बहराइनको १६ घन्टे ट्रान्जिटमा फसियो । एयरपोर्टबाहिर निस्कने अनुमति छैन । भित्र समय बहलाउने वस्तु छैन । कुहिरो लागेको छ, टाढासम्म देखिँदैन । झिलीमिली, टिलीपिली छ यात्री प्रतीक्षालय । उफ् ! कति उडेका जहाज, कति हिँडेका मान्छे ! दुई–चार घन्टा हेरिरहेपछि त मान्छे पनि झर्को लाग्दा रहेछन् । कति हेर्नु बुर्कावाली ! कति हेर्नु फुर्कावाली ! कहाँ हेर्नु ?
कालो कपडाले कुर्कुच्चा पनि ढाकेको छ । आँखा पनि छोपेको छ । नाक, मुख, कान, निधार केही नदेखिएपछि कहाँ रहन्छ मान्छे ? कसरी हुन्छ मान्छे ?
किनेको पानी सकियो । लिटरको चार सय पर्ने पानी कति किन्नु ? सानो हुँदा मिठाइ चुस्थ्यौँ हामी फारु गरेर । रस पनि ढिलो निल्थ्यौँ । त्यसै गरेर जोगाउँदा पनि पानी सकियो । सम्झ्यो कि तिर्खाले खुत्रुक्कै पार्छ ।
के अर्को चार सय तिरौँ ? आठ सय हुन्छ । भर्खर चार घन्टा भयो बसेको । अँझै बाह्र घन्टा कुर्सी घोट्नु छ । यही दरले तिर्खा लागे १६ सय चुना लाग्छ । के गर्ने होला ?
“अनिलजी ! पानी छ ?” अर्जुनले सोधे । रित्तो तुम्लेट हल्लाइदिएँ । उनको तिर्खा पनि मेरै जस्तो रहेछ : घाँटी तिर्खाउने, गोजी डराउने । एकैछिनमा पानी आतंक भयो समूहभित्र ।
खुत्रुक्क चार सय तिरेर पानी किने गोविन्दले । अर्जुनले गोविन्दसँगै आफ्नो तिर्खा मिसाइदिए । कृष्ण हात बढाउँदै थिए, बोतलभित्र हावा दौडिन थाल्यो । थोपो पनिरहेन । एक लिटर पानी त पल्टनमा खैनी बाँडेजस्तै भयो ।
सूर्यभन्दा तेजिला छन् बिजुलीका चिम । लिखा पनि टाढैबाट टल्केलान् जस्ता । कुर्सीमा बस्दा खुट्टा उचालिरहनुपर्छ । कति पुछेको भुइँ । कति घोटेको भुइँमा । छाला भए उहिल्यै खुइली सक्थ्यो । एउटा नवयुवक अरूभन्दा फुर्तिलो छ । बेलुन गुडेझैँ गुडिरहन्छ यताउता । मान्छेले टेकेको ठाउँ देख्नै हुँदैन, पुगिहाल्छ लुँडो बोकेर । झन्डै मेरै उचाइका अरू देशमा पनि हुँदा रहेछन् पुड्कापुड्की ।
कि यो नेपाली हो ? उसको हिँडाइ, हेराइले जिज्ञासा लाग्यो । बोलाऊँ ? हुन्छ तर कुन भाषामा ? अलमलिएँ ।
लौ मैले त तिर्खा बिर्सेछु । मलाई तिर्खा र सु सम्झिँदा आउँछन्, बिर्सिंदा हराउँछन् ।
“हैन, यो नेपाली नै हुनुपर्छ ।” मैले अड्डी कसेँ । नयाँ जुक्ति निकालेँ । ऊ भुइँ पुछ्दै हिँड्यो, म गुनगुनाउँदै पछि लागेँ ।
“रातो भाले कोयाँक् कोयाँक् …”
“ओहो ! नेपाली ? काँ हो दाइ घर ?”
लौ, केटोले झम्टियो । च्याप्पै हातमा समायो । “शनिश्चरे हो सर घर । पाँचथरबाट झापा झर्नासाथ जनयुद्धले छोपिहाल्यो ।
दिउँसो एउटा आउँछ, राती अर्को आउँछ । आमाले भाग् भनिन् । भाग्दाभाग्दै कति भागेँ कति । यहाँ पो आइपुगेँछु । अरू त राम्रै छ सर ! तर, सुत्नै पाइँदैन ।”
सुत्न नपाउने र पानी नपाउनेको जम्काभेट भयो निर्जन ठाउँमा ।
“किन भाइ ?”
“सर ! नाइट ड्युटी छ । एयरपोर्टभित्र बाह्रवटा घाम लागेजस्तो हुन्छ जतिखेर पनि । बिजुलीले आँखा झिम्क्याउँदैन । बिहान ७ बजे छुट्टी हुन्छ । बाहिर निस्कँदा घाम झलमल्ल ओर्लिसक्छन् । अँध्यारो नदेखी आँखा जोडिँदैनन् । यो देशमा उज्यालो मात्रै भइरहन्छ अनि कसरी सुत्नु ?”
“साँच्चि सर ! अचेल हाम्रो देशमा लोडसेडिङ छ कि छैन ? सुत्न पाइन्छ ?”
समात्यो केटाले घाँटीमा । किक्लिक्क, किक्लिक्क पार्यो ।
“हँ सर ! राती हुन्छ हुँदैन भन्या ? सुत्न पाइन्छ ?”
“भाइ ! तिर्खाले सिद्रो बनायो । पानी पाइन्छ ?”
“खाने सर ? जत्ति पाइन्छ । किन्न थाल्यो भने त गोजी रित्तिन्छ ।”
सिकायो केटाले मलाई पानी खाने तरिका । पहिले आफूले पेट भरेँ । नसरुलजीका गाउँमा भोज खाएर उठेजस्तै भयो । अलिकति त पोखियो पनि । उसैका लुँडाले पुछिदियो ।
२२ जना नेपालीरहेछन् त्यहाँ भुइँ मात्रै पुछ्ने । ठेकेदार इन्डियन छ रे !
“सर ! कस्तो नजाती छ । एकछिन उभिन दिँदैन । हाम्रा आमाबुबा सप्पैका नाम भन्छ एकलख्खे लगाएर । पहिले मलेसियन थियो । ऊचाहिँ छोराछोरीलाई जत्तिकै गर्थ्यो । यो असत्तीले धरधरी रुवाउँछ । कहिलेकाहीँ अघाउँजी सुत्न देशतिरै फर्किउँजस्तै लाग्छ ।”
“अनि, भुँडी ब्यूँझै रहला नि त !” मैले बीच्क्याइदिएँ । ‘यसैले त मार्यो नि ! जता हिँड्यो, उही अगाडि लाग्छ ।’ हाँस्यो केटो । अघाउँजी हाँस्यो । निद्रा मात्रै अघाउँजी नपाएको रहेछ ।
बहराइनमा १० तुम्लेट पानी खपत भयो त्यतिबेला । पानी ब्वाइ भएँ म त । इभिनिङ् वाक्, डे वाक्, मर्निङ वाक् सबै वाक् पानी खाँदै र खुवाउँदैमा भयो । केही छिनपछि झापालीलाई खोज्दै आइपुगे घाम । एयरपोर्टबाटै भित्र छिरे । म उसलाई खोज्दै थिएँ । आहा ! ड्रेस फेरेर आएछ, कति राम्रो देखिएको ।
“सर ! नेपाली गीतले हाम्रो परिचय गरायो । नेपाल आउँदा भेट्छु, नबिर्सिनु होला । डिउटी अफ भयो । कोठा जान्छु । बाइ सर ।”
भाइलाई बाइ गरेँ । भाषाको असीम शक्तिमा मोहित हुँदै पानी भुँडी हल्लाएँ, “रातो भाले कोयाँक् कोयाँक् …!”
“क्या हो पौडेलजी ! लामा गफ गए नि ! गाउँले हो ?”
“हैन, बनाको ।”
“कसरी बन्यो ?”
“सजिलै बन्यो । ऊ नेपाली नभेटेर भोकाएको रहेछ, म पानी नभेटेर तिर्खाएको थिएँ, स्वार्थ मिल्यो ।” गोविन्द र म बोल्यौँ ।
“सर ! पानी छ ?”
