छन्दशास्त्रको सैद्धान्तिक धारणा तथा सिद्धान्तको निर्माणको कार्य पूर्वीय आचार्यहरुकै योगदानको उपज हो । यसैले यसको लेखन पनि संस्कृत भाषाका प्राचीन विद्वान्हरुबाट नै भएको छ । उनीहरुको मान्यता अनुसार लय वा छन्दको आरम्भ भाषाको अलिखित अवस्था वा आरम्भसँगै भएको हो । यसो भएपछि छन्दकोे प्राचीनता भाषाकै इतिहास जति पुरानो हुन आउँछ । हुन पनि हो, जब मान्छेलाई दुःख, पीडा, आनन्द, हर्ष, उल्लाषका क्षणहरु आउँछन् त्यो बेला नै ऊ गुनगुनाउन थाल्छ र लयहाल्न थाल्छ । अनि छन्दको रुपरेखा तयार हुन थाल्छ ।
छन्दशास्त्रको सबै भन्दा पुरानो र हालसम्म पनि धेरै विद्वानहरुले आधिकारिक रुपमा मानिआएको ग्रन्थको नाम हो ‘छन्दशास्त्र’ । यसका रचयिता ऋषि पिङ्गल हुन् । यसको लेखन समय र स्वयं रचयिताको जीवनकालको समय पनि उपलब्ध छैन ।
पिङ्गलकै कुराहरु ‘अग्निपुराण’ मा पनि अक्षरशः आएको हुँदा ‘अग्निपुराण’को लेखन समय भन्दा ‘छन्दशास्त्र’का रचयिता पिङ्गल निकै अघिका हुन् भन्ने कुरा भने सिद्ध हुन आउँछ ।
छन्दको बारेमा लेखिएको पुरानो आधिकारिक र उपजिब्य ग्रन्थ पनि ‘छन्दशास्त्र’लाई नै मानिएको छ । यसैलाई आधार मानेर यसपछिका धेरै विद्वान्हरुले छन्दका बारेमा आफ्ना नयाँ नयाँ कृतिहरु लेखेका छन् । कालीदास लगायतका विद्वान्हरुले ‘श्रुतबोध’, ‘वाणीभूषण’, ‘वृत्तदर्पण’, ‘वृत्तरत्नाकर’, ‘छन्दोमञ्जरी’, ‘वृत्ताहार’, ‘वृत्तकौमुदी’ आदि ग्रन्थहरु देखिएका छन्, उपलब्ध छन् । आधुनिक भाषाहरुमा छन्दका बारेमा लेखिएका देखिएका ग्रन्थहरु यिनै ग्रन्थहरुबाट प्रभावित वा अनूदित हु्न् भन्ने बिर्सनु हुन्न । नेपाली भाषाको ‘छन्द र अलङ्कार’, ‘छन्दोमञ्जरी’ पनि यिनै ग्रन्थहरुका उत्तरवर्ती हुन् भनेर भुल्नु हुन्न । यद्यपि कतिपय भाषाहरुमा आफ्ना मौलिक लोकलयहरु लोकछन्दहरु पनि हुन्छन् । ती नयाँ ग्रन्थहरुले आफ्नो भाषामा चलेका लोकछन्दहरुलाई पनि समावेश गर्ने गरेको पाइएको छ । नेपालीकै कुरा गर्ने हो भने नेपालीमा लेखिएका छन्दशास्त्रका ग्रन्थहरुमा नेपाली लोकलय, सेलो, सवाइ आदिको चर्चा पनि गरिएको पाइन्छ । यसो गर्नुलाई छन्दका बारेमा अपडेट वा अद्यावधिक गरेको जस्तै मात्र हो भन्न सकिन्छ ।
माथि दिएका धेरै ग्रन्थहरुको आधार ग्रन्थ ‘छन्दशास्त्र’ भए पनि पछिल्ला रचनाकारहरुले चाहिं ‘छन्दोमञ्जरी’ वा ‘वृत्तरत्नाकर’ लाई बढी आधार मानेको पाइन्छ । म यहाँ पनि यिनै ग्रन्थहरुलाई आधारग्रन्थहरुको रुपमा मानेर चर्चा गर्न लागेको कुरा आरम्भमै निवेदन गर्दछु ।
वेदका ऋचामा पनि छन्द हुन्छन् जसलाई वैदिक छन्द भनिन्छ त्यहाँका छन्द र पुराण वा काव्यका छन्द बेग्लै हुन् । यसैले छन्दहरु वेदमा पाइने वैदिक र वेदभन्दा अन्यत्र पाइने इतर वैदिक छन्द जसलाई लौकिक छन्द पनि भनिन्छ, गरी मूलतः दुई किसिमका हुन्छन् भनेर बुझ्नु पर्छ । वैदिक छन्दको बेग्लै अध्ययन हुन सक्छ जसमा लयको नियमितता भन्दा पनि स्वरको र उच्चाणमा विशेष ख्याल गरिन्छ । तर लौकिक छन्दमा लयको नियमितता, गण, गति, यति आदिलाई विशेष ख्याल गरिन्छ । यो मेरो लेखन पनि वैदिक र लोक छन्दको बारेको लेखन हैन । यो पनि ‘छन्दोमञ्जरी’ र ‘वृत्तरत्नाकर’कै आधारको लेखन हो । आवश्यकताअनुसार कालिदासको ‘श्रुतबोध’ लाई पनि मैले आधार बनाएको छु ।
क्रमशः
