अथाह जलराशि
अपरिमेय जङ्गल
असरल्ल जमिन र
अनगिन्ती जडिबुटीका
मालिक हामी
ऊर्जाशील पौरखी हातहरू
निरन्तर विदेश पलायनमा व्यस्त छन्
पराया देश सिँगार्नमा मस्त छन्,
देश अधिकारका बिस्कुन सुकाउने क्रममा
हुनु र नहुनुको बसहमा
अनर्गल मुद्दाका मिसिलहरू
खेलाइरहेछ
सन्धिसर्पन भन्दै
सीमाना मिच्दैछ पराई
तर्क र उपतर्कहरू
कहिले गणतन्त्र
कहिले संघीयता
बाटा विनाका मुस्ताङ्गे स्याउ
कुँडो पकाइएका छन्
जाजरकोटका बिरामी
ओखती पर्खिरहेछन्
हुम्ली जडिबुटी
जुम्ली सौन्दर्यता
फगत् वाचाल वार्ताका विषय भएका छैनन्,
उफ ! देश संविधान वेदनामा
निरन्तर छट्पटाइरहेको छ
न नेताको खबर छ
न कर्ताको खुट छ
मुलुक झर्दै छ बन्जीजम्पझैँ
उधोमुन्टो गरेर भोटेकोसीमा
मुुुुुलुकीहरू महङ्गीको गोमन डसाइबाट
आहत छन्
अहिले यतिबेला
मेरो देशमा सजिलै पाउन सकिने वस्तु भएको छ
लोड सेडिङ्,
अँध्यारोले
क्रमशः जनसंख्या बढाइरहेछ
जोतेर नाराहरू नेता हली बन्दैछन्
मौसम परिवर्तनले
सिर्कनाको पिटाइ पिँडुलामा
के फसल फलाउने ?
कुन दर्शन झुलाउने ?
ढुक्क कोही छैनन्,
माछाबजारको हल्ला
बाँस झ्याङ्का रुप्पी
एउटा हाडमा कुकुरको झैँ झगडा
निरन्तर चलिरहेछ देशमा
शताब्दीऔँ देखि,
बल्ल बुझियो
यहाँ पछि मात्र
पानी लोड सेडिङ्को चलन चलेको रहेछ
बानीको लोड सेडिङ् त पहिल्यै रहेछ ।
पेशल आचार्य
मन्थली
