‘लेखकलाई एकान्त देऊ, एकान्तवस्थाले लेखकलाई झन ‘क्रिएटिभ’ बनाउँछ ।’ विश्वका महान् लेखकको उक्ति हो – यो । तर कतिपय अवस्थामा लेखक समूहमा घुलमिल हुन खोज्छ नै । यो उसको मानवोचित गुण हो । सधैं एकान्तमा रहेर र लेखेर पनि हुँदैन त्यसलाई प्रकाशन गर्नु वा भावनाको सार्वजनीकीकरण उसको चाहना हो ।
अथवा यसो भनौं । लेख्नु लेखकको पहिलो कर्तव्य र प्राथमिक कर्तव्य हो । प्रकाशन उसको दोस्रो कर्तव्य हो । अनि त्यसबीचको सुन्ने र सुनाउने काम उसको अनिवार्य जस्तै तेस्रो कर्तव्य हो । यहाँ मैले सुन्ने सुनाउने कामलाई नै पछिल्ला अनुच्छेदहरूमा गोष्ठी भनेर भनेको छु ।
सामाजिक जिम्मेवारीलाई पर्गेल्न नै एउटा लेखक भलिभाँती लेख्ने गर्छ । सामाजिक दायित्व र समाजमा रहेभएका असमान तत्वले जब लेखकलाई हिर्काउँछ अनि मात्र उसले कलम चलाउँछ । सबै मानिसहरू किन लेखक हुँदैनन् या सबै लेखकहरू जिम्मेवार मानिस किन हुँदैनन् ? यो अर्को बहसको पाटो हुन सक्छ । अहिले त्यतातिर नजाऊँ । एउटा मानिस किन लेख्छ या अर्को मानिस किन लेख्दैन ? यो प्रश्न पनि यक्ष प्रश्नजस्तै बनेको छ –अहिलेलाई । एउटै बाआमाका सन्तान पनि सबै लेखक हुँदैनन् । अनि संसारमा लेखक बनाउने कुनै विद्यालय र विश्वविद्यालय पनि छैनन् । लेखक निर्माण त आफूभित्रको अन्तस्चेतनाले बनाउने गर्छ । गजब छ, लेखकको निर्माण र विनिर्माणको कुरा कन्था ।
अर्का एकजना लेखकले सगर्व भन्नुभएको छ –जब म मुखले कुनै त्यस्ता कुराहरू भन्न सक्दिनँ अनि म लेख्ने गर्छु । लेखनमा आत्मिक सुख त छ नै साथै लेखकले त्यसबाट आफूलाई सामाजिक रुपमा पनि एउटा जिम्मेवार नागरिकको हैसियतमा हेर्ने गर्छ । एकजना विदेशी लेखिकाले भनेकी छिन् –‘संसार कणहरूले होइन कथाहरूले बनेको हो ।’
संसारमा विविधता छ । विविधता नै संसारको अर्को नाम हो । एउटै परिचय त कुनै उद्योगबाट उत्पादित वस्तुहरू मात्र हुने गर्छन् । जस्तै : सलाईका बट्टाहरू, चाउचाउका पुरियाहरू, बिस्कुटका प्याकेटहरू । मानिस सलाईका बट्टा होइन । मानिस चाउचाउका पुरिया पनि होइन । अनि होइन बिस्कुटका प्याकेट नै । ऊ जन्मिँदै अलगथलग छ । उसमा मौलिक रुपमा तीनवटा कुराहरू फरक हुन्छन् । उसलाई फरकफरक स्वाद् मन पर्छ । उसलाई फरकफरक विचारहरू मन पर्छ अनि उसको आवाज पृथक किसिमको हुने गर्छ । यसलाई ‘थ्रि टी’ पनि भन्ने गर्छन् –अनुभवीहरूले । संसारमा ‘जीवन’ र ‘मृत्यु’ को परिभाषा सबैभन्दा बढी गरिएको छ तर सबै परिभाषाहरूमा अपूर्ण परिभाषा भनेर यी दुवै परिभाषालाई लिइएको छ । जति दिए पनि पूर्ण नहुने जीवनको परिभाषा र जति व्याख्या गरे पनि पूरा नहुने मृत्युको परिभाषालाई नै मानिसले अहिलेसम्मकै धेरै समय खर्च गरेर आफ्नो कलात्मक शब्दमा अर्थ्याएको छ । यो उसको जीवन प्रतिको अभिप्सा नै हो ।
यहाँ गोष्ठीको कुरालाई उठाउन खोजिएको छ । संस्कृतमा भनिएको छ ‘गोष्ठ म करोति इति गोष्ठी’ अर्थात् गोठहरूमा गएर गरिने कार्य नै गोष्ठी हो । अहिलेको ‘हाइटेक’ युगमा गोष्ठी र गोष्ठीका आयोजकहरू नै फेरिएका छन् । हिजो पुरातन समयमा हुने गोष्ठीमा ऋषिमनिषिहरू सत्य, न्याय, जीवन, त्याग, भोग, तपस्या, मोक्ष, नैराश्य र मृत्युका समालोचनाहरू औ अकण्टक मीमांशाहरू गर्दथे भने आजका गोष्ठीमा कसरी छल गरेर फल खाने भन्ने धेयार्थ नै बलवान् हुन्छ । अर्थात् नामकरण नै ‘छलफल’ भएको छ । अरूलाई छल गर तर आफू फल खाऊ ।
यसरी गोष्ठी अब छलफल कार्यक्रममा अनुवाद भएको छ ।
प्रसङ्ग रामेछापका गोष्ठीहरूको हो । यहाँ २०६० को दसकमा लगभग एक दसकसम्म थुप्रै गोष्ठीहरू भए । मलाई लाग्छ खोजी त गरिएको होइन करिबकरिबको हिसाब हो । त्यसबेला सयका हाराहारीमा साहित्य गोष्ठीहरू भएका होलान् । कहिले ती गोष्ठीहरू साहित्यकार जगदीश घिमिरेको नेतृत्वमा ‘वसन्त काव्य संगम’का नाममा भएभने कहिले साहित्यकार तथा पत्रकार अशोक सुवेदीको नेतृत्वमा वहाँका बाबा आमाको नाममा स्थापित साहित्यिक संस्था ‘हितप्रसाद उपाध्याय–जूनमाया साहित्य प्रतिष्ठान’का नाममा भए । ती गोष्ठीहरू चाहिँ सहभागिताका हिसाबले धेरै साहित्यकारहरू भेला हुने गोष्ठी हुने गर्थे तर रामेछापमा क्रियाशील अनौपचारिक साहित्यिक मञ्च (जसको अध्यक्ष पहिले कवि तथा गजलकार भोला धरातल र पछि कवि पेशल आचार्य हुनुहुन्छ ।), नवआमाय साहित्य प्रतिष्ठान, महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान र दुई वर्ष अघिदेखि स्थापित स्रष्टा सङ्गमले मन्थलीमा धेरै कार्यक्रमहरू गर्न सकेको छ । नयाँनयाँ लेखक कवि अनि गजलकारहरूलाई आफ्नो स्थान दिएको छ । अँझ रोचक कुरा त के छ भने यहाँ प्रतियोगितात्मक साहित्यिक गोष्ठी या कवि गोष्ठीहरू भए भने स्थानीय कवि तथा लेखकहरूको थामी नसक्नुको भीड हुने गर्छ । तर जब सुन्ने सुनाउने मात्र कार्य हुन्छ अनि मानिसहरूलाई खोजी गर्नु पर्छ । प्राय: बिदाका दिनमा हुने कार्यक्रममा मानिसहरूको खोजी गर्नु पर्छ । यो सायद् सबै स्थानको साझा अवस्था पनि हो ।
अघि कै प्रसङ्गमा जाऊँ ।
साहित्यकार जगदीश दाइ प्राय: हरेक हिउँदमा मन्थलीमा आउनु हुन्थ्यो । मन्थलीमा उहाँद्वारा स्थापित तामाकोसी सेवा समिति नामको जिल्लाकै नाम चलेको अगुवा बहुमुखी सामाजिक संस्था पनि छ । हो त्यसैको कामकाजको निरीक्षण गर्न अनि कहिले लेखन शिविरमा बस्न तथा कहिले चाहिँ गोष्ठीकै लागि वहाँ मन्थली आइरहनु हुन्थ्यो । जब वहाँलाई माइलोमा नामको क्यान्सरले समात्यो त्यसपछि भने वहाँ आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र मन्थली आउन थाल्नुभयो । साठी पछिका हिँउदमा प्राय: मन्थली पुसमाघतिर देशका प्रसिद्ध साहित्यकार र पत्रकारहरूले भरिभराउ हुन्थ्यो । दुईतीन दिन अनि कहिले त साता दिनसम्मै पनि मन्थली साहित्यमय हुँदा हामी स्थानीय स्तरमा रहेर कलम चलाउने साहित्यकारहरू कथाकार माधव सयपत्री, कवि रामचन्द्र वियोगी, कवि डा. सुमन कर्माचार्य र म पनि साहित्यिक कर्ममा व्यस्त हुने गर्दथ्यौं । अनि त्यसैगरी सहृदयी अशोक सुवेदी जब चैतमा तीन दिने आफ्नो सिर्जनायात्रामा मन्थली सिर्जनानगरस्थित आफ्नो सिर्जनावाटिकामा साहित्यकार र पत्रकारहरूको टोली लिएर आउनुहुन्थ्यो त्यसबेला लाग्थ्यो मन्थलीमा जति साहित्य गोष्ठी अन्त कतै हुँदैनन् । यहाँका मानिस साहित्य भनेपछि मरिमेट्ने हुन्छन् । ‘पृथ्वी तल भरिमा’ लेखका लेखक कमलमणि दीक्षितले भानु जन्मस्थल चुँदीका बारेमा लेख्दा भनेको ‘यहाँ जो पनि कवि अनि जे पनि कविता भनेर ।’ मन्थलीमा हामीलाई यस्तै लाग्थ्यो । एक प्रकारले साहित्यिक सुखानुभूतिको अनुभव हुन्थ्यो । सायद् लेखकको ‘स्वान्त सुखाय’ भनकै यही हो क्यार ?
त्यसबेलामा आएका स्थापित कवि, पत्रकार, समालोचक र चित्रकारहरूलाई मैले पनि नजिकबाट चिन्ने मौका पाएको छु । एक हिउँदमा जगदीश दाइकै तामाकोसी हलको आँगनमा समालोचक कृष्णचन्द्रसिँह प्रधान, कमलमणि दीक्षित र चित्रकार किरण मानन्धरले गर्नुभएको अक्षर, संगीत र कलाको नैसर्गिक सम्बन्ध तर त्यसमा नेपाली परिवेशमा साहित्यकारले संगीत थाहा नपाउने स्थिति, चित्रकारले साहित्य नपढिरहेको विसंगत वर्तमान र संगीतकारले चित्र नबुझेको जटिल औ कोलाजमय विसंगत पाटाहरूको अभूतपूर्व धारावाहिक बयान । हामी छक्क परेर सुन्थ्यौं । कम्ती मर्मस्पर्शी थियो त्यो टेप नभएको कक्षामय त्रिकोणात्मक वार्तालाप । करिब तीन घन्टासम्मको अविरल गंगा, जमुना र सरस्वती बगेपछि कलम दीक्षित आफ्नो सुत्ने समय भएकाले आराम गर्न जानु हुँदा अलि पछिसम्म प्रधान रहनु भयो र अन्त्यमा किरण पनि हिँड्नु भएपछि रातको एक बजे हामी पनि आफ्ना शयनागारमा आएका थियौँ । कलाकार किरणले त्यो रात ‘एक फुल’ रेड लेबल पिएको देख्दा म अचम्मैमा परेको थिएँ ।
बस्तवमा त्यो गोष्ठीले ममा के भाव चेतको पर्दा खोलिदियो भने साहित्यकारलाई वक्ताका रूपमा उभ्याएर त्यसलाई लिपिबद्ध गर्न पाइयो भने त्यसबाट पनि उम्दाउम्दा खालका साहित्य जन्मने रहेछन् । त्यसबेलामै मैले त्यो त्रिकोणीय जीवन दर्शनका पहेलीहरूलाई कुनै दिन स्मरणका पानाहरूमा लिपिबद्ध गरौंला भन्ने अठोट गरेको थिएँ । आज यो अवसर पनि साहित्यकार अशोक सुवेदीले जुटाइदिनु भएको छ ।
मैले भन्न खोजेको कुराको गुढार्थ के हो भने मानिसले आफ्ना कुरा मात्र अरूलाई चिच्याईचिच्याई सुनाउने होइन कि अरूका कुराहरू पनि सुन्नु पर्छ । जति सुनाएर आनन्द लिइन्छ त्योभन्दा बढी सुनेर लिन सकिन्छ । गोष्ठी परम्परामा एउटा जस्तोसुकै किन नहोस् लेखकको उपस्थिति हुने काइदा र कारण पनि त्यही हो । मेरो मान्यता चाहिँ के हो भने लेखक ‘रिचार्ज’ हुनका लागि त्यस्ता गोष्ठी भेला र छलफलका कार्यक्रमहरू बेलाबेलामा हुनु अत्यावश्यक छ । लेखकलाई टाढाटाढाबाट जुटाउने काम चानचुने होइन । त्यसमा समय, श्रम र लागत लागेको हुन्छ । त्यो लागतले सही मानेमा कहिलेकाहीँ इतिहास रच्ने काम पनि गर्छ । त्यो रात भयो पनि त्यस्तै । (आदरणीय पाठकहरू ! अहिले त यो सानो लेख तयार भयो कुनै दिन लामो संस्मरण तयार हुन सक्छ ।)
रामेछापको साठीदेखि सत्तरीका बीचका दस वर्षमा निकै मानिसले मन्थलीमा आएर आफ्ना विचारहरू सुनाएका छन् अनि यहाँका साहित्यकारहरूका विचार सुनेर धारणा पनि बनाएका छन् । यस्तो माहौल खडागर्न रूचि राख्ने साहित्यकार जगदीश घिमिरे अहिले हामीसामु नहुँदा सारै दु: ख लाग्ने गरेको छ । जे होस् त्यसबेला उहाँले गरेको काम सानोजस्तो लाग्ने गरेको भए पनि अहिलेचाहिँ त्यो कार्यले नवोदित र स्थापित लेखकका बीच पुल अर्थात् सेतुको काम गरेको रहेछ भन्ने ज्ञान भएको छ । म यसैमा खुसी पनि छु साथै यस्तो विषयमा लेख्न लगाउने साहित्यकार तथा पत्रकार अशोक सुवेदीज्यूप्रति हार्दिक आभार व्यक्त गर्न पनि चाहन्छु ।
पेशल आचार्य
