Skip to content

म हिउँ
उँभो उँभो हिमालमा हिवैं भएर बस्तछु
हिमालबाट सुस्तरी म पग्लिएर खस्तछु
म कोशीको र कालीको घटा भएर झर्दछु,
म गण्डकी र वाग्मती नदी भएर बग्दछु ।।

भुवा समान बर्संदै थिएँ म छोडी बर्सन
उदाउँदा उदाउँदै गरेर सूर्य दर्शन
हिमालमा कडा थिएँ म पग्लिंदै बने जल
बिलाउँदा बिलाउँदै बगेर ओर्लिएँ तल ।।

समाधिमा र ध्यानमा भएर लीन शङ्कर
हिमाल माथि स्वर्गमा सदैव बस्तछन् शिव
अनन्तकालदेखिको हुँ एक मात्र दर्शक
यतै चलाउँथे सधैं प्रसिद्ध नृत्य ताण्डव ।।

यतै थिए प्रसिद्धमा प्रसिद्ध काव्य सर्जक
यतै थिए प्रकाण्डमा प्रकाण्ड स्वप्न दर्शक
थिए यतै हिमालमा अनेक नामी नर्तक
कथा यतै सुनाउँथे प्रसिद्ध रोमहर्षक ।

फलेर पाक्तथे यतै रसालु सुन्तलाहरु
टिपेर चाख्तथे यहाँ प्रिया शकुन्तलाहरु
लदाबदी थियो यतै प्रशस्त स्वर्ण सम्पदा
थिएन लोभ लालचा थिइन् यतै प्रियम्बदा ।।

बनै भरि जताततै थिए मिठा मिठा फल
पहाडमा र लेकमा फलेर फाक्छ काफल
टिपेर खानको मजा अलग्ग मानी किन्नरी
यतै झरेर आउँथे नमानी लाज सुन्दरी ।।

थिइन् समान भावकी र स्नेह स्वाभिमानकी
पहाडतर्फ आउँथिन् तराईबाट जानकी
लिएर साथ उर्मिला तथा श्रुता र माण्डवी
फिरेर जान लाग्दथे नुहाई कालीगण्डकी ।

विशाल स्वर्गको थियो यतै सुरम्य नन्दन
प्रसिद्ध देवभूमिको हुने पवित्र वन्दन
सदैव सम्झना हुने कथाहरु पुरातन
सुनाउने र गाउने मलाई योे भयो मन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *