मातृदेवो भवः
होम सुवेदी
आमा प्रेम र स्नेहकी धरहरा यो प्राणकी प्राण हौ
आमा धर्ती वसुन्धरा जगतकै वा विश्वकै त्राण हौ
सृष्टि हौ स्थिति हौ तथा प्रलय हौ सुस्पर्श हौ घ्रांण हौ
आफ्ना सन्ततिका अनिष्टहरुमा जो रामकै वाण हौ ।।
तिम्रा जो पदचिन्हका पछि सधैं लागूँ कि लागूँ कि म
तिम्रो स्नेह कृपा र आसिक सधैं मागूँ कि मागूँ कि म
अन्यायीहरुमाथि वाण अहिल्यै दागूँ कि दागूँ कि म
धर्तीमा किन मातृशक्ति क्षय भो जागूँ कि जागूँ कि म ।।
माताबाट अनन्त अमृतहरु चाख्नै यहाँ पाइनँ
माताका चरणारबिन्दतलको धूलो कतै लाइनँ
तिम्रा स्वच्छ कला र कौशलहरुको ज्ञान नै पाइनँ
आमाका अधिकारपूर्ण रचना लेखी कतै गाइनँ ।।
तिम्रा हात समाउँदै किन अझै घुम्ने छ मेरो मन
तिम्रा हात समाउँदै किन अझै चुम्ने छ मेरो मन
आमा छौ त्यस लोकमा म छु यता सम्झेर के पिर्नु र
तिम्रो हार्दिक स्नेहको र ममताको भार के तिर्नु र ?
सिन्का गाँसी बनाउने टपरीमा तिम्रो कलाकारी छ
छोरो यो अझसम्म मात्र नभई आजन्म आभारी छ
आमा धर्ती र स्वर्ग हौ तिमी सरी अर्काे यहाँ को छ र
पाऊँ आसिक नित्य लौ जननी हे थाप्छु नुहाई शिर ।।
