Skip to content

लेखन जारी छ क्रमागत

जस्ले बेच्तछ देश आज सहजै उस्लाई यो के छ र ?
हाम्रो गाँस र बास सास छ त्यहाँ उस्को छ अन्तै घर
आमा बाबु र पुत्र बेच्छ जसले उस्लाई के हुन्छ र
त्यस्ता तुच्छ कृतघ्नबाट अहिले त्यो देश भो निर्भर ? ।।७६।।

अर्काकै इतिहास रच्न जहिल्यै हामी भयौं तत्पर
हामी भित्र अनन्त साहस डुब्यो बुझ्ने यहाँ को छ र ?
आफ्नो देश भनेर मात्र नहुने के गर्नु भोकै बसी
को बस्ला परिवारमा अबुझ भै भोको खरानी घसी ।।७७।।

पानी भित्र डुबेर फेरि सजिलै सक्ने कता पौरन ?
केही ठाउँ नपाउँदा जति गरौं सक्ने कता बौरन ?
हामी ठाउँ नपाई देश भरि नै गर्छौं त्यसै जम्जम
सक्छौं ठाउँ मिले तुरुन्त अहिल्यै आकासलाई छुन ।।७८।।

हामी भित्र अनन्त छन् सृजनका सम्भावनाका कला
हामी भित्र विशिष्ट साधकहरु बोकेर हिंड्छन् गला
मेसै बस्न सकेन भित्र कति छन् निर्माणका छट्पटी
अर्काको करिया बनेर अहिले लाग्दैछ यो खट्पटी ।।७९।।

आयौं हामी विदेशमा किन हरे छन् बन्द बाटाहरु
बाँझै छन् घरबारी खेतहरुका फोक्टा र पाटाहरु
उब्जन्छन् मन भित्र भित्र धमिला थोप्ला र टाटाहरु
चर्कन्छन् मनभित्र यो विरहका नौलाख खाटाहरु ।।८०।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *