Skip to content

परिवर्तनका आवाजहरु

यता सस्कृतिकाे छ नौलो मुहार
उता तीजको आज आयो बहार
भयो तीज धन्दा कसैलाई चाहिं
कसैमाथि चाहिं भयो झन् प्रहार ।।

नखोजौं भन्यो झन् त्यसैमा छ ध्यान
न गच्छे छ केही न केही छ मान
यसैले यहाँ संस्कृति हुन्छ ध्वस्त
विदेशीहरु झन् हुने मस्त मस्त ।।

नजानेर होला भयो धेर पाप
अरुको सिकोबाट क्यै छैन लाभ
विना अर्थका स्वाङ पारेर हुन्न
सदाचार सद्भाव केही रहन्न ।।

छ हाम्रो पृथक् सोच संस्कार हाम्रो
छ माया र सम्मान सद्भाव हाम्रो
अरुको लहैमा नलागौं नलागौं
छ औकात जस्तो त्यतैतर्फ लागौं ।।

समस्याहरु लाखका लाख आउन्
समस्याहरुले समाधान पाउन्
डटी कर्मका खालमा हामी लागौं
समस्याहरुबाट कैल्यै नभागौं ।।

त्यसैले प्रतिज्ञा गरौं आज एक
सबैले सबै माथि राखी विवेक
यसै देशमा हामी मिल्दै रमाऔं
सबैले सबै पर्वलाई मनाऔं ।।

बनौं पौरखी कर्म ढोका उघारौ
गरौं यत्न यो देशलाई सपारौं
र जस्तो छ गच्छे त्यसैमा रमाऔं
त्यसैभित्र यो तीजलाई मनाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *