Skip to content

देश पढिरहेकी मेरी छाेरी

-1


आफ्नो जिन्दगीको जिम्मेवार आफैँ हुनुपर्ने
कस्तो विडम्बना असुरक्षित जिन्दगी
असुरक्षित घडीका सुईहरू ।

आजभन्दा दश वर्ष अगाडि
मलाई माया गर्ने मायालुको कोखबाट
हाम्रो सपनाको सहारा बन्न
यौटा सन्तानको जन्म भएको थियो
उनी अति नै सुन्दरी छिन्
लाग्छ उनको अनुहारमा फुलिरहेका छन्
लेकमा फुलिरहने लालीगुराँसका थुङ्गाहरू ।

लाग्न सक्छ कसैलाई मोनालिसा
कसैलाई फ्लोरेन्स नाइट्रिङ्गेल लाग्ला
कसैलाई महारानी एञ्जिलाबेथ जस्तो लाग्ला
कसैलाई कामुक क्लियोपेट्रा जस्तो
उनीले गरेका तर्क र वितर्क सुनेर
लाग्न सक्छ त कसैलाई बर्बरा एडमस् जस्तो
उनीले लेखेका कथा कविता पढ्नेहरूलाई
लाग्न सक्छ तसलिमा नसरीमा
यस्ता फरकफरक सोचहरू लाइन लाग्न सक्छ

मन्द मन्द मुस्कान देखेर
लाग्न सक्छ ढाकर ओढेर लेक चढ्दै गरेको बटुवालाई पनि
आफ्नै छोरी जस्तो
लाग्न सक्छ मेरो छोरीको चन्चलता देख्दा
बुढो दरबारमा जिन्दगी बिसाएकाहरूलाई
कामुक परी जस्तो
न छिपिएका परेलाहरू देख्दा
लाग्न सक्छ पजेरोमा जिन्दगी दौडाएकाहरूलाई
आफ्नै सुसारे जस्तो
यस्तो पनि त सोच्दा हुन् कसै कसैले
लालीगुराँसले पोतिएको कलिलो ओठ चुम्न पाए
स्वर्गीय आनन्द मिल्थ्यो कि ?
यसरी अप्रत्यक्ष रूपमै मेरी छोरी
मेरै अगाडि बलात्कृत हुन सक्छे
महाशय !
केही उपाए छ कि बताउनु होस् न
मलाई मुक्ति चाहिएको छ ।

यो बाउको जिन्दगी
गोली लागेर छट्पटाइरहेको चरा जस्तो
घन्टा घरको भित्तामा घुमिरहेको थोत्रो घडी
जसरी हानिरहेको छ बिरामी मुटुले छातीमा
नाप्दै छ घडीको खिया लागेका सुइहरूले
मेरो जिन्दगीको आयु ।

यस्को जिम्मेवार को हुन्छ ?
मेरी छोरीले लेखेको कखरा देख्न नसक्ने
मेरा धमिला आँखाको अगाडि
देशको नक्सा बेच्न गएकी मेरी छोरी
बाकसमा निदाएर आइन् भने ?
यो बुढो बाउलाई देख्ने बित्तिकै
बा भनेर बोलाइनन् भने ?

आज भर्खरै दशौँ केक काटिएको छ
शरीरले पनि बिस्तारै आकार बदल्दै छ
जसरी जूनले आकार बदल्छ ।

सगरमाथाको नक्सा बोकेर
बाटोमा हिँडिरहेकी मेरी छोरी देखेर
जीव्रो पड्काउनेको भीड हुन सक्छ
पूर्वका नाङ्गा पहरा हेरिरहेका आँखाहरू
मेरी छोरीको जवानी हेरेर
प्यासीहरूले प्यास मेटाउन सक्छन्
प्यास मेटाउन पानी नचाहिँदो रहेछ
भारी बोकेर उकालो चढिरहेको बटुवालाई
वरपिपलको छाहारी नचाहिँदो रहेर
खेतमा रोपाइ गरिरहेका रोपारहरूलाई पनि
घुम नचाहिँदो रहेछ
यी सबथोक किन देख्छन् मेरो छोरी जवानीमा ?
कस्तो युग कस्तो समय
देखिरहेको छु म यतिबेला
सोचिरहेको छु म यस्तै यस्तै ।

मेरी छोरी यौटा फूलको थुङ्गा हुन्
उनी फूल्दै छिन् समयलाई बिछ्याएर
आकाश ओढेर काट्दै छिन् प्रत्येक रात
फुलाउँदै छिन् जिन्दगी
घुम ओढेर छोप्दै छिन् यौवन
उन्कै अधीनमा रहेको कुमारीत्व
देश खोज्न हिँडिरहेको बेला
देश तराजुमा राखेर मोल गर्नेहरूले
सामुहिक करणी गर्न सक्छन्
सरकार यहाँ कस्को के भरोसा
यी पिपासुहरू
कानून मेरो नामको पर्यायवाची भन्छन्
हो सरकार मैले भर्खरै सुनेको
यो देश सहिछापमा बिक्री हुँदै छ रे
अनि त्याग्दै छन् रे नेपाली नागरिकता ।

महाशय !
म उस्को बाबा हुँ !
कसरी हेर्न सक्छु म अपवित्र दृश्य
भि. सि. डि. / डि. भि. डि.मा कैद भएको
म कसरी लिन सक्छु ?
यो देशको नागरिकता बेचेर
कुनै देशको नागरिकता !
मलाई माफ गर्नुहोस् महाशय !
सुरक्षा र सुरक्षितको नाउँमा
तिम्रो चाकरी गर्न सक्दिनँ
म त्यो नृत्यङ्गना हैन
तिम्रो इसारामा नाचिरहने
बरू तिमीमा हिक्मत छ भने
यो देश अटाउने छातीमा गोली हान
म हाँसीहाँसी बलिदान दिन तयार छु
तर म यो देश बेच्न दिन्न
किनकि यो देश माया गर्नेहरूको हो ।
****

विक्रम पवन
बेथान-४, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *