पाक्याे काफल लेकमा तल फुले सारा बगैचाहरु
लाग्यो लालीगुराँस फुल्न अहिल्यै ढाकेर पाखाहरु
क्वैलीले स्वरमा र तानहरुमा तानेर खाकाहरु
थाले गाउन प्रेमका विरहका नाैलाख भाखाहरु ।।
हाम्रो स्वर्णिम झै छ देश अरुमा दाँजेर दाँजिन्छ र
हाम्रो देश अखण्ड सोचहरुमा भाँचेर भाँचिन्छ र
हाम्रो छाती छ उर्बरा जति सुकै बाँझिन्न बाँझिन्न है
हाम्रो राष्ट्रियता कसैसित कतै दाँजिन्न दाँजिन्न है ।।
