Skip to content

परिभाषा

आजकल म ऐनामा आफूलाई
प्रायः नियाल्छु, कारण
मेरो सुन्दरता जाँच्न हैन
ती खोटहरु पहिल्याउन
जो तिम्रो नजरमा स्पष्टिए
र त विकल्प खोज्यौ,
बद्लिदै छ ऐना हेराइको परिभाषा।

अनगिन्ति शरीरहरुबाट छुट्टै
चरित्र तिम्रो महसूस गर्ने यो
प्राणदाता हृदयलाई एक्कासि
आँखा र कानहरुले गिज्याउदैछन
र तिमीलाइ पनि चरित्रहीनहरुको
पंक्तिमा उभ्याउदैछन चेतनाहरु,
बद्लिदै छ तिम्रो चरित्रको परिभाषा।

खै संगीतको सुक्ष्मानन्दमा
डुब्ने म किन हो किन
शब्दहरुको वेदनाहरुमा पिल्सिदै छु
छटपटाउदै, बौलाउदै अनि रुदै
भुलाउने असफल चेष्टा र
कालो यादको कर्कश धुन माझ,
बद्लिदै छ आज संगीतहरुको परिभाषा।

विश्वासयोग्य तिम्रो निर्दोष नयनहरु
आज मेरो नजरको सामना
गर्न असमर्थ छन किनकी
ती नयनहरु मेरो अनुपस्थितिको
मौका छोप्दै अरु कसैको सपना
बुन्न सिपालु भएका छन,
बद्लिदै छ तिम्रो विश्वासको परिभाषा।

एक्लै कुनै प्रहर सपनामा नडुब्ने
तिम्रो निन्द्रा अचेल धैर्यताको
बाँध मिच्न थालेको छ, शायद
बिपनाको तृष्णा सपनामा
उ सँग निर्धक्क भएर पूर्णतः
मेटाउने हतारमा हुन्छौ तिमी,
बद्लिदै छ तिम्रो सपनाको परिभाषा।

मृत्युको वीभत्ष सत्यबाट पन्छिने
म, अन्जानै जीवन निभाउने
तत्वहरुसंग प्रेम गर्न थालेको छु
वास्तविकताबोध हैन यो शायद,
भयंकर अवसादको अमेट्य
चिन्हहरु हुन यी,
बद्लिदै छ मृत्युको परिभाषा।

अनन्त र अर्थविहीन तर आनंददायी
हाम्रो प्रेमालाप आज मृत्युतूल्य
मौनतामा परिणत भएको छ,
यद्यपि जीवन यान्त्रिक चालमा
बाधाविहीन चलि नै रहेको छ
सम्झौताको इन्धनले सञ्चालित,
बद्लिदै छ हाम्रो सम्बन्धको परिभाषा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *