Skip to content

लम्बेतान यात्राका एकाध डोबहरू


बिहान मिर्मिरेमा डाँडामाथि नपुग्दैको घाम समात्ने बाल्यकालको इच्छाजस्तै अभिलाषा सङ्गाल्दै निकै उल्लासित मन र हलुका पाइला लिएर उकालिँदै थिएँ म । मेहनत, पसिना, थकाइ र स्फूर्तिका साथ उकालिँदा लाग्यो, जीवनको आनन्द यसमै छ । एउटा भरोसाले रसायो भित्री आँत ।

चारखुट्टे फेदीमै छोडेर आफ्नै खुट्टाका भरमा उचालिँदै गर्दा शिखरसँग दाँजियो मन । संसारका अग्ला शिखरसँग दाँजिन पाउँदा मेरो मनमा पनि अन्नपूर्णा, धवलागिरि, नीलगिरी र माछापुच्छ्रे उभिए । हिमाली उचाइमा रक्तिम आभा चुलियो । त्यो आभाको उज्यालो हृदयमा पनि सञ्चार भयो । हृदय उज्यालिँदा ओठ चल्मलाए– मेरो प्यारो भूगोल, मेरो सुन्दर आँगन, मेरो किशोरावस्थाको क्रीडास्थल । लाग्यो, यही भूगोलको अनुहारमा मेरो खुसी फक्रिरहेछ । क्यामेरामा बचत गर्न खोजेँ खुसी फक्रिएको भूगोलको उज्यालो । अनि फेवाको मोहक स्पर्शले रोमाञ्चित भएँ ।

अर्काको धुरी चढेर हिमालबाट निस्केको रक्तिम सूर्य नियाल्दै थिए केही विदेशी । मभित्र भने स्वदेशप्रेम र गौरव छचल्किँदै थियो, फेवातालमा परेको माछापुच्छ्रेको छाया मनमा पनि टल्कँदै थियो–

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकैको पोखरा नै रैछ !

सराङकोटबाट मज्जाले हेरियो पोखरेली सेरोफेरो र हिमाली सौन्दर्य । तल फेवाताल, फेवाको शिरान हर्पन खोला, हर्पन खोलाको उद्गम भदौरे, अनि, … महेन्द्र गुफा, पातले छाँगो, विन्दवासिनी मन्दिर, बन्दै गरेको अन्तर्राष्ट्रिय विमानघाट, … ।

हिमाली टाकुराबाट रक्तिम रश्मी फैलिएको हेर्न पर्खिबसेका जापानी युवती भेटिए । फोटो खिचिदिएको बदलामा ‘आरिगातो गोजाइमस्ता’ अर्थात् जापानी भाषामा धन्यवाद भन्दा तिनीहरू होली खेलेर रङ्गिएका तरुनी जस्ता भए । फोटो खिचिदिने केटीको उज्यालो चेहरा र फेवाको सङ्लो पानी टल्किरहे आँखामा । मैले निष्कर्ष निकालेँ– निकै राम्री रहिछे त जापानी केटी ।

ऊ कस्ती थिई त ! हिमालको दर्पणमा धेरैबेरसम्म देखियो एउटा टलक । चञ्चल मनमा धेरैबेरसम्म वेगिइरह्यो एउटा हलचल ।

ऊ घामको रक्तिम झुल्कोले नुहाएकी हिमचुली जस्ती थिई । ऊ नीलसागरमा भेटिएकी मोती जस्ती थिई । ऊ पूर्णिमाको मधुर प्रकाशमा झलमलाएकी जूनकी ज्योति जस्ती थिई ।

हिमालसँग दाँजिएर उचालिएका उसका अङ्गप्रत्यङ्ग हेरेर लोभिँदै मैले उसलाई क्यामरामा आफ्नो बनाउन खोजेँ । बैँशालु परदेशी केटीसँग उभिँदै हिमालजत्तिकै अग्लो भएर ऊसँग खिचिन चाहेँ । ऊसँग उभिँदा म पनि कम्ती देखिइनँ । युवावयका आफ्ना प्रेमकथाले उसलाई निथु्रक्क पार्दै हिमाल नियाल्न चाहन्थेँ । उसले मेरो माया र मुस्कानको मृदुल भाषा बुझे पुग्थ्यो जिन्दगीभर । म मनमनै कल्पँदै थिएँ, तर समयले व्यवधान खडा गर्‍यो । हामी बेनीसम्म पुग्ने ताकमा थियौँ । मैले नचाहेरै हात हल्लाएँ त्यो उचाइलाई, अनि त्यो जुनेली पूर्णिमालाई ।

सिमपानी छोडियो । बिकमको परीक्षाताका डेरा बसेको घर कुन थियो खोइ हेर्दाहेर्दै अगाडि हुर्रिएथ्यो गाडी । त्यो घरकी एक्ली छोरी अब त अर्कैसँग अनुबन्ध भइसकिहोलिन् । तिनले दिएको मृदु मुस्कानको झझल्को आइरहन्छ अँझै । सम्झनाका तरेलीसँग जिस्किँदै विगतसँग एकैछिन सम्वाद गर्न मन लाग्यो । उनको तेजस्वी मुहारको धारिलो सम्झनामा टोलाउन मन लाग्यो । शून्यताले रन्थनिएका अङ्गप्रत्यङ्गमा एकछिन भए पनि उनले एउटा रोमाञ्चक अनुभूति दिइन् । सामान्य चिनजान भएका हामी छुट्टिनु कुनै अस्वाभाविक थिएन । त्यो स्वाभाविकता त्यति भयानक भएर मेरो घाँटी निमोठ्न नआउनुपर्ने हो । शायद कमजोर मन फेला पारेपछि छिरिहाल्छ माया नामको क्रुरता । म छटपटिएको छु उनको अनुपस्थितिले उब्जाएको त्यही क्रुरताबाट । म तड्पेको छु उनको उपस्थितिको झझल्कोले ।

विगतले मलाई छोडेर धेरै अगाडि निस्किएजस्तै समयले सुइकुच्चा ठोकेर डाँडो काटिसकेछ । तर, गाडीको गतिभन्दा बढ्ता दौडिरहेछ बेचैनी मनभित्र । सोच्छु, समयले आफ्नो प्रवाहको किनारमा पाहाझैँ पछारेको छ मलाई । मूलधारबाट छुटेको छु म । आशावादी पनि छु, समयको धारले एकदिन फेरि फर्काउला नि प्रवाहमै ।
हेम्जाको फाँट सकिएर धम्पुस जाने बाटो विछोडियो । नौडाँडा काटेर लुम्ले पुगियो । सुन्दर बस्ती, वन र रसिला डाँडा थुम्काहरू आइरहे । तिनीहरूको मिलाप देख्दा लाग्यो, राजनीतिले प्राकृतिक मेलमिलाप अनुसरण गरे कति सुन्दर बन्दो हो यो मुलुक ।

विगत सम्झँदै टोलाएको रहेछु, खोटाङमा जन्मेर बसोबासका लागि काठमाडौँसँग सम्झौता गरेका सुवाशचन्द्र राईको आवाज सुनियो– ‘पैसा र वैँश हुने मान्छे बस्ने ठाउँ रहेछ यो ।’ पोखरेली हावापानीले संतृप्त घनश्याम भण्डारी गमक्क मस्कनुभयो त्यो सुनेर । म झन् पहिल्यै ठहरै भएको थिएँ घत लागेर ।

डिमुवा पार हुँदा देउपुर जाने बाटो सोधेँ मैले । परेली गर्न छिमेकीको गोरु किन्न जाँदा त्यही गोरुको सिँगौरी चोटले बित्नुभएको थियो रे मेरा हजुरबा देउपुरमा । अल्पकालमा बितेका आफ्ना बुवाको शोक र सम्झनाका अनेक कुरा धेरैपटक सुनाउनुभएको छ मेरा बुवाले । चौध वर्षको केटौले अवस्थामा बाबु बितेपछि काइँलो छोरो भए पनि घर व्यवहार धानेर परिवारलाई निर्वाहको साँघुबाट पार लगाउन ठूलै परिश्रम गर्नुपरेको थियो रे मेरा बुवाले । जीवनको उत्तरार्धतिर धकेलिनु भएका मेरा बुवालाई सम्झेर भक्कानिन्छु । सुनिदिए कहिल्यै नसकिने उपदेश मिश्रित बुवाका अमृत वाणी सुनेर बस्न पाए । आमाबुवाको सान्निध्यको सम्झनाले हुरुक्क पार्छ । बुबाले यस्तै प्रसङ्गमा सुनाएको त्यतिबेलाको गीत सम्झेर खपिनसक्नुहुन्छ मलाई–

दाइ लाहुर ठूल्दिदी घर भाइ सानो आमाको विलाप, … ।

नयाँपुल पार भएर कुश्मा, बागलुङ हुँदै आइपुगिएछ बेनी । आफूले देखेका वनपाखा, चिनेका मान्छेहरू र तिनको सम्झना आउने कामहरू ओहोरदोहोर गर्छन् विगतदेखि वर्तमानसम्म । तीसँगको मौन सम्वाद पुनरावृत्त भयो । मलाई थाहा छ, ती नबोले पनि तिनका मनमा उर्लिरहेछ कालीगङ्गा । तिनको परेली–धाराको हल्काले भिजेको छु म लुछुप्प । तिनको हृदयमा डुबुल्की मारेर संतृप्त पनि भएको छु धेरैपटक । दाजुभाइ विदेशिएर विरक्त तिनको कथा कोर्न सके गतिलै साहित्य बन्दो हो । बोक्रे साहित्यले भने तिनका घाउमा झन् नूनचुक छरेको होला । लाहुरे जीवन गाथामा मात्र चित्रित इतिहासले तिनको पहिचान र मर्मलाई झन् धुलिसात् बनाएको त छैन ? म झन् मर्माहत भएथेँ ।

जीवनमा पहिलोपटक बेनीमा युद्ध देखेको थिएँ मैले । भयानक थियो त्यो युद्ध । विगत सम्झँदै वर्तमानका एकाध अनुहार नियालेँ । मेरो हृदयमा बिझेको त्रासद युद्ध तिनको अनुहारको ऐनामा पनि देखिन्थ्यो अझै ।

मैले भोगेको उही बेनी खोज्दै हिडेँ । न भेट्टाएँ नयाँ रुपमा, न देखियो पुरानै स्वरुपमा । आधुनिकता मिसिएर झन् विदिर्ण भएछ त्यसको रुप । थुप्रिरहेको फोहरमैला, भत्किरहेको आस्था र विश्वास, बगिरहेको शैली र संस्कार तथा भाँच्चिइरहेको आत्मीय सम्बन्धले झन् बिथोले मलाई ।

म त अकमक्क परेँ । चिने पनि बोल्दैनन् मान्छेहरू खुलस्त । बोले पनि खोल्दैनन् छातीका घाउ सर्लक्क । शायद अनेक शंकाले खाएको छ तिनलाई खर्लक्प । भत्किएको मात्र छ सर्वत्र । गरिबको दिन फेर्नेछौँ भन्नेहरू कहाँ हराए होलान् अचेल ।

मेरै विगतसम्म पुगेर जोडिइरहे यात्राका हरेक दृष्य । म्याग्दी, मोदी र काली भएर सुसाइरहे वेदना । गरिबी, अशिक्षा, भोग, रोग र पछौटे भएर चल्मलाइरहे बस्तीहरू । शान्ति र समृद्धि पाएर कहिले तङ्ग्रिएलान् यी बस्ती ? आफैभित्रको करुण क्रन्दन सुनेर बेस्सरी तड्पिन्छु म । मसँग ठोक्किन आइपुगेथे कालीको सुसेलीका अनेक सुस्केराहरू ।

यस क्षेत्रका मानिसको चालचलन, रहनसहन, मेलापर्व र तिनले लगाएका गुन सम्झेर म टोलाइरहेथेँ । कर्णालीजस्तो दुर्गम बाँचिरहेको पर्वतको बनबढेमा औषधोपचार नपाई मृत्युको मुखमा पुगेर गाउँलेको मायाले पुनर्जीवन पाएर फर्केको आफ्नै विगत सम्झेँ । म्याग्दी खोला र काली किनारको भेलमा उर्लेको धमिलो बर्खाको अनुहार सम्झेँ । जागिरको सुरूवात गर्दै पथ्थरिला समस्यालाई खालि खुट्टाले छिचोल्दै बाँचेको विगत सम्झेँ । दूर क्षितिजको बिसौनीको भरोसामा उक्लिरहेको थिएँ जीवनको उकालो । आफू जन्मे खेलेको ठाउँ भएर होला यी भीरपाखा पनि आत्मीय लाग्छन् मलाई ।

‘बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाली रूमाल …’ एउटा मधुर स्वर लहरीले पछ्याएझैँ लाग्यो मलाई । बैँशालु वयमा परेलीले हान्ने र मुस्कानले व्युँझाउने गाउँले तरुनी मेरैछेउमा उभिएझैँ लाग्यो । अधीरतापूर्वक हेर्न खोजेँ, सुन्न खोजेँ तिनीहरूलाई । सराङकोटमा भेटिएकी जापानी ठिटीभन्दा कता हो कता सुन्दर थिए ती नवयौवनाहरू । झरनाको छाँगासँग गुन्गुनाएको बतासको गीतजस्तो थियो तिनको सुसेली । सिँगारभन्दा झन् सुन्दर लाजले लत्रेका थिए तिनका परेली । प्रेम र समर्पणमा जीवन दिने चखेवीको जस्तो थियो तिनको चाल । तब आकासको जून र धर्तीको सुनभन्दा मायालु राग अलाप्ने चखेवी सुन्दर लाग्यो मलाई । चखेवी माया लाएर, माया गाएर साथ दिन्छे जीवनभर, साथ छुटे बाँकी जिन्दगी झोक्राएर बस्छे मायाको सम्मानमा । मेरो निधारको जस्तो दाग लागेको चन्द्र मुहार पनि बिर्सिसकेको थिएँ मैले । म मेरी चखेवीको मायामा एकोहोरिएको रहेछु ।

पर्वतमा जन्मेँ । पर्वतको लेखफाँट तथा म्याग्दीका ओखरबोट, शिखघारा र गुर्जा गाउँमा जागिरे भएर बिताएँ एकदशक । ती दिनहरू सम्झदा लाग्छ, प्रत्येक पाइलामुन्तिर भूकम्प बोकेर हिँडेथेँ । तहसनहस गर्न खोज्ने भूकम्पका तरङ्गबाट उर्जा लिएर कुद्न सिकेथेँ । अनेक ज्वालामुखीको तात्तातो लाभा भएर उछिट्टिएथेँ । मान्छे कुल्चने सडकदेखि तर्सँदै छेउ लागेर हिँड्ने बटुवा भएको छु अचेल । सडकको पीचजस्तो जीवन पनि भोगेको छु । खिया लागेका पुर्जाले कम गति र बढी बेचैनी दिइरहेका छन् जिन्दगीलाई । तैपनि म कुदिरहेको छु । जेहोस्, म जिन्दगीजस्तो जिन्दगी बाँचिरहेको छु । मेरो आफ्नै जिन्दगी बाँचेको छु ।

पुगियो गलेश्वरस्थित रघुगङ्गा र कालीगण्डकीको दोभानको ठूलो शिलामाथिको महादेवको मन्दिरमा । वारपार गरियो मोदी खोलामाथिको विश्वको अग्लो झोलुङ्गे पुल । हेरियो कुश्मा र बलेवा जोड्ने कालीमाथिको केबुलकार । डहरे देउरालीलाई टाढैबाट नमन गरेँथेँ । काली किनारको सहश्रधारा नियाल्दै विगतको स्मरण गरेँथेँ ।

घाम डाँडामा टेकिएपछि अँध्यारोले उज्यालो निल्दै गर्दा केहीबेर चलेथ्यो सुनसान साँझको साम्राज्य । मौका पारेर चिर्बिराएथे अँध्यारामा रमाउनेहरू । सोचेथेँ, दोसाँधमा उभिएको यो साँझ सङ्क्रमण हो । अपेक्षित छ रातपछिको सुन्दर बिहानीको । चाह छ, सुन्दर बिहानीले हुर्काएको कर्मशील दिनको ।

रातको रोमाञ्चक आनन्दमा हराउन चाहन्थेँ म । रूमानी सपनासँग लहसिएर बितेका घडीपला गनेर बचेखुचेको खुसी सखाप हुनदिने पक्षमा थिइन म ।

समयको हुँकारले झन् प्रबल भएका मेरा पाइलाका डामहरू पक्कै छन् यी पाखापखेरामा । तिनलाई आकार दिँदै शरीरमा शक्ति सञ्चार हुँदासम्म गरिरहन चाहन्छु उकालो ओरालो । मनमा एउटा दृढ प्रतिज्ञा भने उर्लिरहेथ्यो ज्वारभाटा जसरी ।

अर्कैको खुट्टाका भरमा कुदिरहँदा फर्केर आइपुगिएछ पोखरा । अँध्यारोबाट उज्यालोतिर निस्कने प्रयास जिन्दगीको पहिलो शर्त नै हो ।

पोखराबाट सराङकोट उक्लँदै लुम्ले, कुश्मा र बेनी हुँदै गलेश्वरसम्म नियालेर फर्कँदा एउटा साहस र सन्तोषको सुसेली निस्किएझैँ लाग्यो आफैभित्रबाट । विगत खोतलेर वर्तमानका थुप्राबाट एकपल रमाएझैँ लाग्यो त्यसैसँग । मुलुकमा चलिरहेको अनेक झमेला, आफ्नै घरको भाँडभैलो हेर्ने आधुनिक नीरोहरूको मेला र गन्तव्य बिर्सनेहरूको रमेलामाझ लाचार उभिइरहेझैँ लाग्यो गरिब गाउँबस्ती नियाल्दा भने । फेवा किनारमा बोतलबाटै पिउँदै साथीसँग रौसिइरहेका विद्यार्थी डाक्टरका चालचलन देखेर भने आफ्नै सन्तानको चिन्ताले सतायो नराम्ररी । धेरैबेरसम्म अन्धकारमा निसास्सिएर मनको उज्यालोको भरमा पोखरेली आँगनमा निस्किएथेँ जसोसतो ।

विगत र वर्तमानलाई भोलिको बलिवेदीमा चढाएर निश्चिन्त हुन कहाँ सकिन्छ र ? अनेकौँ पाइलाले बनेको जीवनपथको लेखाजोखा गर्न बाँकी नै छ । पोखरादेखि बेनीसम्म छरिएको एकाध डोबहरू मात्र नियालेको थिएँ मैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *