“किन यस्तो हतार?”
“चपलता नै ममा निहित विशेषता हो, यसमा अरूले टाउको दुखाउनु नै पर्दैन।”
“उफ् यो अभिमान!”
“तिम्रो विशालता, सूर्यको ताप, अनि हिउँको चीसोपनलाई के भन्छौ त? अनि यही चपलतामा त मेरो अस्तित्व छ। तिम्रो विशालतालाई ढाक्ने, सूर्यको तेज र तापलाई रोक्ने सामर्थ्य कसमा छ? मरुद्यानको हरियाली कसबाट सम्भव छ?”
“तर आकार-प्रकार पनि त केही हो नि। क्षणभरको अस्तित्वमा कसले पो विश्वास गर्छ र? हो मेरो विशालताकोसामु तिमी केही पनि होइनौ तर पनि म चाहन्छु तिम्रो अस्तत्व लामो समयसँग रहोस। आऊ हामी दुई प्रणय-सूत्रमा कालान्तरसम्मको लागि एक हौँ।”
उसले सुने नसुने झैँ गऱ्यो र अभिमानले मत्त हुँदै अगाडि बढ्यो – केही बेरमै हुइँकिएर आएको वायुको वेगले उसलाई छिन्न भिन्न पाऱ्यो र उसको अस्तित्व शून्यमा विलिन भयो।
२०७४ आश्वीन २४
