पानी जीवन हो भनेर कविता लेखिरहेको थिएँ
पानी भित्र अपार जीवनकला देखिरहेको थिएँ
पानीको कमनीय शीलत दिने त्यो रुप कस्ले हर्यो ?
पानीको विकराल रुप छ यहाँ के देख्नु मैले पर्यो !!
कैले देश डुबाउने मुसलको धारा सरी पर्दछ
मानौं प्राण पखेरु तीब्र गतिमा यै पानीले हर्दछ
यो पानी नभए तुरुन्त मरिने धेरै हुँदा झन् मर्यो
पानीको विकराल रुप छ यहाँ के देख्नु मैले पर्यो !!
पानीको महनीय रुप छ कतै भन्ने म लेख्दै थिएँ
पानी प्राण समान हुन्छ यसरी भन्ने म देख्दै थिएँ
मेरो सोच थियो अगाडि अहिले त्यस्ले स्वयं के गर्यो
पानीको विकराल रुप छ यहाँ के देख्नु मैले पर्यो !!
पानी भित्र छ स्निग्ध कोमल पना यो दृष्टि मेरो थियो
यस्मा शीलतता हुने सहजमै मैले बुझेको थियो
मेरो त्यो विपरित दृष्टि अहिले पानी स्वयंले गर्यो
पानीको विकराल रुप छ यहाँ के देख्नु मैले पर्यो !!
पानी हुन्छ चिसो र कोमल सधैं भन्ने बुझेको थिएँ
पानी अमृत हो भनेर उहिल्यै मैले पढेको थिएँ
मेरो सोच र धारणाहरू सबै पानी स्वयंले हर्यो
पानीको विकराल रुप छ यहाँ के देख्नु मैले पर्यो !!
(पानीबारे कवितामा एकै भावहरू सबैतिर थुपारेर लेखिटोपलेको)