Skip to content

स्मृतिकाे पानाबाट – २


छन्द-चौतारीमा अघिल्लो बिहिबार दिउसो साढे एघारबजे मैले ‘स्मृतिका पानाबाट’ भन्ने संस्मरण लेखेको थिएँ । यसमा निकै राम्रा प्रतिक्रिया आए । समर्थन र प्रतिक्रिया दिनुहुने सबै मित्रहरुलाई हार्दिक धन्यवाद छ । मैले थाहै नपाएर पढेको ‘सचित्र ठूलो वर्णमाला’का लेखकको नाम मलाई मित्र निर्मोही व्यासज्यूले सुझाउनु भो । सारै खुसी छु । कवि नीलहरि शर्मा ढकाल र उनका छोरा एकदेव ढकाल हुँनुहुँदो रहेछ यस पुस्तकका लेखक । बल्ल थाहा भयो ।

यसै मेरो स्मृतिको सन्दर्भमा राजेन्द्र भट्टाईजीले पनि कुरा कोट्याउनु भएको छ । वास्तवमा उहाँले पनि ठूलो वर्णमालाकै जस्तो गरी लेखिएको वर्ण परिचयात्मक कविताका बारेमा अलिकित कुरा कोट्याउनु भएको छ । यो पनि मैले कतै पढेको हुँ । यो कताबाट र के पुस्तकबाट पढें, भुसुक्क भएको छ । यसको अ देखि ज्ञ सम्ममा लेखिएका सबै कव्तिा मलाई कण्ठ आएनन् । अनि यो कुन पुस्तकबाट मैले पढें र बाँकी मेरा दिमागबाट कता हरायो यो पनि मलाई अहिले हेक्का रहेन । राजेन्द्रजीको भनाइमा मैले मलाई यो पनि आउँछ भनेर लेखे पनि मलाई खण्डै गरेर सम्झदा पनि सबै आएन, कता कता मात्र आयो । कसैलाई कण्ठ भए मैले अब तल दिएको भागका त्रुटिहरु र मलाई नआएको भाग पूरा गर्न पाए कति असल हुने थियो भन्ने लागेको छ ।

अ— अचम्म क्यै छैन पढेर विद्या
आ— आफैं मलाई मिलने छ शिक्षा
इ— इमानमा निर्भय भै रहन्छु
ई— ईर्ष्र्यादिको निश्चय त्याग गर्छु ।
उ— उत्ताउलो हो भनिने नपारी
ऊ—ऊचा कुरा नै मनमा विचारी
ऋ— ऋग् यजु साम अथर्व प्रोक्त
ऋृ— ऋमा दिने छु म के दैव चित्त
लृ— लृ जान्दछु म सब दैत्य पीता
लृृ— लृृ जान्दछु म सब देव पीता
ए— एकै पिताका सब विश्वभ्राता
ऐ— ऐले विभिन्नै किन देखिएका ?
ओ— ओहो सबै यो सपना बुझियो
औ— औचित्यको मन्त्र सदा जपियो
अं— अंबे दया मात्र सदा म पाऊँ
अः— अः दुःखको सागर पोत नाघूँ ।
क— कता कसोरी कति जन्म भैगो
ख— खगोलका चक्करमा फसियो
ग— गर्ने कुरामा नबिचार पायाँ
घ—घट्को कुरामा न त मन लगायाँ ।
ङ—ङ्याङ्ङ्याङ् गरी व्यर्थ दिनै बितायाँ
च— चपेट धेरै भवको त खायाँ
छ—छक्का छुटेको न त चाल पायाँ
ज— जन्जालमा जान त मन लगायाँ ।।

यसदेखि उताका वर्णहरु जस्तैः झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द सम्मको मलाई आउन्न ।

ध— धनी बनी दर्प गरी जनैको
न— नसा विषे आहुती धेरै भैगो
प— पर्वाह केही म गरेर हिंड्थें
फ— फलाम झैं देह छ यो म भन्थें ।
ब— बडाहरुका सँगमा रहन्थें
भ— भलादमी योग्य यी हुन् म भन्थें
म— म पाँचमा जान्दिन थें त मुद्रा
य— यसै गरी काल बितेछ क्षुद्रा
र— रमापते छु अब ता विरक्त
ल— लक्ष्मीपते लौ अब देऊ चित्त ।।

यसपछि व, श, ष, स, ह, क्ष, त्र, ज्ञ आदिका बारेमा लेखिएका कविताहरु दिमागबाट हरिहि…….. होम स्वाहा भएछन् । जति अायाे त्याे पनि अपूर्ण रूपमा । बाँकी भागहरू वा छुट अंश र शुद्ध अंश कसैको स्मृतिमा भए जानकारी दिनु भए कृतार्थ हुने थिएँ ।

धन्यवाद ।

2017-06-10 07:35:48 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *