Skip to content


सखारै
एउटा कलकलाउँदो दिन उदाउँछु
दैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिस्रिन्छु
अहोरात्र पसिनाको अविरल खोला बगाउँछु
ढाडका कोमल हड्डीहरू खियाउँछु
जोतिन्छु खुरन्धार
मानौँ लानु छ आकाश-धर्ती नै !
समय यसरी बित्छ
मनमा अड्दैन
कर्कलाको पातमाथि नाच्ने शीतको सौन्दर्य
जीवनको आकाशमा सूर्यको उज्यालो फैलिँदैन
कुनै अर्थ छैन जूनको शीतलता ।

पल-पल व्यस्त बन्छ
सन्तानको मुहारमा खुसी ओइलाउँछ
आमाका आँखामा स्नेह छचल्किन्छ
बाका जर्जर मनमा थुप्रिएको आशीर्वाद
भ्याइँदैन थाप्न ।

चटारोमा बाँचिन्छ
फुर्सद छैन हिमाल-पहाडसित मित्रता गाँस्ने
माटोसित लम्बेतान आत्मीय बात मार्ने
सुसाउने जंगलको गीत सुन्ने ।

मनभरि ऐंजेरु जिजीविषा
जीवन रूखका टोड्कामा सन्तुष्टिले
गुँड लाएको छैन
हाँगामा शान्तिका बचेरा चिरबिराउँदैनन्
क्षणहरू थोते समयले बेस्वाद चपाउँछ ।

फुटेको बल्ब बोक्दै
जीवनको राजमार्गछेउ ल्याम्पपोस्ट उभिएको छु
समयको ह्यांगरमा झुन्ड्याएको छु
खुसीका टाँकहरू झरिसकेको बूढो कोटजस्तै ।

यति हतारमा बाँचिर’छु
भ्याएको छैन जीवनको ऐना हेर्नेसम्म ।

लाग्छ
केही छुटेको छ कतै, धेरै कुरा !

– चन्द्र गुरुङ
http://nepal.ekantipur.com/news/2014-09-28/7519.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *