Skip to content

पाइखानाको ढोका बन्द गर्नुपर्छ भनिरहने
भन्दा पनि नमानेमा आफैले गरिरहने
फोहोर सफा गर्नुपर्छ भनिरहने
भनेर पनि नमानेमा आफैले गरिरहने
गरिरहेछ , उसले एकोहोरो गरिरहेछ

तर समाजलाई यसको वास्तै छैन
तर उसलाई समाज सुधार्ने वास्ता छ
भन्नेले भन्दै गर्छन् “ काग कराउँदै गर्छ ।
हामी सेताहरुलाई के का मतलब ?”

तर ऊ सेतो हो
निश्छल सेतो हो
पानी हाँसजस्तै फरक छुट्याउन सक्ने खालको
ऊ सोच्छ , गर्छ हेराइले , अनि राम्रो काम गर्छ
अरुको बहकाउको सुनाइले होइन
अरुको बहकाउको मनाहिले होइन
बरु अरु जम्मै काला छन्

मन कत्ति सफा छ हगी ! हेर त उसको
समाजले उसलाई पागल ! महापागल ! भने पनि
आफ्नो कर्तब्यमा डटिरहेको छ
आफ्नो कर्म गरिरहेको छ
आफ्नो काम गरिरहेको छ
कोहीले भन्न आउँछन्
“तिमी एकजनाले मात्र गरेर हुने हो र ?
सबैले गर्नुपर्छ अनि हुन्छ ।”

तर त्यस्तो भन्नेहरुले नै केही गर्दैनन्
उसले “किन गर्नु नभएको नि तपाईंहरुले” भन्दा
“ म एकजनाले गरेर के नै हुन्छ र ?
बरु तिमीले पनि नगर
केही हुँदैन नगर तिमीले पनि”
यसरी उसलाई पनि भट्काउन खोज्छ समाज
तर ऊ कदापि भट्किन्न
कदापि बिचलित हुन्न
अटल छ ऊ कर्तब्यमा

त्यसैले उसले कर्तब्य गरिरहेको छ
“हे समाज ! यो खराब हो यो नगर
हे समाज ! यो असल हो यो गर”
तर समाजले “यसले राजनीति गर्यो पो भन्छ
जुन समाज सुधार्न खोज्यो
उसैले उसलाई उठ्न बस्न दिँदैन
फेरि समाजले भन्छ
“विदेशमा हेर त त्यहाँ त यहाँ जस्तो कहाँ छ र ?
त्यहाँ त यो काम ऊ काम भन्दैनन्
अनि पो बन्छ देश ।”

एकपटक के भयो थाहा छ ?
सडकमा पानी बढ्न थाल्यो ढल जाम भएर
यात्रु , बटुवाहरुले लुगा माथि सार्न थाले
अनि बडो सकससँग हिँड्न थाले
गाडीहरु पनि पानी छताछुल्ल पारी अड्काई–अड्काई दौडाइरहे

उसले के गर्यो थाहा छ ?
उसले ढलको जालीमा हात घुसार्यो
अनि अड्केका कसिङ्गरहरु हुर्याइदिए परसम्म
पानी जम्मै सुईय्य खुरुरु ढलभित्र पस्यो
एकै छिनमा पानी जाम हुन छोड्यो
त्यत्तिबेला पनि पागलै बनाए समाजले उसलाई
हाँस्नसम्म हाँसे उनीहरु
कुनै एकजनाले त्यसो तुरुन्त गरिदिएको भए ?
चारघण्टा अघि नै जाम नहुने थियो
त्यसैले देश बनाउन यसरी नै अघि सर
नत्र यसरी नै दुःख पाउलान् सबैले
राम्रो काम ठूलो–सानो हुँदैन
फोहोर सफा पनि हुँदैन
राम्रो काम अरुको भलाइ गर्ने काम हुन्छ

हाय ! समाज
तर उसले स्वदेश मै एकलब्य भएर गरिरहेछ
मलाई लाग्छ ऊ साहित्य हो
मैले उसलाई लेख्नुपर्छ
उसका हेरेक क्रियाकलापहरु लिपीबद्ध गर्नुपर्छ
अरुलाई लाग्दो हो उसले राजनीति गर्यो

तर उसले राम्रोको लागि गरिरहेछ
भलाइका लागि गरिरहेछ
घरमा गरिरहेछ
अफिसमा गरिरहेछ
सडकमा गरिरहेछ

हे जनताहरु !
अब त उसलाई साथ देऊ
अब त चेत
हेर ! हाम्रो देश धेरै पछाडि परिसक्यो
राम्रालाई साथ देऊ , नराम्रो काम गर्दै नगर
गर्नेलाई भएपनि गर्न देऊ
अनि प्रोत्साहन देऊ ती शुभचिन्तकहरुलाई
जो राम्रा कामहरुका लागि डट्छन् , अघि सर्छन्

सक्छौ साथ देऊ
सक्दैनौ खुट्टा नतान
आफ्नो देशलाई स्वर्गभन्दा प्रेम गर
आफ्नो देशलाई स्वर्गभन्दा राम्रो बनाऊ
आफ्नो देशलाई स्वर्गभन्दा राम्रो बनाऊ

२०७१—०१—२४
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं ,
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *