दिनभरिको नारा जुलुश कार्यक्रमको व्यस्तता नारीजागरण मंचको अध्यक्ष श्रीमती देवकी बल्ल नगर परिक्रमा गरेर मन्चमा आसिन हुन पुगिन । नारी एकता, नारी हकहित, नारी स्वतन्त्रता, अनि पुरुषसँग आधा आकाशको माग गर्दै, सरकारी संकाय, राजनीतिमा कम्तीमा महिलाहरूको पचास प्रतिशत सहभागिताको मुद्धा उठाउदै सदा झैं आज पनि सभा बिसर्जन गरेर यसो दुई चार एकान्त, काने खुसी गरेर गलेर घर तर्फ फर्किन ।
दुई जिउकी भएकी छन् अहिले देवकी । कानेखुसीका स्वरहरूमा सुनिदै थियो चार महिनाको भयो अरे पेट अनि छोरी छ अरे भनेर डाक्टरले भनेका छन् अरे । घरमा दुई ओटी छोरीहरू सलक्क बढ्दै छन् ठुली १३ अनि कान्छी ८ वर्ष पुगी अरे यो पटक ज्योतिषीले छोरो पाउछ्यौ भनेपछि अर्को सन्तानको रहर गरेकिरहिछन देवकीले तर डाक्टरले छोरी छ भनेपछि अलिक बीचलित जस्ती भाकी छन् ।
बेलुका घर पुगेर आराम गर्दै दुवै छोरीसँग स्कुलको होम वर्क अनि बाबासँग बजार गएको गफ सुन्दै उनी पनि खाना खान बासिन रुपक सिंहले दुवै छोरीलाई अघि नै खान खुवाइसकेका थिए । नानीहरू आइप्याड़मा एउटी र बाबाको मोबाइलमा कान्छीले गेम खेल्न थाले । श्रीमान श्रीमती खाना खान थाले, त्यहीबेला देवकीले कुरा निकालीन आज डाक्टरलाई चेक गराएको छोरी छ भन्छ । डाक्टरकोबाट सिधै महिला मंचको कार्यक्रमबाट यता आएँ, ।
आज त मेरो भाषण पनि राम्रो भयो जति पल्ट बोले पनि पर्र परर्र ताली मात्र बज्थे । मैले पनि जन्मै देखि नारी स्वतन्त्रता, पेट भित्रै देखि उनीहरूको सुरक्षा हकहित, नोकरीमा घटीमा पनि पचास प्रतिशत महिलालाई छुट्याउन पर्छ भने, महिला भनेको आधाआकाश हो नारी नभई पुरुष जन्मदैन, । नारीका वेदनाहरू नारीले नै बुझ्नु पर्छ …. बोल्दा बोल्दै समय बितेको थाहानै भएन छ पचास मिनेटसम्म बोलेछु तर पनि तालि बजिरहेका थिए । बडो आनन्द भयो रुपक आज त म महिला सुरक्षा र स्वतन्त्रताको पक्षमा बोल्दै गएँ सबै छक्क परे, कति राम्रो बोलेको भनेर, महिला बचाउ अभियानको लागि मलाई संयोजक समेत बनाए ।
रुपकले केही नबोली सुनिरहे नानीहरू खेलिसकेर सुतिसकेका थिए अनि देवकीले रुपकलाई भनिन “हेर न रुपक घरमा दुई छोरी छदै छन् अर्को पनि छोरी पेटमा छ भन्छ डाक्टर छोरी मात्र धेर भए पछि केले पुग्छ र हामीलाई, भोलि एवरसन् गर्न जाऊ है ल रुपक” । रुपक जुरुक्क उठेर महिला अधिकार जिन्दावाद भनेर सुत्ने कोठातिर लागे ।
