आज भोलि वसन्तपुर क्षेत्रमा दैनिक जति भीडभाड हुन्छ त्यति भीडभाड त उहिले हाम्रो पालामा इन्द्रजान्त्रामा पनि हुदैन थियो । अलिकति छिसिक्क केही हुन पाएको छैन तुरुन्तै मानव सागर ओइरिहाल्छ । आज दिउँसो हनुमानढोका चौकी अगाडि त्यस्तै मानव सागर उर्लिएर नाराबाजी गर्यो । कुरोको चुरो त बुझ्नै पर्यो । गएर कान थापेँ । पशु अधिकारवादीहरू रहेछन् । एउटा नरपशुले आफ्नो घरमा पालेको पशुमाथि अप्राकृतिक व्यवहार गर्ने गरेको आरोपमा समातिएको रहेछ । उक्त नरशुलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने माग गर्दै चौकी घेरिएको रहेछ ।
जमाना पनि कस्तो आयो । अधिकार पनि कति थरि । पशु अधिकार रे । हाम्रा पालामा त मानव अधिकार भन्ने शब्द नेपाल खाल्डोका राजा महाराजाहरूले पनि सुनेका थिए थिएनन् कुन्नि । सायद त्यति बेला यस किसिमको अबधारणा नै विकास भएको थिएन । हाम्रो पाला अर्थात एक शताब्दीभन्दा अघिको नेपाल खाल्डो । त्यति बेला पोई मरेका जोईहरू जिउँदै जलाइन्थे । कमारा कमारीहरू हाट बजारमा आजभोलि खसि बोका बेचिए जसरी बेचिन्थे । ससाना गल्तीहरूमा पनि मानिसहरू भचाखुसीमा काटिन्थे । के को मानव अधिकार के को पशु अधिकार ।
मेरो नाम कैले घर्ती । पेशाले भनौ वा गरिबीले म एक कमारो थिँए । ठाँऊ ठाँऊमा बेचिँदा बेचिँदा अन्तिम पटक म एक दरबारिया ब्राम्हणका सेवामा आई पुगेको थिएँ । त्यस घरमा मभन्दा अघि नै धम्बरे र रछ्याने नामका दुई कमाराहरू थिए । हामी असाध्यै मिल्थ्यौ । म अलि ठुलो दारको थिए । अरुले तीन फड्कोमा हिँड्ने दुरी म दुई फड्कोमा पार गर्थेँ । अरुले दुई मुरी उचाले म तीन मुरी उचाल्थेँ । अरुभन्दा अलि बढी नै मोलमा बिक्रि हुन्थेँ म ।
मेरा मालिकका छोरा छोरी कति थिए मलाई थाहा छैन । तर एक माईत बसेकी बाल विधवा छोरी थिइन् । उमेर त्यस्तै बिस बाइस हुनु पर्छ । उनका दौँतरीहरू सबैले पिठ्युमा हातमा गरेर दुई चार सन्तान झुण्डाइसकेका थिए । सबैका झाँङ्गिएका गृहस्थि देख्दा बैबाहिक जीवन प्रति उनको आसक्ति बढ्दै गएको थियो । उनको भरभराउदो देहले उनलाई बिद्रोही बनाउदै थियो । मेरो सौभाग्य भनौ वा दुर्भाग्य । उनको नजरमा म पर्न गएँछु । जन्म ननुहाएको, दुम्सिका काँडाका आकृति बनाएर लट्टा परेका कपाल, दाह्री र जुगाँ, कान लगायत अलि खोल्सा परेका अङ्गहरूमा जमेका मयलका पत्रहरू, सिँगान र माटोको मिश्रणबाट बनेको लेपमा मुछिएर नाकका दुवै फोराहरूबाट बाहिर निश्किएका एक एक मुठा नाथेहरू । उनलाई मेरो रुपले पक्कै आकर्षण गरेको थिएन । उनलाई केवल एक प्रजनन क्षमाता युक्त पुरुषको सामिप्यता र टेवा चाहिएको थियो । घरका सबै चाँदीका मोहर र गहनाहरू कुम्ल्याएर मेरा साथमा मुग्लान पस्ने योजना बनाउन लागिन् । ममा त्यो आँट पटक्कै थिएन । धम्बरे र रछ्याने भने मेरो साहसलाई उर्जा दिने प्रयासमा थिए । उनले जति गरे पनि ममा त्यो साहस अङ्कुरण हुन सकेन, तर ब्राम्हणबालाको दुस्प्रयास समाजमा छताछुल्ल भयो । ब्राम्हणको टाउकामा पालिएको टुपी भनिने पुच्छरले न त आफ्नो लाज छोप्न सक्यो न त आफ्नो इज्जत माथि भन्किएका झिङ्गा धपाउन नै । आफ्नो लाज बचाउन हामी तिनै जना कमाराहरूलाई विधवा ब्राम्हणी प्रति कुदृष्टि लगाएको आरोपमा गोर्खेलौरी कसेर लडाइयो ।
हामी गवाँर कमाराहरू । को राजा को महाराजा चिन्न सक्ने कुरै भएन । राणाका सिपाहीहरूले हामीलाई नेल ठोकेर खरीको बोटमा कस्कोसामु उपस्थित गराए थाहा छैन । हामी मध्ये कसैले पनि त्यसको अनुहारमा हेर्ने दुस्साहस गरेनौ । हामीले केवल त्यसले लगाएको बुट मात्र देख्यौ । धम्बरे र रछ्याने दुवैलाई भचाखुसीमा काट्ने आदेश भयो । तर मतिर चोरी औलो ठड्याउदै त्यसले भन्यो, ‘….यस्लाई चै राख्नु ! भक्कुको राँगो काट्ने भैरब बनाउनु पर्छ ।’ त्यसका कुरा हामी कसैले बुझेनौ । त्यसै दिनबाट धम्बरे र रछ्यानेसँग मलाई छुट्टाएर झ्यालखाना पुर्याईयो ।
एक दिन बिहानै मलाई राणाका सिपाहीहरूले नुहाउन लगाए । नेलहरू फुकालिए । छुट्टै कोठामा लगेर रक्सी र मासु अघाउन्जेली खान दिए । दुई जना पहलमानहरूले मलाई तोरीको तेल घस्दै गर्दा छेवैमा आठ परिया सहित उभिएको मानिस मेरो भूमिका सम्झाउदै थियो । हनुमान ढोका चोकको एउटा कुनामा काला लुगा र भैरबको मुखुण्डो लगाएर हातमा खड्ग लिई मैले उभिनु पर्थ्यो । अर्को कुनाबाट अजङ्गको राँगोलाई रक्सी खुवाई मत्याएर ठिटाहरूले हा हा हुु हु गर्दै चोक भित्र हुल्थे । अब दुई जना भक्कुहरूले त्यस राँगोलाई जिस्क्याई जिस्क्याई भैरब भएतिर लखेट्न थाल्थे । ताकी सुरुमा राँगाले भैरब माथि हमला गरोस् । राँगो र भैरब बीच केही क्षणको भिडन्तपश्चात भैरबको खड्ग प्रहारबाट राँगो मारिन्थ्यो ।
इन्द्र जात्राका बेला प्रत्येक वर्ष सात दिन देखाइने यो खेल हेर्न राजा महाराजा, राजकुमार राजकुमारीहरू, भाइ भरदारहरू लगायत सर्व साधारणहरूको घुँईचो लाग्थ्यो । उनीहरूमा उत्सुकता, उत्तेजना र रोमाञ्चकता हुन्थ्यो । सुरु सुरुमा मलाई अलि डर लागे पनि पछि पछि म राँगो काट्नमा निपुण भैसकेको थिए । दर्शकहरूलाई रमाइलो हुने गरी कलात्मक ढंङ्गले खड्ग घुमाउँथे । राँगोलाई एकै पटक नछप्काएर कान, पुच्छर, अण्डकोष गर्दै एक एक अङ्ग छिमल्दै खेललाई लम्ब्याउदा दर्शक बढी खुसी हुन्थे ।
झ्यालखाना भित्र मैले कैले भैरबको उपनाम पाएको थिए । यदि मलाई झुक्किएर कसैले लात्ती लगाई हाले भने यसो हातले ढोगेर हिड्थे । अन्य कैदिहरूले भने बेला बेला राणाका सिपाहीहरूका लात खानै पर्थ्यो । कमारो जीवनको तुलनामा मेरा लागि कैदि जीवन ऐश्वर्य थियो । कसैका अनुहारमा ठाडो शिर गरेर हेर्ने हैसियत नभएको कैले घर्तिबाट म कैले भैरब बनेपछि राजा महाराजाहरूलाई पनि आँखामा आँखा जुधाएर हेर्न सक्थे । दुई चार वटी कमारी बाहेक नारी देहलाई नदेखेका मेरा आँखाहरू मुखुण्डोको आडमा धित मर्ने गरी राजकुमारीहरूका सौन्दर्य पान गर्न सक्ने भएका थिए । राँगो र मेरा बीचको भिडन्तमा रमाएका राजकुमारीहरूका मुखबाट बेला बेला निस्कने सीत्कारहरूले खेललाई लम्ब्याउन र अँझै रोमाञ्चक बनाउनमा मलाई उर्जा थपिरहन्थ्यो । दर्शकरुलाई रमाइलो त्यतिखेर हुन्थ्यो जब राँगो भयङ्गकरको हुन्थ्यो र मेरो कला कौशलमा पनि निखार आएको देखिन्थ्यो ।
त्यस दिन राजकुमारीहरूका भीडमा एक नयाँ अनुहारकी राजकन्या देखिएकी थिइन् । मैले वर्षौ देखि मुखुण्डोका एक जोडि प्वालबाट देख्दै आएका अनुहारमाभन्दा भिन्दै आकर्षण थियो त्यस अनुहारमा । लवज र भेषभुषा पनि अलि भिन्नै थियो । सायद शाहि पाहुना थिइन् । म उनको रुपले मुग्ध भएँ । उनमा अरुमाभन्दा भिन्नै उत्तेजना सबार थियो । त्यो खेल उनका लागि बिल्कुलै नयाँ अनुभव हुनु पर्छ । खेलमा आजसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने लालसा ममा पैदा भयो । भिमकाय राँगो पनि भाला झै तिखा सिङ भएको कुस्ती खेल्न लायकको थियो । मैले राँगोलाई अँझै चिड्याउन थाले । मेरो ध्यान तथा दृष्टि राँगो र राजकन्या दुवैतिर बरोबर थियो । खेलको प्रतिक्रिया स्वरुप दर्सिएको उनको हाउ भाउ कटाक्षले म मर्माहत थिए । मेरो ध्यानलाई एक अदृष्य डोरीले झै उनी आफू तर्पm खिचिरहेकी थिइन् । भक्कुको राँगो त मेरो बसमा थियो तर राजकन्याका चञ्चलताले मेरो मनलाई आफ्नो कर्तव्यवाट स्खलित गराइसकेको थियो । मेरा आाँखाहरू झिमिक्क नगरी एक टकले राजकन्याका पोटिलो शरिरलाई आधार बनाएर उभिएका उन्नत बक्षस्थलमा गएर गाडीए । खेलको रोमाञ्चकताले सृजाना गरेका सीत्कारहरू एकाएक चीत्कारमा परिणत भए । आईमाई केटाकेटीहरू भागा भाग गर्न लागे । एकै क्षणमा क्रीडा स्थल सुनसान बन्यो । अन्य दर्शकहरूसँगै राजकन्या कता लागिन पत्तै भएन । एक्लै उभिएर एकै क्षण टोलाए पछि यसो भूईतिर हेरेँ । सर्पले फेरेको काँचुली झै रक्तरञ्जित मेरो शरिर एउटा कुनामा मिल्किएको थियो । राँगोको सिङले रोपेर मलाई कुनातिर मिल्काइसकेछ । मेरो आत्मा र शरिर अलग भैसकेछन् ।
अँझै पनि उक्त राजकन्याको एक झल्को देख्न पाउने अतृप्त लालसामा म यस वसन्तपुर डबलिमा भौतारिरहेको छु, एक प्रेत आत्माको रुपमा । कमारोका आँखाबाट नदेखेको संसार मैले भैरबको आँखाबाट देखेँ । त्यसैले आजकल मैले प्रेत आत्माका रुपामा पनि वसन्तपुरस्थित काल भैरबको मूर्तिको दाहिने आँखाको खोपिल्टो भित्र स्थान जमाएको छु । कुनै दिन उक्त राजकन्याको एक झल्को पाए पछि मात्र म यस लोकलाई छोडेर जानेछु । यदि त्यस अघि नै कसैले मलाई भेट्न चाहनुहुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ ।
कैले घर्ती
काल भैरबको दाहिने आँखा
वसन्तपुर, काठमाण्डौं नेपाल ।
९८४१४४६२३३
सुलेख साहित्यिक मासिक अंक ५१ २०७३ मंसिर
