लेख र बेंसी धाउँदाधाउँदै गीत यो मैले गाएँ,
जवानी तनमा आउँदाआउँदै प्रीत यो मैले लाएँ
प्रीतको गीत आफैं लेखी आफैं गुन्गुनाएँ
लय हालीहाली मैले तिम्रै गीत गाएँ
… राजै तिम्रै गीत गाएँ ।
तिमीसँगै लेखबेंसीमा भेट भएझैं लाग्छ
तिम्रै मधुर मुस्कान सधैं सम्झिएझै लाग्छ
मायाको ज्योति मनमा मैले कसरी आज पाएँ
भाका हालीहाली मैले तिम्रै गीत गाएँ
…राजै तिम्रै गीत गाएँ ।
गुराँस फुल्दा लेखमा तिमी हाँसिरहेझैं लाग्छ
धानका बाला बेंसीमा झुल्दा नाचिरहेझैं लाग्छ,
तिम्रो छाया किन हो मैले देशै भरि पाएँ
भाका हालीहाली मैले तिम्रै गीत गाएँ
…राजै तिम्रै गीत गाएँ ।
गीतमा मेरो मनका बह पोखूँ पोखूँ लाग्यो
तिम्रै होला सम्झनामा बाडुली आज लाग्यो
तिमीलाई पाउन कहिले लेख कहिले बेंसी धाएँ
भाका हालीहाली मैले तिमै गीत गाएँ
…राजै मेरै गीत गाएँ ।
२०३६ असार २७, काठमाडौं
