(एकालाप वार्तालापका केही उहापोहहरू)
संसार महान्त म नाट्यशाला हो । समग्र सांसारिक विषयाभिमुखहरू प्रकारान्तरले विविध रस र रङ्गका नाट्य विषयवस्तुहरू हुन् । चराचर जगत्मा उपस्थिति जनाएका मानिस र अन्य सकल एव म समूल स्वनामधारी जीवजीवात्माहरू महान्त म नाटकका विविध पात्रपात्राहरू हुन् ।
मूल पात्र । सहायक पात्र । गौण पात्र ।
सूत्रधार । उपसूत्रधार । निर्देशक । सहायक निर्देशक ।
सबै मूल पात्र बन्ने होडमा लाम लागेका छन् । सबै इच्छित विषय औ वासनामा रमाएका छन् । अनि सबैलाई आफू अनुकूलनको विषयको अभिनय गर्ने सोख छ ।
दौड जारी छ । मूल पात्रको । सहायक पात्रको । गौण पात्रको ।
सूत्रधारको । उपसूत्रधारको ।
र निर्देशकको । उपनिर्देशकको ।
तर आकाङ्क्षी अवसर सबैलाई कहाँ भाग लाग्छ र ! सधैँ कहाँ पाइन्छ र ! तैपनि दौड जारी छ । दौडिरहेछन् । पात्रहरू । सूत्रधारहरू । निर्देशकहरू । नियन्ताहरू । अभियन्ताहरू ।
————-
दर्शक, भावक र पाठकहरू अहिले रनभुल्लमा छन् । उनीहरू आफूले चाहेजस्तो महानाटक हेर्न पाइरहेका छैनन् । सुन्न सकिरहेका छैनन् र सकिरहेका छैनन् मनोहारितापूर्ण कविता र नाटकहरू पढ्न ।
यो कस्तो विडम्बना हो । यो कस्तो विसङ्गति हो ।
समयले दिँदैन कि ? स्रोतले भ्याउँदैन कि ? खै ! केले दिँदैन । दिँदैन ।
उनीहरूको चासो जीवनसँग छ । उनीहरूको जोड सिर्जनासँग छ । उनीहरूको घनघोर प्राप्त्यासा अन्र्तइच्छासँग छ । तर कोही समकालीन यो विश्व रङ्गमञ्चमा दर्शक, भावक र पाठक अनुकूलका नाटकहरू प्रदर्शन गर्न गैरहेका छैनन् ।
यतिखेर सबै हामी अनिच्छित नाटकका दर्शक भएका छौ । हाम्रालागि योभन्दा दुखद् प्रसङ्ग अरु केही हुन सक्दैन ।
लाग्छ, यो संसार चित्रै चित्रले भरिएको छ ।
त्यसैले विचित्रको छ । विचित्रको संसारमा मानिसले रोज्नुपर्ने र गर्नुपर्ने अनेकानेक विषय र वासनाका परिभूत अभिनेयार्थताका परिशीलनहरू पनि रासरास छन् । कहीँ कतै तिनीहरूको परिमिति ज्ञात छैन ।
एउटा सन्दर्भमा एउटा निर्देशक र अर्को पात्र हुन्छ । अर्को सन्दर्भमा निर्देशक पात्र र पात्र निर्देशकमा परिणत भैसकेको हुन्छ ।
जीवनको सव्य । र अपसव्य ।
फेरि अर्को अर्कोमा पात्र र निर्देशकको भूमिका घनचक्करमा परेर परिवर्तन भैसकेको हुन्छ । थाहै नपाई ।
ज्ञात । अज्ञात । ज्ञाताज्ञात ।
कहिलेको पात्र कहिले निर्देशक र कहिलेको निर्देशक कहिलेको पात्र । यो कस्तो अजब तालमेल हो ? यो कस्तो तालमेलको गजबपना हो । नमिलेको तालमेल मै संसारले आफ्नो रफ्तार बढाइरहेको छ ।
गति । गति । गति ।
प्रगति । प्रगति । प्रगति ।
हिजो त्यो रफ्तार तेज थियो । आज पनि त्यो रफ्तार तेज छ । भोलि पनि त्यो रफ्तार तेज नै हुनेछ ।
—————-
आदि शङ्कराचार्यले भने –‘ब्रह्म सत्य जगत् मिथ्या’ तर उनका गुरुले उनीभन्दा अघि नै सगौरव भनेका थिए –‘जगत् सत्य ब्रह्म मित्थ्या ।’
कसलाई मान्ने ? कसलाई ग्रहण गर्ने ? दुवैमा भिषण विरोधाभास । दुवैमा अनन्य मुच्र्छन्ना । अनि दुवैमा सृष्टि सत्सङ्गका कोमल नादहरू ।
‘गुरु गुण चेला चिनी’ त्यसै कहाँ भनिएको हो र ! कोही शङ्कराचार्यलाई ठिक भन्छन् । कोही उनका गुरुलाई अब्बल । अब वादीप्रतिवादी भई बहस छेडिन्छ । यहाँ । कुन योग्य ? कुन अयोग्य ? कसरी योग्यायोग्य ।
पात्रले कहिल्यै पनि आफ्नो विषयको रोजाइ गर्दैन । हुँदैन । स्रष्टाको इच्छा र आदेशमा नै उसले आफूलाई भाग लागेको अभिनय प्रस्तुत गर्नु पर्छ । गरेको छ ।
——————-
विषय र प्रसङ्गले यतिखेर हामीलाई ‘पवित्र क्रान्ति’ को रेखाङ्कनमा ल्याएर छाडेको छ । यो संहिता र भविताको योग कुन समय रेखामा चिर नूतन परिवर्तन सधैं स्वीकार्य हुन्छ । त्यसको खोजी जारी छ । सन्धान स्वयम्मा सन्धानरत छ ।
रत छन् । विद्वान्हरू । रत छन् मनिषीहरू । त्यस्तै रत छन् मीमांशकहरू । आआफ्ना तर्कमा । वितर्कमा । कुतर्कमा ।
पृथ्वीको विगत आदिदेखि आगत अन्त्यसम्म यस्ता स्वीकार्य, सहस्वीकार्य र अस्वीकार्य परिवर्तनहरू बेमिसाल रुपमा भैरहेका हुन्छन् । हुनु पनि पर्छ । चरैवेती चरैवेती ।
संसारमा अहिलेसम्म भए गरेका क्रान्तिको फेहरिस्तले भन्छ –क्रान्ति भनेको महान् परिवर्तन हो । महान् सृष्टि हो । महान् सिर्जना हो ।
चर्चित एउटा नेपाली जन गीतमा कतै भनिएको पनि छ –‘एक युगमा एक दिन एकचोटी आउँछ । उलटपुलट, हेरफेर सधैँ नै ल्याउँछ ।’ परिवर्तन विकासको सोपान हो । परिवर्तन सूर्योदय हो । परिवर्तन चन्द्रोदय पनि हो । परिवर्तन सूर्यास्त र चन्द्रास्त दुवै सँगसँगै हो । नित्य । अनित्य । नित्यानित्य । नूतन । नवीन । नूतनावीन ।
परिवर्तन नित्य नवीन रुपमा भैरहेको हुन्छ ।
ज्ञात परिवर्तन सधैँ हुन्छन् । र सबैका जानकारीमा भैरहेका हुन्छन् । जनजन र मन मनले त्यो थाहा पाउँछ । कतिपय अज्ञात परिवर्तन पनि भैरहेका हुन्छन् । ती न जन जनले थाह पाउँछन् न मन मनले थाह पाउँछन् । कतिपय सूक्ष्म परिवर्तनहरू पनि हामी थाहा पाउँछौं तर कतिपय स्थुल परिवर्तनहरू पनि हामी थाहा पाउँदैनौं । विडम्बना यस्तै छ ।
हो, यस्तै मान्यताले अघिअघिका क्रान्तिहरू अगाडि बढ्थे । मानव सृष्टिदेखि सभ्यताका विकासक्रममा कति यस्ता क्रान्तिहरू भविताका रुपमा सम्पन्न भए । संसारमा कति क्रान्तिहरू संहिताका रुपमा सम्पन्न भए । कति गर्भमै नआई झरे । कति असमयमै तुहिए । कति सम्पन्न हुने तर्खरमा लागि परेका छन् । कति सम्पन्न भैसकेका छन् ।
