साहित्यकारले भेटे कथा बनाउँथे । मेरो चैँ आफ्नै व्यथा हो । समय २०७४ साल बैशाख १ गते शुक्रबार अर्थात् आजको दिन । बिहानै उठियो । रातिका जूठा भाँडामा जुटियो । उताबाट केटाकेटी घोक्रो सुकुञ्जेल चिच्याउँछन्- “डेडीडेडी आज न्यू यिएर अरे त, खसीको मासु नल्याउने ? अंकलहरुले त ल्याइसके त….. ।”
अर्को कुनाबाट आमा चैँ गर्दनको नशा खपैँचा पर्ने गरी छोराछोरीको शर्तमा चोचो मिलाउँदै सही थाप्छे- “कुन्नि केको बियाँलो हो नि, जुरुक्क उठेर जानू नि…. ।”
“बसिनसक्नु भो, यो नयाँ साल पनि साल हो कि साले हो । चौपट्टै गरी आयो आउँन पनि… ।” नयाँ साललाई हप्काजस्तो त गरेँ तर के गर्नु नउठी र नल्याई सुखै पाइएला जस्तो लागेन । नैनसुतको थोत्रे झोला काखी च्यापेर खैनी माड्दै हाटतिर लागेँ । तेस्का बाजे ! हाटभरि थोरा खसी ढालेका रैनरछन् । कोही खुर्किने, कोही पानी तताउने, कोही बेसार दल्ने….. कसैले चैँ उँदिमुन्टी लार काट्दै बेच्दै-बेच्दै काट्दै गर्न थालिसकेका रछन् । यसो माहोल हेर्दा त ढिलो मै मात्रै भा’ रछु जस्तो लाग्यो ।
हातले नैनसुतको झोला फुकाउँदै पूरा ठाँटले कसाई दाजुलाई सोधेँ- दाजु बिहानभरिमा कतिवटा खसीलाई काटकुट र भातभुत पारी उँदीमुन्टी लार बेचिसक्नु भो ?? कसाईले अर्नाले झैँ आँखा तर्यो । शायद मेरो प्रसंग मेल खाएन क्यार । पुन: अर्को प्रश्न गरेँ- ‘तपाईंकोमा खसीको मासु पाइन्छ होला दाजु ?”
फेरि पनि उस्ले पूर्व रीतमै आँखा फुक्लिने गरी हेर्यो र झन्किँदै सोध्यो- “यहाँ के ब्रोइलर कुख्रा बेच्या देख्यौ त ?”
मनमनै भनेँ मेरा लागि त त्यही चाहिएको हो नि तर के गर्नु आज नयाँ साल अरे खसी नै खानु पर्ने……। तर तुरुन्तै सम्हालिएँ- जानिजानी कसाईका अगाडि आफ्नू व्यथा झण्डै पोखिएकोमा ।
झट्टै भनेँ- “हैन हैन खसी नै काटेर बेच्नुहुन्छ, मासु पाइन्छ त ? कटारी चम्काउँदै उस्ले भन्यो- २५-३० केजीसम्म दिन सक्छु । कति चाइएको र ?”
“रामराम, तेत्रोविघ्न के काम- मलाई कर्जीमर्जी, हर, ह्याँकुलो, गर्दन र लाम्टा मिलाएर बस् आधा केजी चाहिएको ।” नरम भाषामा चाहिएको जति मात्रा र मासुको सिफारिस गरेँ । कसाई दाजुले मासु काट्दै फतफताउँन थाले- “एकाबिहानै अनेखण्डका ग्राहक आइलाग्छन् कैलेकैले त… मासु सब अङ्गको चाहियो अरे मात्रा चैँ आधा केजी ।”
“के गर्नु त दाजु! आज नयाँ साल अरे, खसी नै खानु पर्ने ।” घरको रिस कसाईलाई हुत्याइदिएँ ।
भनेकै जस्तो र भनेकै जत्ति मासु कालो पन्नीमा पोको पारेर दियो । “पन्नी डबलले हुँदैन ट्रिपल गरिदेउ” भनेँ । उसै गर्दियो ।
हाटतिर छिरेर पाउभरि प्याज, पाउभरि टमाटर, सेन्चुरीको एक पोका मटन मिट मसला र रु.२० को खिर्चिमिर्चि मरमसला किनेर डेरातिर फर्किएँ । कसैले नदेखून् भनेर नैनसुतको झोलालाई पछाडिपट्टिको सर्ट उचालेर ढाडतिर कुम्ल्याएको थिएँ । फटाफट डेगहरू चाल्दै दायाँबायाँ हेर्दै लमकलमक डेरा आइपुगेँ ।
सरासर भान्सा कोठातिर गएँ । परिवारका सदस्य सबैजना जम्मा भयौँ । मैले पछाडिपट्टिको सर्ट फुत्त माथितिर तानेँ । नैनसुतको झोलाभित्रको आधा केजी मासु शबद् गर्दै भ्यात्त भुइँमा झर्यो- मानौँ बाख्राले पाठै ब्याए जस्तो गरेर । पोको फुकाएर थालमा मासु हालेँ । चुप्पे खुकुरी सिमन्टीको भर्याङमा एकछिन उद्याएर मसिनामसिना चोक्टामा विभक्त गरेँ । मसला पिसेँ । प्याज काटेँ । कन्ती बसाएर छ्वाइँछ्वाइँ पार्दै भुट्न थालेँ । केटाकेटी भुट्वाको कुरा निकाल्न थाले । आमा चैँ झोल बाक्लो हुनुपर्नेमा जोड दिन थाली ।
मासु पाक्यो । मिट मसलाको करामत होला- टोलै मगमग भयो । चामल चौल्याएर बसालेँ । फोकाफोकी हुन थालेसि चलाएर छोपिदिएँ । एकछिनमा पाक्यो । पहिले मासु पछि भात पाक्यो । थाल ठटाउँदै केटाकेटी बसे । आमा चैँ एकाछेउमा बसी । भात पस्किनै लाग्दा- ” सर, नयाँ वर्षको शुभकामना है सपरिवारलाई” भन्दै दुईजना साथीसहित रामदयाल सर आइपुग्नु भो ।
हतारहतार गरेर उठेँ र स्वागतमा निस्किएँ । लगेर तन्ना तानतुन पार्दै खाटमा बसाएँ । “ओहो, सरलाई त नयाँ वर्ष मज्जाले लागेको रैछ, नाकै बुज्याउने गरी सेन्ट छ त सर !” रामदयालजीको साथीले मासुको प्रशंसा गर्यो ।
“यहाँ आएपछि त यस्तै हो, हेर्दै जाऊ न- हाम्रो सर त यति मनकारी हुनून्छ र ….. आम्मै कुरै छोडौँ ।” साथीले मासुको प्रशंसा गरिसकेको थाहा पाएर होला रामदयालजीले चैँ मेरो प्रशंसा गर्नपट्टि लाग्नु भो ।
केटाकेटीलाई उठाएर अतिथिलाई बसाएँ । झोलचोक्टा दामासहीले दिएँ । खाए । बैठक कोठामा आराम गर्न भनेर पुनः चामल चौल्याएर बसालेँ । पाक्यो । उब्रेको झोलचोक्टामा नून थपेर अम्खोराको घाँटीभरिको पानी हाली मासुको कन्ती बसाएँ ।
पाकेको मासु दोहारिएर पाक्यो । थालबटुका खकालेर केटाकेटीलाई र आमा चैँलाइदिएँ । आफूलाई पनि फिर्का दुःएक राखेँ । सबैले मुख मिठ्याईमिठ्याई खाए । आफूलाई पनि भोकले हथौडी चलाउन थालिसकेको थियो तर बैठक कोठामा अतिथिलाई बसाएर के खानु र भन्ने लाग्यो । छोपछाप पारेर उतैतिर गएँ । एकछिन मासुको अनि एकछिन मेरो मनकारी मनको प्रशंसा गर्नुभयो- रामदयाल सरहरुले । मख्ख परेँ । केटाकेटी खेल्न र आमा चैँ सुसेधन्दातिर लागि। म अतिथिको बिदाइतिर ।
भान्सा कोठाबाट खन्द्रयाङ्ग गरेको आवाज आयो । “लु सिद्याएछ क्यारे पड्केले” भन्दै आमा चैँ दौडी । म पनि हुर्हुरिँदै पुगेँ । वनढाडेले सिनिक्कै पारेछ । ” गोट्टीले त चाटीचुटी पारिहालेछ नि, मार्नुपर्छ कि क्याहो….!” सराप्न थाली ऊ चैँ ।
“भो भो नमार् बिरालो मार्दा थर्थरेले भेट्ला नि !” मैले सम्झाउने काम गरेँ ।
“मिट मसला त्यसलाई पनि गन्हाएछ क्यारे” चित्त बुझाउने मेलो गरेँ ।
