Skip to content


२०३४ साल जेठको तेस्रो हप्तातिर तत्कालीन वागमती अञ्चलाधीशको कार्यालयबाट बीपी कोइरालाको स्वास्थ्य परीक्षण गर्न जानु भनी मलाई फोन आयो । भोलिपल्ट दिनको १२ बजेतिर म बीपीलाई हिरासतमा राखेको ठाउँ, प्रहरी तालिम केन्द्र महाराजगन्ज पुगेँ । त्यहाँ पुग्दा थाहा भयो कि बीपीले नै बोलाउनुभएको रहेछ । आफ्नो मुटु धड्कँदा बीच-बीचमा रोकिने भएकोले मुटुको रोग लागेको आशंका बीपीलाई भएछ । मुटुको चाल परीक्षण गर्दा मलाई बीपीको मुटुमा खास समस्या भएको लागेन । आफ्नो अनुभवको आधारमा राम्रोसँग जाँच गर्दा उहाँको शिरमा रक्तसञ्चार गर्ने क्यारोटिड आर्टरीमा ब्लक भएको पाएँ । त्यो धमनी ब्लक भएपछि कुनै पनि बेला पक्षाघात हुनसक्छ । राजाको हिरासतमा भएको उहाँलाई तत्काल गर्नसक्ने केही पनि थिएन । त्यसैले उहाँलाई खासै केही रोग छैन भनी ढाडस दिएर दिनको एक चक्की एस्पिरिन सिफारिस गरिदिएँ । एस्पिरिन मामुली दबाई भए तापनि हृदयाघात सुरु भएको आधा घन्टाभित्र खाएमा त्यसले २५ प्रतिशत रक्षा गर्न सक्छ । तर उहाँको धमनी अवरोधको समस्यालाई औषधीले मात्र ठीक पार्न नसकिने र अपरेसन नै गर्नुपर्ने समस्या हो भन्ने लाग्यो । अपरेसन गर्नका लागि उहाँ जेलबाट छुट्नु जरुरी थियो । जेलबाट छुटिहाल्ने सम्भावना थिएन । त्यसैले “खासै केही भएको छैन, भोलि आउँला” भनी फर्कें ।

तेस्रो दिन डा गंगोल, डा विष्णुप्रसाद शर्मा, डा लक्ष्मीनारायण प्रसादसमेत चारजना भई हेर्न जान्छौं भनी अञ्चलाधीशलाई भनेँ । अञ्चलाधीशले ‘माथि’ सोधेर भन्छु भन्नुभयो र त्यस विषयमा सकारात्मक आदेश आयो । त्यसअघि मैले बीपीको रोगको यथार्थ लेखी ‘यस्तो गम्भीर समस्या छ, यसलाई ठाउँमा पुर्‍याइदिनुपर्‍यो’ भनी अञ्चलाधीशलाई रिपोर्ट बुझाएको थिएँ । मैले बुझाएको रिपोर्टको एक प्रति नक्कल अञ्चलाधीशलाई सही गराएर मैले राखेँ । साधारणतः आफूले बुझाएको रिपोर्टको नक्कल सरकारी कर्मचारीले लिन पाइँदैन्थ्यो । तर महत्त्वपूर्ण राजबन्दीको स्वास्थ्यसम्बन्धी आफ्नो रिपोर्ट भएकोले मैले नक्कल मागेँ र तत्कालीन अञ्चलाधीशले पनि आनाकानी नगरी नक्कल दिनुभयो । त्यसबेला वागमती अञ्चलको अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो ।

हामी चारजना डाक्टरहरूले बीपीको परीक्षण गरेपछि फेरि अर्को रिपोर्ट बनाएर ‘तुरुन्तै आवश्यक उपचार गरेन भने जे पनि हुनसक्छ’ भनी पहिलो रिपोर्टमा लेखेको कुरा दोहोर्‍याएर अञ्चलाधीशकहाँ गयौं र ‘माथि पुर्‍याइदिनुहोस्’ भन्यौं । उहाँले पुर्‍याइदिने कुरा गर्नुभयो र हामीले त्यस रिपोर्टको पनि एक प्रति नक्कल राख्यौं ।

एकदिन हामी चारैजनालाई त्यसबेलाका प्रधानमन्त्री डा तुलसी गिरीले बोलाउनुभयो । त्यसबेला उहाँले मतिर हेरेर भन्नुभयो- ‘एकबाट दुई, अनि दुईबाट चार बनाइसक्नुभयो होइन ? भन्नुस् उपचारको लागि कहाँ पठाउनुपर्‍यो ? जसलोक अस्पताल ?’ त्यसबेला भारतका चर्चित समाजवादी नेता जयप्रकाश नारायण बिरामी भई जसलोक अस्पतालमा हुनुहुन्थ्यो । बीपी र जयप्रकाश नारायणको घनिष्ठ सम्बन्ध भएको सबैलाई थाहा भएकोले प्रधानमन्त्रीले ममाथि राजनीतिक आरोप लगाउने मनसायले त्यस्तो व्यंग्य कस्नुभएको जस्तो लाग्यो । तर मैले पनि केही नजानेको जस्तो गरी भनेँ- ‘होइन, न्युरोलजीको लागि त जसलोकभन्दा त भेलोर नै राम्रो होला ।’

मलाई ठूलो पदमा बसेको मानिसले राजनीति गरेको दोष लगाएकोले घरमा आएपछि छट्पटी भयो । अब भने साधारण बाटोबाट काम हुँदैन भन्ने लाग्यो र राजा वीरेन्द्रसँगै भेट्ने निधो गरेँ । राजालाई भेट्नका लागि पहिला राजाका सचिवहरूकहाँ जाने निधो गरेँ । सचिव चिरन थापाकहाँ भन्न लगाएँ । अर्का प्रभावशाली सचिव नारायणप्रसाद श्रेष्ठकहाँ आफैं गएँ । भेटमा उहाँले भन्नुभयो- ‘यो कुरा के हो डाक्टरसाब ? एक-दुई दिन त पर्खनुहोस् न, कुरा त हुँदै छ नि । डाक्टरै प्रधानमन्त्री भएको बेलामा तपाईंले किन यति जोड गर्नुभएको ?’ मैले भनेँ- ‘उहाँ डाक्टरै भए पनि हेर्ने डाक्टर त म हुँ नि । मेरो पनि जिम्मेवारी छ । तपाईंले जसरी भए पनि मलाई राजासँग भेटाइदिनुहोस् । राजासँगै विन्ती चढाउँछु । म राजाकै पनि औषधी-उपचार गरेको मान्छे हुँ नि । मैले राजालाई किन भेट्न नपाउने ?’ त्यसपछि उहाँले भन्नुभयो- ‘हेर्नुहोस्, तपाईंको मेडिकल रिपोर्ट र सीआईडी रिपोर्ट पढ्दा त बहुलाइन्छ ।’

त्यसबेला सीआईडी रिपोर्टमा ‘डा मृगेन्द्रराज पाण्डे बीपीको कोठामा पुगेर बिछयौनामा बस्यो, सान्दाइ भन्यो’ आदि लेख्ने रहेछन् । नारायणप्रसादजीले केही समय पर्खनुहोस्, समय लिनुहोस् भन्नुभयो । समय लिने भन्दाभन्दै केही भइदियो भने मलाई त ठूलो आत्मग्लानि हुन्छ भन्ने लागेर केही न केही त गर्नैपर्‍यो भन्नेतर्फ लागेँ । त्यतिखेरसम्म अलि गाइँगुइँ चलिसकेको थियो । अनि म राजाका अर्का सचिव रञ्जनराज खनालकहाँ गएँ । उहाँले भन्नुभयो- ‘हेर्नुस्, डाक्टरसाब, यो कुरा पुग्न त पुगिसकेको होला, मलाई यस विषयमा त्यति थाहा भएन, तैपनि म एकपटक कोसिस गर्छु । तपाईं भोलि घरमै बस्नुहोस्, मैले कुरा मिलाउनसकेँ भने तपाईंलाई बोलाउँला ।’

म बिहानदेखि घरमै बसिरहेँ, केही खबर आएन । अनि बीपीलाई हेरेर फर्कें र घरमै बसिरहेँ । साँझ ५ बजेतिर अकस्मात् फोन आयो, रञ्जनराजजीले भन्नुभयो- ‘डाक्टरसाब, तुरुन्त पश्चिम ढोकामा आउनुहोस् ।’ म पनि तुरुन्त पश्चिम ढोका पुगेँ । त्यहाँ रञ्जनराजजी भेट भयो र उहाँले मलाई राजा वीरेन्द्र भेट्ने कोठामा लगेर राख्नुभयो । एकछिनपछि राजाले बोलाउनुभयो भनी भित्र लगियो । राजा वीरेन्द्रले कौतूहलतापूर्वक मसँग सोध्नुभयो- ‘होइन ए डाक्टर, तिमीसँग आधुनिक साधनै नभइकन बीपीलाई यति कडा रोग छ भनी लेखेछौ । त्यही एउटा स्टेथेस्कोपको भरमा यति कडा रोग छ भनेर कसरी थाहा पायौ ?’

मैले उहाँका जिजुमुमा, राजा त्रिभुवनको रानीको पनि त्यस्तै किसिमका विशेष समस्याहरू पत्ता लगाएर डायग्नोसिस गरेको कुरा उहाँलाई स्मरण गराएँ र भनेँ- ‘त्यसैले मलाई विश्वास गरिबक्सियोस्, मेरो त्यही धारणा छ, बीपीको रोग धेरै नै कडा छ, चुप लागेर बस्ने बेला छैन ।’ त्यसपछि राजाबाट सोधनी भयो- ‘तिमी कति प्रतिशत निश्चित छौ ?’ मैले भनें- ‘९८ प्रतिशत ।’

अन्य धेरै सवाल पनि राजाले गर्नुभयो । राजासँगको भेट एक किसिमको प्रश्न-उत्तरको जाँचजस्तै भयो । ‘यो कुनै कडा रोग होइन, डा मृगेन्द्रराज पाण्डेले बीपीलाई हिरासतबाट छुटाउन जालसाजी गरेको र यसमा आत्तिनुपर्ने कुरा नभएको’ भनी राजालाई भ्रममा पारेको जस्तो लाग्यो । राजालाई रोगको गम्भीरताबारे सम्झाउन मलाई एक घन्टाजति लाग्यो । अन्त्यमा उहाँलाई चित्त बुझेजस्तो लाग्यो र एडीसीलाई बोलाएर ‘बीपीलाई लिएर आऊ’ भन्नुभयो र मलाई नजिकको कोठामा गएर बस भन्नुभयो । अनि म त्यता गएर बसेँ ।

करिब एक घन्टापछि बीपी आइपुग्नुभयो र मलाई त्यहाँ देखेर छक्क पर्नुभयो र भन्नुभयो- ‘ए डाक्टरसाब पनि यहाँ ।’ उहाँ राजनीतिक मानिस भएकोले राजाले राजनीतिक कुरा गर्न बोलाएको होला भनी ठान्नुभएको होला भन्ने मलाई लाग्यो । उहाँलाई हामीले त्यस्तो कडा रोग लागेको छ भन्ने कुनै शंका गर्ने ठाउँ पनि दिएका थिएनौं । डाक्टरको धर्म के हो भने उपचार गराउन नसके पनि कम्तीमा बिरामीलाई शंकामा राखेर बेचैन गराउनु हुँदैन । सुन्दरीजल जेलमा रहँदा उहाँ त्यसरी बेचैन भएको पनि मैले देखेको छु ।

बीपी राजा भएको ठाउँमा गएको एकछिनपछि मलाई पनि राजाले भित्र बोलाउनुभयो । त्यस विषयमा बीपीको टेपरेकर्डअनुसार पुनर्जागरण मासिक, अंक ५ मा उहाँले यसो भन्नुभएको छ- ‘म त राजाले राजनीतिक कुरा गर्न बोलाएको भनी ठानेको त ‘तिमीलाई राजनीतिक कुरा गर्न होइन, मैले तिम्रो स्वास्थ्यको कुरा गर्न बोलाएको’ हो भनी राजाबाट हुकुम भयो, ‘तिम्रो स्वास्थ्य तिमीले सोचेभन्दा खराब छ ।’ राजाले मलाई बीपीको रोगबारे जानकारी दिन भन्नुभयो र मैले जानकारी दिएँ र भनेँ- ‘तुरुन्त उपचार हुन सकेन भने जे पनि हुनसक्छ ।’ मैले त्यसो भन्दा पनि बीपीको अनुहारमा कुनै परिवर्तन आएन । मैले आफ्नो भनिसकेपछि राजाले मलाई बाहिर जान भन्नुभयो ।

त्यसपछि राजा र बीपीबीच करिब १ घन्टाजति कुरा भयो । पुनर्जागरणमा प्रकाशित भएअनुसार बीपीले त्यसबेला राजालाई भन्नुभएको रहेछ- ‘सरकार, मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य निकै खराब छ । देशको राजनीतिक समस्या मुख्य हो । मेरो व्यक्तिगत स्वास्थ्यको कारणले त्यो गम्भीर समस्यालाई पर सार्नु उचित नहोला ।’ त्यसपछि बीपी निस्कनुभयो र मलाई ‘डाक्टरसाब धन्यवाद, मेरो उपचारका लागि कहाँ के मिलाउनुपर्छ, मिलाइदिनुहोस्’ भनेर जानुभयो । अनि राजाबाट मलाई भित्र बोलाउनुभयो र केही समय कुरा भयो । त्यस कुराकानीको क्रममा मैले भनेँ- ‘सरकार, अहिले बीपीलाई थुनामा राख्दा केही भयो भने उनको लासले सरकारलाई सिद्धयाउन सक्छ भने उपचार गरिदिएमा अनुग्रहित भएर सधैं मिलेर बस्न सक्छन् । उनी राष्ट्रिय मेलमिलापमा लागिरहेको हुँदा यस्तो मौका फेरि आउँदैन ।’ त्यसपछि राजाले भन्नुभयो- ‘बीपीलाई उपचार गर्न बाहिर पठाइदेऊ ।’ मैले सोधेँ- कहाँ पठाइदिने ? राजाले भन्नुभयो- ‘लेट हिम हयाब द बेस्ट ।’ त्यसपछि बीपीलाई अमेरिका पठाउने निधो भयो ।

‘समाजसेवाको यात्रा’ नामक हालै प्रकाशित किताबको सम्पादित अंश ।

2 thoughts on “बीपी कोइराला र राजा वीरेन्द्र”

Leave a Reply

Your email address will not be published. Required fields are marked *