गिरिराज आइपुगे । उनका पछिपछिरहेछन् हरिहर र प्रेमराज । तीनै जना फिल्डका कर्मचारी । उनीहरू कसैका छिमेकमा कोसी बग्छ, कसैका छिमेकमा कर्णाली सुसाउँछ । गाउँ नै बाढीले लान्छ । पुल बगाउँछ । उनीहरू उद्यमीका देवता । ‘सर ! चिसो ? तातो ? सेकुवा ? भुटन ? भएन सर भएन, थपौँ न ! खाउँm न ! प्लिज सर ! पाँचवटा हात्ती पनि सकिएको छैन । के मर्जी भा सर ! रुघा ? पिनास ? यै त त्यसको औषधी । झयाइँखट्टे भनौँ त ? हजुरहरूजस्ता कर्मचारी देखेको थिएन बा कस्तो कट्टर …।’
तल तमोर छ, नीलो नदी । फनफनी घुमेर बग्छ । खुट्टो चिप्लिए भुँवरीमा अलप । माथि कहाँकहाँबाट सुसेल्दै आउँछ । कसको हुती ऊसँग जोरी खोज्ने ? घुमाउने चौतारो मूलघाट हेरेर सुस्ताउँछ । काग दाइ पानी नबोकी बरको हाँगामा बस्छ । कागिनी भाउजू वरका फलमा चुच्चो दल्छिन् । पखेटा नहुने गिरिराजहरू खुइखुइ गर्छन् ।
“कविता फुरेको हो ?” जिस्क्याउँछन् गजेन्द्र । जम्बो टोली छ हाम्रो । इजरायल डुलेर फर्केको । त्यही माथि भर्खरै थर्काइदिइन् मिनिस्कर्टवालीले । माथि एक पाउ र तल दुई पाउको टालो भिरिछन् । कसरी अल्झेको शरीरमा । कालो गगल्सले उदेकको सुवास फालेको छ । लगेज घिसार्दै आइन् छेउमा । पानीका गफमा हौसिँदै थियौँ हामी । हाम्रा नेपाली शब्दले कान चिमोटेछन् । “ओहो ! नेपाली ? कहाँबाट आउनुभयो ?”
“इजरायलबाट ।”
“कर्मचारी हो ?”
“कसरी जान्यौ ?”
“तक्लु देखेर ।”
“किन ?”
“भाउजूको पौरख देखेर ।”
“हामी भाउजू नहुनेहरू पनि छौँ है ।”
“ए गर्लफ्रेन्ड होलान् नि ! त्यस्ता त झन् कागतिको खोस्टा हुन्छन् । बूढोहरूले क्या र्याक गर्छन् । ल, इज्रेल पुगेर आउनुभएको रहेछ, घरमा पुगेर चैँ हल्ला नगर्ने नि ! नेपालीहरू आउँछन् । भा’को नभा’को हल्ला लिएर जान्छन् । वाँ हामीलाई बस्नु दिँदैन ।”
“किन ?”
“किनभने, घर पनि मिस गर्नु, भनाइ पनि खानु ? बूढोले पागल हुने गरी फोन गर्छ । को कोल्ले पोल लाउँछ । हाम्रो नेपालीको यै नहुने क्या ! कोल्ले बुट लायो, कोल्ले कपालमा आइरन् लायो, सब हिसाब राख्छ । देख्नु भएन कति सुरक्षित छ देश ? बरू, हाम्रै देशमा खतरा छ ।”
मीठो बरबराइन् उनी । हामी उनको ड्रेसमै हरायौँ । दोषी आँखा ।
“बुआहरू ! मेरो लास्ट रिक्वेस्ट है, केही सुनेँ भने रड्डी हुन्छ ।”
लगेज तान्दै ड्युटी फ्रि सपभित्र पसिन् । कञ्चन पानीले भरिएको प्लास्टिकको बोतल हल्लाउँदै आइन् । हाम्रा आँखाले पानी र जवानीलाई सँगसँगै हेरे ।
“हेरौँ गुरु हेरौँ । घर पुगेपछि निवृत्त भइहालिन्छ ।”
झटारो हाने अर्जुनले । हामीले स्वदेशी हाँसो हाँस्यौँ विदेशमा ।
प्रकाशित: चैत्र १८, २०७२
http://nepal.ekantipur.com/news/2016-03-31/20160331172632.html
