Skip to content


“न्याय पाउँ महाशय।” रणे सभामा भन्दै थियो।

“ल भन रणे तँलाई के अन्याय पऱ्यो?” सभानाइके ले रणेसँग सोध्यो।

“ल के कसो भएको हो सभामा भन।” नाइकेले दिपे तर्फ फर्केर खै गऱ्यो।

“मै भन्छु महाशय। रणे अघि सऱ्यो। रणेको र मेरो खेत सँगसँगै पर्छ। बालीनाली भित्र्याउने बेला दुबै सँगसँगै बालि काट्दै बोरामा संकलन गर्दै थियौँ। धेरैजसो घरमा लगेर थन्काइसकेका थियौँ। अझै दुई ओटा गराको बालि बाँकि थियो। त्यतिबेला मैले नै उसैको अगाडि उसको बालि भित्र्याउने बोरा तानेर अलिकति बाली लत्याइदिएको थिएँ। उसले आफ्नो बाली सुरक्षित राख्न सकेन त्यसैले मैले बालि लत्याइदिएँ। मैले लत्याइदिएकोले गाउँलेहरूले मिलेर हामी दुबैको बाँकि बालि भित्र्याउने काम रोकिदिए। उसले आफ्नो बाली सुरक्षित राख्नु पर्ने, सकेन, मैले लत्याइदिएँ। अब यसमा मेरो के दोष। अब ऊ बाँकि बाली र अर्को गराको बालि भित्र्याउनु पऱ्यो भन्छ। अनि बाली भित्र्याउन नपाएको मेरै कारण हो भन्दै आरोप लगाउँछ।”

“ठिकै छ नि त उसलाई बाँकि बाली भित्र्याउन देऊ न त।” नाइकेले जुक्ति निकाल्यो।

रणे जङ्गियो – “कहाँ हुन्छ। मैले लत्याएको बाली अब जूठो भैसक्यो। उसकै कमजोरीको कारणले भएकोले, त्यो गरामा फेरी बाली छर्नु पर्छ। अनि पाके पछि फेरी सँगै बाली भित्र्याउनु पर्छ।”

“लौ दिपे, यो तेरै कमजोरीको कारणले भएको रहेछ। अब रणेले भनेको मान। यै नै यो कचहरीको निर्णय हो।” सभा नाइकेले निर्णय सुनायो।

दिपे एक छिन गम्दै गर्जियो – “यो ममाथि सरासर अन्याय हो। म माथिल्लो कचहरीमा जान्छु।”

दुबै माथिल्लो कचहरीमा पुगे, बहस चर्किँदै गयो। भाका राखिँदै, थपिँदै गयो।

अन्त्यमा निर्णय आयो – “यस विषयमा सम्पूर्ण दोष दिपेकै देखिन्छ। आफ्नो बालिको सुरक्षा गर्न नसक्नु उसको आफ्नै कमजोरी हो। रणे बलवाला थियो बलको प्रयोग गर्न पाउनु उसको अधिकार हो र त्यहि बलको प्रयोग गऱ्यो। यसमा उसको कुनै कसुर देखिँदैन। यस माथिल्लो कचहरिले रणेकै माग बमोजिम दुबैले आ-आफ्नो रोकिएको एक गरामा भएको पुरानो बाली नष्ट गर्ने र त्यहाँ पुनः बाली लगाएर पाकेपछि मात्र बालि भित्र्याउने अनुमति प्रदान गर्दछ।

२०७४ श्रावण १६ (अगष्ट १, २०१७)
सौराहाद्वार, रत्ननगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *