Skip to content

अक्षरहरूको बिस्कुन


कम पीडा र औडाहा भयो होला प्रथम अक्षर निर्मातालाई ? यो अगम्य साथै अबोध्य छ । केवल कल्पना गर्न सकिन्छ वास्तविकता छिचोल्न सकिन्नँ ।

आफूले खोजेर जिज्ञासाको अँध्यारो गर्तबाट निकालेको अक्षरलिपि प्रयोगको खुसीमिश्रित भाव र संसारलाई देखाउँने उत्कण्ठ अभिलाषा कस्तो थियो होला ? यो पनि अपरिमित छ । जसले, जसरी, जहाँ र जहिले अक्षरको श्रीगणेश गरेको होस् उसलाई आफ्नो त्यो चेतनाको बाली काट्न र समाजले विश्वास गर्ने बनाउँन कम्ती खुन पसिना खर्चिनु परेन होला ?

इतिहास बोल्दैन । यदि सुगालेझैँ ट्याउँट्याउँ बोल्ने र हामीले बुझ्ने हो भने अक्षर आफैँले आफ्नै नालिबेलीमा कहिरन कहने थियो । अक्षरको इतिहास लघु पक्कै होओइन । हामीलाई आजसम्म, चेतना चिन्ने मानिसले नै अक्षर इतिहासका पानाहरू यति जतन गरी राखिदिएका हुन् कि हामीले हाम्रो भावनाको ऐलान गर्ने यी महान् सर्वहारा औ सर्वप्रिय अक्षरलाई सम्मान र अभिनन्दन प्रकट गर्नैपर्छ । हाम्रा मनोभावनाहरू गोडमेल गर्ने यी क्रान्तिकारी धार बोकेका अक्षररूपि हतियारहरूलाई स्यालुट गर्नै पर्छ । यिनीहरूको आस्था र विश्वास भविष्यमा जोगाई राख्न यिनको धरोहरलाई सुरक्षित राख्नुपर्छ । अक्षर चिनेका हामी सबै साक्षर र शिक्षित सबैको पर म कर्तव्य यही हो ।

अक्षरले आफ्नो समेत धेरै क्षेत्रको इतिहासको ओथारो बसेको छ । पालन पोषण गरेको छ । त्यसैगरी हुर्काएको छ यसले गौरवको सान, मान र अभियान पनि ।

अक्षर आस्था हो । अक्षर विश्वास हो । अक्षर जीवन हो । अक्षर मृत्यु हो । अक्षर नै प्रेम हो । अक्षर नै घृणा हो । अक्षर आग्रह, पूर्वाग्रह अनि विग्रह समेत हो । त्यसो त युद्ध अक्षरै हो र शान्ति पनि अक्षर हो ।

परा र अपरा विद्या अक्षर हो । वेद अक्षर हो । बाइबल अक्षर हो । कुरान अक्षर हो । त्रिपिटक अक्षर हो अनि जेन्दाअवेस्ता पनि अक्षरै हो । आदि अक्षर हो । अन्त्य अक्षर हो ।

ओ म अक्षर हो । गड अक्षर हो । अल्लाह अक्षर हो । ओम मणि मद्मे हूँ पनि अक्षर हो ।

सृष्टि अक्षरमा नै रमाउँछ भने विनाश अक्षरमै विनासिन्छ ।

अणु अक्षर हो । परमाणु पनि अक्षर हो ।

संसारको सबैभन्दा शक्तिशाली अश्त्र अक्षर हो । शक्तिशाली कानून अक्षर हो । शक्तिशाली सन्धि भनेकै अक्षर हो । अक्षरको बल जति छ त्यति बल आजसम्म अरू कुनै चिजको छैन । जे छ अक्षरमा छ । जे छैन त्यो पनि अक्षरमै छ । त्यसैले अक्षरको चरू हवन गर्ने मानिस ज्ञानी र हवन नगर्ने स्वाँठ कहलिन्छ –अज्ञानीका रूपमा ।

वनका रूखहरू सबै वनौषधि भएझैँ अक्षर जति सबै एउटा न एउटा श्लोक र सूक्ति भएका छन् –ज्ञानी र प्रज्ञानीका लागि ।

संस्कृतमा एउटा ऊक्ति छ –स अक्षर इति साक्षर अर्थात् जसले अक्षर चिनेको छ ऊ नै साक्षर हो । आजको मानिस अरू प्राणीका तुलनामा यति बोलाबाला आफूलाई बनाएकै अक्षर शक्तिले हो । जानेमा अक्षर अश्त्र हुन्छन् जसका मद्दतले पर प्रहार गर्न सकिन्छ जानिएन भने उल्टै आफूतिर सोझिन्छ –अक्षर हतियार भएर । कतिपय अवस्थामा आफैँलाई बुमर्याङ् हतियार झैँ अक्षर फर्किन्छन् । द्रूतत्तर रूपमा आफैँतिर ।

अक्षरका आँखा हुँदैनन् । अक्षरका मन र मस्तिष्क पनि हुँदैनन् । अगम्य छ यसका अभेद्य पराक्रमहरू । कमनीय छ –यसको महिमा । अक्षरमा के छैन ? सबै छ । गीत छ । संगीत छ । लेखन कला छ । अभिनयका नौरस छन् । शासकका हुङ्कार र शासितका अनूनय विनय छन् । अक्षरमै यौनेच्छाका प्रणय निवेदन र समाधीका तृप्ति छन् । अक्षरमै ममता र घृणा छ । अक्षरमै शत्रुमित्रु मात्र होइनन् ताली र गाली सन्निहित छन् ।

खेतीपाती या कृषि कार्यजस्तै हो –अक्षरहरूको विनिमय । म यतिखेर मेरो जीवनमा सर्वाधिक महत्व राख्ने अक्षरहरूको खेतीमा निमग्न भएर लागेको छु । मलाई मेरो पेसा, परिवेश, साथीसँगाती र आफन्तहरूले केवल लेखनका विषयवस्तु दिएका छन् । मैले अक्षरहरूलाई फकाइफुल्याई गर्न थालेको अहिले अढ्तीस वर्ष भएछ । म आफ्नो जीवनको चारवटा भोटा फटाउँन नपाउँदै नाकमा सिँगान सुँक्कसुँक्क गर्दै तानेर सिकाइको त्यो आदिम पाठशालामा गएको थिएँ जहाँ म जत्रा सँगीहरू मेरो परिवेशको वरिपरि सिलोट र खरी बोकेर मझैँ बोरामा बसेर बिलकान्ने क, खरायो ख भनेर कनिकनि कराइरहेका थिए ।

वाह ! कस्तो कल्पनातित यात्रा आरम्भ गरिएथ्यो ऊ बेला ? आज कहाँ पुगेर अडिएको छ यो तन, मन र वचन !

शिक्षा विकासमा आजका समयमा यति चाँडो विकास होला भनेर मजस्तो हिजोको लेखकले सोचेको थिइनँ सायद् तर आजको चकाचौँध उन्नति हेर्दा हामीलाई आफ्नो बाल्यकालको वर्णन गर्न पनि लाज लागेर आउँछ । साथीहरू जो अलिअलि असम्पन्न र गरिबगुरुवाका बचेरा थिए तिनीहरू विचरा बाउ र हजुरबाउहरूले भात खाँदा ओच्छ्याउने पिरालाई सुकाइवरि स्कुल ल्याउँथे र त्यसमा सडकको मिहीन धूलो हालेर सिन्काले कोर्दथे । मैले आफैँले देखेको त होइन तर सुनेकोसम्म के हो भने हामीभन्दा अलि अगाडिको पुस्ताले बाँसको पट्याँसमा अँगारले कोरेर आफ्नो ज्ञान सिक्ने मृगतृष्णालाई शान्त पारेको थियो रे ! मलाई त के लाग्छ भने म तिनताक अलि हुने खाने वर्गमा पर्दथेँ । मैले क्यापिटल कापी र धर्के डट पेनकोसम्म प्रयोग भ्याएँ तर मसँगै मेरो स्कुलमा पढ्ने बाल दौँतरीहरू …..? बरा ! कोही सिलोट पाटीको यात्रासम्म गर्न सक्ने भएका थिए । कोहीकोही त धूलौटे पाटीमै थिए । जीवनलाई आज फर्केर हेर्दा यस्तो लाग्छ कि त्यो त सत्य जित रे को पाथेर पञ्चाली सिनेमाझैँ श्यामश्वेत बनेर अहिले हामीलाई रोमाञ्चित बनाइरहेको छ ।

मैले जबदेखि अक्षरको बिस्कुनलाई केलाउन कुलाउन र निफन्त जाने त्यसपछि मलाई के लाग्यो भने यो त जीवन अभिव्यक्त गर्ने मिठो कला पो रहेछ । मैले यहाँ सिकन्दरको विश्वविजयी सपनाभन्दा पनि निकै मूल्यवान् सपनाहरू सजाउन थालेको छु । मलाई लाग्छ अक्षरनै यो संसारको असल सारथि हो जसले आफूलाई जहाँ लैजाने हो त्यहीँ लगिदिन्छ । यसमा मनचिन्ते झोलीमा हुने तागत एव म पाइन हुन्छ । एकपटक एकजना साथीले सानैमा भनेको प्रसँग झल्झली सम्झन्छु । तिनी सहजताका साथ भन्थे –‘लेख्न के छ र ? कदेखि ज्ञसम्मका अक्षरहरूलाई अआइइसँग जोडजाड पारेरै बनाउने र कथ्ने त हो नि ।’ कति ज्ञानीजस्ता लाग्थे उसबेला ती बाल समालोचक तर अहिले आएर भनेको बेला आफूलाई लेखनको प्रशवपीडाले रुनुझुनु गरेका बेला विषयवस्तु अनुसारका रचना कोरल्न नसकेका समयमा कम्ती छट्पटी हुँदैन । साथीको जीवनलाई टेलिस्कोप लगाएर हेर्छु ती बरा महालेखा नियन्त्रकको कार्यालयमा लेखापालको जागिर गरिरहेछन् र काठमाडौँको कपनतिर घर बनाएर मजाले बसेका छन् ।

लेखनमा त फ्रान्सका तात्कालीन लुई चौधौँ राजाजस्तो मुढे ऐलान गरेर उनैको ‘मनै राज्य हूँ, मनै कानून हूँ, म जे बोल्छु त्यही नै कानून हो’ (जस्तै भावमा हामी यसो भन्न सक्दैनौ, मनै लेखक हूँ, मनै विषयवस्तु हूँ, म जे लेख्छु त्यही नै साहित्य हो) स्थितिको अब दुःखान्त अवसान भएको छ । मानिसहरू यो बजारवादे युगमा पोलिथिनका झोलाहरूमा बजारबाट भोक र तृष्णाहरू खरिद गरेर बाँचिरहेका छन् । तिनीहरू ससाना र हृदयस्पर्शी कविता, गीत र मुक्तकभन्दा अरु लामालामा सिर्जनालाई ती जतिसुकै मिठा र चसक्क मनलाई छुने नै किन नहुन पढ्न त परै जाओस् छुनसमेत तर्सिन लागेका छन् । हाम्रो समाजमा ओखती किनेर खान नसक्ने मानिसहरूलाई मेरै आँखा भरिभरि देखेको छु । अनि मैले कसरी विश्वास गरिदिनु कि मैले कनिकुथी कन्स्टिपेसन भएका बेला कनेर गोटा परेका बढ्क्यौँले दिसा गरेझैँका बल गरेर लेखेका भावोपयोगी रचनाहरू पढलान् भनेर । तर यसो भनेर मेरो बजार र नियतिले मलाई मेरो लेखन मिसनको यात्राबाट एकरत्ती पनि तर्साउन सक्दैन किनकि मैले लेखनलाई अब नशा बनाइसकेको छु । जुनसुकै वाद, विवाद, प्रतिवाद र संवादको सामना गर्नु नै किन नपरोस् म मेरो लेखनलाई सन्तुष्टिको सास फेर्दै क्रमशः अगाडि बढाउँन चाहन्छु ।

मलाई ज्ञात छ कि संसारमा एउटा लेखकको सबै कृति प्रशंसित र विवादित हुँदैनन् । जब एउटा लेखक सफलताको शिखर चढ्दछ त्यसपछि नै उसका अरू हावीजावी कृतिहरू भएभरका पाठकहरूले डल्लो परेर किनेर पढ्दछन् । अहिलेको समय चर्चा र विज्ञापनको समय हो । नत्र यतिका विज्ञापन एजेन्सीहरूले सहरमा आफूलाई कसरी टीकाउँन सक्छन् । ती पनि त यहाँ हातमा खरानी बोकेर सत्सङ् गर्न पक्कै आएका होइनन् होला ।

मलाई अक्षरको बिस्कुन सुकाउँन र उठाउँन पाइरहियोस् भन्ने लागेको छ । जीवन लामो होस् । चिर आयु बाँचिरहन पाइयोस् । निरोगी भएर संसारका अनेक प्रविधि र प्रवृत्तिलाई सततः आत्मसात गरिरहन पाइयोस् । आफ्नो हृदयमा भएका अनुल्लिखित ज्वालामुखीरूपि भावना गाङ्गेयलाई ताता म्याग्मा र लाभाका रूपमा समाजमा ओकलिरहन पाइयोस् । मानिसलाई उत्सर्जनमा सन्तोस हुन्छ भन्ने पढेको थिएँ । अहिले अनुभवका पुञ्जले हो जस्ता लाग्छन् । आखिर मानिसले जीवनमा आफूले सँगालेका अनुभूति र अनुभवलाई नै त घुमाइफिराई लेख्ने न हो –अक्षर माध्यमबाट । त्यसैले मैले लेखन माध्यमबाट उत्तिसारो महत्वाकांक्षा पालेको छैन । मलाई ‘नेपाल टप’ हुँदै संसारमा आफ्नो नाम प्रत्येकले हलपल जपिरहुन जस्तो लाग्दैन् । हरेकले आफ्नो जीवन आफ्नै शैली र तरिकाले आफ्नै गरी भोग्न र बाँच्न पाउनुपर्छ । यहाँ सबैको जीवनमा आफ्नै मजा लिने पृथकादि तरिकाहरू छन् । मैले धनका राशमा जाकिएर सिसै सिसाको महलमा बस्नेहरूलाई पैसाकै सिरक र पैसाकै डस्नामा सुत्दा पनि रातमा निद्रा नपर्दा स्लिपिङ्ग ट्याब्लेट खाएर बलजफ्तीसँग निदाएको पाएको छु । भनाइको मतलब ओच्छ्यान किन्न सकिँदो रहेछ निद्रा किन्न सकिँदो रहेनछ । यहाँ मिष्ठान्न भोजन अँझ भनौ चौरासी व्यञ्जन किनेर खान सक्नेहरू हजारौँलाखौँ छन् तर त्यसमा रूचिरूपि भोक नहुनेहरू धेरै छन् । त्यसबेला मलाई कराईकराई भन्न मन लाग्छ –भोजनभन्दा भोक मिठो हुन्छ । जाडोभन्दा लुगा न्यानो हुन्छ । गुलियोभन्दा तिर्खा आनन्द हुन्छ । अकबर राजालाई तर्कमा हराएर प्रधानमन्त्री वीरबलले भुसका रोटी ख्वाएका थिए रे !

बाका पालमा भन्थे बूढाहरू –पढी गुनी कौनै काम हलो जोती खायो माम । अब समयले जतिजति बाँकटे हान्दै ल्यायो उतिउति मानिसहरू भूमि र अन्नका प्राकृतिक खलियानबाट क्रमशः टाढिएर यता सहरमा कृत्रिम रहर उमारेर बत्तीँदै बसाइँ सरेका छन् । गाउँ अहिले लगभग शून्य भएको अवस्था छ तर फेरि अर्कोतिरबाट अग्र्यानिक फुड र हाते निर्मित सामानको फेसन जो चल्न थालेको छ । घुमफिरी रुम्जाटार भनेझैँ फेरि कुनै दिन गाउँले इको टुरिजम वा ग्रामीण पर्यटनको नारा अर्जापेर हूलका हूल स्वदेशी र विदेशी पर्यटकलाई लाम लश्करसहित बोलाउँन बेर छैन । हामी नारा र योजनाका भोका छौं त्यसैले अहिले गाउँ ओझेल भएकोजस्तो भएको मात्र हो उसको महत्व सबै सकिनै लागेको कहाँ हो र ?

मैले यो निबन्ध लेख्दाताका नेपालमा लोकतान्त्रिक गणतान्त्रलाई विवादास्पद विषयका रूपमा उछालेर जनगणतन्त्र र सुधारात्मक गणतन्त्रको कुरा आइरहेछ । छयालीस सालको प्रजातन्त्र आएपछि हामी लेखकलाई एकताका के लागेको थियो भने अब हाम्रो प्रजातन्त्रको अभीष्ट पूरा भयो । अब देशमा गरिब र गरिबी दुवै रहने छैनन् त्यसैले लेखनमा हामी केही वर्ष धीमा भएरै चुपो लागेका थियौं । हामीले त्यतिखेर लेखनलाई रोकेका चाहिँ थिएनौ तर समयको प्रतीक्षा गरी प्रजातन्त्रको चर्तिकला हेरिरहेका थियौं । पन्ध्रवर्षे संसदीय प्रजातन्त्रकालमा जब सांसद खरिद बिक्रीका कुरा र सरकार गठन विगठनमा विधायक हजारहजार नोट तराजुको तुलोमा जोखिएका कुराहरू आए त्यसपछि हामीलाई के लाग्यो भने हामीले फेरि हाम्रा कलममा मसी हालेर कापी ठिक पारे हुने भएछ ।

भन्दाभन्दै बासठ्ठी÷त्रिसठ्ठीको आन्दोलन पनि सफल भयो । हुँदाहुँदा लोकतान्त्रिक गणतन्त्रको घोषणा पनि भएरै छाड्यो । हामी फेरि कलम बिसाएर धान रोप्न छाडी खाजा खान गह्राका आलीमा बसेका खेतालाजस्ता मात्र भएका थियौं । फेरि संविधान निर्माण र स्थायी शान्ति अनि तार्किक निष्कर्षमा मेरा गोरुका बाहै्र टक्का भन्ने परिस्थितिको पुनरागमन भएर गयो । अहिले हामी कलमका सिपाहीहरूलाई के लाग्दैछ भने हाम्रो लेखनको फेरिफेरि माग हुन लागेको छ । हामीले आफ्ना दिमागलाई भावनाको आरनमा अर्जापेर समाजिक पाइनमा चोपल्ने दिन फेरि आउँन लागेका छन् । जबसम्म हामी बसेका गाम ठामका मानिसहरूमा चैनको निद्रा र आरामको गाँस्न खान पाउने स्थितिको पूर्वाभास हुँदैन तबसम्म हामीले अक्षरका बिस्कुनलाई घरि पूर्व चलाइरहनु पर्ने रहेछ घरि पश्चिम फर्काइरहनु पर्ने रहेछ ।

रोगी भएसम्म औषधीको महत्व रहिरहन्छ । भोको भएसम्म भोजनको आवश्यकता परिरहन्छ । नाङ्गो देखिएसम्म लुगाको खनखाँचो होइरहन्छ । हो त्यसै गरी मानवीयताको खडेरी परेका बेलासम्म हामीले अक्षरको भारी बिसाउन कहाँ पाउँछौं होला र ? समाजका घाउमा अँझै खाटा बसेका छैनन् त्यसैले हामीले मलम लगाइरहनु पर्छ । मानिसका मनमा भएका आग्रह, विग्रह र पूर्वाग्रहका भ्वाँङहरू अँझै वारपार गर्ने गरी देखिरहेका छन् त्यसैले हामीले ती भ्वाँङलाई अतुल सिर्जनाले टाल्ने प्रयत्न गरिरहनु पर्छ । अँझ पनि दिन सामान्य भएका छैनन् । जस्तो शासन र शासक आए पनि आखिरमा त्यसले मानिसको सुख र अमनचैनलाई महत्व दिनुपर्ने हो । यदि त्यस्तो नभएसम्म देखेको कुरा लेख्ने हो । आखिर स्रष्टाको काम त सृष्टि गर्ने हो ।

शब्दलाई फुल्याएर, पदलाई मिलाएर, वाक्यलाई खेलाएर जे जसरी भए पनि हामीले गर्ने भनेकै अक्षरखेती हो । हामीले चलाउने भनेकै अक्षरको बिस्कुन हो । हामीले निफन्ने भनेकै अक्षरको पवटा र भुस हुन् । हामी अक्षरकै कुनिउँ बनाएर अक्षरकै दाइँ हाल्छौं । हामी अक्षरकै बिटा बाँधेर कान्ला र बारीका पाटामा तिनैलाई राख्छौं । चाहनाका धन्सारहरूमा हामी अक्षरलाई नै प्रत्येक मंसिरमंसिरमा भित्र्याउँछौं । आखिर हामी लेखक न हौं । हाम्रो काम चेतना प्रशारण हो । जबसम्म चारैतिर अँध्यारैअँध्यारो रहन्छ तबसम्म हामीसँग भएका प्रकाश कोरल्ने चेतनालाई आफ्ना अन्तर्हृदयका पत्रपत्रबाट निष्पक्षरूपमा निकालिरहने छौं –अक्षरका माध्यमले ।

शास्त्रमा भनिएको छ –न क्षर, अक्षर अर्थात् क्षति नहुने वस्तु हो, अक्षर । अनि मानिसको समूल दुःखको अन्त्य नभएसम्म अक्षरको खेती अनवरत चलिनैरहन्छ, भइनैरहन्छ । निरन्तर निरन्तर अक्षर खेती चलायमान भइरहन्छ ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *