मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाइन्छ । मन्दिरमा होस् अथवा कुनै पनि पूजापाठ पश्चात मन्दिरको एक फन्को घुम्नु नै परिक्रमा हो । परिक्रमा निश्चित ठाउँको गर्ने गरिन्छ । मिथिलामा विवाहदेखि मृत्युपर्यन्त परिक्रमा गर्ने गरिन्छ । विवाहमा वरवधूले वेदीको वरिपरि घुम्ने गर्छन् त्यो पनि परिक्रमाको प्रतीक हो । यस्तै परिक्रमा मिथिलाञ्चलमा सदियौंदेखि मनाइँदै आएको छ । मिथिलाको राजधानी जनकपुरलाई केन्द्रबिन्दु मानी परिक्रमा गर्ने चलन यहाँ रहेको छ । जसलाई पञ्चकोशी, माध्यमिकी परिक्रमाको नाउँबाट सम्बोधन गर्ने गरिन्छ ।
हरेक वर्ष फाल्गुण कृष्णपक्षको अमावस्यादेखि सुरु भई फाल्गुण पूणिर्मास्ाम्म पञ्चकोशी परिक्रमा मनाइन्छ । परिक्रमा जनकपुरबाट सुरु भई जनकपुरमै गई इतिश्री गर्ने गरिन्छ । यस वर्ष परिक्रमा फागुन १४ गतेबाट सुरु भएको छ । परिक्रमा बृहत्, मध्य र अन्तगृही पश्चात सम्पन्न गर्ने गरिन्छ । बृहद परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गंगा र पश्चिममा गण्डकसम्मको परिक्रमापछि सम्पन्न गर्ने गरिन्छ । आजभोलि यो परिक्रमा विरलै गरेको भेटिन्छ ।
मध्य परिक्रमा अठारौं शताब्दीभन्दा पूर्वदेखि मनाइँदै आएको विश्वास गरिन्छ । यो पहिला पहिला पाँच दिन स्ाम्म मनाइने गरिन्थ्यो । यो परिक्रमालाई २० औं शताब्दीमा आएर महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिन बनाए । जसले गर्दा अहिले ती परिक्रमामा साधुसन्त, महन्थ, गृहस्थी, नागालगायतको बृहद् उपस्थिति हुने गर्छ । मिथिलाको राजधानी जनकपुरलाई केन्द्रबिन्दु मानेर नेपाल र भारतको १५ विश्रामस्थलमा बसोबास गरी फाल्गुण शुक्ल पूणिर्माका दिन जनकपुरमा अन्तगृही परिक्रमा गरी यस पर्वको समापन गर्ने गरिन्छ । १५ विश्रामस्थल जनकपुरबाट पाँच पाँच कोशको दूरीमा रहेको कारण यसलाई पञ्चकोशी परिक्रमा भनिएको हो । फाल्गुण अमावश्याको दिन धनुषाको कचुरीबाट मिथिला विहारीको -रामसीता) र किशोरीजीको डोला बाजागाजासहित जनकपुरस्थित जानकी मन्दिरमा ल्याई परिक्रमाको विधिवत् सुरुवात गरिन्छ । यो डोला मिथिलाको विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको स्थलको परिक्रमा गरी जनकपुरमा आएर सम्पन्न हुन्छ । जनकपुरमा मध्य परिक्रमा अन्तगृही परिक्रमामा परिणत भई सम्पन्न गर्ने गरिन्छ । परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाइपछि इतिश्री गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणालगायतका ठाउँहरूमा परिक्रमाबासीहरू बास बस्ने गर्छन । परिक्रमाबासीहरू करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन् ।
नेपाल र भारतको सामाजिक सदभावको सेतुको रूपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको परिचय दिने गर्छ । यसले आर्थिक टेवासमेत दिने गर्छ । विश्रामस्थल विशिष्ट महत्त्वको भए पनि अवस्था दयनीय रहेको छ । ती स्थलमा रहेका जलाशय, मठ, मन्दिर अपेक्षाको कारण जीर्ण बन्दै गएको छ । परिक्रमा सडकको निर्माण हरेक वर्ष जोडतोडका साथ उठे पनि अहिलेसम्म सो सडक निर्माण नहुँदा परिक्रमाबासीहरूले ज्यादै नै सास्ती भोग्नुपरिरहेको छ ।
परिक्रमा गर्दा सुख, शान्ति, मनोकामना पूर्ण हुने लगायतका मान्यताका कारण बर्सेनि परिक्रमा गर्नेहरूमा बढोत्तरी हुँदै आएको छ ।
परिक्रमा मार्ग
मध्य परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमा नेपाल भारतको ८० कोशको वृत्ताकारमा धुमी मनाइने गरिन्छ । नेपाल र भारतको १५ विश्रामस्थलमा फाल्गुण अमावस्यादेखि सुरु गरी फाल्गुण पूणिर्मासम्ममा यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्रामस्थलको आˆनो छुट्टै विशिष्ट र पुरातात्विक महत्व रहेको छ । यहाँ यसैबारे चर्चा गरिन्छ ।
हनुमानगढी ः फाल्गुण अमावस्याको दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी -मिथिलाविहारी) को डोला लिएर जानेहरू जानकी मन्दिर हुँदै बाजागाजासहित हनुमानगढीमा राति विश्राम लिन्छन् । यहाँ सयौ वर्ष पुरानो हनुमानको विशाल मूर्ति रहेको छ ।
कल्याणेश्वर – कलना ) ः विश्रामको दोस्रो विश्रामस्थल भारतको कल्याणेश्वर अर्थात् कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर अवस्थित छ । राजषिर् जनकले आˆनो राजधानीको चारै कुनामा स्थापना गरेका चार महादेवमध्ये यो एक हो ।
गिरिजास्थान-फुल्ाहर)ः कल्याणेश्वरस्थानबाट चार कोस दक्षिण पश्चिममा रहेको गिरिजास्थान तेस्रो दिनको विश्रामस्थल हो । यो पौराणिक स्थल रहेको मान्यता छ । त्रेतायुगमा सीताले यहीं फूल चुनिरहेको बेला रामको पहिलो भेट भएको किंवदन्ति छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र फूलबारी रहेको छ ।
मटिहानी ः मिथिला पञ्चकोशी परिक्रमा चौथो दिन अर्थात् फाल्गुण शुक्ल तृतीयाको दिन महोत्तरी जिल्लाको पहिलो विश्रामस्थल मटिहानी पर्दछन् । यहाँ सीताजीको मटकोरको लागि माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मीसागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर रहेको छ ।
जलेश्वर ः मटिहानीबाट परिक्रमाबासी अर्को दिन जलेश्वर पुग्छन् जो मटिहानीबाट २ कोश पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पूजा आराधना गर्ने गर्छन् ।
मडै ः फाल्गुण शुक्ल पञ्चमीको दिन परिक्रमाको डोला जलेश्व्ारबाट प्रस्थान गरी मडै पुग्छन् र यहाँ राति विश्राम लिन्छन् । प्राचीनकालमा यहाँ माण्डव ऋषिको आश्रम र सीताजीको बिहेको लागि मडवा
-्वेदी ) यहीं बनाइएको जनश्रुति पाइन्छ ।
धु्रवकुण्ड ः मडैबाट सातौं दिन धु्रवकुण्ड पुगिन्छ र यहाँ विश्राम लिइन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुव कुण्ड रहेको छ ।
कञ्चनवन ः ध्रुवको दर्शन गरेर परिक्रमाबासी महोत्तरीको अन्तिम विश्रामस्थलको रूपमा रहेको कञ्चनवनमा सप्तमीको दिन पुगी विश्राम लिन्छन् । यहाँ इच्छावती र विरजा गंगाको पवित्र संगमस्थल भएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेका थिए । त्रेतायुगमा यहाँ भगवान् रामले होली खेलको किंवदन्ति अनुसार यहाँ परिक्रमाबासी पुगी अबिर खेली होली मनाउने गर्छन् ।
पर्वता ः नवम दिन परिक्रमाबासी धनुषाको पर्वतामा विश्राम लिन्छन् । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।
धनुषाधाम ः पर्वताबाट परिक्रमाबासी दशौं विश्रामस्थलको रूपमा रहेको धनुषाधाम पुग्छन् । यहाँ जनकपुरमा सीताको स्वयम्वर हुँदा मर्यादापुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा खसेको विश्वास छ । यहाँ सीताराम, हनुमान लगायतका मन्दिर रहेको छ तर दर्शनार्थीको दर्शनको केन्द्रबिन्दु धनुष रहेको पाइन्छ ।
सतोषर ः फाल्गुण शुक्ल दशमीका दिन परिक्रमाबासी डोलासँगै सतोषर पुग्ने गर्दछ । यहाँ सातवटा पोखरी, शिव र सीताराम मन्दिर रहेको छ ।
औरही ः विमला नदीको तटमा रहेको औरहीमा १२ औं दिनको विश्राम लिइन्छ ।
करुणा ः नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौं दिनमा प्रवेश गर्छन् । यहाँ करुणा नामको नदी विख्यात रहेको छ ।
विशौल ः करुणाको विश्रान्तिपछि परिक्रमाबासी चतुर्दशीको दिन भारतको विशौल पुग्ने गर्दछ । यहाँबाट कमला नदी बग्दछ भने यहाँ ऋषि विश्वामित्रको मन्दिरसमेत रहेको छ ।
जनकपुर ः परिक्रमाको अन्तिम विश्रामस्थल जनकपुरमा परिक्रमाबासी पुगी विश्राम लिन्छन् । यहाँ राति विश्राम पश्चात् अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन् । जानकी र राममन्दिरलाई केन्द्रबिन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन् । सो पश्चात् मिथिलामा होली प्रारम्भ हुन्छ ।
