ।’
के यो कटुसत्यलाई हामी अस्वीकार गर्न सक्छौं ?
भारतमा अंग्रेजले दुई सय वर्ष राज गर्यो । प्रथमतः अंग्रेजको प्रभाव जनतामा पर्नु स्वाभाविक थियो । दोस्रो अंंग्रेजलाई प्रभावित गर्न उनीहरूको पोसाक लगाउनुपथ्र्याे । यो उनीहरूको मजबुरी थियो । हामीलाई केको मजबुरी ? हाम्रो संस्कृतिमा हामी सम्पूर्ण छौं । ईश्वरप्रदत्त प्राकृतिक भण्डारले परिपूर्ण भएर पनि हामी गरिब मुलुकमा गनिन्छौं, यो हाम्रो दुर्भाग्य हो । साना आवश्यकता पूरा गर्न पनि विदेशीको मुख ताक्ने गर्छाैं । व्यक्तिक स्वार्थभन्दा माथि उठेर आफ्नो मुलुकलाई सक्षम बनाउने प्रयास गर्दैनौं । राष्ट्रको बृहत् स्वार्थलाई बिर्सेर अर्जुनले चराको आँखामात्र देखेजस्तो आफ्नो गुटको हितलाई मात्र सर्वाेपरि ठान्नु, आफ्नो मुलुकप्रतिको मूलधारबाट अलग्गिएर एकल स्वार्थपूर्ण मनोवृत्तिको अधीन हुनु, मुलुकलाई दुर्भाग्यपूर्ण स्थितिमा पुर्याउनु हो । राष्ट्र सिमानाले ठूलो सानो हुँदैन । जुन राष्ट्रका जनतामा राष्ट्रिय भावना जति धेरै हुन्छ त्यो राष्ट्र त्यति नै ठूलो हुन्छ ।
हामी जतिजति पाश्चात्य संस्कृतिप्रति आकृष्ट हुन्छौं उतिउति हाम्रो संस्कृति, हाम्रो कला, सीप, पहिचान बिस्तारै लोप हुँदै जानेछन् । हामीले हाम्रो पोसाक लगाउँदा हाम्रा दाजुभाइले आफ्नो सीप र कलाको विकास गर्न अवसर प्राप्त गर्नेछन् । देशभित्रको आर्थिक स्थितिमा सुधार आउनेछ । अरूका लुगा सिएर आफ्नो परिवार चलाउने दमाई सम्प्रदायमा सम्मानका साथ आफ्नो पेसालाई आफ्नो कलालाई आफ्नो सीपलाई अघि बढाउँदै लैजाँदा आर्थिक स्थितिको पनि सुधार हुनुका साथै आफ्नो सीपप्रति सम्मान बढेर जानेछ । केही मात्रामा भए पनि देशको बेरोजगारी समस्या हल हुन सक्छ । अरूका देशमा गएर अकाल मृत्यु बरण गर्नु, बेइज्जतीको जिन्दगी जिउनुभन्दा आफ्नो स्वतन्त्र पेसा अपनाएर इज्जतको जिन्दगी बाँच्न सकिन्छ ।
महात्मा गान्धीलाई भारतमा जातिको पिता भन्छन् विश्वले शान्तिका दूत भन्छन् । उनले बेलायतबाट ब्यारिस्टर पास गरेका हुन् । उनले घुँडामाथि धोती लगाउँथे । ‘तपाईं किन यस्तो पोसाक लगाउनुहुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा भन्नुहुन्थ्यो, ‘मेरो देशका जनता पचास प्रतिशतभन्दा बढी नांगा छन् । उनीहरूसित तन ढाक्ने लुगा छैन । यस्तो अवस्थामा मैले मेरो शरीर ढाक्न सकुँला तर इज्जत ढाक्न सक्दिनँ ।’ उनले जे लगाउँथे- आफैंले बुनेको, आफ्नो देशमा बनेको लुगा लगाउन प्रेरित गर्थे । यसरी नै उनीहरू स्वावलम्बी बन्दै गए । उनीहरूले स्कुलको शिक्षण प्रणालीमा पनि परिवर्तन गराउँदै लगे । पढाइका साथै सीपमूलक शिक्षालाई स्कुलहरूमा सामेल गरिए । सकेसम्म नयाँ पिँढीलाई आत्मनिर्भर बनाउने प्रयासमा जुटे । जुन देश दुई सय वर्षभन्दा बढी पराधीन थियो, त्यो देश आज कहाँबाट कहाँ पुगिसक्यो ? हाम्रो देश कहिल्यै पराधीन थिएन । त्यही पनि हामी त्यहीँ छौं- जहाँ पहिले थियौं ।
गहिरिएर सोचौं- जुन देश प्राकृतिक सम्पदाले सम्पन्न छ, जुनदेश सधैं स्वाधीन बाँचेको सार्वभौमसत्तासम्पन्न देश हो, जुन देश आफ्नो भाषा, साहित्य, संस्कृति र राष्ट्रियतामा सधैं गौरवान्वित अनुभव गर्छ, जुन देशका सपूत सारा विश्वमा वीर गोर्खालीको नामले प्रसिद्ध छ- त्यो देश आजसम्म किन गरिब मुलुकमा गनिन्छ ? के हामी निडर छैनौं ? के हामी परिश्रमी छैनौं ? के हामीमा सीप छैन ? छ, तर हामीमा प्रतिबद्धता छैन । हामी स्वावलम्बी छैनौं । हामी बढी आत्मकेन्दि्रत छौं । हामीलाई वास्ता छैन- पटकपटकको आन्दोलनले जर्जर पारेको देशको, देशको सिमानाको … ! किन मनका फराकिला फाँटहरू साँघुरिन थाले ? मनभरि पलाएका विश्वासहरू किन चिराचिरा पर्न थाले ? किन सुगम बन्दैनन् लक्ष्यसम्म पुग्ने बाटाहरू ? किन अँध्यारा चिसा गल्लीहरूमा उज्याला छिर्न पाउँदैनन् ?
यो सत्य हो- युगौंको थिचोमिचोले हामी स्वाधीन भएर पनि आत्मनिर्भर बन्न सकेनौं । हामी कालोलाई कालो, सेतोलाई सेतो भन्न सक्दैनौं । आत्मविश्वासको अभावले भनौं अथवा अरू कुनै कारणले भनौं- हामी स्पष्टवादी छैनौं । आफ्नो पोसाक लगाउनसमेत हामी हिचकिचाउँछौं । विदेशीहरू नेपाल आएर दौरा, सुरुवाल, टोपी, चौबन्दी फरिया लगाएर बिहे गर्छन् । नेपाली संस्कृतिको आनन्द लिन्छन् । उनीहरूलाई साह्रै राम्रो लाग्छ रे हाम्रो पोशाक । हामीलाई किन राम्रो लाग्दैन हाम्रो पोसाक ?
शासकले शोषकले तथा सामन्तीहरूले लगाएको पोसाक हो दौरा, सुरुवाल, टोपी भन्ने धारणा मनमा नराखौं । यो कसैको पेवा होइन । न राजाको न राणाको न शोषकहरूको । यो हाम्रो संस्कृतिको अभिन्न अंग हो । हाम्रो जातीय पोसाक हो । राष्ट्रिय पहिचान हो । पुर्खाको धरोहर हो । यसको रक्षा गर्ने कर्तव्य हामी सबैको हो ।
