Skip to content

कुरा खेलिरहन्छ मनभरि


चैत बैशाखको वहारसँगै
सूर्य आउला भनी
छ महिनादेखि प्रतिक्षारत
हिउँले कक्रक्क जमेका
उत्तर फर्केका
देउरालीका सेपिला खोल्सा छिचोल्दै
मैले हिँडेका चिसा बाटाहरू
उस्तै होलान् कि विकट अँझै
कुरा खेलिरहन्छ मनभरि !

बृद्ध भत्ता लिन लाम लाग्दा
बेहोस भै ढलेका जङ्गे बाजे
स्कुलका लागि जम्मै अर्पने
उपल्लोटोलका सुबेदार गजे
मर्दापर्दा छिमेकीलाई
सहयोग गर्ने कलाधर काका
गाउँघरका आस्थाका केन्द्र
तल्लोटोलका लिलाधर मामा
समय चक्रमा घुमी डाँडामुन्तिर खसे पनि
मेरो मनका ती चिरस्मृत अनुहारहरू
उस्तै होलान् कि सबैका सम्झनामा अँझै
कुरा खेलिरहन्छ मनभरि !

ढुङ्गे भर्‍याङ उक्लीउक्ली
पछ्याउने शिखकी फुच्ची रूबी
काकबेनीको एकदिनको बसाइमा
झ्याम्मिने भोटे छिमी टोका
ओखरबोटको विराट बेनीकी दीपा
लेखफाँटको बेग्बे सामाखुसीकी सीता
वर्षौं पहिले मदेखि
विछोडिएका ती बालअनुहारहरू
चारपाँच महिना नदेखेकी
आफ्नै घरकी करुणा करु
उस्तै होलान् कि सुकोमल र चञ्चले अँझै
कुरा खेलिरहन्छ मनभरि !

मैले टेकेका विकट बस्तीहरू
मैले भेटेका समाजका हस्तीहरू
मलाई पछ्याइरहने ती बाल अनुहारहरू
सम्झनाका चिरस्मृत लहरहरू
मलाई कतै फेरिन नदिई
‘म’ बनाइरहने
जीवन भोगाइका अनगिन्ती कहरहरू
जब फुकाएर बिच्छयाउँछु एकान्तमा
तब मलाई लाग्दछ–
बिर्साइको अँध्यारो छिचल्दै
उदाइरहने सम्झनाको उज्यालोले नै
चल्दोरहेछ जीवन अनवरत ।

रचना समय र स्थान ︰ २०६४ बैशाख २५, घोराही, दाङ
प्रकाशित ︰ अनमोल पुरस्कारहरु, कविता सङ्ग्रह, २०७२
मझेरीमा पहिलो पटक प्रकाशित -2017-11-06 06:54:35 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *