८७. आफ्नो ताल
आमाको होटल र बाउको लजमा
घिच्न र लड्न सित्तै मिलुन्जेल
सबै बाबुराजा हुन्छन् –
त्यसपछि जब आफ्नो तालमा नाँच सुरु हुन्छ,
आफैँ चुइँया र मख्खिचुस हुन्छन्
८८. कृष्णभीर
सडक यातायातमा हाम्रो तगारो सधैँ कृष्णभीर,
दाजुभाइमा काटाकाट पछि भयो हामीलाई पिरैपिर
प्यालेष्टाइनी, हमास, लिट्टे र नक्सलाइट भन्थ्यौं–
अहंको दुन्दुभीले बगाइदियो हामीलाई तीरैतीर
८९. रहर
आश्रित रहर पुर्याउन सजिलो भा’छ
स्वावलम्बित रहर त कहर भएर टाउकै खा’ छ
ए केटा हो कपाल पाल्न पो सजिलो छ त,
भोलि स्वास्नी पाल्न नसकेर दसतिर दुगुर्याछ दुगुर्याछ
९०. बजार भाउ
आवश्यकतासँग प्रेम गरेपछि
बजार भाउ अनवरत मस्किदैँछ
निरीह ग्राहक देखेर होला –
महङ्गी त ठसक्क ठस्किदैँछ
९१.दर्शनको फसल
राजनीतिको व्यापार र
व्यापारको राजनीतिपछि
के कोदो ? के तोरी ?
यहाँ कुनै असल भएनन्
इच्छाहरू अधुरा भएर
दर्शनको फसल अब्बल भएनन्
९२. राहत
संसद बस्दा संसदका कुरा
विघटनपछि शैली नै अधुरा
राहत त केवल निहूँ हो ?
भित्रभित्रै आहत र मर्माहतको छुरा
९३. विभाजन
माछालाई जलचर
जमिनका प्राणीलाई स्थलचर
भ्यागुता र मान्छेको सम्बन्ध छ क्यारे –
दुवैको धानी पुग्दैन दुवै उभयचर
९४. मान्छेको खोजी
दूधमा पानी होइन पानीमा दूध मिसाउँन थाले
चामलमा ढुङ्गा होइन बरु ढुङ्गामा चामल खोज्न थाले
मानिसमा राक्षसको खोजी गरिन्थ्यो हिजोहिजो,
अब त राक्षसमैँ मानिस रोजिन लागे
९५. दसैँ
हुने खानेका लागि दसैँ
खाने पिउने नशा हो
तासजूवा, लङ्गुरबुर्जा र
फेसनादिको चस्का हो
हुँदा खाने गरिबहरूका लागि
दसैँ फगत दशै–दशा हो
९६. बालुवाको महल
छोरो क्याम्पस भनी
‘टायम पास’ गर्दो रहेछ
छोरी कम्प्युटर भनेर
च्याट र बेव साइट चहार्दिरहिछ
बूढा बाउआमा बालुवामा
कल्पनातित महल बनाउँदछन् –
सन्तान आफूखुसी मोजमस्ती गर्दे
जीवन विगार्दा रहेछन्
९७. बनाबटी स्वाङ्
गरिबहरूलाई
भालेको डाक राहत हुन्छ
अभावमा रहर भो भने
प्राप्तिको चाहत हुन्छ
न इच्छा न अभान
देखासिकीका लागि
बनावटी स्वाङ् त
सभ्यताकै सफाचट् हुन्छ
९८. निर्माणका पाइला
नदीबाट बिजुली निकालेर
हृदय उज्यालो पार्नुपर्छ
अशान्तिको डढेलो निभाउँदै
शान्तिको दियो बाल्नुपर्छ
बलेँसीबाट रगत वर्षा गरी
आँगनलाई कुरुक्षेत्र नबनाऔं
आज गर्ने, भोलि गर्ने होइन–
अब निर्माणका पाइला चाल्नु पर्छ
९९. रबैया
क्रान्तिकालमा नेताहरू
समानताको कुरा गर्थे
अन्तरिम कालमा उनीहरू
प्रतीक्षाको घडा भर्थे
बाह्र वर्षमा धोती न टोपी
बनाएछन् प्रजातन्त्रलाई
मौका परे तिनीहरू–
अरु देशमै पो डेरा सर्थे
१००. हविगत
अस्पतालहरू सुविधाविहीन बनाइएपछि
नर्सिङ् होमहरू एक्कासि चम्किए
पैसा जम्मा गरेर रोगी हुनै पर्ने संस्कारले
जनता खुम्चिए, डाक्टरहरू सन्किए
१०१. पुनर्जागरण
कृषि, स्वास्थ्य, शिक्षा, उद्योग
राष्ट्र कतै पनि लागेको छैन
जताततै असरल्ल समस्याका थुप्राहरू छन्–
उन्नति गर्ने पुनर्जागरण अँझै जागेको छैन
१०२. अमेरिका
अमेरिका धनी डलरको देश
यहाँ अमेरिका शान्तिको सन्देश
गरिब र स्वाभिमानी सबै उसका शत्रु–
बाहिर नर, भित्र वानरको भेष
१०३. दुई जीव्रे प्रजातन्त्र
लालुको जस्तो प्रजातन्त्रको
आलुको जस्तै भएछ भाउ
हात्तीका दुई थरी दाँत भएझैँ
एउटा देखाऊ, अर्काले चपाऊ
१०४ घाउका टाटाहरू
विकासको चार्ट निरन्तर उकालीन्छ
जताततै भत्केका बाटाहरू छन्
राजनैतिक प्रतिद्वन्द्विताले मुलुक चौपट भैसक्यो
जनताका हृदयमा घाउका टाटाहरू छन्
१०५. समस्या
विचारको आगो लगाएर
आस्थाको घरमा
हामी पानी नखोजेर
साइत पर्खिरहेछौं –
‘आग लागि झुपडी डेढ घडी भद्रा ’
१०६. रूख
हाँगाबिँगा काटेर
जरा उखेलेर
तमासा देखाउँदै
ठुटे रूखमा
पानी सिँचन गर्दैछौं– हामी
१०७. प्रजातन्त्रवाद
गालीगलौजको भाषा
रक्तरञ्जित तमासा
आखिर ‘तन्त्र’को चिरहरण भो यसरी
‘जब तक समोसे मेँ आलु
तब तक विहार मेँ लालु’ भो हाम्रो दृष्टान्त
१०८. संघर्ष
क्रान्ति गीतलाई
व्यापारीकरण गर्दै
आस्थालाई बजारीकरण गर्दै
नाँच्दैछौं हामी–
‘नाँच भालु नाँच, कम्मर भाँच ’
१०९. कविता
भावहरूको खण्डहर भित्र
कलाको हत्या भएको छ
उत्खनन गर्दागर्दा थाकियो
कतै भेटिएन्– सुकुमारी कविताको लाश
११०. इच्छा
हामीलाइर्,
समाज द्रोहीहरू समाजवादी भएको
कति पनि मन पदैन
र चाहन्नौं–
‘कम्युनिष्टहरू’ कम निष्ट भएको सुन्न
१११. प्रतीक्षा
याद गर
अब एक दिन –
सबै राज्यका सीमाना मेटिएर
सीमानाहीन सीमानाको
विश्व एउटै राज्य बन्नेछ –धरणी भरिको
११२. सुरुआत
धेरै समय अल्मलियौ अब अगाडि हिन
जुलुश, आन्दोलन र नेपाल बन्दलाई फालौं ‘डष्टबिन’
नेपालीहरू हो, अब आफ्नो हैसियत चिन,
‘नयाँ कोट लगाऊ, पुस्तक किन्दै नकिन ’
११३. योग्यता
स्कुल बिस्कुनझैँ छरिएपछि
क्याम्पस ‘टायम पास’ भएको छ
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ
११४. पेवा
रगतले बेसाएर ल्याएको प्रजातन्त्र
मन्त्री, मन्त्रीपुत्र र मन्त्राणीको पेवा भो
कुराको चाङ् हौसिएर काम हराएपछि
राजनीति त उल्टै जनताले नेतालाई गर्ने सेवा भो
११५. एकता
ताप्लेजुङको घाउ दार्चुलालाई दुःख्नु पर्छ
रगतका मुहानहरू अब सबै सुक्नु पर्छ
घरझगडामा स्वार्थ र कमिसन मिसाउनेलाई
परिवारका सबै सदस्य मिलेर थुक्नु पर्छ
११६. भाग
किसान सक्कली मलको माग गर्छ
व्यापारी नाफैनाफाको मात्र भाग गर्छ
सम्पन्नहरू छलेरै पनि काउली हसुर्छन् –
दरिद्रलाई त ओइलाएको साग पो भाग पर्छ
११७. कुराको आरोहण
धान काट्नेभन्दा चेक काट्नेको कुरा ठूलो
चेक काट्नेभन्दा कमिसन बाँड्नेको कुरा ठूलो
कुरै कुराको आरोहण होडाजीमा –
कुरा काट्नेको हंकीडंकी नै सबैभन्दा ठूलो
११८. लघानुपर्छ
अब भ्रष्टहरूलाई पो पानी बार्नु पर्छ
चुला–चौका र अन्न दिन छाड्नुपर्छ
मौका दिँदा पनि नसप्रिने भएपछि –
डङ्कुटी लगाएर देशबाटै लघार्नुपर्छ
११९ ताजा सिद्धान्त
प्रधानमन्त्री पनि एक वर्ष टिक्न छाडे
जसलाई खाँचो छ उनीहरू सिक्न छाडे
अन्धानुकरण नै जीवन बाँच्ने शैली भएपछि
राजनीतिको बजारमा ताजा सिद्धान्त बिक्न छाडे
१२०. मन्त्री लिलाममा छ
कर्तव्यका दुर्गमा आस्थाका सिपाही नरहेपछि
मयलपोसमा विधायक खरिदका नोट भरिएपछि
जनता नेताको सख्त खिलापमा छ,
किनभने मेरो देशमा मन्त्री पद लिलाममा छ
१२१. सन्तान
प्रीतिभोजमा आएका पाहुना झैँ हुन् सन्तान
मीठो भए प्रशंसा, नमीठोमा दन्तबझान
पखेँटा लागेपछि गुँडमा नफर्कने चराका बच्चा झैँ
बाउआमा कल्पिन्छन् –‘दुई सन्तान ईश्वरका बरदान ’
१२२. नाता
लोग्नेस्वास्नीको नाता घाँटीको डोरो हो
मन मिलुन्जेल दोहोरो, नत्र एकोहोरो हो
चित्त कित्ताकाट नगर दम्पति हो –
त्यसपछिको नाता टाउका माथिको लोहोरो हो
१२३. प्रेमको बैङ्क
रूपैयाँको मात्र होइन प्रेमको पनि बैङ्क हुन्छ
फोटोको के कुरा ? हृदयको पनि फ्रेम हुन्छ
यी सबै तन र मन झरिला हुँदाका कुरा हुन् –
आँत मरेपछि र दाँत झरेपछि सबै खङ«ङ्ग हुन्छ
१२४. जिन्दगीः एक शब्दचित्र
आकार कटाइमा परेको
जिन्दगी बाँसको चोया हो
बाटेर खिरिलो भएको
जिन्दगी डोरीको पोया हो
तर असफलता हात लागेपछि
जिन्दगी छोडाएको मकैको खोया हो
१२५. आशा
भीडतन्त्र प्रजातन्त्रलाई आहत भो
प्रजातन्त्र जनताको चाहत हो
बजार महङ्गीको मुरली बजाउँदै छ –
फगत आन्दोलन नै अहिलेलाई राहत भो
१२६. व्यवहार
दिन न रात कहीँ सुनिदैँन सफा कुरा
आस्था भाकेथ्यौं व्यवहारले देखाए अपूरा
देशमात्र नभएर मान्छे नै अल्पविकसित हामी–
मौका पर्नासाथ एकर्कालाई धस्छौं छुरा
महालक्ष्मी नपा १०, टीकाथली, ललितपुर
हाल: सहायक प्राचार्य, मन्थली उमावि, मन्थली