अँझ कति क्रान्ति युग पुरुषहरूको मन मष्तिस्कका अन्तरकुन्तरमा सुसुप्त अवस्थामै वीजाञ्कुरण भई जन्मिने तरखर गरिरहेको होला । पहिले पहिलेको आदिम मान्यता थियो परिवर्तनका लागि भएको क्रान्तिमा रगत बग्छ । बग्नु पर्छ । रगत विनाको क्रान्ति पनि के क्रान्ति ? क्रान्ति र रगतको नाता अविभाज्य थियो भन्ने मान्यताले संसारमा घर गरेको थियो ।
सभ्यता घर्किदैँ जाँदा जब बेलायतमा गौरवमय क्रान्ति सम्पन्न भयो । यसैलाई कसैकसैले रक्तहीन क्रान्ति पनि भने । एउटा व्यवस्थाबाट अर्को व्यवस्था परिवर्तन हुँदासम्म पनि त्यहाँ एक थोपा रगतसम्म बगेन । त्यसैले त्यो क्रान्तिको महत्व अहिलेसम्म पनि ओजपूर्ण भएर रहेको छ । वाह ! गौरवमय क्रान्ति । वा रक्तहीन क्रान्ति ।
सनैसनै अब यो धारणामा खिया लागिसक्यो ।
रुखबाट पुराना पातहरू झरे । नयाँ पालुवा पलाए । विचारका पनि नयाँ फूल फुले । नूतन फल लागे । मानिसले सधैँ एउटै कुरालाई आफ्नो मष्तिस्कमा बोकिराखेन । उसले नयाँ कुरा पाएपछि पुरानो कुरालाई दिमागबाट डिलिट गर्यो । गर्दैछ । कम्प्युटरका टेम्पोरोरी फायलझैँ ।
ऊ घोत्लियो । विचार्यो । कथ्यो । लेख्यो । बतायो । सम्झायो । र आफैँ पनि टुङ्गामा पुग्यो । पछिल्लो नयाँले अघिल्लो नयाँलाई संसारमा सधैँ विस्थापित गरेको छ ।
चाहे त्यो विचारमा होस् । चाहे त्यो क्रान्तिमा होस् ।
जब शालीन विचारले क्रान्तिमा जरा गाड्यो । पल्लव लहरायो । फूल फुल्यो । फल लाग्यो । अनि मानिसले सो फलको रसास्वादन गरिसकेपछि मात्र के थाहा पायो भने क्रान्ति पनि जीवनदायिनी हुँदो रहेछ । क्रान्तिमा पनि पवित्रता हुँदोरहेछ । तब क्रान्ति पवित्र हुन थाल्यो ।
———————-
सबै क्रान्तिहरूको आधारशीला रतग होइन र थिएन पनि ।
शश्यशालीनी पृथ्वीको हरित कणले संसारमा भएका तमाम प्राणी र वनस्पतिलाई नै धुकधुकी दिएको छ । त्यसमा न त हिंसा आकर्षित हुन्छ । न रगत नै एकोहोरिन्छ ।
वेदमा भनिएका तमाम सूक्ति उक्तिहरूमा बौद्धिक अनेकानेक क्रान्तिका उद्घोषहरू रहेका छन् । त्यसैगरी उपनिषद् र ब्राह्मण ग्रन्थका साथै रामायण र महाभारत तथा श्रीमद्भागवत गीतामा पनि क्रान्तिका हजारौं भावभङ्गीमाहरू पाइन्छन् ।
श्रुति र स्मृति मनिएको आदि ग्रन्थ वेदले संसारलाई नै घुमाइरहेको छ । हामीले डाडु प्रवृत्तिले गर्दा आफूले रसको महत्व थाहा नपाए पनि बाँड्ने चाहिँ गरिएको छ । कामधेनु गाईझैँ रहेका भएका ती उपजीव्य ग्रन्थलाई हामीले नचिनेको मात्रै हो । त्यसमा त अनेक उहापोहहरू छन् ।
