Skip to content

पहाडले मलाई बोलाउँछन्


गरेर स्नानका क्रिया पवित्र गण्डकीनिर
पुगेर ज्ञानकुञ्जका कतै म झोपडीतिर
म काव्यको समाधिमा बसूँ मिठो सुधा पिई
जहाँ छ आर्यजातिको सुरम्य देव मन्दिर ।।१।।

नजानिंदा र स्वादिला विभिन्न भाव जन्मियून्
नयाँ नयाँ कथाहरू मभित्र फेरि पन्पियून्
जसै कथाहरू नयाँ मभित्र पन्पिँदा यहाँ
विभिन्न ज्ञानकुञ्जमा नयाँ विचार अन्मियून् ।।२।।

कथा व्यथा बिहानीमै कता त्यहाँ दुखाउनु
सुकाउने छ योजना यसै कता फुकाउनु
जसै उठेर आउँदा कथाहरू नयाँ नयाँ
कता कता पिरोल्दछन् कहाँ कहाँ लुकाउनु ? ।।३।।

मनुष्यका दिमागमा अनन्त स्वैर कल्पना
फुरेर आउँदा र’छन् रसालुशिक्त भावना
र श्वैर कल्पनासँगै अनेक गीत गाइयोस्
अगम्य दिव्य ध्यानमा निमग्न बन्न पाइयोस् ।।४।।

उडेर माहुरी कतै परागमा बसे सरी
म बस्न पाऊँ योगमा र ध्यानमा भीडे सरी
दिमागमा फुलून् नयाँ नयाँ गवेषणाहरू
जलेर नासियून् सबै विषाक्त एषणाहरू ।।५।।

गरेर काव्य साधना म पार लाउँला कहाँ
र त्यो विसाल फाँटमा तरेर जाउँला कहाँ
न साधना छ तेजिलो न भावना छ उर्बर
छ काव्यको अनन्तता म पार पाउँला कहाँ ?।।६।।

उडेर माथि चन्द्रमा कहाँ म भेट्न सक्छु र ?
विधान लेखियो भने कहाँ म मेट्न सक्छु र ?
अनन्त भाव उठ्दछन् कहाँ समेट्न सक्छु र ?
विसाल स्वप्न देखिए कहाँ लपेट्न सक्छु र ? ।।७।।

कता कता नजानिदो गरेर दाउ आउँछन्
नवीन भावना फुरी मलाई थङ्थिल्याउँछन्
अनन्त दुस्तराहरू कता म पार पाउनु
गलो छ शून्य शून्य यो कता म गीत गाउनू ? ।।८।।

म आफ्नु देश गाउँ वा समाज बाँड्द सक्तिनँ
र जन्मभूमि छातीमा छुरी म गाड्न सक्तिनँ
कतै कतै कृतघ्नले मिलेर गाड्दछन् छुरी
ती स्वार्थीझुन्ड झैं बनी म देश छाड्न सक्तिनँ ।।९।।

म गाउँको कथा यहाँ सुनाउने भएँ अब
मिलेर बस्तथे जहाँँ समस्त बन्धुबान्धव
खला खला थिए त्यहाँ गरा गरा थिए त्यहाँ
प्रसस्त गाउँ ठाउँमा थियो अपार वैभव ।।१०।।

हवा तुषार शैलको बगेर आउँथ्यो त्यहाँ
मनुष्य कर्म योगमा निमग्न झैं थिए त्यहाँ
प्रसिद्ध ध्यान योगको निवास झैं थियो त्यहाँ
थिएन वैमनष्यता समग्र गाउँमै त्यहाँ ।। ११।।

थिएन रोगको त्यहाँ प्रकोपको परिस्थिति
सबै मिलेर बस्तथे खुला हुँदा मनस्थिति
सुरम्य गाउँ त्यो थियो थिएन केही आपदा
सफा थियो मनस्थिति हुँदा विवेक सम्पदा ।।१२।।

पहाडका पुछारमा नदी बहन्छ कल्कल
पहाडकै उचाइमा फलेर पाक्छ काफल
म गाउँको कथा यहाँ बसी गरुँ कि छल्फल
सुरम्य गाउँको ममा अँझै छ चित्र झल्झल ।।१३।।

विरक्तिका कथाहरू सुनाउँदै छ न्याउली
गरेर मौन साधना बसिरहन्छ कोइली
हजार हातले जसै व्यथाहरू निफन्दछन्
असाध्य त्यो कथा यहाँ तथापि लाग्छ मामुली ।।१४।।

सुसाउँदो छ गण्डकी प्रभात कालमा सधैं
समीपबाट निर्झरा बहन्छ ढल्पलाउँदै
सुरम्य तालमा पसी नियाल्न थाल्छ दर्पण
भने सरी हुने यहाँ पहाड चल्मलाउँदै ।।१५।।

यता पहाडमा हदै मिठो छ लोक गायन
थियो अशेष सम्पदा कतै भयो पलायन
नवीन भावको कला पुरानुलाई डस्तछ
तथापि त्यो कुना कुना अँझै लुकेर बस्तछ ।।१६।।

कला र मूर्त चेतना मिचेर के मिचिन्छ र
नवीन भावको कथा किचेर के किचिन्छ र
सुषूप्त चेतना बुझी नगर्नू धेर शोषण
पहाड ब्यूँझियो भने थिचेर के थिचिन्छ र ?।।१७।।

नदी किनार ज्ञानका अनेक फूल फुल्दछन्
गृहस्थ ज्ञानका बुटी गई त्यतै बटुल्दछन्
ममा अँझै छ सम्झना हिमालले घरी घरी
पहाडले मलाई नै निमन्त्रणा गरे सरी ।।१८।।

—होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *