“बाबु म पनि बूढी भइसकेँ । तेरा बाबा बजार गएको मान्छे दुई दशक भइसक्यो अत्तोपत्तो छैन । तेरो पढाइ पनि पूरा होला जस्तो छैन । पल्ला किराना पसलेको उधारो अहिलेसम्म तिर्न सकेको छैन , वल्लाको पनि त्यस्तै छ । दशैँ पनि आइसक्यो । तेरा लागि नानाचाचा पनि लिन नसकिने भो बा अब । यो दशैँमा तेरा लागि एकजोर लुगा राखिदिऊँ भनेको त्यो पनि पूरा हुने भएन । मलाई माफ गर है छोरा ।” आमा खिन्न भएर गनगन गर्दै हुनुहुन्थ्यो ।
“आमा ! पीर नगर्नुहोस् । तपाईंको मेरा लागि लुगा एकजोर राख्ने कुरो पूरा भैसक्यो । आमा ! बाबाको सम्झनाले धेरै भावुक नवबनाउनुस् आमा । उहाँको नाम त बेपत्ता परेकाको नाममा पनि छैन आमा ! बाजस्ताहरु हराएको सरकारी तथ्याङ्कभन्दा कैयौं गुणा बेपत्ता छन् आमा । हाम्रो बुबा नै यसको प्रमाण भएपछि अरु के चाहियो र ?” भन्दै छोराले सुँक्कसुँक्क गर्दै आमालाई फकाउन खोज्यो ।
“पोहोर बाढी पहिरोको सहयोगका लागि भनेर लत्ताकपडा दिँदा झुत्रो भनेर नलिएको जिन्सको ज्याकेट र पाइन्ट छ नि आमा ? आजकाल त्यसलाई ग्रञ्ज भन्छन् । आफुलाई फेशन मन नपरे पनि परिआएपछि म यसपालीको दर्शै गर्वले यही ग्रञ्जले टार्छु ।” भन्दै छोरोले आमालाई सम्झाउन खोज्यो ।
“मेरी बास्सै यो बाढीपहिरो बर्षेनी आउँछ तर पहिले नै सचेत भएमा अवश्यै समाधान हुने कुरो हो नि तर अहिलेसम्म ‘जब पर्यो राति अनि बूढी ताती’ भने झैँ भइरहेको छ । तर तेरो कुरा गरनज कि के भनेको झुत्रे लाउने कुरा मैले पत्याइन । मलाई पीर नपरोस् भनेर गर्या होला तैँले ।” भन्दै आमा हाँस्नुभयो ।
“ल हेर्नुस् आमा यो हजुरहरुको पालाका हिरो भुवन केसी । उहाँले लगाएको यी यो फोटो हेर्नुस् । हो यही हो ग्रञ्ज ।” छोराले पुलकित हुँदै भन्यो ।
आमाले दङ्ग पर्दै भन्नुभयो “ए हो त रहेछ हाम्रो कुसुमे रुमाल भुवन बाबुले पनि कमाउन नसकेर गरनज बनेको पो यो । ल ल बाबु अब यो भन्दा बढीको झुम्रे चाहिँ नआओस् । तेरो दशै गरनजमय हुने भो अब । ल ल मैले पत्याएँ । जय होस् तेरो ।”
२०७४ भदौ २८
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौं
bijusubedi@gmail.com