पश्चिमलाई पूर्वले अनेक भाव दिएको छ । पश्चिमले पूर्वलाई समेत नाना प्रकारका प्रविधि दिएको छ । यस्ता प्रकारका विषयले अहिलेको संसारको माहौल नापेको छ ।
यी त भए बौद्धिक क्रान्तिका उद्वीजहरू । यसरी नै ज्ञानका अनेक शाखाहरू रहेका छन् । पृथ्वीमा अनेक ज्ञानका भण्डारहरू रहेका छन् । एउटा जीवनले त्यी ज्ञानका समुद्रमा रहेका पृथकाभिमुख अनमोल मोतीलाई न त टिप्न सक्छ । न त लिन सक्छ । ज्ञानका फल त यति धेरै छन् संसारमा कि ती सबैको हेक्का नै छैन ।
———————–
नेपाली साहित्यको विकास अहिलेको समयमा जोरजुलुमका साथ भैरहेको छ । संसारका जुन जुन भूभागमा नेपालीहरू बसोबास गर्दछन् ती भूभागमा नेपाली साहित्यको फैलावट् भएको पाइन्छ । अहिलेको समयमा डायास्पोरा नामले जसरी नेपाली साहित्यको आयात या निर्यात र फैलावट भैरहेको छ त्यो हुनु अगावै नेपाली साहित्यको चिर नूतन विकासका लागि भारतीय नेपालीहरूको पनि अथह प्रयत्न रहिआएको छ । त्यस सुकार्यका लागि भारतीय भूमिहरू आसाम, मेघालय, सिक्किम, दार्जिलिङ, खरसाङ, बनारस, कलकत्ता र देहरादुनको पनि निकै गुन रहेको छ ।
यो त भयो इतिहासको कुरा ।
अब वर्तमानमा जाऊँ । सन्दर्भमा आऊँ ।
हामी (कवि महेश प्रसाईं र म) दिनरात पनि नभनी नेपाली साहित्यकारहरूको अन्तर्वार्ता लिने क्रममा राजधानीका विभिन्न स्थानमा फेरो लगाइरहेका थियौं । कुरै कुरामा एक दिन कवि तथा वरिष्ठ साहित्यकार महेश प्रसाईंले भारतीय कविता वृत्तमा स्वनामधन्य कविर्मनिषी डा.पवन चामलिङका बारेमा प्रसङ्ग उठाउनु भयो । मैले सो विषयलाई मनोयोगपूर्वक सुन्ने काम गरेँ । मलाई के लाग्यो भने कवि तथा साहित्यकार पवन चामलिङज्यूले आफूले पनि निकै विषयवस्तुमा कलम चलाउनु भएको छ साथै वहाँका बारेमा पनि भारतीय र नेपाली निकै साहित्यकारहरूले नाना प्रकारका विषयमा कलम चलाएर वहाँको बहुमुखी व्यक्तित्वलाई उजागर गर्नुभएको छ । सोही मेसोमा मैले कवि महेश प्रसाईंलाई प्रश्न गरेँ –‘दाइ ! हजुरले पवन चामलिङ साबका बारेमा निकै पृथक शैलीको रसास्वादन निम्ति खोज र अनुसन्धान गर्नुभएको छ । म समग्ररुपले वहाँप्रति ममा भएका जिज्ञासाहरू प्रश्नका रुपमा गर्छु । समय व्यवस्थापनमा वहाँले दिन सकिने प्रश्न वहाँबाटै तर मेरो वहाँसँग भेट हुने त अहिलेलाई सम्भव पनि भएन । दाइले आफ्नो तर्फबाट दिन मिल्ने प्रकृत्तिका प्रश्नहरूको जवाफ दिनु भएर आम पाठक र भावकका मनमा भएका जिज्ञासालाई परिपूर्ति गरिदिनु भयो भने त्यो नेपाली साहित्यका पाठकहरूलाई एक प्रकारले कोसेली नै हुन जान्छ । हैन त ?’
