आतङ्कवादको उल्लेख पुराणमा प्रतिकात्मकरूपमा पाइन्छ । पशु प्रवृत्तिका प्रतीक बनेका महिषासुरको जब आतङ्क बढ्न थाल्यो तब पृथ्वीमा त्राहीत्राही मच्चियो । त्यसपछि देवताहरूको सङ्घ शक्ति दुर्गाका रूपमा प्रकट भई महिषासुर असुरको नाश गरिन् । शरीरबल, विद्याबल, चातुर्यबल, धनबल, शस्त्रबल, सौर्यबल, मनोबल र धर्मबल यी आठ प्रकारका सामूहिक शक्तिको नाम नै दुर्गा हो ।
आतङ्कवादीसँग जुध्नका लागि सर्वप्रथम सत्ता मोहलाई तिलाञ्जलि दिनु आवश्यक छ । त्रेता युगमा रावणले राक्षसहरूका माध्यमबाट आतङ्कति पार्ने काम आरम्भ गरेपछि रामले राजसिंहासनको मोह त्यागेर वन गमनको मार्ग अपनाउन पुगे । दण्डकारण्यमा आफ्नो डेरा जमाएर खर, दूषण, त्रिशरासहित १४ हजार जति असुरहरूलाई मारेका थिए । द्वापर युगको स्थिति त अझ भयानक बन्न पुगेपछि श्रीकृष्णले आतङ्कको अन्त्य गर्नका निम्ति कूटनीतिलाई आधार बनाए । जरासंधजस्ता दुर्दान्त पराक्रमी मल्लयुद्धमा मारिए । शिशुपालजस्ता उद्धतको टाउको रेटियो र महाभारतको युद्धमा दुर्योधन दुःशासनसम्म कालका ग्रास बन्न पुगे । यसरी आतङ्कको अन्त्य गर्नका लागि व्यक्तिगत स्वार्थलाई सामूहिक हितको अगाडि महत्त्वहीन ठान्नुपर्ने हुन्छ । भीष्म र द्रोणले दुर्योधनलाई सहयोग पुर्याएका कारणले गर्दा इतिहासले क्षमा गरेन र न्यायको मार्गमा अग्रसरित रहेका अर्जुनले आफ्नो प्रतीज्ञा भङ्ग गरी अस्त्र उठाएका श्रीकृष्णको प्रतिष्ठामा अलिकति पनि दोष दाग लाग्न दिएनन् । महाभारतमा स्पष्टरूपले भनिएको छ- “पाप भइरहेको कुरा बुझेर पनि जसले सच्याउने प्रयत्न गर्दैन, उ पापको भागिदर बन्दछ । प्रज्ञा पुराणमा युगऋषि पं. श्रीराम शर्माले भनेका छन् ।
आतङ्कवादीहरूलाई निरुत्साहित बनाउनका निम्ति प्रतिरोधका अतिरिक्त अन्य कुनै उपाय छैन । हिंस्रक पशुहरूलाई अनुनय, विनयले कत्ति पनि प्रभाव पार्दैन भन्ने यथार्थलाई बुझ्नु जरुरी छ । दुरात्माले दया, धर्मको उपदेश कहाँ सुन्छ र !यदि यस्तो हुन्थ्यो भने अंगदले सम्झाउँदा रावण र कृष्णले सम्झाउँदा दुर्योधनको चित्तमा परिवर्तन आउनुपथ्यो । देवताहरूले प्रत्याक्रमणबाट नै आत्मरक्षा गर्न सकेको कुरा पौराणिक आख्यानहरूमा पाइन्छ र बोध गराउँछ । सहेर, जोगिएर अथवा शान्तिको पाठ घोक्दैमा असुरताबाट रक्षा हुन सक्तैन (संस्कृतबाट अनुदिन)
आज आतङ्कवाद अनपढहरूबाट होइन । बरु, पढे लेखेकाहरूबाट सुनियोजित षड्यन्त्रको जाल बन्दै गएको छ । बुद्धिको यस कुचक्रलाई चकनाचुर पार्ने सर्वोत्तम उपाय विचार नै हो । विचारबाट संचेतन बनी अगाडि बढ्नुपर्ने आजको प्रमुख आवश्यकता हो ।
