Skip to content


“ए तुच्छ प्राणी, सरकारलाई देखेपछि झुकेर सलाम गर्नु पर्दैन?” सिंहले अघि हिँडिरहेको खरायोलाई हुँकाऱ्यो।

“क्षमा पाउँ महाराज, मैले हजुरलाई देखिनँ,” खरायोले क्षमा याचना गऱ्यो। मनमनै उसलाई सिंह देखी औधी रिस उठिरहेको थियो तर शक्तिको अगाडि उसको के लाग्नु। रिस जायज पनि थियो – अनाहकमा ऊ जस्ता हज्जारौँ खरायाहरू त्यो क्रुर सिंहको भोजन बनिसकेका थिए। उसलाई डर थियो कहीँ अर्को पालो उसको नहोस् त्यसैले ऊ हात जोडेर झुक्दै हलचल नगरीकन उभीइरह्यो। सिंह उसका पछि लागि हिँडने स्याल/व्वाँसाहरूको लावा लस्करका साथ अगाडि बढ्यो। अगाडि बढ्ने क्रममा स्यालहरूले खाउँला झैँ खरायोलाई हेर्दै गए। डरले खरायोको सातो पुत्लो उड्यो।

मुस्किलसाथ खरायो आफ्नो बासस्थान पुग्यो र लामो सुस्केरा छोड्यो। ऊ मनमनै यो सिंहसँग बच्ने उपायहरू सोच्न थाल्यो। जुन उपाय सोचे पनि त्यसको अन्त्य उही सिंहको शक्तिका अगाडि सकिन्थ्यो। एकताका एक विशाल हात्तीले केही अरू जङ्गली प्राणीहरूको साथ लिएर जङ्गल राज चलाएको सम्झना भयो उसलाई, तर सिंह, र उसका मतियारहरूले अनेक प्रपञ्च रची फेरि शासनको अधिकार आफैँमा फिर्ता लिएको थियो। त्यो हात्तीको सम्झनाले उसको मनमा झिनो आशा पलायो – ऊ हात्तीको बासस्थानतिर उफ्रँदै हिँड्यो।

हात्ती आफ्नो बासस्थानमा पुगेपछि उसले हात्ती समक्ष गुनासो गऱ्यो र फेरि पनि जङ्गली प्राणीहरूको साथ लिएर राज गर्नको लागि अनुरोध गऱ्यो।

हात्तीले खरायोलाई जङ्गलको वर्तमान बस्तुस्थितिको बारेमा सम्पूर्ण रूपमा अवगत गरायो। शक्ति केन्द्रित राज्य व्यवस्था भएको जङ्गल राजमा उसको केही नलाग्ने बतायो। तर एक सुनौलो आसाको किरणको रूपमा शक्ति केन्द्रित राज्य व्यवस्था समाप्त भएको र जङ्गलका सम्पूर्ण प्राणीहरूको हक-हितको सुनिश्चितताका साथ अर्को राज्य व्यवस्थाको सुरूआत गर्नको लागि जङ्गलमा छिट्टै नै नयाँ चुनाउ हुने जानकारी खरायोलाई दियो। हुन लागेको चुनावसम्म सिंहकै राज-काज चल्ने अनि चुनाव सम्पन्न भए पछि राज्य-व्यवस्था परिवर्तन हुने जानकारी उसलाई दियो। हात्तीबाट यो समाचारबाट प्रफुल्लित हुँदै खरायो आफ्नो बासस्थान पुग्यो र सुन्दर राज्य व्यवस्थाको कल्पना गर्न थाल्यो।

घर पुग्ने बितिक्कै कागले खबर ल्यायो – “राज्य व्यवस्थामा सन्तुलन कायम राख्न सिंहले आफ्नो अघि पछि हिँडने फ्याउरा, स्याल, र व्वाँसाहरूको सङ्ख्या बढाउँदैछ।”

२०७४ आश्वीन ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *