घरबारी थिए माथि, शिखर उच्च शैलमा,
मकै कोदो र केराउ, लटरम्मै नि बारिमा ।
झुल्थे ती बारि डीलैमा, केराघरी झुकी तलै,
बोडी सिमी लटैरम्म, चिचिण्डा लहरा कतै ।
खोला किनार फाँटैमा, खेत ठूला गह्रा थिए,
झिनुवाँ धानका बीज, बास्मति आदि नै थिए ।
जेठका ब्याड अाषाढ, रोप्न हुन्थ्यो नि आत्तुर,
पारी ठिक्क हिलो पानी, रोपाईँ गर्न तत्पर ।
बाजा कर्णाल बाँसूरी, सहनाई सवै बजे ,
गोरुका पुच्छरै चुटे , हिलैमा हर्षितै भए ।
हेँगा चढी हिलो छ्याप्दै , खेत सम्याइ ती बढे
कोदाली बीँड अठ्याई, टुक्रुक्क आलिमा बसे ।
असारे गीत घन्काउंदै , किशोरी सव किशोर ,
चुर्लुम्म मुख मण्डलै , हिलैमा पनि विभोर ।
‘ब्यू कुह्यो’ रूखमा बस्दै , भन्छे नाची चरी पनि ,
काफल पाक्छ भन्दै थी , अर्की चरी पनि बसी ।
देखेका पूर्व कालैका, ती चलचित्र दिलैमा,
ऐले हुन्छ नि आश्चर्य, सम्झँदा भित्री मनैमा ।
पुराना ती कुरा सुन्दा, आज भन्छन् सही छ र ?
विहेमा नै नबज्ने बाजा, खेतमा पनि बज्छ र ?
विदेशी चावल किन्न , नजाने आज को छर ?
बाजा बजाइ रोपाईँ , गर्न खेत कहाँ छर ?
कोदाली बैशाखी आज, अब कहॉ देखिन्छ र ?
मंशिर दवँरी गर्ने, आज खला कहॉ छर?
कुनै घर धान राख्ने , घनसार पनि छर ?
उब्जाउ खेतमा आज, भवन छैन कतै र ?
सूर्य चन्द्र नि घुम्दछन्, स्थिर छैनन् कुनै कुरा ,
पृथ्वीले पनि स्वरूप, पक्का फेर्छ सवै कुरा ।
पाल्पामा मात्र होइन , नेपाल भर कै कुरा,
नेपालमा मात्र पनि, हो यो विश्वव्यापी कुरा ।