प्रत्युत्तरमा वहाँले स्वीकृतिको सूचक टाउको हल्लाउनु भयो ।
अनि म लागेँ । कविवर पवन चामलिङका बारेमा नेपाली भूमिबाट र भारतीय भूमिबाट प्रकाशित भएका पुस्तकहरू गहिरिएर अध्ययन गर्न । नभन्दै मैले चामलिङज्यूलाई सोध्ने खालका एकसय एक प्रश्नहरूको फेहरिस्त तयार पारेँ र कवि महेश प्रसाईंज्यूमा समर्पण गरेँ ।
यसरी तयार भयो यो नेपाली साहित्यमै नयाँ प्रयोग गरिएको पुस्तक । यहाँ गरिएका कतिपय प्रश्नले भारतीय भाषा र साहित्यलाई समेटेका छन् भने कतिपय प्रश्नले चाहिँ चामलिङज्यूको सद्य प्रकाशित पवित्र क्रान्ति विषयमा आएका विषय र सन्दर्भलाइ अनेक दार्शनिक कोणबाट समेत चियाउने काम भएको छ । सोधिएका यी प्रश्नमा मलाई सन्तोष मिलेको छ । कतिपय प्रश्नको जवाफ डा. पवन चामलिङज्यू आफैँले दिनु भएको छ भने कतिपय प्रश्नको जवाफ भने शोध व्यक्तित्वका बारेमा विगत दुई दसकदेखि अहर्निष परिश्रम गरेर आफ्नो समेत व्यक्तित्व उँचो बनाइसक्नु भएका कवि महेश प्रसाईंज्यूले दिनु भएको छ । त्यसैले पनि यो पुस्तकमा हरेक प्रश्नको सुगन्ध पृथक पाराको भएको छ ?
——————–
कविलाई एकान्तमा छोड ऊ झनै सिर्जनात्मक हुन्छ ।
कवितामा कुनै ठोस महत्ता पाउनु छ भने कविलाई सिजर्नशीलताको ऐकान्तिक क्षणपल जरुर चाहिन्छ । कविले जति जति एकान्तवास पाउँछ त्यतित्यति ऊ सिर्जनशीलताको हिसाबले अराजक र गहन हुन्छ । गहनता नै कविताको भर्जिनिटी हो । त्यही कवितात्मक चरित्रलाई यहाँ हामी सबै मिलेर संवरण गर्न खोजेका छौं ।
यो हाम्रो वाङ्मुख प्रतिको मायावी माया हो ।
नेपाली साहित्यमा यस्तो प्रयोग सायद् यही नै पहिलो हो । यसलाई हामीले अन्तर्वार्ता साहित्यमै पनि उत्तरआधुनिक प्रयोगको प्रथम खुड्किलाको रूपमा लिएका छौं ।
दिल र दिमाग लगाएर गरिएको काम हुनाले म यो सन्धानपरक कामबाट सन्तुष्ट छु । शोध र सन्धान निम्ति समय व्यवस्थापनका लागि विशेष हार्दिक अनुरोध गरिदिनु हुने मेरा प्रिय कवि महेश प्रसाईं र शोधनायक कवि पवन चामलिङप्रति साधुवाद अर्पण गर्दै लेखनका मेसोमा मलाई सहयोग गर्ने सबै सहयोगी हातलाई धन्यवाद दिनु म आफ्नो कर्तव्य ठान्छु ।
जस्तो सोच समझ र उत्साहले यो कृति तयार भयो त्यस्तै माहौलले यसको भूमिकाकारको पनि चयन भएको छ । नेपाली साहित्यका विराट व्यक्तित्व तथा सुविख्यात भारतीय नेपाली साहित्यकार डा.इन्द्रबहादुर राईमा भूमिकाका लागि म असीम श्रद्धा अर्पण गर्दै अहिले प्राश्निकको यो सानो भनाइलाई यत्तिकैमा बिसाउन चाहन्छु ।
पेशल आचार्य
उपप्राध्यापक, नेपाली
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस,
मन्थली–२, रामेछाप ।
मोबाइल – ९८४४०४४०८३
