१) जीवनको करिबकरिब उत्तरार्धतिर पुग्नै लाग्दा भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित ‘लेन्स’हरूले सुदूर बाल्यवस्थालाई हेर्दा कस्तो देखिँदो हो, तपाईंका आँखाबाट ?
– बाल्य जीवनका सुमधुर स्मृतिहरू अलौकिक आनन्दमा रुपान्तरण हुँदा रहेछन् । मीठो र अमूल्य वस्तु खोसिएको अनुभव हुँदो रहेछ । भोगाइ भन्ने सन्दर्भचाहिँ उकाली र ओह्राली गरिरहने निरन्तरको एउटा प्रकृया हो जो दोछायाँ बनेर प्रकट भइरहन्छ, जीवनको दसगजामा । कहिले प्राची, कहिले गोधूली, दुवै प्रकारको अनुभूति फरकफरक कालखण्डमा प्रकट भइरहँदा एकप्रकारले दर्दमय सुख प्राप्त हुने रहेछ ।
मीठो सपना जस्तो, सुन्दर कल्पना जस्तो, कुनै स्वर्ण प्रकाशजस्तो सुखद् स्मृतिका मालाहरू बनेर क्षणभरमै चुँडिएछ बाल्य जीवनको, त्यो बहुमूल्य खजाना । अब सहर्याउँछु, अब सँभाल्छु वा अलिकति सञ्चय गर्छु भन्ने हुँदो रहेनछ । बाल्य जीवनको परिदृश्यमाथि केन्द्रित हुन पुग्दा ती क्षणहरूको अलौकिक सुखबोध हुन पुग्छ, यसबेला मलाई ।
२) आम मान्छेहरूको जीवनभन्दा कवि, कलाकार र साहित्यकारहरूको जीवन अनुभूति, ग्रहणशीलता र प्रकटीकरणका कारण एउटै समयमा दुई दुईवटा जीवन बाँचिन्छ भनिन्छ नि ? तपाईंको अभिमत के हुन सक्छ यहाँ ?
– जीवनका बेग्लाबेग्लै पाटाहरू हुन्छन् । समय परिस्थिति बमोजिम नै मानिसका कार्यक्रमहरू बन्दै जान्छन् । सबै मानिसमा संवेदना र अनुभूति हुन्छ । ती संवेदना र अनुभूतिहरूलाई शब्दक्रीडाद्वारा कलात्मक रुपमा सम्प्रेषण गर्न सक्नेहरू कविका उपाधिले विभूषित हुन्छन् । यसैगरी रङक्रीडा र कुची साधना गर्न सफल हुनेहरू कलाकारका रुपमा सर्वमान्य हुने गर्छन् । शब्द र रङमा कवि वा कलाकारको उदय हुँदै आएको छ । यो कवि र कलाकारको जीवन धेरै पाटाहरूमा विभाजित छ । यिनीहरू बोटवनस्पति, चरीपन्छी, कीटपतङ्ग, नदीपहाड, भूतद्रव्य वा प्रकृतिका विविध सौन्दर्यहरूसित सम्वाद जारी गर्दछन् ।
कवि कलाकारको दुनियाँ नै फरक छ । कविता र कलाका पारखीहरूले मात्र पहिल्याउन सक्छन्, यिनीहरूलाई ।
३) जीवनमा कवि भएर समाजमा स्थापित भइएला भन्ने भावनाले सानामा कत्तिको घर गरेको थियो ?
– नदीको लहर र तरङ्गझैँ बग्ने क्रम हो, जीवन । संवेदना र अनुभूतिका तरङ्गमा डुब्दै जाँदा, बग्दै जाँदा कवितासित साक्षात्कार भयो । एउटा श्रेष्ठ जीवन, एउटा असल मानिस बनेर अघि बढ्नु पर्ने आकांक्षा उन्मुख हुने प्रयास गरियो । मैले आफ्ना अभिभावकबाट पाएको ‘स्कुलिङ’ पनि त्यही थियो । कविताका भावभूमिमा प्रवेश गर्ने सन्दर्भचाहिँ स्वत:स्फूर्त सत्ताकै प्रतिफलन हुनु पर्दछ ।
म सानैदेखि भावुक थिएँ । बाबुआमाविहीन जीवन निकै कष्टकर हुँदो रहेछ । मातापिताको प्रेमबाट बञ्चित् म, सधैं द्रवित भइरहेँ, आफैँ आफूसित । समाजमा कवि नै भएर स्थापित हुन्छु भन्ने सोच रहेन । आत्म संवाद गरिरहेँ, आफैँ आफूसित ।
पीडा वेदनालाई प्रकट गर्ने क्रममा अक्षरसित साक्षात्कार भयो, शब्दसित साक्षात्कार भयो । यी अक्षर र शब्दका प्रकाशमा प्राञ्जल भाव र स्निग्ध अभिव्यञ्जनामा तरङ्गित हुँदै गएँछु म ।
४) स्पन्दन र अनुभूतिका तुलनामा माटो केही पनि होइन भनिन्छ पनि, खैर ! त्यो आफ्नो ठाउँमा होला तर तपाईंको जन्म भारतको मणिपुरमा कसरी हुन गयो ?
– माटोको गरिमा महान् छ । स्तुत्य छ ।
माटोको महिमा अपरम्पार छ त्यसैले माटोलाई बहिष्करण गरेर कुनै हवन पूर्ण हुँदैन । स्पन्दन र अनुभूति जीवन हो । जीवनलाई, अत्युत्तम रुपमा सफल र सार्थक तुल्याउन माटोको गरिमामय अविच्छिन्न रुपमा रहेको छ । त्यसैले माटो विनाको जीवन कल्पना गर्न सकिन्न ।
माटो जहाँको भए पनि त्यो पूजनीय हुन्छ, वन्दनीय हुन्छ । माटोमा उवर्रातत्व हुने हुँदा जीवनलाई त्यसको ‘भाइब्रेसन’ भइरहेकै हुन्छ । माटोलाई लत्याउनेहरूले स्पन्दन र अनुभूतिको उपभोग गर्न सक्तैनन् ।
म नेपाली माटोको मानिस हूँ ।
मेरो पिताजीले आफ्नो निजी काम काजका सिलसिलामा मेरी आमालाई लिएर भारतको मणिपुर राज्यमा लैजानु भएको रहेछ । पिताजीले आमालाई लिएर जाँदा म गर्भमा आइसकेको रहेँछु । सोही क्रममा म मणिपुरमा जन्मिएँ ।
म तीन महिनाको भएपछि मेरी आमाले मलाई लिएर उहाँको माइतीमा ल्याउनु भयो । उहाँको माइती पूर्वी नेपालको धरान नगरपालिका अन्तर्गत विजयपुर भन्ने सानो पर्वतीय शृङ्खलामा अवस्थित छ । मेरो लालनपालन, शिक्षादीक्षा मावली बज्यैका वात्सल्यमा भयो ।
यो आकस्मिक घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ! मैले पृथ्वी अवतरण गर्ने क्रम भारतवर्षको माटोमा भएको हो । मेरो जीवनको चेतनाको उद्गम भूमि नेपाली माटो नै हो । तथापि संसारको भव सागरलाई सर्वप्रथम चियाउने अवसर भारतीय भूमिबाट भएको हुँदा, मेरा लागि दुवै वन्दनीय छन् ।
५) घर परिवारको कस्तो संस्कारले तपाईंमा कवित्वको वीज हृदयमा रोपिदिएको थियो र तपाईं कवितापट्टि यसरी गाढा रुपमा लहसिनु भयो ?
– म जुन परिवेशमा हुकिएँ, त्यहाँको संस्कार साहित्यिक–सांस्कृतिक प्रकृतिको थियो । मेरो मावली हजुरबुवा महानन्द सापकोटा, प्रख्यात भाषाशास्त्री हुनुहुन्थ्यो । म उहाँका जेष्ठ्य सुपुत्र(मेरा मामा) जगदीश नेपाली (२००७ सालको क्रान्तिमा उहाँले आफ्नो थर सापकोटा हटाएर, नेपाली राख्नुभएको थियो)कै घरमा हुर्किएको हुँ । जगदीश नेपाली पनि आफ्नो जमानाका राम्रो साहित्यकार हुनुहुन्थ्यो । मामाघरमा पुस्तक र पत्रपत्रिका प्रशस्त थिए ।
पढ्ने लेख्ने वातावरण थियो । सुसंस्कृत मानिसहरूको आवतजावत् भइरहन्थ्यो त्यहाँ । मेरो मामा घरकै वरिपरि प्रसिद्ध दन्तकाली मन्दिर र ऐतिहासिक पिण्डेश्वरको पीठ छ । त्यसबेला ती दुवै मन्दिर परिसरमा पुस्तकालयको राम्रो प्रबन्ध थियो म स्कुले जीवनदेखि नै ती पुस्तकालयहरूमा गएर साहित्यका पुस्तकहरू पढ्ने गर्थें । साहित्यका पुस्तकहरू पढ्ने रुचि थियो मेरो । यिनै रुचि र अध्ययनले लेखनतर्फ खिँचेछ ।
६) अहिलेसम्मका लेखनमा कुनकुन विधामा कति कृतिहरू÷रचनाहरू रचिसकेर ती प्रकाशनका द्वार छिरेर पाठकसामु आए होलान् ?
– एक दर्जन जति कविता, मुक्तक, लेख निबन्ध र गल्पका कृतिहरू प्रकाशित भइसकेका छन् । सम्पादित कृतिहरू पनि एक दर्जनकै हाराहारीमा निस्किसकेका छन् ।
आधा दर्जन जति कृतिका पाण्डुलिपिहरू प्रकाशनका सँघारमा छन् ।
जीवन व्यवस्थित हुन सकेन । तसर्थ जति लेखियो, जे लेखियो तिनलाई राम्ररी व्यवस्थापन गर्न नसकेको अनुभव छ ।
गीतहरू पनि लेखेको छु । एक दर्जन गीतहरू स्वर र संगीतबद्ध भएर आइसकेका छन् । प्रेमध्वज प्रधान, ज्ञानु राणा, रामकृष्ण ढकाल, बालन्द राई, लोहित गोगोईजस्ता गायकहरूको स्वरमा गुञ्जिसकेका छन् –ती ।
७) ‘नेपाली साहित्यको विकासै भएन’ भनेर गन्थन गरिएको छ, यो भनाइप्रति कतिको सहमत हुनुहुन्छ साथै नेपाली साहित्यको हुनु पर्ने जति विकास नहुनुमा कुन्कुन् ‘संस्था’ वा ‘प्रवृत्ति’ जिम्मेवार होलान् ? बिस्तारमा बताइदिनुहोस् न ?
– नेपाली साहित्यको विकास क्रमिक रुपमा अगाडि बढिरहेको छ । नवीन प्रयोग र संभावनाहरू देखा परिरहेका छन् । उत्कृष्ट स्रष्टाको उपस्थिति हुँदै गइरहेको छ । अङ्ग्रेजी भाषामा अनुवाद हुन नसकेर आफैँ आफूसित खुम्चिनु परेको सत्य चाहिँ स्वकार्नै पर्दछ । नेपाली साहित्यलाई विश्व परिप्रेक्ष्यमा पुर्याउने कार्य चाहिँ अङ्ग्रेजी भाषामा अनुवाद गराएर मात्र सम्भव छ । यसतर्फ राज्य पक्षले पहल गरिरहेको छैन । हाम्रा लेखनाथ, देवकोटा, सम, भूपी, रिमाल, बीपी कोइराला, ध्रुवचन्द्र गौतम, तारानाथ शर्मा, दौलतविक्रम विष्ट, रमेश विकल, माधव घिमिरे, सत्यमोहन जोशी, तुलशी दिवस, पारिजात अब्बल दर्जाका स्रष्टा हुन् । यिनीहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन सक्ने हो भने नेपाली साहित्य कति समृद्ध छ र यसको विकासक्रम कुन रुपमा अगाडि बढिरहेको छ भन्ने कुरा सबैकासामु छर्लङ्ग हुने थियो ।
८) भारतीय नेपाली साहित्यकारहरूसँग निकै लामो समयदेखि तपाईंको उठबस, रसोबसो र हिमचिम भएको देखिन्छ । केकति कारणले वहाँहरूसँगको सम्बन्ध सन्निकट भएको हो ?
– भारतीय नेपाली साहित्यकारहरूसित त्यहाँ आवतजावत्का क्रममा परिचय भएको हो । आत्मीय सञ्चार गाँसिएको हो । नेपालबाहिर पनि नेपाली साहित्यका उत्कृष्ट स्रष्टाहरू छन् । तिनका कृति बरोबर पढ्ने अवसर पाएको हुँदा र स्रष्टाहरूसित पनि गोष्ठी, भाषा उत्सवका सन्दर्भहरूमा परिचय गर्ने अवसर जुरेको हो ।
नेपाली जहाँका भए पनि, नेपाली नै हुन् । तीसित हाम्रो जातीय सम्बन्ध छ । साँस्कृतिक सम्बन्ध छ । भाषिक सम्बन्ध छ । नश्लीय सम्बन्ध छ । राजनीतिक भूगोलले फरक पारे पनि नेपालीय पहिचान र प्रथाले, ती हाम्रा सहोदर साइनोमा छन् । तसर्थ तिनले लेख्ने साहित्य र हामीले लेख्ने साहित्य लगभग उस्तैउस्तै हुन्छ । केवल पीडा, वेदनाका स्वरहरू मात्र फरक हुन सक्छन् । विम्ब र प्रतीकहरू फरक हुन सक्छन् । अभिव्यक्तिको सौन्दर्य उस्तै हुन्छ । साहित्य चेतनाको सार्वभौमिकता उस्तै हुन्छ ।
९) साहित्यका कुन विधा प्रति निकै आसक्ति छ ? किन ? बाँकी अरु विधाप्रति अनासक्त हुनुका भित्रि कारणहरू के होलान् ?
– साहित्यका सबै विधाहरू उत्तिकै आकर्षक लाग्छन् । चौतर्फी अनुराग पनि छ । विधाको तुलना हुन सक्तैन । आख्यानको आनन्द आख्यानमै हुन्छ । कविताको मज्जा कवितामै हुन्छ । स्रष्टाको संप्रेषण क्षमतामा निर्भर गर्ने विषयहरू हुन् –यी ।
मेरो लगाव बढी कवितामै छ ।
मैले कविताको आराधना गरेको छु । मेरो आराधना जत्तिकै अरुका आराधना पनि श्रेष्ठ छन् । आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने कुरा सबैको एउटै हुँदैन ।
१०) यहाँका विचारमा ‘सेक्स’ के हो ? दक्षिण पूवी एसियाका समग्र मानिसहरूलेभन्दा हामी नेपालीहरूले यसलाई फरक ढङ्ले ‘इन्ज्वाय’ गरेका छौं कि छैनौं ?
– संसारको सबैभन्दा जटिल र संवेदनशील ‘एम्बुस’मा परेको अतुलनीय सौन्दर्यका नाम हो ‘सेक्स’ । कुशलतापूर्वक उपभोग गर्नेहरूले यसको स्वर्गीय स्वरुपलाई प्राप्त गर्न सक्तछन् । जसले विवेक र कौशललाई प्रयोग नगरी, केवल उपभोग मात्र गर्न खोज्दछन्, तिनले ईश्वरीय आनन्द हासिल गर्न सक्तैनन् ।
तसर्थ सेक्सरुपि ईश्वरीय वरदान्लाई उपयोग गर्न असमर्थहरू सधैं दु:खी हुन्छन् । तपाईंले दक्षिण पूर्वी एसियाका समग्र मानिसहरूले यसको ‘इन्ज्वाय’ गर्ने सन्दर्भमाथि बहस छेड्नुभयो । म यसबारे दक्षिण पूर्वी एसियालाई मात्र आधार मानेर केही भन्न चाहन्न । समग्र विश्वकै सन्दर्भ उठाउन चाहन्छु । चेतना, विवेक र आदर्शका पनि मापदण्डहरू देखा पर्दछन् ।
यी मापदण्डहरूलाई निर्वाह गरेर सेक्सको ‘चैतन्य’ लाई, शालीनतापूर्वक प्रकाशन गर्नेहरूले यथार्थमै ‘इन्ज्वाय’ गरिरहेका हुन्छन् । ‘सेक्स’ पनि साधना हो, आराधना हो ।
११) तपाईंको दृष्टिकोणमा नदेखिने भगवान्का माध्यमबाट टाठाहरूले धनसम्पत्ति, यौन र अन्य सुखहरू पनि एक प्रकारले शोषणै गरे अनुसार लिइरहेका छन् । यो ‘हिन्दूइज्म’ प्रतिको घोर अपमान होइन र ?
– देखिने भगवान् यत्रतत्र हुँदाहुँदै नदेखिने भगवान्को अस्तित्वमाथि चिन्ता र प्रश्न गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन । तपाईंले भनेजस्तै अदृश्य सत्तालाई ‘महरा’ बनाएर भौतिक द्रव्य र क्षणिक सुख हासिल गर्नेहरू धेरै टिक्न सक्तैनन् ।
प्रत्येक मनुष्य सत्ता देखिने भगवान्को अवतार हो । जबसम्म उसमा नराधम आकृतिले प्रवेश पाउँदैन, तबसम्म उसले गरेका कार्यहरू स्वागत्योग्य हुन्छन् । प्रशंसनीय हुन्छन् ।
अदृश्य सत्ता अर्थात् नदेखिने भगवान्को ‘पर्सेप्सन’ तयार गरेर नराधम प्रकृतिको उपलब्धि हात पार्छु भन्ने मनसायलाई चतुर्याइँ मान्न सकिन्नँ । केही कालखण्ड, केही पात्र र केही वस्तुमाथि कृत्रिम अधिनस्थता कायम गर्न सक्छु भन्ने सोच दुर्वल आत्मरतिकै मनोयोग मात्र हो ।
१२) चाहे जतिसुकै लम्बाचौडा डिङ् हाँके पनि संसारका सबै जीवित वस्तु एकदिन मर्छन्, माटो हुन्छन् । यस्तो जीवनदर्शन जान्दाजान्दै मानिसहरूमा पद, पैसा र पावरप्रतिको यस्तो हाँप र झाँप किन भा’को होला ?
– जीवन नबुझ्नेहरू मात्र कमजोर लिप्सामा अल्झिएका हुन्छन् । मृत्यु दर्शन थाहा नपाउनेहरू नै झिनो रतिमा डुबिरहेका हुन्छन् । जीवन र मृत्यु, दुवैलाई ‘इन्ज्वाय’ गर्न जान्नेहरू यस्ता वार्धक्यबाट टाढा रहन्छन् ।
‘आवश्यकता’ एउटा यथार्थ हो भने ‘सञ्चय’ अज्ञानता हो । अहिले यथार्थको भीड छैन । सञ्चयको भीड छ । तथापि सञ्चयको अन्धकारलाई चिरेर अगाडि बढ्ने प्रकाश, अध्यात्म शक्तिमा निहित छ ।
१३) नढाँटीभन्दा जीवनमा प्रेम कतिको गर्नुभयो ? पहिलो प्रेम कस्तो थियो ? सुखद् या दुखद् ?
–प्रेम र आकर्षण फरक कुरा हुन् । प्रारम्भमा, आकर्षणले धेरै कार्य गरेको जस्तो अनुभव छ । प्रेम गरेको भए ढाँट्नु पर्ने प्रयोजन छैन । प्रेम निष्पाप हुन्छ, पवित्र हुन्छ । बैँसका दिनहरूमा कसैसित आकर्षण हुनुलाई प्रेम भनिन्छ र ! आकर्षण र विकर्षणभन्दा माथि हुन्छ –प्रेम । प्रेममा त्याग र उत्कर्षका कुराहरू हुन्छन् । र यो पूर्णतया निस्वार्थ पनि हुन्छ ।
बजारमा चलन चल्तीका प्रेमहरू देखिएका छन् । यस्तै चल्तीमा म पनि हेलिएँ कि ! आदर्श र आडम्वरको वश्त्रलाई उतारेर भन्ने हो भने प्रेम गरियो जस्तो लाग्दैन । बैँसको भावुकता स्वाभाविक थियो ।
प्रेमको आराधाना जो कोहीबाट सम्भव छैन । हुँदैन ।
१४) नचाहँदा नचाहँदै तपाईंको परिवार टुक्रियो । परिवारलाई एकताबद्ध गर्न नसक्नुका पछाडि तपाईंको या पूर्वपत्नीको कस्को बढी नकारात्मक हात थियो ?
– जीवनमा नसोचिएका र नचाहेका कुराहरू नै बढी घटिरहेका हुन्छन् । अप्रत्यासित देखा पर्ने दु:स्वप्न र दुर्घटनाहरूसित केही भन्न नसकिने रहेछ । मेरा सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । कसैले पनि आफू र आफ्नो परिवारलाई टुक्र्याऊँ भन्दैन । मैले मेरो जीवनमा जे भोग्नु थियो त्यो भोग्दैछु । अघिल्तिर देखा पर्ने यस्ता क्रूर सत्यहरूसित साक्षात्कार गर्नै पर्दछ । म यसबारे कसैलाई दोष दिन चाहन्न ।
दु:स्वप्न, दुर्घटना र कठिन चुनौतीहरूसित सामना गर्न सक्नु पो जीवन हो । यस्तो सौभाग्य कसले पाउँछ ?
सरल रेखामा गणित मात्र हिँड्छ । वक्ररेखामा जीवन मात्र हिँड्छ । आफ्नो भागमा वक्ररेखा पर्यो भन्दैमा अरुलाई दोष दिन मिल्छ र !
१५) आफैँले आफ्नो निष्पक्ष स्वमूल्याङ्कन गर्नु पर्दा तपाईं सफल र असल कुन तत्व बढी भएको मानिस हो ?
–आफैँले आफ्ना बारेमा बोल्नु पर्दा आत्म प्रवञ्चना भएको ठहर्दछ । सफलताको मापदण्ड के कुरालाई ठहर्याउने हो त्यो, यसै भन्न सकिँदैन । जीवन बाँच्ने क्रममा देखा परिरहेको छु अहिलेसम्म । अन्तरसङ्घर्ष र अन्तरविरोधहरू छन्, जीवनसित । भौतिक उपलब्धि र अभौतिक आनन्दका खोजीमा छट्पटिने यो जीवन, घामछायाँजस्तो क्षणिक अँध्यारो–उज्यालोकै दोसाँधमा रुमल्लिइरहेको देखिन्छ । जीवनलाई सार्थक तुल्याउन कुनै उल्लेखनीय कार्य गर्न सकिरहेको छैन । मानव समाजलाई महान् कल्याणकारी योगदान पुर्याउन सकेका खण्डमा मात्र जीवन सफल भएको ठहरिन सक्छ । एउटा साधारण मानिसको जीवन मात्र बाँच्ने उपक्रमलाई सफल भन्न सकिन्नँ ।
म आफू पनि साधारण मानिसको वश्त्रमा छु । असल मानिस भएर बाँच्ने उपक्रममा, कतिका लागि असल हुन सकिन्छ, आफैँले आफूलाई निर्धारण गर्नु पर्दा उचित नहोला ।
तर असल हुने रहर चाहिँ छ ।
१६) विश्व साहित्यमा कोको साहित्यकार औधी मन पर्छन् ? हिन्दी र नेपालीका पनि छन् ? त्यस्तै कोही मन पर्ने नामहरू ?
– शेक्सपियर, वर्डस्वर्थ, वाल्जाक, काफ्का, बाल्ट ह्विटमान, रबर्ट फ्रस्ट, रवीन्द्रनाथ टैगोर, टल्सटय, गोर्की, प्रेमचन्द, विमल मित्र, दोस्तोवस्की आदि मन पर्छन् ।
नेपालीमा देवकोटा, सम, लेखनाथ, भीमनिधि तिवारी, भूपी शेरचन, गोपाल प्रसाद रिमाल, बीपी कोइराला, तारानाथ शर्मा, ध्रुवचन्द्र गौतम, माधव घिमिरे, आइबी राई, पारिजात आदि मन पर्छन् ।
उसो त समकालीन पुस्तामा पनि उच्चकोटीका लेखक कविहरू आइरहेका छन्, ती सबै मन पर्छन् । नेपालको लेखन कमजोर छैन । अवसर र सुविधाहरू प्राप्त हुन सकेका खण्डमा यहाँको श्रेष्ठताको मूल्याङ्कन हुन पाउने थियो ।
१७) आफूभन्दा पछाडिका कुनकुन विधाका कुनकुन नवोदित स्रष्टासँग बढी आशावादी देखिनुहुन्छ ?
– यो प्रश्नको जवाफ सरल छैन । को कतिखेर कुन विधामा सशक्त हुनछ, त्यो भविष्यले निर्धारण गर्ने कुरा हो । मैले छोटोमा भन्नु पर्दा अधिकांशप्रति म आशावादी छु । धेरैले साधना गरिरहेका छन् ।
१८) हुन् त लिङ्गले साहित्य लेख्ने होइन, लेख्ने चेतना र भावनाले हो तर पनि प्राचीन कालदेखि आधुनिक कालसम्मै पुरुष साहित्यकारका तुलनामा महिला साहित्यकारको उपलब्धि, पकड र प्रभाव किन कम देखिएको होला ?
– महिलाहरू अँझै स्वतन्त्र हुन सकेका छैनन् । घर, परिवार र रमाजका विविध बन्धनहरूबाट महिला उन्मुक्त हुन सकेका छैनन् । हाम्रो समाजमा महिलामाथि बढी पारिवारिक बोझ हुन्छ । पुरुष सबै सुविधा भोग गर्न स्वतन्त्र छ । महिलाहरू धेरै कुराहरूबाट बञ्चित छन् । यस्तो अवस्थामा महिलाको उपस्थिति नरहनुमा हामी पुरुषहरू नै बढी जिम्मेवार छौं । तथापि न्यून उपस्थितिमा रहेका महिलाले पुरुषको अत्यधिक उपस्थितिलाई परास्त तुल्याएको देखिन्छ ।
१९) अवकासकालीन जीवनमा लेखकीय योजनाहरू के सार्वजनिक गर्न मिल्छ होला त ?
– अवकाशकालीन जीवन, अवसानमा रुपान्तरण हुन्छ । मेरा लेखकीय योजनाहरू भनेकै लेख्नु–निरन्तर लेखिरहनु हो । संस्मरण, निबन्ध, आख्यान र आत्मकथ्य लेख्ने योजना छ । कुनले प्राथमिकता पाउने हो, समयले नै बताउनेछ ।
लेख्ता लेख्तै कहाँ पुगिन्छ, हेर्दै जाऊँ, समयको बाघ पञ्जाले कसरी घुमाउने हो । त्यो पछि नै थाहा होला ।
२०) सबैले जीवनलाई केही थान शब्दले परिभाषा गर्ने गरेका छन्, परिभाषा परिभाषाहरूका बीचबाट तपाईंकोचाहिँ जीवन प्रतिको परिभाषा के हो ? अलि विस्तारमा बताइदिनुस् न ?
– जीवनको परिभाषा गर्न सकिन्नँ । यात्रा हो जीवन । निरन्तरता हो जीवन । क्रियाशीलता हो जीवन । म यी सन्दर्भहरूमा कहाँ छु, मलाई थाहा पाउनेहरूले अनुभव गर्ने कुरा हो ।
जीवन कविता जस्तै छ । कविताको परिभाषा गर्न सकिन्नँ । अनुभव गर्दा नगर्दै यसको एउटा पहर सकिन्छ । शब्दको इँटाद्वारा भावको धरातलमा कविताको भवन निर्माण गरिन्छ । जीवन त्यसैले भाव पुञ्ज भएको एउटा उपग्रह हो । त्यहाँ विविध जीवात्हरूले वास गरेका हुन्छन् ।
२१) लेखेर के पाउनु भयो ? के पाउन बाँकी छ ?
– केही पाउने कुराका लागि लेखन जारी हुँदैन । लेखनले प्राप्ति र उपलब्धिलाई प्राथमिकता दिँदैन । लेखन निस्सर्त परम्परा हो । नदीमा पुल हालेर लेख्ने तय गरिँदैन । सोमदत्त व्राह्मणको जस्तो सपनाको तिर्खा बोकेर पनि लेखनको साइपाटा निकालिँदैन । संवेदना र अनुभूतिको महासागरमा तैरिएर बाँच्नेहरूले लेखनको अभीष्ट पूरा गर्छन् । त्यो अभीष्ट भनेको सम्प्रेषणको प्रदर्शन हो । म जस्ता व्यक्तिका लागि लेखन भनेको जीवन पद्धतिसित गाँसिदै आएको एउटा सांस्कृतिकता हो । मैले यसको निर्वाह गर्नै पर्दछ ।
२२) फेरि मानिस भएरै जन्मने अवसर पाउनु भयो भने के भएर सार्वजनिक जीवन बाँच्ने धोको सँगाल्नुभएको छ ?
– मैले फेरि मानिस भएर जन्मने अवसर पाएँ भने नेपाली माटो नै वरण गर्न पाऊँ । सुन्दर कविता लेख्ने शक्ति प्राप्त गर्न सकूँ ।
मलाई नेपाल मन पर्छ । नेपाली मन पर्छ । यही कविताको सौन्दर्य मन पर्छ । योभन्दा सुन्दर जीवन अर्को हुन सक्तैन ।
नेपाली मन, नेपाली माटो र नेपाली कविताको विशिष्टतालाई हेर्नुहोस् त ! यी कुराभन्दा विशिष्ट अरु केही होलान त !
मलाई विश्वास छैन ।
तसर्थ मलाई समग्र नेपाली पहिचानकै जीवन मन पर्छ । फर्कनु पर्दा नेपाली चोलाकै मनुष्य होस् । कामना यही छ ।
२३) अहिलेसम्मको जीवनमा गर्न नसकेका कुराहरू र गर्न नसकेका कुराहरू अङ्क गणितकै सहारा लिएर भन्नु पर्दा केके हुन् ? एक, दुई, तीन……….?
– उत्कृष्ट साहित्य लेख्न सकेको छैन । लेखन परम्परामा मात्र दौडिरहेको छु । लेख्ने विषयहरू कति छन् कति । योजनाहरू पनि कति छन् कति ।
अलमलिने क्रम मात्र जारी छ ।
अङ्क गणितको सहारा लिनै पर्दैन । केही लेख्नै सकेको छैन मैले । केवल अभ्यास मात्र गरिरहेको बोध छ, मलाई ।
अभ्यासले नै जीवनलाई डोर्याउँछ, विशिष्ट रचना गर्न । सोही क्रममा कालजयी सिर्जना पनि हुन सक्छ । तथापि मजस्ता अभ्यासरत लेखकहरूले आत्म मूल्याङ्कन गरेर भन्नु पर्दा केही ठोस् कार्य नगरी समयको धेरै ठूलो हिस्सा त्यसै खेर गएर बितेछ ।
यहिरहेछ – गर्न नसकेका कुराहरू ।
समय छँदै गर्न सक्नु पर्दछ, समयले छोडेर जान्छ ।
२४) संसारकै पुरानो विधा कविता, धेरै लेखिने र पढिने विधा पनि कविता अनि जीवनमा उपहासको विषय पनि कवितालाई बनाइँदा एउटा कविका नाताले कस्तो अनुभूति र औडाहा हुन्छ होला तपाईंका मानसपटलमा ?
– कविता सम्मानित र पूजनीय विषय हो । यसको लोकप्रियता कुनै कालखण्डमा पनि कम हुन सक्तैन । चाँडै स्पर्श गर्न सकिने विषय भएको हुँदा यसको ख्याति निरन्तर छ ।
मलाई, कविताको उपहास भएको अनुभव छैन । हृदय र संवेदनाविहीनहरूले कविताको मात्र उपहास गर्दैनन्, तिनले आफ्नै खिल्ली उडाइरहेका हुन्छन् ।
क्रूर, काँतर र निस्पन्द व्यक्तिहरूले कविताको उपहास गर्दा–गरिरहेका अवस्थामा घनघोर दुर्घटना घट्छ । यस्तो दुर्घटनामा ती पाखण्डहरू आफैँ बढारिएर जान्छन् ।
कविताको छङ्छङ् बग्ने प्रवाहले व्रह्माण्डलाई नै अमृतमय तुल्याउँछ । चराचरलाई नै मन्मय बनाउँछ ।
२५) चान्केचुन्के कृति सबैले लेख्छन्, तपाईंका केही कृति चर्चित भए पनि केही चान्केचुन्के नै थिए होलान् ? अब बाँकी भएको जीवनमा यतिका वर्ष पछाडिको ऊर्जालाई समेटेर कुनै विधाको एउटा या दुइटा महागाथा/महाकृति लेख्ने लोभ वा क्षुधा किन नआएको होला ? कि लेख्दै हुनुहुन्छ ? छुपेरुस्त म भएर ?
– कुनै कृति चानचुने हुँदैन । र कुनै पनि स्रष्टालाई ‘मिनिमाइज्’ गरेर आकलन गर्न उचित हुँदैन । जीवन र समयले ग्रहण गर्ने कृतिहरू सबै, असाधारण हुन्छन् । युगको प्रतिविम्ब झल्काउने रचनाहरू सधैं अजर अमर भएर रहेका हुन्छन् ।
एउटा वर्गका लागि साधारण भएको कुरा अर्को वर्गका लागि त्यही मूल्यवान् र असाधारण हुन सक्छ । राम्रो कृति लेख्न सकियो भने त्यही महागाथा हुनेछ । महाकृति हुनेछ ।
राम्रो कृति लेख्ने तृष्णा कसलाई हुँदैन र ! लेख्तै जाँदा राम्रो र उत्कृष्ट कृति रचना गर्ने महत्वाकांक्षामा स्रष्टा जीवन चलिरहेको छ । कुन्नि त्यो सफलता हासिल हुन्छ कि हुँदैन, भगिरथ गंगामा हेलिँदै हेलिँदै सुदूर गन्तव्य उन्मुख छु, म ।
२६) वैवाहिक जीवनको दुई खण्डमध्ये कुन खण्डमा गजबगजबका भावनाहरू मनमा ह्वारह्वारर्ती आए, जसले कृति रचनामा ठूलो मद्दत पुर्याए ? सार्वजनिक गर्न मिल्छ ?
– मेरो वैवाहिक जीवनको अघिल्लो पाटो पनि राम्रै थियो, त्यस कालखण्डमा पनि मेरो साधना राम्रो नै रह्यो । सुन्दर विचारले नै प्रश्रय पाएको थियो, त्यस काल खण्डमा पनि पछि आएर जीवनले अर्कै मोड लियो, त्यो बेग्लै कुरा हो ।
जीवन सरल रेखामा मात्र नहिँड्ने रहेछ । चुनौती र अवरोधसित सामना गर्ने सन्दर्भमा ठूलाठूला ऊर्जाहरू प्राप्त गर्दै गइरहेँ म ।
म कुनै विचलनको सिकार भइनँ ।
अहिलेको यो पाटो झन् ऊर्जामय भएर बढिरहेको बोध छ मलाई ।
अर्थात् यो मेरो दोस्रो, तर पहिलो उषाकाल ठानेको छु, वर्तमान पाटोलाई ।
२७) समकालीन लेखक, कवि र स्रष्टाहरूमध्ये कोको तपाईंका दँयालीहरू हुन् ? कुनकुन स्रष्टा असाद्धै मन पर्छन् ? किन ?
– मैले आफूलाई कहाँ कुन स्थानमा राख्नु पर्ने हो, त्यो मैले भन्ने कुरा होइन । मलाई ग्रहण गर्नेहरूले कसरी गरिरहेका छन्, ती त्यहाँसम्म परीक्षण आवश्यक छ । मेरो काम लेख्ने हो । बस्, लेख्दै गइरहने हो । जीवन रहेसम्म, अनुभूतिलाई मूर्त प्रवाहमा गतिशील तुल्याउँदै गइरहनु लेखनको अभीष्ट हो ।
यात्रामा, कति सुन्दर विम्बहरू भेटिन्छन्, कति स्वर्णी म प्रतिविम्बहरू भेटिन्छन् । थरीथरीका पात्रसित साक्षात्कार हुँदै जानु पर्दछ, ती सबैसित कुशलतापूर्वक विचरण गर्दै जानुमा यात्राको गरिमा कायम हुन सक्छ ।
त्यसैले ईश्वरीय अवतारमा देखा पर्दै गएका मेरा समकालीन चेतका स्रष्टाहरू, अग्रज स्रष्टाहरू, अनुज स्रष्टाहरू सबैसबै बन्दनीय छन् ।
कति नामहरू लिऊँ म, ती सबैलाई अभिनन्दन गर्छु, म ।
२८) मैले सोध्न बाँकिरहेको र तपाईंले भन्छु भनेर भन्न बाँकिरहेका केही कुराहरू भए बिस्तारमै बताइदिनुहोस् न ?
– प्रश्नहरू अनन्त हुन्छन् । अन्त्य पनि छैन, प्रश्नको । अहिले केही सोधेर, सबै पूर्ण हुने कुरा छैनन् । तपाईंको यो प्रश्न काल, ‘क्याजुअल ब्रेक’मा रोकिन सक्छ । फेरि प्रारम्भ हुन सकिन्छ । विश्रान्ति लिँदै, सुस्ताउँदै वा तङ्ग्रिँदै प्रश्नचेत बढ्छ, बढ्ने क्रम जारी छ ।
तपाईं स्वय म मौन प्रश्न, मौन वार्तामा हुनुहुन्छ । मौन वार्ताका उत्तरितताहरू मौन रुपमै अवतरित भइरहेका हुन्छन् । यो मौनको गर्जन कम शक्तिशाली हुँदैन । मौनको अस्मितालाई नचलाउनु कसैले । तिनलाई महशुश गर्न उचित हुन्छ ।
मौनको उत्तर मौन भए पनि अर्थहरू आइदिन्छन् अघिल्तिर । ग्रहणशीलतामा निर्भर छन्, ती सबै । किनभने तपाईंको मौन वार्ताकार आफैँमा शक्तिशाली छ ।
२९ ) नयाँ लेख्ने अथवा नवोदितहरूलाई केके सल्लाह र सुझाव दिन चाहनुहुन्छ ?
– अध्ययन र साधना अपरिहार्य छ । नयाँ लेख्नेका लागि पनि, अग्रजहरूका लागि पनि । नवीन लेख्नेहरूलाई कसैको सुझाव–सल्लाह आवश्यक पर्छ जस्तो लाग्दैन । प्रविधि र सुविधाले ती धेरै ‘एडभान्स’ भइसकेका छन् ।
अपडेट रहनु पर्ने चेत पनि छ तिनलाई । अँझ कठोर प्रतिस्पर्धाले यी नवीन लेखकहरूलाई उत्तिकै सजग तुल्याएको देखिन्छ । अब प्रतिस्पर्धामा उत्रिन नसक्नेहरूलाई, समयले पछाडि धकेल्छ ।
३०) काठमाडौँमा ‘गुट’ र ‘उपगुट’ हरूप्रति यहाँको के धारणा छ ? साथै राजधानीलाई मोफसलमा बस्ने स्रष्टाहरूको लेखनले छेउ लगाउँदै गएको भन्ने धारणाप्रति यहाँको अभिमत के रहेको छ ?
– मन मिल्ने, विचार मिल्ने वा स्वभाव मिल्नेहरूको झुण्ड हुन्छ । यो अस्वाभाविक होइन । झुण्डले साहित्य लेख्ने होइन । चेतना र प्रतिभाले लेख्ने हो । गुट उपगुट नभएको ठाउँ हुँदैन । यसले अस्वस्थ्यकर वातावरणको सिर्जना गर्यो भने मात्र चिन्ताको विषय हुनेछ । नत्र सबैलाई आआफ्ना गुट उपगुटमा रमाउन दिनुपर्छ ।
गुटले आफ्नै सदस्यका बारेमा बढी व्याख्या गर्न सक्छ । लेखनमा दम छैन भने त्यो व्याख्याले केही गर्न सक्तैन ।
म सबैप्रति सकारात्मक सोच राख्ने व्यक्ति हूँ । काठमाण्डूमा गुट उपगुटहरूप्रति पनि मेरो दृष्टिकोण राम्रो छ र काठमाडौँबाहिर भएका गुट उपगुटप्रति पनि मेरो अभिमत त्यही छ ।
काठमाडौँमा बसेर लेख्ने स्रष्टाहरू पनि श्रेष्ठकर छन् । काठमाडौँबाहिर, मोफसलमा रहेका स्रष्टाहरू पनि उत्तिकै श्रेष्ठकर छन् । कसैलाई कसैभन्दा कम वा बढी भन्न सकिन्नँ ।
३१) राजधानीका गोष्ठी, भेला र समारोहमा यहाँको सघन उपस्थिति त्यति पाइँदैन नि ? किन होला ?
– आफूलाई अनुकूल परेका बेला मेरो उपस्थितिरहेकै छ । अनुकूल नहुँदा उपस्थिति कम पनि भयो होला ।
लेख्ने व्यक्तिहरूले गोष्ठी र भेलामा ताली बजाउन मात्र कुदिरहन आवश्यक छैन । गोष्ठी, भेला र समारोहको औचित्य त्यसको गुणात्मकतालाई मध्यनजर गरेर उपस्थिति पनिदिनु पर्दछ । तथापि अहिलेको गोष्ठी र समारोह प्राय: व्यक्ति पूजामा केन्द्रित छ ।
जीवनभरि साहित्यलाई उपेक्षा गरेर बस्नेहरू रिटायर्ड लाइफमा आइपुग्ने बेलामा आफ्ना गीतका सिँढी, कविता, कथा वा संस्मरणका पुलिन्दाहरू बोकेर प्रकाशन र विमोचनतिर लागेका देखिन्छन् ।
३२) व्यस्त समयका बाबजुद वार्तामा सहभागी हुनु भयो, धन्यवाद दिन चाहन्छु ।
– तपाईं पनि आफैँमा व्यस्त लेखक हो । यहाँले मेरा कुराहरू सार्वजनिक गर्ने चासो राखेर वार्ताका लागि आउनु आफैँमा सुखद् पक्ष भएकाले मेरो पनि यहाँलाई धन्यवाद ।
(संवार्ता मिति : २०६८ माघ १२ गते)
वार्ताकार : पेशल आचार्य
