Skip to content

व्यर्थै आएँछु

व्यर्थै आएँछु सुवास खोज्दै
यहाँ त रहेछ भमराको मेला
फूलको छाती ताक्न सक्दिनँ
ठोकेर आफ्नै छातीमा किला

चोट सहेर फूल हाँसी दिँदा
के सम्झेर खोइ यो मुटु दुख्छ
शिशिर भोगेको कलिलो वसन्त
खडेरीले उजाडै भएछ
मन निचोरी आँसु बगाई
व्यर्थै तिमीले भिजायौ परेला
जिन्दगी सुस्तरी चल्मलाउँदैछ
बाटो नछेक थापेर झमेला

यौटा सानु तस्वीर मेरो
छुटेछ तिम्रो सिरानीमा
आँसुले पुछेर राखी दियौ कि
भिजेर गयो धमिलो पानीमा
उकाली ओराली मनको चौतारी
देउरालीमा पर्खेर बसुँला
हिँड्नु छ लामो जीवन गोरेटो
आँसुले नछेक छुट्टिने बेला

व्यर्थै आएँछु सुवास खोज्दै
यहाँ त रहेछ भमराको मेला
फूलको छाती ताक्न सक्दिनँ
ठोकेर आफ्नै छातीमा किला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *