तपाईँ आउँदै गर्नुस् है
म अलि हतारमा छु !
तपाईँको मन्दिर जाने बाटो एउटै परे पनि
मेरो बस्ती जाने बाटो एउटै परे पनि
मलाई अलि हतार छ
तपाईँ आउँदै गर्नुस् है !
मेरो मन्दिरका लागि सर्जाम छिटो पुर्याउनुछ
तपाईँको मन्दिरका देवता त पर्खिन्छन् होला
मेरो मन्दिरकी देवीलाई पर्खाउन चाहन्न
उनको महानताको पूजा गर्न
फूलपाती होइन
अक्षता अवीर पनि होइन
ममताको प्रसाद लिएर जाँदैछु
औकात अनुसारको नैवेद्य लिएर जाँदैछु
सबै खाद्यबस्तु नैवेद्य भन्छिन उनी
चाहे कोदोको ढिँडो वा खोलेसाग नै किन नहोस्
जुन मेरो पसिनाले आर्जिएको हुन्छ ।
साइड दिनोस्
मलाई अलि हतार छ
तपाईँको मन्दिर त
सिमेन्ट र फलामले बनेको करोडौँको होला
मेरो मन्दिर त पातीको बार र खरको छानोको छ
हुरी लागेथ्यो बिहानै
भित्ताहरू भत्किए कि
टालटुल पार्न हैरान भएहोला उनलाई
तपाईँ बिस्तारै आउँदै गर्नुस् है !
म
मेरो मन्दिर र मेरी देवीको रक्षार्थ
लिएर हातमा
अलिकति कोदोको पिठो
हतार हतार जाँदैछु
पोकोमा अलिकति लसुन, प्याज र खुर्सानी पनि छ
उनलाई मनपर्ने गोलभेँडा र टिम्मुर किन्न त
पैसै पुगेन
साँच्चै,
तपाईँ त साह्रै तर्सनुभयो
मेरो पूजा सामग्री बिटुलो सम्झेर पो हो कि ?
वा
मेरो मन्दिरप्रति विश्वास लागेन तपाईँलाई ?
मेरो देवी त जिउँदी देवी हुन्
नबोल्ने ढुङ्गाका देवताका
पूजा सामग्रीले हुँदैन उनलाई
हिजो बाछिटाले भिजेर रुघा लागेथ्यो
पियाउनु छ खुर्सानी र लसुनको झोल
हिजो बेलुका कनिकाले मात्र छाक टरेथ्यो
भोकले गाले होला उनलाई
अलि बढी नै बेर काम गरेँ आज
उनी प्रतिक्षामा होलिन्
त्यसैले,
म अलि हतारमा छु
तपाईँ आउँदै गर्नुस् है !
प्रकाशित : देश सधैँ रुने छैन, कविता सङ्ग्रह, २०५९
