Skip to content


हिन्दीमा एउटा घतलाग्दो मुहावरा छ –‘तुँ करे तो रासलीला, हाम करे तो क्यारेक्टर ढिला ?’ यसमा निहित आसयले भन्न खोजेको कुराको अन्तर्यमा पावर र सेक्स मिश्रण छ ।

संसार नै पावरको प्रतिफल हो । जैविक, भौतिक र नैतिक सफलतामा पावर जोडिएको हुन्छ । वयश्क नरनारीको घर्षणपछि नयाँ जीव जन्मन्छ । यो सबै प्राणी जगत्मा लागू हुन्छ । जागिर, ठेक्कापट्टा, उद्यम र सबै किसिमका सेवामुखी (?) मुखुण्डाधारी मानिसहरू पावरका पछि लाग्छन् । सबैभन्दा बढी पावर राजनीतिमा केन्द्रित थियो, छ र हुन्छ ।

‘मनि’ याने पैसा जोसुकै मानिसको कमजोरी हो । अहिले कलियुग हो । एकजना कविले हिन्दीमै सुनाएका छन् –‘रामयुग मे दूध सस्ता, कृष्ण युगमे घी, कलियुगमे दारू सस्ता दुम दबाकर पी ।’ सटिक र मार्मिक यो कविताले अहिलेको विनिमार्णवादी युगको अघोरै चित्रण गरेको छ ।

सेक्स संसारको केन्द्र । मान्नुस या नमान्नुस् । यसैलाई आधार बनाएर संसार सृष्टिचक्रको वृत्त खिँच्छ । अधिकांश मानिसहरू कम्बल ओढेर घिउ खान्छन् । नाइँनाइँ भन्दै धेरै भोगी मानिसहरू सेक्स कमजोरीका कारण संसारको व्यूहमा फँसे/फँसाइएका छन् ।

भनिन्छ –‘संसार जित्ने मानिस घरमा हार्छ ।’ यो भनेको के ? मानिस संसारलाई चित्त बुझाउँन सक्छ तर आफ्ना केटाकेटी र आइमाईका हकमा भने लुत्रेकान पारेर घरभित्र छिर्छ । संसारलाई बुझाउने सुकरात श्रीमतीसँग डराउँथे विचरा ! मायाभित्र सेक्स र सेक्सभित्र माया लुकेको हुन्छ । यो सूत्र र भाष्य लोग्नेस्वास्नीमा मात्र सीमित छैन । प्रेमी प्रेमिकामा, लिभिङ् टुगेदरमा र अभिषारिका समेतमा ससर्त लागू हुन्छ । प्रेमको अर्थशास्त्र भनौं समाजशास्त्र यसैमा गोलचक्कर काट्छ । काटिरहेको छ ।

संसारमा जुनसुकै पावरको सदुपयोगभन्दा दुरुपयोग बढी भएको छ । अर्को एउटा संगीन कविताले भन्छ –‘देशको लागि लड्ने मानिस शालिक भएछ, देशद्रोही पो मेरो देशको मालिक भएछ ।’ यो पुरानै कवितांश भए पनि बेलाबेलामा फेसबुकमा पोष्ट भैरहन्छ । जनतालाई खुसी लाग्छ यस्ता सटिक र कडा व्यङ्ग्यभाव भएका कविताको पाइन् देखेर । तर यी सब सफ्ट पावर मात्र हुन् । हार्ड पावर त राजनीतिक क्रूरशक्ति हो ।

भनून बहुदलमा गिरिजाप्रसाद कोइराला सत्तामा हुँदा उनकी विदेश पलायन भएकी र नेपाल आएपछि काँग्रेस भइटोपलेकी छोरी सुजाता कोइरालाको फाइँफुट्टी देख्दा लाग्थ्यो । सबैसबै पावर नै रहेछ । उनका ज्वाइँ रुवेल चौधरीले (सासू सत्तामा हुँदा) नेपालमा कल बाइपासका कत्राकत्रा घोटालाहरू गरे तर उनलाई नेपालको कुनै निम्छरो कानूनले छुनसम्म पनिसकेन । त्यो बेला सुजाताको विरुद्धमा बोल्नेको जीव्रो थुतिन्थ्यो ।

पन्ध्र सालअघि ऊ बेलामै महाकवि देवकोटा भन्थे –‘जसको हातमा लठ्ठी उसको भैँसी, ब्रह्मचारी मुडुलो ।’ यो कविताको भावमा शक्ति र सत्तालाई झाँको झारिएको छ । रुबेल सासू माताको राजनीतिमा बल कम हुँदै गएपछि एकाएक विदेश भासिए । अहिले पत्तो फाँट छैन । काँग्रेसको शक्तिमा सुजाता अहिले पनि नेपाली राजनीतिको शक्तिकै इर्दगिर्दमा रहेर फ्याउँफ्याउँ गर्दैछिन् ।

नेपाल संसारकै हरितन्नम मुलुक हो । यहाँका हरेक देखिने र नदेखिने सबै प्रकारका राजनीतिक घोटालामा पैसा, यौन र पावरको हैकम देखिन्छ । पञ्चायतमा पावर भएका बहुदल आएपछि दुला पसे । बहुदलमा पावर नचाउने लोकतन्त्र कालमा कुकरमा हालेको साग भए । अब नयाँ गणतन्त्र आएको छ । भन्नलाई गणतन्त्र भने पनि यो वास्तवमा पावरकै ‘गनतन्त्र’ हो । माओवादी बन्दुक देखाएरै नेपाली राजनीतिमा स्थापित भयो । अहिले मधेशीहरू पनि बल प्रयोगबाटै हारिएको चुनाव र ब्यालेटको वश्त्रहरण गर्दैछन् । तेलको कालो व्यापार अपार भएको देख्दा लाग्छ –देशमा मुन्द्रे, कुण्डले, पाखुरे र तिघ्रेहरू कै शासन चलेको छ ।

देश र मधेशका आन्दोलन हुन या जुनसुकै पार्टीहरूले बन्द हड्ताल गर्ने ऐलान हुन् । कार्यकर्ता धेरै र हिँसात्मक हुने खालको छ भने त्यो स्वतःस्फूर्त रूपमा सफल हुन्छ । हरेक सफलताका पछि पावरले काम गरेको हुन्छ । चाहे बिजुलीकै पावर सकेट नै किन नहोस् ।

पावर, मनि र सेक्समा नेपाली राजनीति २५० वर्षदेखि अघि बढ्दै छ । जसको पुष्ट विगत्का केही नेपाली राष्ट्रिय परिघटनाले अँझै गर्दैछन् ।

जंगबहादुरले मच्चाएको कोतपर्वको भित्री पाटोमा रानीसँग उनको रागात्मक सम्बन्ध रहेको आशंका गरियो । बहादुर शाह र राजेन्द्र लक्ष्मीबीच भलै सेक्सको दुरुपयोग भा’को थिएन होला तर त्यहाँ पावर एक्सरसाइजको गुह्यतत्व अह म लुकेको थियो । रणबहादुरले मिश्र बाहुनकी विधवा छोरीलाई उनको सन्तान राजा बनाउने सपना देखाएरै चौथो विवाह गरे । नेपाली राजनीति त्यहीँदेखि ओरालो लाग्या हो । अँझै लाग्दै छ । पैसाको मामलामा एमालेमा राज्यलक्ष्मीका ‘लक्ष्मी’मा धेरै कमरेड डामिएका रैछन् । लोकमान पावरकै आड लिएर अहिले देशका पावरवालाहरूका निद हराम गर्न पावरवाला चस्माको प्रयोग गरी अनुसन्धानरत छन् । प्रम ओली उनलाई ललकार्दै छन् । नेपाली फुटबलको ‘म्याच फिक्सिङ्’ को स्वस्थानी कथा र गणेश थापाको मनिको चर्तिकला ती सबै पावरका खेल हुन् । कसले बुझ्या छैन र !

नौ जना राणामध्ये जुद्ध शमशेर धेरै कामुक थिए । उनले सिँहदरबारका लामा भर्याङ्हरूमा मस्तमस्त तरुनीहरू अर्धनग्न कपडामा उभ्याएका हुन्थे । उनी भरेङ चढ्दै जाँदा जब थाक्दथे तिनीहरूको स्तन पक्रँदै माथि चोटामा जान्थे । सत्तामा राणाको हालीमुहाली हुँदा तिनले राजालाई विद्रोह नगरुन भनेर धेरै तरुनीहरू रानी बनाएर खोपीका सेवामा जुटाउँथे । अनि आफू राजाका नाममा बेढङ्गी शासन गर्दथे ।

राजा महेन्द्रको असामयिक निधन हुनुमा लुकेको पाटोभित्र तात्कालिक समयमा नेपालमा लागेको नाकाबन्दी र इन्दिरा गान्धीसँगको पावर टसललाई नै लिइन्छ । कुरो के हो ? समयक्रममा अँझ स्पष्ट हुँदै जाला । पञ्चायतमा पनि धेरै शक्ति र सत्ताका स्वाद् चाखेका राजनीतिज्ञका अघिपछि कुनै न कुनै सुन्दरीका नाम जोडिए । त्यसबेला जानेमानेका राजनीतिज्ञ शैलेन्द्रकुमार उपाध्याय बेला न कुबेला स्त्री काण्डमा मुछिएकै हुन्थे । एकपटक उनी डली गुरुङसँग नराम्रोसँग विवाद्मा थिए । आखिर के हो यसको राज ?

नेपालमा मात्र नभएर संसारमै पनि राजनीतिमा सेक्स जोडिएको छ । विश्व सुन्दरी क्लियोपेट्रासँग सम्भोग गर्न त्यसबेलाका राजा महाराजाहरू लालयित र लम्पट हुन्थे । उनी आफ्नो सुन्दरतालाई बचाइराख्न दिनहूँ गदाहाको दूधले नुहाउने गर्थिन् । उनका आसिकीहरू त्यही दूध पनि बट्वारा गर्थे अनि तृष्तिको सास फेर्थे ।

महात्मा गान्धीले यौनलाई अनेकौं प्रयोग र अनुसन्धानका नाममा खेलाएका थिए । गान्धी आत्मकथा पढ्नेले त्यो कुरा भलिभाँती थाहा पाउँछ । हिटलरको विवादास्पद प्रेम सन्दर्भ र रहस्यमय आत्महत्या मात्रै नभएर भूपू अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेवेन्स्कीको कुचर्चित यौन काण्डले विश्वको ध्यान खिँचेको थियो । सम्पादकले अखबारका करोडौं पाना खर्चिएका थिए । कैँयौँ दिन टेलिभिजनले एउटै मात्र इसुलाई न्युज बनाए ।

पैसा त्यस्तै अदृश्य पावर बनेको छ –राजनीतिमा । भारतका धेरैजसो नेताहरू भ्रष्टाचारमा फँसे । फँसाइएका छन् । जय ललिताका १८ सय जोर जुत्ता, अकूत सम्पत्ती र धर्मपुत्रको विवाहमा उनले खर्च गरेको ४ करोड रुपैयाँ सिबिआईको टाउको दुखाई नै बन्यो । मायाबतीलाई भ्रष्टाचारको मुद्दामा जेलसजाय मात्र भएन राजनीति नै चौपट भयो । विहारका लालु चारा घोटालामा जेल परेपछि स्वास्नी रावडीलाई अघि सारेर मुख्य मन्त्री नै बनाए । अहिले उनका छोराहरू राजनीतिमा सक्रिय भए । उनी पनि बूढो गोरुले कोरली ओगटेझैँ अँझै लिखिरलिखिर राजनीति गरिरहेका छन् ।

नेपालका नेताहरू त पावर, मनि र सेक्सका मामलामा अति नै भल्गर छन् । भीमसेन थापादेखि ओलीसम्मका ३६ जना प्रधानमन्त्रीमा सेक्सका सबालमा बद्नाम नभएका प्रमहरू त केहीकेही मात्रै होलान् । यस मामलामा तुलसी गिरी नामी थिए । मन्त्रीको त कुरै नगरौं । बलबहादुर केसी सत्ताको मादमा पर्खाल चढ्न समेत भ्याउने मन्त्री हुन् । त्यसैगरी बद्री मण्डल नर्स काण्डमा मुछिए । एमालेका कृष्णप्रसाद श्रेष्ठ भन्ने एकजना सांसदले आफ्नै छात्रा कुदाएथे । खोजी पस्दा कति छन् कति यस्ता घिनौना परिघटनाहरू ?

‘संसारको सबैभन्दा सुन्दर फूल यौन हो तर त्यो धरापमा छ ।’ नेपालका एकजना नामुद् कवि अँझै भन्दैछन् । माओ हुन् कि पोलपोट, पुटिन हुन् या रुसो पढी ल्याउँदा सबै उम्दा मानिसहरू यौनमा फसेका देखिए । यौन तेरो लीला अपरम्पार छ । तँलाई कोटिकोटि नमन छ ।

।।समाप्त।।

पेशल आचार्य
मन्थली

Leave a Reply

Your email address will not be published. Required fields are marked *